रातिको साढे एघार बजिसक्यो। शील कुमारलाई आज झन् फिटिक्कै निद्रा लागेन। तीन दिनअघि शीललाई जिस्क्याउँदै उसकी सहकर्मी नीलाक्षीले भनेकी थिइन्- 'सर! अब त बिहा गर्नुपर्छ। सुहाउँदो केटी खोजिदिने जिम्मा मेरो।'
हिजै दिउँसोको कुरा त हो। बानु लाज मान्दै शीलको च्याम्बरमा पसिन्। उनी विस्तारै शीलको नजिकै पुगिन्। बानुले सलज्ज मधुरो स्वरमा भनेकी थिइन्- नमस्ते।
सारीमा सजिएकी सुन्दर रमणी बानु। लज्जानत नेत्र, सुशोभित नासिका र गुलाबी कपोल। लामा हात, विशाल वक्ष, सर्लक्क मिलेको कटी र जतनसाथ सजाइएको केशराशी। अनि अनारदाना दन्तपङ्क्ति र पवित्र रमणीय मन्द मुस्कान।
आज तीस वर्षको उमेरमा शील कुमारले एउटी महिलालाई आशक्त नजरले हेर्यो। ऊ भावनामा डुब्यो, शब्दातीत। निधारमा चिटचिट पसिना आयो। बोली फुटेन। बस न भन्ने शिष्टाचरको सम्म पनि ख्याल रहेन। बानु अहिले जान्छु है भन्दै निस्केर गइन्। शील मूर्तिवत बनेर कुर्सीमा बसेको बस्यै भयो।
राति निद्रा नलागे तापनि बिहान उठ्दा तरोताजा र फुर्तिलो थियो शील। उसलाई बिहानै नीलाक्षीको फोन आएको थियो। नीलाक्षीले भनेकी थिइन्, लाज मानेर पसिनाले भिजेको शीललाई देखेर बानुलाई धेरै माया लाग्यो रे। शीलसँग कतै बसेर कुरा गर्न मन लाग्यो र आपसमा चिन्न र चिनाउन मन लाग्यो रे।
आज शुक्रबार। नीलाक्षी, बानु र शीलको एउटा रेस्टुरेन्टमा भेट भयो। उनीहरुले कफी खाए। नीलाक्षी हिँडेपछि बानु र शील आमने सामने भएर बसे। केही समयपछि सङ्कोच हराउँदै गयो। दुवैले आआफ्ना मन पर्ने खाना, गाना, साहित्यकार, कलाकार र शोखबारे वर्णन गर्दै गए।
खाली कागजमा लुकाएर लेख्दै देखाउँदै गर्दा पनि सबै कुरा मिलेको देखेर उनीहरू अत्यन्त प्रसन्न भए। बानुले शीललाई सोधेकी थिइन्, तपाईंलाई यो संसारमा सबैभन्दा मन पर्ने मानिस को हो?
शील- मेरो आमा। तिमीलाई?
बानु- म सात वर्षको हुँदासम्म मेरो आमा नै यो संसारको सबैभन्दा मन पर्ने व्यक्ति हुनुहुन्थ्यो।
शील- सात वर्षको हुँदासम्म मात्र?
बानु- हो। मलाई मेरो आमाको कारण जीवनभर निको नहुने चोट लागेको छ। मलाई मेरो आमा मन पर्दैन, किन्तु यस्तो कुरा बाहिर भन्नु हुँदैन। मैले तपाईंलाई पनि नभन्नु पर्ने हो। सरी।
शील- त्यसो त मलाई पनि सात वर्षको हुँदादेखि नै मेरो आमालाई एउटा कुरा सोध्न मन लागेको हो। २३ वर्षदेखि प्रत्येक दिन आमालाई प्रश्न गर्ने प्रयास गरेको गर्यै छु र आमाले पनि प्रत्येक दिन सोध न छोरा के हो भनिरहनु भएको छ। परन्तु मैले सोध्ने हिम्मत गरेको छैन।
बानु- तपाईंले जीवनमा कसैलाई कहिल्यै नबिर्सने गरी घृणा गर्नु भएको छ।
शील- तिमीले गरेकी छ्यौ?
बानु- गरेकी छु र ती मेरी आमा हुन्। तर म उनको अगाडि प्रकट गर्दिनँ।
शील- मैले यो जगतमा तीन जनासँग जीवनभरका लागि घृणा गरेको छु। तथापि मेरो मनमा उनीहरूको जीवनमा दु:ख र पीडा नहोस् भन्ने भावना आउँछ। घृणा लागेको व्यक्तिबारे सदैव एउटा चाहना राख्नुपर्छ। त्यो हो, त्यस्तो पात्रसँग कहिल्यै भेट नहोस् भन्ने कामना। भगवानको कृपाले तिनीहरूसँग भेट भएको छैन। अब त भेट भए पनि चिन्दिनँ र सायद उनीहरूले पनि चिन्ने छैनन्। तर आमासँग घृणा गर्नु सर्वथा अनुचित हो बानु। छोराछोरी कुपात्र हुन सक्दछन्, परन्तु माता कहिल्यै कुमाता हुन सक्दिनन्।
***
शील कुमारको घर लुम्बिनी प्रदेशको पहाडी जिल्लामा पर्दथ्यो। ऊ पाँच वर्षको थियो। एक दिन साँझ अबेला अपरिचित मानिसहरू आएर उसको बाबु दिल कुमारलाई पिट्दै र लतार्दै लिएर गए। गाउँमा बस्न कठिन भएपछि आमा उसलाई सँगै लिएर माइती गाउँमा गइन्। माइती गाउँमा पनि कसैले माओवादीकी स्वास्नी र कसैले प्रहरीको सुराकी भनेर हैरान पार्न थालेपछि शीलको हजुरबुवा र आमा उसलाई लिएर काठमाडौं आए।
शीलकी आमाको नाम सुकिला हो। सानैदेखि सफा र सुकिली भएर बस्ने, फाल्तु कुरा नगर्ने र लाए अह्राएको काम खुरुखुरु गर्ने हुँदा सबैले उनलाई सुकिला भनेर बोलाउँथे। काठमाडौं आएपछि सुकिलाले दुई तीन ठाउँमा भाँडा माझ्ने र घर सफा गर्ने काम गर्न थालिन्। बाबुले इन्द्रचोकतिर भारी बोक्न थाले। सुकिलाले शीललाई बोर्डिङ स्कुलमा भर्ना गरिन्।
शील मिलनसार बालक थियो। ऊ परिश्रमी र मेधावी छात्र थियो। कक्षामा प्रथम भएको हुँदा उसको फी माफी भयो। त्यो उमेरमा शीललाई धनी गरिब, हुने नहुने, शोषक शोषित आदि जस्ता कुराको ज्ञान थिएन। कोही ठूलो घरमा बस्नु र कोही आलिसान महलमा बस्नुलाई उसले ती ठाउँमा बस्नेको ऐच्छिक कर्म भनेर बुझेको थियो।
उसको चेतनाले थाहा पाएको एउटै मात्र गुनासो थियो बाबुको अभाव। पाँच, छ वर्षका प्रायः केटाकेटीका लागि संसारको सबैभन्दा जान्ने र बलियो मान्छे उनीहरूको बाबु लाग्छ। उनीहरू 'बाप कि दुहाई' दिन खप्पिस हुन्छन् र अरु केटाहरूले पनि अर्को केटाको बाबुको शक्तिलाई मान्यता दिन्छन्।
शील कुमार निदाएको बेलामा उसको बाबुको अपहरण भएको थियो। उसलाई बाबुलाई कसले किन उठाएर लग्यो, किन मामाघर बसाइ सर्नुपर्यो र फेरि किन रमाइलो गाउँ छाडेर काठमाडौं आउनुपर्यो भन्नेबारे केही थाहा थिएन। सुकिलाले उसलाई भनेकी थिइन्, तिम्रो बाबा पैसा कमाउन जानुभएको छ र धेरै कमाएर आउनु हुनेछ। स्कुलमा केटाहरूले बाबुको धाक लाएको सुनेर हैरान भएको उसले आमालाई भन्यो- 'बालाई बोलाउनु पर्यो।'
आमा- अहिले तिम्रो बाबा उतै काममा व्यस्त हुनुहुन्छ। धेरै पैसा कमाएर मात्र आउनुहुन्छ।
शील- मलाई पैसा होइन बा चाहियो।
बा चाहियो भनेर अति नै जिद्दी गर्न थालेपछि सुकिलाले भएको सत्य कुरा बताएकी थिइन्। तर शीललाई उहीँ नै बाबु चाहिएको थिएन। शीलले भनेको थियो- हाम्रो बा नआउने भए अर्को बा खोज्न मिल्दैन? मेरो एकजना साथीको बा थिएनन्। उसको आमाले अर्को बा खोजेर ल्याउनु भयो। बा नहुनेलाई सबैले हेप्दोरहेछ।
सुकिलाका बाँकी दिनहरू झनै दुष्कर र कठिन भएर आए। भारी बोकेर सानोतिनो कमाइ गर्ने सुकिलाका बूढा पिता एक दिन टाइफाइडले थलिए। उनी एक महिनासम्म ज्वरोले इन्तु न चिन्तु भएर लडिरहे। सुकिलासँग न बिरामी बाबुलाई अस्पताल लैजाने उपाय थियो न त तागतिलो खाना खुवाउने हैसियत नै।
कसैलाई दु:ख देखाउनु र सहायता माग्नुको पनि कुनै प्रयोजन थिएन। करिब वर्षदिनको बसाइमा उनले यो निर्दयी खाल्डोमा कसैसँग दयाको भिख माग्नु र आँसु बगाउनुको कुनै अर्थ छैन भन्ने बुझिसकेकी थिइन्। कामधन्दा गर्ने घरहरूमा सामाजिक न्याय, समानता र समाजवादका कुरा गरेको सुन्दथिन् उनी।
तर तिनीहरू कति करुणाहीन र पत्थर दिल छन् भन्ने कुरा सुकिलालाई राम्रो ज्ञान थियो। सुकिलाका बाबुलाई मरेर जाने खालको व्यथा लागेको थिएन। जसरी तमाम अकिन्चन र निर्दोष दरिद्र नागरिकहरु राज्यको खातामा अभिलेखहीन भएर मर्दथे, त्यसैगरी मरेर गए सुकिलाका पिता। बाबु मर्दा झरेका सुकिलाका आँसु देख्ने बालक छोरो शील बाहेक यस दुनियाँमा अर्को कोही थिएन।
बाजे जीवित हुँदासम्म बिदाको दिनमा शील र बाजे सँगै घुम्न निस्कन्थे। शीलले बाजेबाट धेरै कुरा सिक्यो। उसले गरिबी र अमिरीबारे थाहा पायो। बाजेको देहान्तपछि बिदाका दिनमा आमा जहाँ काम गर्न जान्थिन्, त्यहीँ सँगसँगै जाँदा उसले के बुझ्यो भने सबै मानिस बराबर हुँदैनन्। बालबालिकाको पनि भिन्नाभिन्नै औकात हुन्छ।
बाजे बितेको करिब दुई साता बितेको थियो। बालक शील आमाले काम गर्ने घरमा सँगै गएको थियो। नवधनाढ्य घरकी अहंकारी मालिक्नीले सुकिलालाई लगातार हप्काएको र हेपेको देख्यो उसले। मालिक्नी क्रोधित अनुहार लिएर भगवानको पूजा गर्न जान्थिन् र बीच-बीचमा परिवार, कुटुम्ब र छिमेकीहरुबारे कुवाच्य बोलिरहन्थिन्।
उनका ती हर्कत देखेर शीलको निर्दोष बालज्ञानले के बुझ्यो भने भगवान यिनीहरूको आज्ञाकारी सेवक हो। भगवान यिनीहरुकै पेवा हो र शील जस्तो अकिन्चनले भगवानबाट कुनै आशा गर्नु हुँदैन।
एक दिनको कुरा हो। ऊ आमासँगै त्यही घरमा गएको थियो। सुकिला आफ्नो काममा व्यस्त थिइन्। घरको मालिक्नीकी छोरी सहारा स्कुलमा शीलकै कक्षामा पढ्थी। सहपाठी साथी भएको हुँदा ऊ सहारासँग सहजतासाथ कुरा गरिरहेको थियो। अकस्मात दम्भी मालिक्नी आएर छोरी सहारालाई तान्दै भनिन्- यो चोरको छोरासँग खेल्नु हुँदैन सहारा।
शील केही बोलेन। उसले यो कुरा आमालाई पनि भनेन। भोलिपल्ट स्कुलको कक्षाकोठामा बालबालिकाहरू आ-आफ्ना बाबुआमाको नाम भन्ने खेल खेलिरहेका थिए। बालबालिकाले परिहास गर्दै कसैको बाबुको नाम भगवान राम, कसैको कृष्ण, कसैको वीर हनुमान र कसैको सुपरम्यान आदि भनेर हँसाइरहेका थिए।
यत्तिकैमा शीलको बाबुको नाम भन्ने पालो आयो। शील केही नबोलेर बसेको देखेर सहाराले भनी- 'शील त चोरको छोरो हो।' त्यसै बेला कक्षाभित्र छिरेकी मिस मोहिनीले भनिन्, 'किन हल्ला गरेको हँ? कसलाई चोरको छोरो भनेको?'
सबै बालबालिकाले हाँस्दै एक स्वरमा भने- 'शील चोरको छोरो रे मिस!' त्यहाँ शील बाहेक सबै समवेत हाँसिरहेका थिए। शीलले मोहिनी मिसलाई हेर्यो, बालबालिकाभन्दा ज्यादा उनै हाँसिरहेकी थिइन्।
शील दिनभरि कसैसँग बोलेन। साँझ घर फर्केपछि उसले आमालाई भन्यो- आमा, अब म त्यो स्कुलमा पढ्दिनँ।
आमा- किन के भयो?
शील- मलाई मन परेन।
आमा- कसैले पिट्यो कि, गाली गर्यो कि, सर मिसहरुले केही भन्नुभयो कि?
शील- होइन।
आमा- तिमीले नभन्ने हो भने म आफै बुझ्न जान्छु।
शील- बुझ्न जानुभयो भने म झन पढ्नै छाडिदिन्छु। सुकिलाले शीललाई सरकारी स्कुलमा भर्ना गरिदिइन्।
शील भन्दै गयो- त्यसरी गाउँ छाडेर हिँडेको पन्ध्र-सोह्र वर्षपछि मेरो ग्र्याजुएसन पूरा भयो। हामी गाउँ गयौं। अपहरणमा परेको तीन वर्षपछि मेरो बाको लास भेटिएछ। बालाई कसले किन मार्यो भन्ने थाहा पाउन सकिएन र पाइनेवाला पनि छैन। बाको सम्पत्ति पाइने सम्भावना नदेखेपछि हामी बसाइ सराइ गराएर रित्तो हात काठमाडौं फर्केर आयौं।
मलाई मेरो आमा सधैँ भन्नुहुन्थ्यो- कहिल्यै चोरी नगर्नू, आफ्नो अधिकारभन्दा बाहिरको वस्तुलाई कहिल्यै आफ्नो स्वामित्वमा ल्याउने प्रयास नगर्नू, कमजोरमाथि करुणा राख्नू र सबैलाई सम्मान गर्नू। मेरो आमा मुस्किलले साक्षर मात्र हुनुहुन्छ, तर उहाँमा बुद्धको जस्तो ज्ञान छ।
आमा भन्नुहुन्छ, 'वस्तुतः मानव जीवन दु:खी छ।' अर्काको घरमा भाँडा माझेर दुई छाक रुखोसुखो खाने मेरी आमा भन्नुहुन्छ- 'हेर छोरा शील, धनीहरुको जीवन टाढाबाट जति सुखी र आनन्दमय देखिन्छ, नजिकै पुगेर हेर्दा त्यस्तो हुँदैन। आ-आफ्नो सुख र दु:खको भाग सबैले लिएर आएका हुन्छन्।'
प्रायः आमाले मलाई इमान र निष्ठाको उपदेश दिएको दियै र मैले आमालाई एउटा कुरा सोध्नु थियो भनेको भन्यैमा हाम्रो जीवन बितिरह्यो। आमा भन्नुहुन्थ्यो, जे सोध्नु छ सोधिहाल मलाई, अबेर भइसक्यो। मेरो पापी मन फेरि डराउँथ्यो कि कतै मैले सोधेको प्रश्नको सकारात्मक उत्तर आयो भने?
मैले कमाउन थालेपछि हामी तीन कोठे फ्ल्याटमा सर्यौं। मैले आमालाई भनेँ- आमा अब त मेरो कमाइले प्रशस्त खान पुग्छ। तपाईं काममा जानु पर्दैन। तर आमाले मान्नुभएन। उहाँले भन्नुभयो- 'म काम छाड्दिनँ छोरा। काम सानो हुँदैन। मानिसको सोच सानो हो। मानिसले आफ्नो योग्यता र क्षमता अनुसारको काम गर्ने हो। आज तिमीले पढ्न नसकेको भए मैले गर्ने गरेको जस्तै काम गर्नुपर्थ्यो।
मैले तिमीले गर्ने काम गर्न सक्दिनँ, तर तिमी मैले जस्तो काम गर्न सक्छौ। कुनै कारणले तिमीले मैले गरे जस्तो काम गर्नुपर्ने अवस्था आयो भने सहज मानेर गर्नू। मैले तिमीलाई तिम्रो औकात सम्झाउनका लागि पनि यो काम गरिरहने छु। तिम्रो विवाह भएर छोराछोरी भएपछि मात्र काम गर्न छाड्नेछु।'
बानु- आमालाई सोध्न खोजेको प्रश्न के हो?
शील- म त्यो प्रश्न अब छिट्टै गर्नेछु।
बानु- अनि तपाईंले घृणा गरेका तीन जना मानिस को हुन्?
शील- त्यो पनि पछि भन्छु। तर तिमीले पनि जन्म दिने आमालाई घृणा गर्नाको कारण बताउनुपर्छ।
शील र बानु आ-आफ्नो घरतिर लागे।
***
आज शनिबार। सुकिलाले पनि कामबाट छुट्टी मागेकी छन्। आमाछोरा दुवै ब्रेकफास्ट गरेर निस्के। शील ड्राइभिङ गरिरहेको थियो। आमा उसको बगलमा बसेकी थिइन्। उनले मनमनै सोचिन्, यो जीवन पनि अचम्मको छ। कहिले कति निर्दयी हुन्छ र कहिले कति दयालु। सुख दु:ख रुपी घामछाया रहेछ जीवन। यस्तैमा शीलले भन्यो- आमा! के सोच्दै हुनुहुन्छ?
आमा- म त हजुरआमा भएको कल्पना गर्दैछु।
शील केही बोलेन। उसको मनमा २२/२३ वर्षअघिको त्यही घटना घुमिरहेको छ। 'यो त चोरको छोरो हो। मिस मिस! शील त चोरको छोरो हो।' यही बेइज्जतीको कारण उसले स्कुल छाडिदियो। तर विडम्बना, आमालाई चोर भन्ने घरको कामबाट छुटाउन सकेन। के आमा साँच्चैकी चोर हुन्?
आमाछोरा चिडियाखाना पुगे। उनीहरू एक ठाउँमा गएर एकान्तमा बसे। शील आमाको काखमा टाउको राखेर रुन थाल्यो। आमाले पाएका दु:ख र सहेका अपमान सम्झेर ल्याउँदा उसको हृदय अत्यन्त द्रवित भयो। उसले भनेको थियो- आमा! हामीलाई यो जिन्दगीले रुने पनि मौका दिएन। आज त म हजुरलाई अवश्य पनि एउटा कुरा सोध्नेछु।
आमा- हो। आज तिमीले सोध्नै पर्छ। अब हामीसँग भन्ने र सुन्ने फुर्सद छ। आज हामीसँग साँझ पकाएर खान पुग्ने अन्न छ।
शीलले आमातर्फ हेर्यो। पचास वर्ष पार गरेको त्यो विश्रान्त ज्यान! कहिल्यै ऐया भन्न नपाएका हातगोडा। पतिपत्नीको माया के हो भन्ने पनि नबुझ्दै र किशोर अवस्था पार हुँदा नहुँदै सुत्केरी भएको त्यो शरीर। तैपनि आमालाई लागेको आरोप र त्यसबाट सृजित बेइज्जती बिर्सनै सकेन उसले।
मनभित्र घर बनाएर बसेको त्यो क्लेश काँढो जस्तै बनेर हृदयमा गडिरह्यो। शील काँपिरहेको थियो। उसले आमाको गोडा समातेर सोध्यो- 'हे मेरी आमा! के तिमी चोर हौ?'
स्तब्ध आमाले छोरालाई अविचल हेरिरहिन्। यो छोरो अढाई तीन वर्षको हुँदा नै साह्रै सुधो भएको हुँदा बाबुले यसको नाम शील कुमार राखिदिएका थिए। यसले कहिल्यै कुनै माग गरेन। सधैँ मुनि जस्तो यो सहनशील र शालीन केटोले कहिल्यै कसैको चित्त दुखाउने काम गरेन। आज आफ्नो योग्यताले राम्रो पद र सुविधा पाउँदा पनि यो युवकमा कुनै दम्भ छैन।
आमाले एक पल्ट क्षितिजतिर हेरिन्, फेरि लामो सास तानेर छोरातर्फ हेरिन्। उनको अनुहार रातो भयो। शीललाई अनाहकमा प्रश्न गरेर आमाको चित्त दुखाएको महसुस भयो। आमा सुस्तरी उठिन् र हृदयमाथि हात राखेर भनिन्- 'हो छोरा, म चोर हुँ।'
***
उही शनिबार, साँझको समय।
आज बानु र शील दुवै गम्भीर छन्। बानुले कफी मगाइन्। धेरै बेरसम्म दुवै जना चुपचाप बसिरहे। अन्तिममा बानुले नै मुख खोलिन्।
बानु- आमालाई त्यो एउटा कुरा सोध्नुभयो त?
शील- हो। उहाँले सकारात्मक उत्तर दिनुभयो। अनि तिमीले आफ्नो जन्म दिने आमालाई घृणा गर्नुको कारण के हो?
बानु- पहिले तपाईं भन्नुहोस् कि आमाको सकारात्मक उत्तर भनेको के हो?
शील- मेरो आमाले आफू चोर भएको स्वीकार गर्नुभयो।
बानु- त्यसो भए त तपाईंले पनि जन्म दिने आमालाई घृणा गर्न थाल्नुभयो होला।
शील- होइन। मेरो आमा चोर भएकोमा मेरो छाती गर्वले फुल्यो। मेरो बाजे बिरामी हुनुहुन्थ्यो। डेरामा चामल सकिएको थियो। बिहान आमाले मकै भुट्नुभयो। आमा र मैले नुन र मकै खायौं। मलाई भुटेको मकै र नुन अति नै मन पर्थ्यो।
अहिले पनि मलाई भुटेको मकै जति मिठो केही लाग्दैन। म त अगाडिका दुई वटा दूधे दाँतले मकै चपाएको मान्छे। आमाले मालिक्नीसँग दुई माना चामल सापटी माग्नु भएछ, तर उनले दिन इन्कार गरिन्। नचिनेको मानिस भनेर दुकानदारले उधारो दिएन। आमाले मालिक्नीको घरबाट एक माना चामल झिकेर पटुकामा लुकाई ल्याउनुभयो। अनि बिरामी बाजेलाई भात पकाएर खान दिनुभयो।
मिठो मान्दै भात खाएको दुई घण्टापछि बाजेको देहावसान भयो। मालिक्नी भन्ने गर्दथिन्- यत्रो सहरमा कति रोगी छन्, कति माग्ने छन्, कति बेवारिसे बच्चा र वृद्धवृद्धा छन्। त्यस्ताको टीठ मान्न थाल्यो भने त आफू नै मागेर खाने भइन्छ। इन्द्रचोकबाट आएका बाजेका साथी भरियाहरुले चन्दा उठाएर दिएको पैसाले चामल किनेर आमाले मालिक्नीको भाँडामा राखिदिनुभयो।
आमाले चामल झिकेको र राखेको दुवै घटना साहुनीलाई थाहा रहेछ। परन्तु उनले झिकेको कुरा सम्झिरहिन्, फिर्ता गरेको बिर्सिन्। चोर भनेको र त्यही कारणले मैले स्कुल छाडेको कुरा भने आमालाई आजै मात्र थाहा भयो।
शीलको कुरा सुनेर बानु रुन थालिन्।
शील- यसमा रुनुपर्ने के छ? तिमी त मेरो आमालाई चिन्न पनि चिन्दिनौ।
बानु- तपाईंले घृणा गर्ने तीन जना पात्र को हुन्?
शील- मलाई चोरको छोरो भन्ने महिलालाई म एक नम्बरमा घृणा गर्छु। फेरि चोरको छोरो भनेर स्कुलका सबै साथीहरुको अगाडि मेरो बेइज्जती गर्ने केटी र त्यो सुनेर सबैलाई सम्झाउनु पर्नेमा आफै खुतुतु हाँस्ने मिस पनि मेरा घृणाका पात्र हुन्।
बानु- शील सर, नीलाक्षीले तपाईंको बारेमा कुरा गर्ने बित्तिकै मलाई तपाईं मन पर्न थाल्नु भएको हो। एक दुई पटकको भेटमै मलाई जीवनप्रतिको तपाईंको सोच अत्यन्त मन पर्न थालेको थियो। तपाईं र म दुवै हुर्केको वातावरण 'एक्स्ट्रीम' थियो। मेरो बचपन दम्भ र अहंकारले भरिएको थियो भने तपाईं साह्रै गरिबीमा हुर्कुनु भयो। परन्तु तपाईंको आमामा जुन महानता थियो, त्यो मेरो आमामा थिएन। म तपाईंको महान आमालाई भेट्न चाहन्छु।
उनीहरू दुवै जना शीलको डेरामा गए। बानु र सुकिला कुरा गर्न थाले। पन्ध्र बीस मिनेट सँगै बसेर कुरा गरेपछि आमाले भनिन्- लाखौंमा दुई जना मान्छे दुरुस्त उस्तै हुन्छन् रे। तिमी त मलाई सहारा जस्तै लाग्यो। सहारा मैले कामधन्दा गर्ने घरकी मालिक्नीकी छोरीको नाम हो। उनीहरू धेरै धनी थिए। खै के कारणले हो पछि व्यवहार बिग्रेर घर बेचेर हिँडे भन्ने सुनेकी थिएँ।
आमामा अलि घमण्ड ज्यादा थियो। बाबु ठेकेदार हुन् भन्थे। कहिलेकाहीँ मात्र घर आउने गर्थे। सहारा साह्रै राम्रो स्वभावकी थिइन्। आज तिमीलाई देख्दा ठ्याक्कै उनैलाई देखे जस्तो लाग्यो। दाहिने आँखामाथि कोठी, आँखा, हाँसो, निधार र बोली सबै उस्तै।
बानु- आमाले ठिक भन्नुभयो। उनीहरु धनी थिए। सहाराकी आमालाई धनको ठूलो दम्भ थियो। उनी निर्दयी र करुणाहीन पनि थिइन्। सहाराले शीललाई कक्षा कोठामा सबैका अगाडि चोरको छोरो भनेपछि सबै जना हाँसे।
त्यो दिनपछि शील कहिल्यै स्कुल गएन। सहाराको क्षुद्र वचनको कारण स्कुलले अनुशासित र प्रतिभाशाली विद्यार्थी गुमाउनु पर्यो। सहाराको बोली कुवाच्यको इतिहास नै बन्यो त्यहाँ। सहारा जति ठूली हुँदै गई उति नै त्यो कुवाच्य पनि उदाहरण बन्दै गयो। केटाहरूले यो स्कुलको सबैभन्दा तुच्छ बोल्ने केटी को हो? भनेर हाजिरजवाफको प्रश्न बनाउन थाले। तर त्यसमा सहाराको कुनै दोष थिएन। बालबालिकाले आफ्ना बाबुआमा र शिक्षकको वचनलाई सत्य र सभ्य सम्झेका हुन्छन्।
छ कक्षामा पुगेपछि सहारा स्कुल छाडेर हिँडी। उसले स्कुल मात्र नभई आफ्नो नामसमेत परिवर्तन गरी। आमाबाबुले घर बेचे। बाबुलाई कडा रोग लाग्यो। काम गर्न सकेनन्। सधै धनी, सुखी र समृद्ध रहिन्छ र समय पनि सदैव एकनास चलिरहन्छ जस्तो गरी घमण्ड गर्ने आमा अहिले त्यही सहाराको सहारामा जीवित छन्। सहारा अहिले एउटा कम्पनीमा काम गर्छे। सहाराको नजरमा यो संसारको सबैभन्दा घृणित प्राणी उसकी आफ्नै आमा हुन्।
शील- तिमीलाई त सहाराको बारेमा सबै कुरा थाहा रहेछ। मलाई चोरको छोरो भनेर बेइज्जत गर्ने सहाराप्रति मेरो हृदयमा ठूलो घृणा थियो। परन्तु आज मेरो धारणा परिवर्तन भयो। मलाई सहाराप्रति हृदयभित्रबाटै दया र सहानुभूति जागेर आयो बानु। सहाराको नयाँ नाम के हो? उसले काम गर्ने अफिस कुन हो? म उसलाई भेट्न चाहन्छु।
बानु - सहाराको नयाँ नाम बानु हो।