ऊ घरी कठघराको रेलिङ समाउछ, घरी कुनाभित्तामा टाउको ठोक्छ। हातमा ठेला र निधारमा टुटुल्को उठिसकेका छन्। आँखाबाट तरतरी आँसुका ढिकाहरु झरीरहेका छन्।
ऊ हातमा परेका ठेलाहरुबाट बेखबर छ, टाउकोको टुटिल्कामा पनि लापरबाह छ। उसको कुँडिएको मनमा भाउतो छुटेर छातीमा चसचसी हानिरहेको छ। उसका आँखाले भाका हालेका छन्।
शाखा अधिकारीको पद बहाली गरेको दिन ऊ केही थान फूलमाला पहिरिएर कुर्चीमा बसिरहेको छ। प्लेटमा फलफूल सजाइएको छ। घरी घरी कार्यालय सहयोगी 'के टक्र्याउँ, के टक्र्याउँ?' भन्छ तर ऊ भन्छ- 'पर्दैन दाई, तपाईंहरु खानुस्, मलाई यस्तो बानी छैन।'
पटक पटक फर्किएको चिया पनि चिसिएर ठुस्स परिसकेको थियो। उसैदिन उसले काम बाँकी फाइलको पनि सातो लिएर सिनित्त पार्यो।
बाटोभरि उसको मनमा कुराहरु तँछाड मछाड् गर्दै खेलीरहे, तर उसको मन लाडे पल्टेर आमाको मायालु काखमा लुट्पुटिन पुग्यो। एकल आमाले उसको लागि दूधभातको जोहो गर्न गरेको कर्म र अहिलेको अवस्थासम्म ल्याउन गरेको महाभारत सम्झेर उसको मुटुले सिधैँ आँखालाई घोच्यो।
उसले रुमाल झिकेर आँखा पुछ्यो र थपक्क खल्ती भित्र राख्यो। यति गर्दा पनि उसले आमालाई सम्झिरह्यो। उसको निधारमा पसिना आउँदा होस् वा नाकबाट सिंगान बग्दा आमाले यसैगरी पुछिदिन्थिन् आफ्नो पटुकीको फेरले अनि उसैगरी बाँध्थिन् कम्मरमा चरप्प।
आज उसले अधिकृतको हाजिरी बजायो। कैयौँ फायलमा सदर र बदर लेखेर सही धस्कायो। सम्झँदै उसका नाकका पोरा फ्वास्स फुले।
जुन दिन उसको नाम सरकारी अधिकृतमा निस्केको थियो, त्यो साँझ हँसिली आमालाई सम्झ्यो। उनले भागमा एक डाडु घ्यू थपिदिँदै भनेकी थिइन्- 'हेर बाबु, जतिसुकै टुप्पामा पुगे पनि आफूले टेकेको धरातल नबिर्सेस्। दुःखी गरिबको सेवा, नुनको सोझो गरेस्, देशको कुभलो नचिताएस्।'
ऊ जति जति सम्झँदै जान्थ्यो, त्यति नै गर्वले उसको छाती चौडा हुन्थ्यो। ऊ सहरमा सरुवा भएपछि त्यो साँझ आमाले पठाएको सामल तुमलको पोकाहरु खोतल्दै बित्यो। अरु केही हप्ता त्यो पोकाहरुबाट आएको सुगन्धमा कटायो त कहिले घर र आमाको यादमा पिलपिले बन्यो र फेरि आमाका कुराहरु सम्झ्यो।
'गुँड छाडेर कुन बचेरा उड्दैनन् र? तर बाबु आफू हुर्केको गुँड नबिर्सेस्।' पिलपिलाउँदो ऊ एक्लै झिनो लवजमा बोली फुस्कायो 'हस आमा।'
दिन, महिना, वर्ष बित्दा नबित्दै ऊ त्यो अधिकृत रहेन। अब ऊ घरी घरी घन्टी बजाउँछ। कार्यालय सहयोगीलाई चिया, कफी, खाजा नास्ता टेबुलमाथि टेबुलमुनिको रस्ती बस्ती मिलाउँदा मिलाउँदै फुर्सद छैन। तर हाकिम पनि फुर्सदिला छैनन्। उनलाई पनि सचिवालय, मन्त्रालय र मैसाबको चाकरी गर्दैमा ठिक्क छ।
कहिले कसो त कार्यालय सहयोगी नै पर्छन् मैसाबको खप्कीमा। उनलाई पनि बानी परिसक्यो। रहँदा बस्दा हाकिमको पूर्व सचिवकै छोरीसँग दिल बस्यो। अनि त आइस्यो, गैइस्यो, यसो उसो हुँदाहुँदा उपसचिव हुँदासम्म आर्थिक कारोबार, टेबुलमुनिको टेबुलमाथिको, खाता पाता र एटिएमसम्म गृहमन्त्रालय अन्तर्गत पुग्यो। हुन त बिहे गर्ने बेलामा पनि उसले आमालाई नसम्झेको हैन।
आमाले 'म त अब डाँडामाथिको जुन भैसकीँ बाबु, जुनि काट्नी तिमीले हो आफै विचार गर' भनेपछि उसलाई हल्का भएको थियो। तर आमा भेट्ने साइत भने मैसाबले छोरा पाएपछि मात्र जुर्यो। त्यहाँको तम्तमाइलो तामसी वातावरण र वैभव देखेकी आमाको मन खुसी हुन सकेन। जे भए पनि आफ्नो सन्तान कुनै अभर नपरोस् भन्ने कामना गर्दै भोलिपल्ट बिहानै लुसुक्क गाउँतिर फर्किन्।
समयसँगै हाकिमको दैनिकी पनि फेरिँदै गयो। हुँदा-हुँदा अफिसको टेबुलमुनिको कामहरु सबै गृहमन्त्रालय अन्तर्गत नै हुन थाल्यो। अफिसको बेरुजु, गृहमन्त्रालय र मैसाबको शान वैभव उकासिँदै गयो। उकासिएको भव्यता र अफिसको बेरुजु, भ्रष्टाचार एक कान, दुई कान ठाउँमा पुग्यो।
त्यही ठाउँकै छापा माराइले आज ऊ घरी कठघराको रेलिङ समाउछ, घरी कुनाभित्तामा टाउको ठोक्छ। हातमा ठेला र निधारमा टुटुल्को उठिसकेका छन्। आँखाबाट तरतरी आँसुका ढिकाहरु झरिरहेका छन्। ऊ हातमा परेका ठेलाहरुबाट बेखबर छ, टाउकोको टुटिल्कामा पनि लापरबाह छ।
उसको कुँडिएको मनमा भाउँटो छुटेर छातीमा चसचसी हानिरहेको छ। उसका आँखाले भाका हालेका छन्। उसको आजको आँसुको भाका फरक छ। अख्तियारले छापा मारेर उसको घर सिलबन्दी गरी जेल चलान गरेपछि उसकी मैसाब नाकको पोरा बजाउँदै छोरा च्यापेर माइत तिर लागिछिन्।
दश वर्षको सजाय भुक्तानीपछि ऊ गाउँ जाने बस चढ्दछ। बाटोघाटो सबै उस्तै छन्, भिर पहरा छिचोल्दै बस गाउँको बिसौनी पुग्छ। बिसौनीबाट ऊ ठाडै घरको नेटो ताकेर बतासिन्छ। देख्छ आमा टाढैबाट बारीको कान्लामा बसेर उसैलाई हेर्दैछिन्।
ऊ टाढैबाट 'आमा, आमा' भन्दै बोलाउँछ। देख्छ आमाको अनुहारमा आज पनि उस्तै चमक छ। ऊ आमा भएतिर दगुर्छ। असिन पसिन आमा नजिकै हुत्तिन्छ। आमाले पटुकीको फेरले उसको पसिना पुछिदिन्छिन्। ऊ आमाको खुट्टामा घोप्टिन्छ।
उसका आँखाबाट तरतरी आँसुका धारा बर्सिन्छ। ऊ सोच्दछ, उसका ती कर्तुतपूर्ण विगत यही अन्त्य गर्नेछु। अब कसम खान्छु, जीवनभर गाउँको सेवा गरेर बस्नेछु। उसलाई लाग्दैछ फेरि जीवन अन्त्यदेखि सुरु हुँदैछ।