लौ! यो फलानाकी छोरीका
राता-राता गालाका टुप्पा हेर त,
यसको ढाड हेर त
अब त यो पनि पर सर्छे जस्तो छ
म भने अक्क न बक्क
भर्खर एघार सकेर बाह्र टेकेकी
सात कक्षामा पढ्दै गरेकी
लाजले मुन्टो निहुँराइ रहेँ।
आमै! मलाई के भयो के
डर लागेर आयो, जीउ कामेर आयो
मलाई त के भयो के!
के भन्छे? लौ यो त पर सरि कि के हो?
जा, उता जा, किन घर भित्र छिरेकी?
बाउहरुले देख्लान्, दाजु भाइले देख्लान्
छरछिमेकका दाइ-भाइ, काकाहरुले देख्लान्।
गोठ भित्र जा।
पेट त भोकै थियो तैपनि खान मन लागेन
हाँस्न पनि मन थियो तैपनि हाँस्न मन लागेन
रुँदै रुँदै बाइस दिन फुपूको घरमा बस्न हिँडेँ
सोचेँ बाइस दिनको मेरो पढाइ, तैपनि हिँडे।
सुन्तला खान भनेर रुख चढेकी मात्र थिएँ
ए ए ए... किन रुख चढेकी?
फलफूलको बोट छुनु हुँदैन, सबै मर्छ
अनि फल पनि बस्दैन, फुपूका छिमेकीको हप्काई
जिब्रोले गुलियो खोजिरहेको मन अमिलो पारेर फर्किएँ।
हरेक दिन यति लामो लाग्थ्यो कि
न विद्यालय, न साथिभाइ न भाइबैनी
फुपूकै गाउँका बच्चाहरुसँग खेल्दै थिएँ
एक्कासी कसैको चिच्चाहट-
यो फलानाकी भदै कति पापी,
मेरा नातीहरुलाई छोएर खेली
ब्रह्महत्याको पाप लाग्छ।
बाटोको दुबो कुल्चिएर नहिँड सबै मर्छ!
ब्रह्महत्याको अर्थ समेत थाहा नभएका बेला
कसैले जबरजस्ती लगाइदियो, पाप के हो थाहा नभएको बेला।
मसँगै एउटै कक्षामा पढ्ने मेरी साथी
फुपूकै गाउँकी थिइन् मेरै सहपाठी
पन्छिन् त्यही बेला
उनी पनि घर छोडी कुखुराको खोरमा बस्ने भइन् नछुने बनि
भेट्न जाँदा उनलाई चकित बनेँ म त
सुँघ्दै कुखुराको आची बसिन् कसरी होला त?
न थियो नजिकै पानी, न थियो शौचालय
थुनिएकी थिइन् उनी पनि नगई विद्यालय
सफा ठाउँमा बस्ने बेला बसिन् किन त्यसरी
कुरीति र अन्धविश्वासले जकडेथ्यो बेसरी।
तेइसौं दिनदेखि विद्यालय जाने भएँ म
पखेंटा पलाएर त्यसै त्यसै उफ्रिएँ म
धेरै दिनदेखि थन्किएका किताब कापी संगालेर राखेँ
विद्यालय पोशाक लगाएर विद्यालय गएँ।
कक्षा भित्र के छिरेकी थिएँ मेरो होसै हराएर आयो
केटाहरु गलल हाँस्दा लाजले राती भएँ।
यति दिन कहाँ थियौं? किन आइनौ विद्यालय?
गर्दै थिएँ एक-एक प्रश्न, म दौडिएँ शौचालय
लाजले गलेकी थिएँ रोएँ बेसरी
साथीले सम्झाइन्, मन बुझाएँ जसोतसो गरी
शिक्षकले पाठ सोध्दा पाठ आएन कति दिन त
साथीसँग मागेर कापी बल्ल मिलाएँ अनि त
यो कस्तो धर्म, यो कस्तो रीति
जहाँ महिनावारी हुँदा
गाइको गोबर सोहर्न हुन्छ, दूध खानु हुँदैन
केटा मान्छेका लुगा धुन हुन्छ, छुनु हुँदैन
बोटविरुवामा मल हाल्न हुन्छ, बोट छुनु हुँदैन
घाँसको भारी बोक्न हुन्छ, दुबो छुनु हुँदैन
ठानेँ त्यसै दिन मनमा एउटा कुरा
कुनै दिन छोरीकी आमा बनेछु भने
पन्छाउदिनँ अन्त छोरीलाई, अछुतो पनि बनाउदिनँ
मायाले राख्छु आँखाकै सामु, सिकाउँछु सफाइका कुरा।