दाजै!
कहिल्यै भान्छा सुकेको
कहिल्यै खाँबो ढलेको
कहिल्यै बन्दुक पड्केको
नानाथरि कोलाहलबाट अलिकति सुस्ताएको बेला
चुच्चे नक्साको फेदतिर फेरि एउटा उडनतस्तरी खसाइएछ
कहाँ पुग्नु थियो के सोचेको थियो
हेर्दा हेर्दै विचरा काली भेलमा फसाइएछ
वायूदोष पो छ कि दाजै त्यो ठाउँमा
तिम्रो जाँचकै बेला फेरि अर्को घाउ बल्झाइएछ।
यता सगोत्रीहरुलाई तिमीले
खुर, नलीहाड, रक्ती, कलेजा भाग लाइरहेको बेला
तिम्रो विजयाधार ढड्डाबाट
त्यो उडनतस्तरीको नाम हटाइएको खबर छ
कसले हटायो नभन्नु दाजै
सोधीखोजी वा लेख्ने जिद्दी पनि किंचित नगर्नु
किनकि तिम्रो हातमा केवल
एक थान मात्र कागज छ
त्यसमा त तिमीले गणितको हिसाब गर्नुछ
तिम्रो भविताले भाविनीलाई जितेको बेला
राष्ट्रवादको निबन्ध पनि त्यसैमा लेख्न नखोज्नु
त्यसो गर्दा न हिसाब पूरा हुनेछ तिम्रो
न निसाफ हुनेछ त्यो कागजको
निबन्ध त निमुखाले लेख्ने हो
नियतिका अक्षरहरु पनि तिनैले पढ्ने हो
तिनीहरुको त के नै हिसाब हुन्छ र दाजै
कि जीवन घोटेर जिउने हो कि रेटेर मर्ने हो
सरल छ हिसाब पनि तिनको
बतासिएका उल्काहरु न हुन्
आखिर कहीं न कहीं त झर्ने नै झर्ने हो।।
गणित त तिम्रो पो जटिल छ दाजै
आफ्नै पनि पुस्तौँ पुस्ताका हिसाब गर्नुपर्ने
पुजारीलाई झन पारसमणि दिनुपर्ने
भँडार जति भक्तहरुलाई भागशान्ति गर्नुपर्ने
कसैलाई नगद त कसैलाई उधारोमा फकाउनुपर्ने
गुन लाउनेलाई बोनस खुवाउनु पर्ने
साहुहरुलाई खुसुखुसु ब्याज तिर्नुपर्ने
छिर्कै र च्याँखेका हिसाब त झन कति हुन् कति ?
त्यताको त कुरै सामान्य हो, दाजै
उडनतस्तरीहरुले झुलेर कावा खाँदा
कहिलेकाँही एकाध गोटा त झर्छन् हराउँछन्
ती उडिरहने कणहरु न हुन् माटोका
माटोमै झर्छन् त्यहीँ विलाउँछन्
यस्तो नियमित आकस्मिकता नबुझेरै
मान्छे त्यसै कोकोहोलो गर्छन्
दाजै यस्ता कुराको चिन्ता नलिनू
तिमी एकटक आफ्नो गणितमा ध्यान लगाउनु
मान्छे ज्याद्रा छन्
हराएका उडनतस्तरीबारे रहस्य खोल्न लाउलान्
ती अल्झिएका तारबारे बोल्न उक्साउलान्
मरे नबोल्नु दाजै, चुपचाप बसेरै बिताइदिनु
बोलेर मात्र सत्यमेव जयते कहाँ हुन्छ र?
नबुझ्नेहरुलाई यो कुरो बुझाइ पनि दिनु।।
दाजै! एउटै पानामा तिमीलाई यतिविघ्न हिसाब गर्नुछ
ध्रुवीय तथा गोलार्धका को:र्डिनेटहरु जोडी
ज्यामितीका जटिल साध्यहरु गर्नुछ
रेखै रेखाको रागेपाटे तुइन तर्नु छ
त्यो कण उल्का झर्यो त के भयो?
भुइँफुट्टा हो भुँइमै बिलायो त के भयो?
तिमीले त दाजै राहु शनि सबै ग्रह मिलाउनु छ
तिनका टकराव टारेर हाम्रो संकट मोचन गर्नु छ
तल माथि वारि पारी सबै हिसाब मिलाउनु छ
दाजै! उल्काहरु त झरिरहन्छन्
जे गर्नु छ गर- जोड वा घटाऊ,
यो पालि गणितमा पास भएर देखाऊ।।