'सुनेकी थिएँ केटामान्छे एक भमरा हो। ऊ भमरा नै रहेछ। आज कोही नयाँ फूल भेट्यो, त्यही फूलमा रमाउन थाल्यो। उसले मलाई छाड्नुको कारण कहिले दिएन, सायद जरुरी ठानेन।'
यदि छाड्नु नै छ भने मानिस प्रेम किन गर्छ? मनमा प्रश्न छ। जवाफ भएरिएको छ मस्तिष्कमा, तर खै किन यी कुरामा चुप बस्नु नै मलाई उत्तम लाग्छ। त्यसैले यी कुरामा कुनै पनि प्रतिक्रिया नदिइ सकिएको सम्बन्धपछिको जीवनको बारे भन्न अनुरोध गरेँ।
'कुनै केटा मान्छे यस्ता हुन्छन् जो एक रात शरीर छुनको लागि कैयौँ रात मन छोएको नाटक गर्ने गर्छन्, म यसमा सम्पूर्ण केटा जातलाई नै समेट्न थालेँ भने गलत हुनेछु। सायद तिमी पनि त्यस्तो छैनौ।
त्यसपछिका कयौँ रात रोएर बिते। हाम्रो भेट पनि भयो, चितवनमा मेरो प्रवेश परीक्षा, चैत २६ गते म आफ्नो यात्रा तय गर्दै थिएँ। मोबाइलले घण्टी बजायो। सम्बन्ध सकियो भनेको दुई हप्तापछि मोबाइलले उसको नाम देखायो- अरुण कलिङ यू।
आश पलायो, मन खुसीले नाच्न थाल्यो। सायद आज पनि ऊ पहिले जस्तैगरी फर्की आउनेछ। विदिप, हाम्रो पहिला पनि खै कतिपल्ट सम्बन्ध सकिएको घोषणा उसले गरेको थियो। उसको मनको अदालतमा मेरो मायाले कयौँ पटक मेरो पक्षमा बहस गरेको थियो, र दिलाएको थियो मलाई मायाको न्याय।
तर यसपालि उसका वकिल बलिया थिए, डटेर बहस गर्न सके। त्यसैले फोन उठाउनु अघिको आशा आशामै सीमित रह्यो। म हारेँ, हार्यो मेरो प्रेमले। मैले जानकारी दिएँ, म तिम्रो सहर आउँदै छु। मेरो प्रवेश परीक्षा २८ गते थियो। चितवन कृषि क्याम्पस अगाडि हाम्रो भेट भयो।
अचानकको भेटमा म केही बोल्न सकिनँ। मनमा थिए धेरै कुरा, मन थियो उसको अंगालोमा बाँधिएर रुँदै सोध्न, 'आखिर किन गरेऊ त यस्तो?'
पीडा दिनेको अगाडि मनले युद्ध गरिरहेको थियो त मुखमा कुनै शब्द थिएन।
'कस्तो भयो परीक्षा?' उसले प्रश्न गर्यो।
'आज दुई हप्ता भयो, हर रात म तिम्रो यादमा रुने गर्छु। जब आँखा खुला हुन्छन् तब तिमीलाई सम्झी आँसु झर्छ। जब आँखा बन्द हुन्छन् त कल्पनाको सहरमा तिमीसँग डुलिरहेकी हुन्छु। परीक्षामा त म पास हुन्छु होला तर तिम्रो प्रेममा म किन असफल भएँ, लाग्दैछ जिन्दगीमा असफल भएँ।
प्रेमको त्यो महलमा मलाई बाहिर राखी भित्रबाट कुण्डी किन लगायौ? राजा कुण्डी एकतर्फी मात्र हो खोलेर भित्र बोलाउन। यो स्वार्थी संसारमा म प्रेमको भिक माग्दै कहाँ जानु?'
मनका यी प्रश्नलाई मनमै राखेर राम्रो भएन भनी म हाकिम चोकतर्फ लागेँ। मलाई त्यहाँबाट साथीसँग जानु थियो। अर्को दिन, बिहान करिब आठ बजे उसले म्यासेज पठायो- राम्रो नम्बर आएछ, बधाई छ।
म खुसी थिएँ बाबाको सपना आज पूरा गरेकी छु, तर खुसी साट्ने ऊ मसँग अब रहेन। त्यसको अर्को दिन ऊ जन्मघर बागलुङ गएछ, म भने छ गतेसम्म त्यही बस्नु पर्यो। ओरिन्टेसन सकेर म वैशाख आठ गते घर फर्किएँ।
नौ गते मेरो जन्मदिन। उसको अन्तिम म्यासेज दुई गतेको। आशा थियो जन्मोत्सवको शुभकामना त पक्कै दिन्छ। तर आशालाई निराशामा बदल्न ऊ सिपालु थियो। त्यसपछि हाम्रो कहिल्यै कुरो भएन।
जे जति भोगेँ म आफैले भोगेँ। चितवनबाट फर्किँदा मनमा एउटा खुसी थियो। नाम निकाल्न सफल छोरीलाई स्वागत गर्दा बाबा पनि उत्साहित हुनुहुन्थ्यो। विस्तारै ठिक हुन्छ भन्ने सोच्ने म तर खै किन उसलाई सम्झी रुने आदतलाई भुल्न सकिनँ।
मन कमजोर भयो, म कमजोर भएँ अनि भएँ बिरामी। बाबाले खुब तनाव लिनु भयो म बिरामी हुँदा। त्यसपछि मनमा अठोट लिएँ, मलाई अब यहाँबाट निस्किनु छ। यो अँध्यारो रातमा अब सिरानी भिजाउनु छैन।
जिन्दगी जतिनै ठूला दुःख किन नपरोस् परिवारमा आफ्नो कारणले आँसु आएको देख्नु सबैभन्दा दुःख लाग्ने कुरा हो। कयौँ पटक आत्महत्या गर्ने सोच आउँदा पनि मलाई यीनै कुराले रोके। अझ बाबाको त्यो प्रश्न 'अहिले त पढाइ पनि छैन, के कुराको तनाव छ र तलाई?'
एक अपरिचित व्यक्ति आइदिन्छ जीवनमा, प्रेमको आभास गराउँछ अनि टाढा भइदिन्छ। 'बाबा, आज तपाईंकी छोरी उहीँ टाढिएको व्यक्तिको यादमा पागल हुँदै छे। बिर्सँदै छे तपाईंको मायालाई।' घाँटीसम्म आएका यी कुरा मुखबाट निस्कन मानेनन्।
मनमा एक सोच आयो, ऊ नहुँदा पनि त म खुसी नै थिएँ। यसरी बिरामी हुनु परेको थिएन। मैले केही गरेँ भने परिवारको के हुन्छ? मलाई हेरी आमाको याद मेटाउँदै आएका भाइहरुले के गर्लान्? एक अपरिचितको लागि म यी सबै कुरा त्याग्न सक्दिनँ। विस्तारै म खुसी हुन सिक्दै थिएँ। तर आदत न हो, उसको तस्बिर हेर्दै आँसु झार्दै थिएँ, एक रात जुन रात तिमी मसँग बोल्न आयौ।
मनमा निकै पीडा थियो, सुनाउनलाई कोही छैन। सोच्थेँ, सुनाएर पनि के गर्नु? यहाँ बुझ्ने कोही छैन। सुनिदिएको नाटक गर्नेले सायद मलाई यो अवस्थाबाट बाहिर निकाल्न सक्दैन। मेरो सोचभन्दा सायद केही फरक निक्लियौ तिमी। तिम्रा कुराले तिमी पनि त्यही अवस्थामा छौ भन्ने बुझाउँथ्यो।
त्यसैले म तिम्रो अगाडि खुल्ला किताब नै भएँ। पीडा सुनाउँदा त्यसपछि के भयो त भन्ने मेरा साथी र प्रत्येक कुरालाई घुमाएर सम्झाउने तिमीमा केही फरकपन महसुस मैले त्यो दिन गरेँ। सायद त्यसैले आज म यसरी आफ्नो कहानी सुनाउँदै छु।
अझ तिम्रो एउटा कुरा 'आज हामी बोलिन्छ, भोलि विषय सकिन्छ त अर्को दिनबाट म टाढा हुन्छु अर्थात् यहाँ मान्छे रुचि हुँदासम्म तिम्रो साथमा रहन्छन्' भन्ने कुराले मलाई सोच्न बाध्य बनायो। सायद म उसका हरेक कुरामा विश्वास गर्ने भएकाले नै आज यो दिन आएको हो।
उसले झुट पनि निकै प्यारो तरिकाले बोल्ने जो गर्थ्यो। अन्तिममा भन्न चाहान्छु कि तिमी कसैसँग प्रेममा छौ वा अरु कोहीसँग अझ नजिक छौ भने अरुलाई इग्नोर गर्ने काम नगर, पछि निकै गाह्रो हुने गर्छ। साथमा कोही हुन्नन्।'
सकियो कहानी केही घण्टामा, कहानी सुन्दा त लाग्यो सायद मैले गल्ती गरेँ लेख्छु भनेर। यतिसम्मको कहानीलाई मैले सही रुप दिन सकुँला कि नाइँ? म त एउटा अलिअलि लेख्न खोज्ने मान्छे मात्र। पहिलोपल्ट कसैको कहानी लेख्न त्यसै कहाँ सकिन्छ र! मलाई आफ्नो बारे पनि त लेख्नु छ नि।
उसले भनेको त्यो अन्तिम लाइन अर्थात्, कोही नजिक भयो भन्दैमा अरुलाई छाड्ने नगर। यो गल्ती गरिसकेको म आज पछुतो मानिरहेछु।
'कोही नजिक हुँदा अरुसँग बोल्न मन लाउन्न अरे
उसलाई छोडी मन कतै धाउन्न अरे
गल्ती महसुस गरी फर्किने गर्छन् मान्छेहरु
तर मलाई छाडेको मान्छे अब आउन्न अरे।'
करिब नौ महिना पहिले मलाई लाग्छ तिमीलाई साथी चाहिएको छ, कसैको साथ चाहिएको छ। म तिमीलाई साथ दिन चाहान्छु एक मिल्ने साथी बनेर 'विल यु बि माई बेस्ट फ्रेन्ड?' भन्ने प्रस्ताव लिएर आएकी नीर जसको साथ छ भन्ठानेर मैले कसैको साथ चाहिनँ। आज उहीँ मान्छेलाई दुस्मनलाई समेत साथी देखाउने फेसबुकले साथी देखाउन चाहेको छैन।
'मलाई अब तँ चाहिँदैन' भन्दै हाम्रो मित्रतालाई कहिले नउठ्ने चिर निद्रामा सुताएकी छे। उसले मलाई ब्लक गरेकी छ। त्यसैले त म एक्लिएको हु। महसुस गरेको हुँ 'अहो! मैले त गल्ती गरेँ' उसको साथको लागि सबै त्याग्नु मेरो गल्ती भयो।
साथी त छन् अझै पनि तर अस्ली गुलाफको फूलको सुगन्ध कागजकोले कहाँ दिन्छ र? तर बिर्सन्छ मन त्यही अस्लीमै काँडा हुने गर्छ। तर ब्लक गर्दैमा उसले मित्रता सकिएको सोच्छे भने गलत हो किनकि मैले मित्रता उसको मोबाइलसँग हैन, ऊसँग गरेको हुँ।
यो एक्लोपनामा म सानीलाई सम्झन्छु। ती सानू जस्ले 'जे जस्तो पर्छ मेरो साथ चाहान्छौ भने सम्झनू, म तिम्रो साथ अवश्य दिनेछु' भनेकी थिइन्। मरभूमिको यात्रीलाई एक थोपा पानी भेटिए जस्तो मेरो जीवनमा पनि एक आशा पलायो।
उसो त उनले मलाई प्रेम गर्दिन थिई। मसँग प्रेम प्रस्ताव राखेकी थिइन। त्यो दिन करिब रातको दश बजे म झिनो आशा सहित लागेँ उनलाई म्यासेज गर्न। खै! कस्तो गल्ती गर्दै छु थाहा छैन तर यो भन्दा फरक नपर्ला, आज म आफ्नै नजरमा नराम्रो महसुस गर्दै छु।
प्रेमिका बन्न सक्दिनौ भने नबन, सायद ममा नै कमजोरी छ तर, मलाई तिम्रो साथ चाहिएको छ। म बहकिँदै छु आफूमै। तिम्रो साथको निकै आवश्यक छ मलाई, किनकि म यो अवस्थाबाट बाहिर निस्किन चाहान्छु। मलाई त्यो कालो डिप्रेसनको कोठीमा रुनु छैन। मलाई तिमी भावनात्मक रुपमा साथ देऊ किनकि म निकै एक्लो महसुस गर्दै छु।
सायद त्यो दिन जति म आजसम्म जिन्दगीमा गिरेको छैन। म आफ्नो लागि अरुसँग साथको भिक मागिरहेको थिएँ। भिकारीले पनि कहाँ सधैँ भिक पाउछ र? त्यस्तै भयो। उनले जवाफ फर्काइन् 'आफ्नो लागि आफैँले गर्ने हो।'
त्यो म्यासेजले म टुटेँ तर पनि कुरा घुमाएँ। भन्न मन थियो-
साथ सधैँ दिन्छु भन्थेऊ टाढिएको दूरी गन्नु कसरी?
साथमा छैन म आफै गर आज भन्यौ मान्नु कसरी?
माया त गरेकी थियौ, के यति छिट्टै मर्छ र?
उसले मलाई अल्पआयुको प्रेम गरी भन्नु कसरी?
टुटेको दिलबाट शब्द निस्किन्न सायद त्यसैले म चुप बसेँ। र आज पनि मनले मनलाई मैले आफ्नो बारे सोच्ने कहिले? अब पूरानो आफू सम्झेर रुन छाड्ने कहिले? भन्दै सिरानी भिजाइरहेछु।
समाप्त।
यो पनि:
प्रेम जीवनको यात्रा
प्रेम जीवनको यात्रा भाग-२