केही थान बदमासीहरु,
केही थान बिठ्याइहरु,
केही थान नखराहरु,
केही थान सत्कर्महरु पनि,
आउ सँगै मिलेर गरौँ।
केही स्मरणहरु बनाउँ,
आऊ छेउँमै आऊ,
हातमा हात मिलाउँ,
मिलाउँ बाहुहरु।
तिमी र म बीचमा,
यस्तो नहोस् कि,
सम्झना गर्न केही नहोस्।
आज केही भएन भने
के सम्झनु पछि?
तिमी पनि पछुताउनु नपरोस्,
म पनि पछुताउनु नपरोस्।
सम्झनुलाई केही होस हामीबीच।
कल्पन्छु आज,
भोलिको त्यो क्षणको,
शरीर निष्कृय भैसकेको हुनेछ,
छालाहरु मुजामुजा, पत्रपत्र हुनेछन्,
केशहरु हिमवत रंगिनेछन्,
इन्द्रीयहरु सुषुप्त हुनेछन्।
यति हुँदाहुँदै पनि,
चाहनाहरु छाल बनी उर्लेलान्,
तर,
चाहना र उमेर सामञ्जस्य हुने छैनन्।
हो,
त्यही क्षणहरुलाई,
तिमी पनि सम्झनु आजै,
त्यसैले बनाउँ केही थान यादहरु।
चेष्टा गर साथी,
हातमा हात देऊ,
मिलाउँ बाहुहरु,
बनाउँ असंख्य थान सम्झनाका तरेलीहरु,
जसले बनाउनेछ मेरो बुढापा सहज,
जसले बनाउनेछ तिम्रो बुढापा सहज।