भर्खरै एसएलसीको परिणाम निस्केको थियो। सानुलाई बधाई थाप्न भ्याइनभ्याई थियो किनभने ऊ स्कुल प्रथम भएकी थिई। उसले बाआमाको सपना पूरा गरेकी थिई।
त्योभन्दा पनि उनको दाइको सपना साकार भएको थियो, जसले सानुलाई स्कुल पठाउन हर सम्भव प्रयास गरेका थिए। आफू परीक्षामा पास हूँदा अरुलाई मिठाई इत्यादि खुवाउने चलन छ तर सानुको दाइले त सानुलाई धेरै मिठाई दिँदै भन्नुभयो- 'तिमीले कडा मेहनत गरेर पढेको फल हो, त्यसैले सबभन्दा पहिला यो मिठाई तिमीले खानुपर्छ। यसमा हामीले केही पनि गरेका छैनौँ।'
सानु रोएकी थिई दाइको माया देखेर। साँच्चै सानुलाई दुर्गम गाउँको टाढा रहेको स्कुल जान धेरै गाह्रो थियो। उकाली ओराली गर्दै साढे एक घण्टा हिँड्नु पर्थ्यो। स्कुल पुग्न बीचमा एउटा गाउँ पर्थ्यो। त्यो गाउँको केटाहरु पनि सानुकै स्कुलमा पढ्थे। तिनीहरुले सानुको गाउँबाट पढ्न जाने केटीहरुलाई जिस्काएर हैरान पार्थे।
एक, दुई जना मात्र केटीहरु स्कुल पठाउन डरै थियो। अप्रिय घटना घट्न सक्ने डरले छोरीहरुलाई स्कुल पढाउन खोज्ने आमाबुवा पनि मन मारेर बस्थे। यही कारणले त्यो गाउँको कुनै पनि केटीले पाँच कक्षा पास गरेर छ कक्षादेखि टाढाको स्कुलमा पढ्न जान आँट गरेका थिएनन्।
सानुको आफ्नै दिदीले पनि नजिकैको स्कुलबाट पाँच कक्षा पास गरेर चार वर्ष घरमै बस्नु परेको थियो। केही वर्षपछि जब सानुसँगै अरु केटीहरु पनि टाढाको स्कुल जान थाले अनि सानुको दिदी पनि बहिनीसँगै स्कुल जान थालिन्। धेरै वर्षपछि एकचोटि फेरि स्कुल जान पाउँदा सानुको दिदी औधि खुसी भइन्। यद्यपि सबै पढेको बिर्सेर उनलाई धेरै गाह्रो लागिरहेको थियो।
सानु पढ्न निकै चतुर थिई। अन्य क्रियाकलापमा पनि ऊ जहिल्यै अगाडि हुन्थी। राम्री पनि त्यत्तिकै, भगवानले कामबाट छुट्टिनै लिएर बनाएजस्तै। जब स्कुलको पढाइ सकिएर अन्तिम बिदाइको दिन आयो, सबैजना निरास थिए। यसपछि धेरैजसो केटाहरु पढ्न घर बाहिर जान्थे भने केटीहरु बिहे गरेर धेरै टाढा पुगिसक्थे।
सानुलाई लाग्यो निसानका आँखाले कार्यक्रमभरि उनलाई नै पछ्याइरहेको थियो। बेलाबेलामा निसानले बोल्न खोजे जस्तो पनि सानुलाई लागिरह्यो। तर निसान यति धैरै लजालु र सोझो थियो कि उसले सानुसँग अहिलेसम्म बोलेको थिएन। आज छुट्टिने दिनमा सानुले पनि निसानसँग दुई शब्द बोल्न सकिनन्। आँखाले नै 'बाई' गरेर सबैजना सदाको लागि टाढा भए।
अब सानु स्कुलको पढाइ सकेर क्याम्पस पढ्न तराई जाने भई। घर छोडेर गाउँभन्दा धेरै टाढा गाडी चढि जाँदा सानुको मुटुनै फुट्ला जस्तो भयो। पहाडको कहिल्यै नअघाउने हावापानी छोडेर तराईको चर्को घाममा पढ्नु पर्दा केही दिन त सानुलाई सास नै रोकिएला जस्तो भयो।
विज्ञान विषय पढेर एउटा सफल शिक्षक बन्ने लक्ष्य सहित ऊ सानीआमाको घरमा बसेर पढ्न थाली। दक्ष विज्ञान शिक्षक बनेर आफ्नै गाउँ फर्कि विशेषगरी छात्राहरुलाई स्कुल पढाउन प्रेरित गर्ने उसको उद्देश्य थियो।
शारीरिक विकास क्रमसँगै हुने महिनावारी लगायतका समस्याले छात्राहरु स्कुल शिक्षा पूरा नगरी बीचमै पढाइ छोड्न बाध्य हुन्थे। स्कुलमा एउटा महिला शिक्षक भइदिए उनीहरुलाई आफ्ना समस्या बताउन सजिलो हुने उनको आशा थियो। यो बारे उनले आफ्नो बुवालाई पनि भनेकी थिई। उसको बुवाले तिमी राम्रोसँग पढ्नू, म स्कुलमा बुझ्दै गरौंला भन्नु भएको थियो।
क्याम्पसको वातावरण बुझ्दैमा, साथीहरु बनाउँदैमा पहिलो वर्षको पढाइ सकियो। अर्को वर्ष दिदीको बिहेको खबर आयो। सानु घर गई। धुमधामसँग बिहे भयो। दिदीसँग छुट्टिनु पर्दा सानुलाई असह्य भयो। कान्छो भिनाजुले त सानुलाई मन पराएछन्। तर सानुको दाइले एउटै घरमा दिदी बहिनी राम्रो हुँदैन र सानु अहिले पढ्दै छे भन्नु भयो।
दोस्रो वर्षको पढाइ चल्दै थियो। एकदिन अचानक सानुले क्याम्पसबाट फर्किँदा निसानलाई बाटोमा भेटिन्। धेरैपछि सँगै पढेको साथी त्यो पनि घरभन्दा टाढा भेट हुँदा दुवै जना खुसी भए। त्यो दिन भने लाज नमानी नहरको छेउमा बसेर घण्टौँ कुरा गरेर बसे।
निसानले सानुलाई स्कुलदेखि नै धेरै मन पराउने तर भन्न नसकेको कुरा सुनायो। सानुले पनि निसान अति नै मन पर्ने, ऊसँगै जीवन बिताउने कुरा सुनाइन्। निसान भने सानुको भन्दा अलि परको आर्ट क्याम्पसमा पढ्दो रहेछ। छुट्टिने बेलामा आफू बस्ने घरको फोन नम्बर साटासाट गरेर फेरि भेट्ने वाचा सहित दुवैजना घरतिर लागे।
सानु आफ्नो पढाइमा लीन थिई। सँगै पढ्ने एकजना केटा सानुसँग नजिक हुन थाल्यो। क्याम्पस जाँदा, फर्किँदा पनि कुरेर सँगै हिँड्न थाल्यो। उसले सानुलाई पहिलो वर्षदेखि मन पराउन थालेको रहेछ। यो कुरा सानुले तब मात्र थाहा पाई जब उसले सानुलाई लेखेको चिठी पढि जुन उसले सानुको घरको ढोकामुनिबाट भित्र छिराएको रहेछ।
त्यो चिठीसँगै एउटा फोटो पनि थियो जसमा सानु र ऊ सँगै थिए। सानुको परीक्षाको फारम भर्न खिचेको फोटो उसले त्यहाँको एउटा मात्रै फोटो स्टुडियोबाट धेरै पैसा तिरेर हासिल गरेको रहेछ। त्यो फोटोलाई आफ्नो फोटोसँगै मिलाएर धुलाउन लगाएको रहेछ।
कसैले कसैलाई निःस्वार्थ माया गर्नु पाप होइन तर यसरी जालझेल गरेर माया गरिँदैन र यस्तो माया एकदम क्षणिक हुन्छ। यो कुरा सानुलाई पटक्कै मन परेन। सानु त्यो केटासँग रिसाई। कता-कता सानुलाई निसानको भलाद्मीपनको सम्झना आयो। घरमा सानीआमाले गाली गर्नु भएन। उहाँलाई थाहा थियो यसमा सानुको कुनै गल्ती छैन भनेर। यसैले त सानुलाई सानीआमाको धेरै माया लाग्छ।
अब भने सानु काठमाडौं गएर दाइसँगै बसेर पढ्न थाली। झन् नयाँ अत्यास लाग्दो सहर। जताततै धानमा लाग्ने पुतली जस्तै मान्छेहरु। तर सबै मूर्तीजस्तै, आफूसँग कोही पनि नबोल्ने। वरिपरि मान्छे नै मान्छे छन् तर एउटा अर्कोसँग बोल्दैन। कस्तो सहर? कस्ता अचम्म लाग्ने मान्छेहरु? सानुलाई घरको न्यास्रो लाग्यो।
दाइको डेरा कुपन्डोलमा थियो। त्रिचन्द्र क्याम्पसमा भर्ना भई। नयाँ साथीहरुसँग घुलमिल हुन उसलाई समय लाग्यो। लामो बाटो कसैसँग नबोली हिँड्दा उसलाई सकस हुन्थ्यो। यदि निसान पनि सँगै पढ्ने भएको भए कति मजा आउँथ्यो होला, उसले सोची।
कहाँ गयो होला त्यो मान्छे? एकचोटि पनि फोन गरेन भनेर सानुले अप्ठ्यारो मान्दै निसानले छुट्टिने बेला दिएको नम्बरमा फोन गरी। ऊ काठमाडौं पढ्न गएको कुरा थाहा पाई। मनमनमै भनि- कस्तो निष्ठुरी!
उता निसानले पनि सानु बस्ने घरमा फोन गरेर सानुको बारेमा सोधेको रहेछ। सानीआमाले उही पहिलेकै दुःख दिने केटा हो भन्ने ठानेर गाली गर्नु भएछ। निसानको मनमा पहिरो गयो। उसले सानुलाई अपार माया गर्छ, यो कुरा ऊ बाहेक सानुलाई पनि थाहा थिएन। सानुको याद झन् बढी आउन थाल्यो। अब सानुसँग भेट हुँदैन कि भन्ने डरले मुटु काप्न थाल्यो।
दशैंको छुट्टिमा सानु काठमाडौंबाट घर जाँदै थिई। करिब बाइस घन्टा लामो बस यात्रा थियो। धेरै लामो झन्झटिलो यात्रा सम्झेर सानुको टाउको दुख्न थालिसकेको थियो। बेलुकी तीन बजेको बस चढी। जसै बस गुड्न थाल्यो, एकजना केटा हस्याङफस्याङ गर्दै बसभित्र पस्यो र सानुको अर्कोपट्टिको सिटमा आएर बस्यो।
सानु भने बान्ता हुने भएकोले झ्यालको छेउमा बसेकी थिई। सानुको छेउमा त्यो केटाको काका बस्नु भएको थियो। अनायास सानुको आँखा र त्यो केटाको आँखा जुध्न पुगे। यो त उही निसान पो रहेछ। बस गुड्न थाल्यो। चालकले गीत बजायो 'अँखियो के झरोखे से, मैने देखा जो सावँरे....।' दुई जनाको आँखा चार हुन पुग्यो।
गीतको धुनसँगै काकालाई बीचमा पारेर दुई जनाको आँखा जुधाइ चल्दै गयो, स्वचालित मेसिन जस्तै। सानुको मन चञ्चल हुँदै गयो। जीउ फूलसरी हलुका भयो। उनले बुझ्न सकिन के हुँदैछ? मात्र छिनछिनको आँखाको आकर्षणमा डुब्दै गई।
सफा मनले मागेको कुरा भगवानले पनि पूरा गर्दा रहेछन् जस्तो उसलाई लाग्यो। राति दश बजेतिर खाना खान बस रोकियो। सानु एक्लै रोटी खाँदै थिई। निसान पनि त्यही टेबलमा खाना ल्याएर आयो। सानुलाई त रोटी घाँटीमा नै अड्केला जस्तो भयो।
अघिको फूलजस्तै ज्यान अहिले थेग्नै नसक्ने गरी भारी भएर आयो। अहिले भने लाजले आँखा हेर्न सकिन, भुइँमा हेरिरही। साँच्चै भन्ने हो भने निसानको अवस्था पनि त्यही थियो। यही बिरामीको उपचार गराउन ऊ सकिनसकी त्यहाँ आएको थियो। यही नै माया हो, उसले यसै बुझ्यो। खाना खाएर हात धोइ फर्किँदा त गाडी गुड्नै लागेको रहेछ। कुरा गर्न पाइएन भनेर कता-कता सानुको मन खिन्न भयो।
जब ऊ बस भित्र पसी निसान त काकालाई अर्को सिटमा पठाएर आफू सानुको सिटमा पो बसेको रहेछ। सानुलाई रिँगटा लागेजस्तै भयो। जसोतसो झ्याल छेउमा गएर बसी। लाजले निसानतिर फर्किन सकिन। सबैजना बसमा आइसकेपछि कन्डक्टरले बत्ती बन्द गर्यो।
वातावरण शान्त भयो। कोही सुत्नतिर लागे, कोही आराम त कोही गफ गर्न थाले। निसानले विस्तारै सानुको हात समातेर आफ्नो ओठमा लगेर चुम्यो र कानमा फुसफुसायो- 'आई लभ यू, डू यु?'
सानुले पनि 'यस' भनि तर आवाज निस्क्यो जस्तो उसलाई लागेन। रातभरि एउटाको गर्धन अर्काको काँधमा राखेर रमाइलो यात्रा गरे। अर्को दिन जब छुट्टिने बेला भयो दुइटैले फोन नम्बर साटासाट गरे। निसानले पढाइ सकेर काठमाडौंमा जागिर गर्दै रहेछ। उसले छिट्टै सानुको घरमा आएर सानुको हात माग्ने वाचा गर्दै गह्रुंगो मन सहित बिदा भयो।
तर यसपछि उसले आफ्नो फोन बन्द गर्यो। सानुले जति प्रयास गर्दा पनि सम्पर्क हुन सकेन। सानु साह्रै निरास भई। घरमा भनुँ भने के भन्नु? कसरी भन्नु? दशैं खल्लो भयो। सानुको काठमाडौं फर्किने दिन नजिक आइसक्यो। सानुको जीउ गलेर आयो।
एकदिन सञ्चो नभएको जस्तो लागेर बिहान अबेरसम्म उठ्न सकेकी थिइन। बाहिरबाट कतै सुनेजस्तै आवाज सानुको कानमा पस्यो। झ्यालबाट चियाएर हेर्दा त निसान र उसको काका सानुको बाबासँग कुरा गर्दै हुनुहुन्थ्यो।
सानुको खुसीको सीमा रहेन। त्यसै दिन सानु पढेको स्कुलबाट खबर आयो, 'भोलि स्कुलमा आउनू, तपाईंजस्तो शिक्षकको हामीलाई एकदमै आवश्यक छ।'
सानुको बुवाले सानु पढाइ सकेर घर आउन लागेको कुरा पहिले नै स्कुलमा जानकारी गराइसक्नु भएको थियो। सानुका दुइटै सपना साकार भए।