तीन वर्षको उमेरमा स्कुल भनेको के हो थाहा नपाउँदै बाबा र मामुले डोर्याउँदै लगेर भर्ना गर्दिनु भयो। त्यो सेतो सर्ट र खरानी कलरको स्कर्ट त्यसमाथि टाई, बोइज कट कपाल भएकी म सानी फुच्ची कपाल हल्लाउन नपाए नि टाई र स्कर्ट भने मच्चिने गरी जानी नजानी हल्लाउँदै हिँड्थेँ।
बाबा त अफिस जानुहुन्थ्यो, मामुको भने सामीप्यताबाट कहिले टाढा भएकी थिइनँ। त्यहीमाथि घरको पहिलो सन्तान। निकै माया र चाखमा हुर्किएकी थिएँ। मामु कि त हजुरआमा सधैँ एक न एकजना साथमै बस्नुहुन्थ्यो। म पनि यी आँखाले एकछिन मामु, बाबा अनि आमा नदेख्दा आँखाभरि आँसु पारेर खोज्न थाली हाल्थेँ। के गर्नु परिवारबाट टाढा बस्ने बानी नै थिएन।
यसरी भर्खर तीन वर्षको उमेरमा स्कुल भर्ना हुनु अनि स्कुल जान थाल्नु त्यो पनि दिनको सात घण्टासम्म। नयाँ माहोल, नयाँ अनुहार सजिलो कत्ति थिएन। नयाँ अनि नौलो लाग्ने त्यो ड्रेस लगाएर औँला समात्दै जाँदा त रमाइलो लाग्थ्यो तर स्कुलको गेट आउना साथ र आमासँगको साथ छुट्ने बित्तिकै जोस जागर सबै हराउँथ्यो।
गेटबाट छिर्ने बेलामा खुबै रुन्थेँ तर रोएर पनि के गर्ने, भविष्यको कर्णधार जो थिएँ। पढेलेखेर, सु-संस्कार सिकेर एक असल योद्धा पनि त बनाउनु थियो। त्यहीमाथि त्यही गेट र मसँग जोडिएका मेरा बा, आमाका ती तमाम सपना, चाहना र महत्वकांक्षा। यस्ता चाहना र महत्वकांक्षा जसले मेरो इच्छा र आकांक्षासँग विरलै महत्व राख्थ्यो।
कक्षा एक पढ्दा म खेल्न चाहन्थेँ लुकामारी, छोईडुम, रुमाल लुकाई अनि यिनै खेल खेल्दै खेल्दै क, ख र ए, बी, सी पढ्न र सिक्न चाहन्थेँ। तर अफसोस! खेल्नभन्दा धेरै औँलामा ठेला उठ्नेगरी लेख्न पर्थ्यो। केहीगरी नलेखे भोलिपल्ट कुखुरा बन्नुपर्ने डरले बारम्बार सताउँथ्यो र आफ्नो चाहना मारेर लेख्न थाल्थेँ।
कक्षा पाँचमा पढ्दा पढाइ, लेखाइमा भन्दा बढी रुचि नाच्ने गाउने जस्ता आतिरिक्त क्रियाकलापमा लाग्न थाल्यो तर समाजले छोरी नाचेको, गाएको राम्रो मान्दैन भन्ने सोचबाट बाधिनु भएको मेरो बाबा-मामुले फेरि मेरो चाहनामा बन्देज लगाइदिनु भयो।
तैपनि ठिकै छ मेरै लागि त भन्नु भएको हो भन्ने सोचले पुनः पढाइलेखाइ तिर लागेँ तर खै! आफ्नो इच्छा र चाहना अर्कैतिर मोडिएकाले होकि छोरी कक्षामा प्रथम भएको हेर्ने मेरो बा-आमाको चाहना कहिल्यै पूरा गर्न सकिनँ।
एसएलसी नजिकिँदै थियो। छोरीले राम्रो अंक ल्याउली र राम्रो कलेजमा साइन्स पढाउने ठूलो धोको रहेछ मेरा बाबा-आमाको। म भने होटल म्यानेजमेन्ट पढेर सेफ बन्न चाहन्थेँ। तर पाँच वर्षको कलिलो उमेरमा कक्षा १ पढ्दादेखि नै आफ्नो इच्छा मारेर बाबाआमा र यो समाजले के भन्छ भन्ने मुताबिक चल्न थालिसकेकी म, यो पटक पनि आफ्नो चाहनाभन्दा पनि आमा बाबाको इच्छालाई सरोपर गरेर अगाडि बढ्नु मेरो लागि खासै ठूलो कुरा थिएन।
त्यसैले फेरि पनि एसएलसीमा राम्रो अंक ल्याउने आशाले मेहनत गर्न थालेँ। परीक्षा पनि भयो तर अफसोस! परीक्षामा आमाबाबाले आश गरेअनुसार नम्बर ल्याउन सकिनँ। साइन्स पढाएर डाक्टर बनाउने इच्छा त पूरा गर्न सकिनँ, तैपनि होटेल म्यानेजमेन्ट पढ्ने सपना त यसै त्यागेर साइन्स लिइ डाक्टर बन्न्न नसके पनि नर्स बन्न लागिपरेँ।
आमा-बाको सपना पूर्णरूपमा पूरा गर्न नसकेकी, आधा अधुरो भए पनि पूरा गर्ने कोसिस भने मेरो जारी थियो। तर थाहा छ तपाईंहरुलाई, म त भविष्यमा डाक्टर, नर्सभन्दा पनि असल नागरिक बन्न पर्छ, देशको लागि एक योद्ध बन्नुपर्छ भनेर सिकेकी थिएँ नि।
नृत्यकार होस् वा डाक्टर जे बनेपनि मानिसमा हुनुपर्ने मानवता र मर्यादा नत्यागी गर्न सकेकी थिएँ तर तपाईंले नै शिक्षित बनाउन पठाउनु भएको मलाई मेरो मर्यादा र मेरो आफ्नो इच्छाभन्दा माथि तपाईं आफ्नो महत्वकांक्षाले बाँधिदिनु भएको थियो। यतिसम्म बाधेर कसिदिनु भयो कि त्यहाँबाट फुस्किन कुनै उपाय नै भेटिनँ।
छोरीको चाहना र इच्छाभन्दा माथि पनि समाजले के भन्ला र उसले सधैंव पालना गर्नुपर्ने आफ्नो समाजिक र प्राकृतिक नियम, मर्यादाविपरीत जान रोक लगाउनभन्दा पनि तपाईंहरुको रूढिवादी समाजले के भन्छ, फलानाले सोच्छ भन्न्ने सोचेर मलाईभन्दा बढी त यही फलानो र ढिस्कानोको आवाजलाइ बढी महत्व दिनु भयो।
बाटो त असल नै रोजेको थिएँ नि, देशलाई अनि समाजलाई आफूलाई इच्छा लागेको क्षेत्रबाट योगदान दिने। तर, हरेक पटक आफ्नो आकांक्षालाई खुम्चाएर बाटो नै बदल्न पुगेँ जुन बाटोबाट म कहिले पनि आफू पुग्न पर्ने गन्तव्य छिचोल्न सकिनँ न त बीचबाट बाटो मोडिन नै सकेँ।
गन्तव्य नदेखेको त्यो बीच बाटोमा पाइला पनि सर्न मानेनन्। एकआपसमा बाँधिएको यी पाइला अब न त अघि बन्न नै सक्यो न त फर्केर बाटो मोड्न नै।
माफ गर्नुस् मामु, माफ गर्नुस् बुवा। म तपाईंको इच्छा र चाहना तपाईंको लाख कोसिसमा पनि पूरा गर्न सकिनँ। म हजुरहरुले सोचेजस्तो लायक सन्तान बन्न सकिनँ। म लाचार भएको छु।
सायद म आफूले रोजेको बाटो हिँड्ने आँट गर्न सकेको भए गन्तव्य पक्कै भेट्थेँ र देख्थेँ पनि। नभएपनि त्यो बाटो हिँड्दा यी पाइला भने पक्कै थाक्ने थिएनन्, लाचार भएर एकआपसमा बाँधिएर लड्ने थिएनन्।