झल्यास्स निद्राबाट ब्युँझिदा मानवीको थैली एकाएक अलप भयो। बेडसाइड टेबुलमा राखेको थैली खाटको मास्तिर मुन्तिर कतै छैन। अलिपरको टेबुलको घर्रामा पनि भेटिएन। किताब राख्ने खापामा पो छ कि? अहँ! जति मसिनो गरी केलाउँदा पनि भेटिदैन। आखिर गयो कता? जतन गर्न कतै राखेँ कि? कपाल दुख्नेगरि गिदि पल्टाई। स्मृति रित्तो छ। झिसमिसे हुदाँसम्म पुरै लाउन्ज छापा मार्दा पनि थैली भेटिएन। लथ्रक्क परेर सोफामा पल्टेको केहिबेर मै ढकनीमा उषाकिरणको न्यानो पस्यो। उसले आँखा उघारी।
अपार्टमेन्टको बाह्रौं तल्लामुनिको उपत्यका सुनौलो देखिन्थ्यो। ‘अपराधी झै रफ्तारमा बत्तिएका साग र दूध बेच्ने नै होलान्। गाडामा तमाखु बेच्ने आमैलाई के को हतार’, उसले परसम्म नियाली। कलेज जाने केटाकेटी आफ्नै सुरमा। फोहोरमैलोको कुनै गुन्जायस छैन। बिना कोलाहल गाडीका लस्करमात्र छन्। माथिसम्म हर्न सुनिए पो? सबै कत्ति साना र सुन्दर देखिएका। सायद नजिकबाट पनि शहर यस्तै सफा हुँदो हो त?
उसले फेरि थैली खोज्न थाली। मरिगए भेटिएन। अपार्टमेन्टमा आउजाउ गर्ने एक मात्र मान्छे सन्तोष हो। उमेरले जेठो उसलाई मानवीले दाइ भन्नुपर्ने हो। तर भन्दिन। सँगै हुर्केबढेका उनीहरू साथीजस्ता छन्। ‘उसले त फालेन’? मानवीले शंका मानी। र टासिएर रहेको अर्को कोठातिर लागी। सन्तोष मस्त घुरिरहेको छ। ‘सुत्न दिम् कि उठाम्,’ ऊ दोमन बनी।
‘ह्या उठाउँछु’- उसले घच्घच्याई।
‘नचल न’- ऊ निद्रामै सुनिन्छ।
मेरो ब्याग देखिस्?- मानवीले सोधिँरही।
‘कुन ब्याग?’- उ अल्मलियो।
‘मैले बोकिराख्थेँ नि। पिङ्क र ब्लु । छिर्केमिर्के’। उसले बयान गरी।
‘ए’- सन्तोषले सम्झेजसरी भन्यो। र निद्रामै फर्कायो, ‘उठेर खोज्दिम्ला’।
‘मैले सारा संसार हेरेँ। कतै भेटिनँ। वाड्रोबको माथि छ कि? उठेर हेर्दे न?’- उसले करकर गरिरही। सन्तोषले जवाफ फर्काएन। ‘भुस त परेन?’- मानवीले फेरि कोट्याई।
‘किन त्यस्मा सास अड्केको?’- सन्तोष झर्किदै उठ्यो। र सरासर वाड्रोब तिर लम्कियो। उसले खापाबाट थरिथरिका ब्याग निकाल्यो। कुनै सितारा भरेका। कुनै हिरा जडेका। खोटादेखि बहुमुल्य पर्नेजस्ता अनेकथरी बस्तामध्ये मानवीको थैली भेटिएन।
‘खै छैन’- सन्तोषले वाड्रोबको दैलो ढ्याप्ने सुर कस्यो।
‘अलि भित्रसम्म हेर्दे न’- मानवीले जिद्दी गरी।
‘तुरून्तै नभै नहुने के छ? कसैको नभको थैलो? औषधी राखेकी थियौं र?’- उसले सवालमाथि सवाल गर्यो।
‘केही छैन भनेको। औषधि पनि खाईसकेँ’- मानवीले मसिनो आवाज फर्काई।
‘उसोभए पैसा छ कि? तत्काल नभै नहुने। कि साह्रै महङ्गो पर्स हो र?’
मानवीले थप झर्कोमर्को रुचाईन। सन्तोष बेडमा गएर पल्टियो।
‘हिजो ढाँड पन्छाउँदा कतै राखेँ कि?’ मानवी यताउता भौंतारिन थाली। उसले आफैंले नहेरेको ठाउँ रोबको माथिल्लो तला मात्र हो। ‘सन्तोषले राम्ररी हेरेन। सायद त्यहिँ कुनामा होला’। ऊ मन अड्याउने कोशिस गरी। तर सके पो?- ‘ह्या ससानो कुरामा अरुलाई कति दुःख दिराख्नू?’ वाड्रोबको उपल्लो खोपोमा हात लम्काई। भेट्न सक्ने कुरै भएन। ऊ रवरजस्तै तनक्क तन्किई। मानौं ऊ उडिरहेकी छे। भुईमा त खुट्टाका बुढीऔंला मात्र छन्। केही शिप चलेन। नजिकै रहेको मेचलाई घिसार्दै रोबको पाइतलानेर पुर्याई।
अनिद्रा त छँदै छ। मेचको गुरुत्वले उसलाई निथ्रुक्क पार्यो। ऊ भर्खर नुहाएर निस्केजस्ती देखिइ। चिउडोबाट रसाएको पसिनाले काया र कपडाबीच मिहिन पारदर्शी पर्दा हाल्यो। मेचारोहण गर्न पनि उसलाई बिचित्र बल लगाउन पर्यो। जसोतसो उक्लेकी मात्र के थिई, उसको भार धर्तिलाई बोझ भयो। उ मेचसँगै घोप्टोमुख फ्लोरमा बेस्सरी बजारिई।
मानवीको बज्रले सन्तोषको कानमा कम्पन छाड्यो। ऊ हत्पती दौडिएर मानवीको कोठामा पुग्यो। मानवी वाड्रोबको पाउनेर मुढा लडेजस्तो लडेकी छ। उसका हातखुट्टा थर्थराएका छन्। सेतो लेगिन्समा बिस्तारै रातो चड्दै छ। भुइँमा पानीजस्तो तर अलि बाक्लो झोलको आयातन बढ्न थाल्यो। त्यतिका धेरै र्याल? पक्कै होईन। त्यसमा कहिंकतै रगतको पत्र पनि छ। नजरमा घोप्टिएको अध्यारो पन्छाउँदै ऊ फ्ल्याटको मुलढोकानेर उभियो र बेस्सरी चिच्यायो- ‘सेक्युरिटी सेक्युरिटी’। तत्कालै भेला भएका तीन चार जना लक्काजवानले मानवीलाई हुर्याउँदै अस्पताल पुर्याए।
मानवीको शीरमा हात राखेकी आमाको सुक्क-सुक्क क्याबिनको ढोकासम्म सुनिन्छ। सन्तोषले झोलाभरीको सलाईन र औषधी क्याबिनको टेवलमा बिसायो।
‘किन रूनु पर्यो। अब त आनन्दै भएन र?’- सन्तोषको भारी आवाज आमाको कोखमा सोला बनेर पसे।
‘उतिबेला मानवीलाई जसले बोक्छ, उसले मेरो घरको दैलो टेक्न पर्दैन भनेको होईन?’- सन्तोष गन्गनाइरह्यो।
‘यस्तो होला भन्ने के थाहा भो र बाबु’- लोलाएका राता आँखा सलको टुप्पाले मिच्दै आमाले भनिन्- ‘कुमारी छोरी त्यसमाथि गर्भिणी कसरी घरमा हुल्नु?’
‘तो त अठार वर्षकी बालिगलाई पैतिसेको जिम्मा लाउनु पैले सोच्नुपर्थ्यो’।
आमा छोराको भनाभनबीच घण्टौंपछि मानवीले परेला उघारी। उसका आँखा आशा र निराशा सँगसँगै लिएर बतासमा बलेको बत्तीजस्ता देखिन्थे। मानवीले बिस्तारै बायाँ हात ल्याएर कोखनेर अड्याई। पाठेघरको पहिरो खसेको थियो। योनिरजले चिस्याएको जाँघनेर पुग्दा उसको छामछुम रोकियो। उसले मंथर ओठ हल्लाई- ‘ब्याग’।
‘यत्रो बज्रपातपछि पनि जाग्नासाथ यसले किन थैलीको कुरा गर्छे,’ आमाले विस्मय पोखिन्। दुबैले मुखामुख गरे। सन्तोष नाजिकै पुगेर बिस्तारै बोलायो- ‘मानवी’। तर उसको ओठ चलेन।
उनलाई जगाउन आमाछोराले अनेक कुरा झिके। भोकतिर्खा, खानपिन, सन्चो-बिसन्चो, चोट, दुर्घटना, दुखाई ईत्यादी। उसको जिद्दीसामु शिप चलेन। थैली ल्याए जाग्थी कि?- सन्तोष थैली खोज्न अपार्टमेन्टतिर तेर्सियो।
***
गह्रो लगेज घिसार्दै मानवी विमानस्थलको आगमनमा देखापरी। हुर्किँदो शिशुले उसको पेट माथिसम्म देखिन्थ्यो। आँखावरिपरि अनिदोको गाजल पोतिएको थियो। कटेली परेका सुख्खा ओँठ बिबिचमा चिरिएका थिए। सात महिनामै भताभुङ्ग भएको बहिनीको भुगोल देख्दा सन्तोषको छातीमा सासको डल्लो अड्कियो। ऊ बाहिनिको नगिच पुग्यो। दाँया हातले बिग्रिएका कपाल मुसार्दै निधारमा माया गर्यो। मानवीको आँखाको आद्रता निकै घटेको छ।
छेउमा बसेर आमा सुक्क सुक्क गरेकी छन्। ‘यस्तो हालतमा के मुखले घर हुल्लु?’- छोरीलाई हेर्दैगर्दा आमा डाको छाडिन्।
यत्तिकै छोड्छु भन्ठानेछन् तिनेरुले? सबैलाई नजाके मेरो कान काट्दिनू।– बाबाले खुट्टा बजारे। मानवीको संहार भएको समय र शिथिल शरीरमा बाआमाको चिन्ता देखिदैनथ्यो। गर्भिणी छोरीलाई कसैगरी केटापक्षको जिम्मा लाउने भन्ने सरोकार उनीहरूको भागभङ्गीले देखाउथ्यो। तर त्यो सम्भावनामा मनिषको परिवारले पानी पोखिसकेको थियो। मनिषको परिवारले मानवीको मुहारसम्म नहेर्ने जवाफ फर्काईसकेका थिए।
डेड वर्ष अगाडि मनिष र मानवीको भेट फेसबुकमा भयो। केही फेरकै कुराकानीमा उनीहरूको मायामा अङ्कुर पलायो। मानवी भर्खर अठार कट्दै गर्दा मनिषको घडी दुई गुणा अगाडि थियो। उसको फोक्सोमा सिड्नीको हावा भरिएको थियो। दशक उतै गुजारेको उसँग अष्ट्रेलियन पिआर थियो। उनीहरूले आफ्नो प्रेमको फँडा परिवारसामू फैलाए। मनिषको परिवारले स्टेटस अमिल्दो सम्बन्ध भनी स्पष्ट नकार्यो। मानवीका बाआमालाई लागेको बेमेल उमेरको बाधाअड्काउलाई पिआरले सहजै फुकाईदियो। अभिभावकको असहमतिको बावजुत मनिषले मानवीलाई सिड्नी पुर्यायो।
जिन्दगी आराम-आसान गुड्दै थियो। अचानक एकदिन राजधानी क्यानबेरा जाँदै गर्दा हाईवेभन्दा सय मिटर तलको खोँचमा ठोक्किन पुग्यो। दुर्घटनास्थलमै मनिषले दम तोड्यो। अस्पतालमा महिनौंको एन्जाईटी युद्व लडेर बाहिर निस्किँदा मानवीको एक हातमा डिप्रेसनको भरीझोला ट्याब्लेट र अर्को हातमा डिपोर्टको कागज थियो। लिभिङ टुगेदर बसेकी मानवी सिड्नीमा एक्लै पनि बस्न नपाउने भई। नक्कली लाईसेन्सले सवारी हाँकेको कारवाहीमा ऊ डिपोट परी।
‘नेपाल जाने। तर कहाँ जाने?’ यो प्रश्न मानवीले आफैंलाई हजारपल्ट सोधी। आफ्ना बाआमालाई सोधी। मनिषका बाआमालाई सोधी। ‘तँ कसैकी छोरी मात्र होस् वा बुहारी पनि?, तेरो गर्भको नव-मानबको ठेगाना के हो?, तेरा बाआमा तेरा घरका मान्छे हुन् या माईतका सदस्य? ईत्यादि’ उसको मनले उल्टै जवाफ माग्यो। मनिषका घराम्लेलाई आफ्नो झिटीगुन्टाको हिस्सेदारमा कुनै रूची छैन। मनिषको लासमा एक पलको अधिकार खोज्दै गर्दा उसले मन भरीको जवाफ नपाएकी होईन। मनिषसँगको सामिप्यतालाई उनीहरुले सम्पतिको शौदाबाजीको रुपमा अर्थ्याए। मनिषको घरमा बलेको चुल्होबाट उसले आँतको तातो नभएर मनको न्यानो खोजेकी थिई। नसिब भएन। माईतीकै धुरीमुनि टाउको लुकाउनका लागि फक्रिन लागेको मनिषको कोपिलालाई निमोठ्न उसको मनले मानेन।
‘दाई मलाई एउटा अपार्टमेन्ट खोज्दे’ नेपालको टिकट काट्दैगर्दा मानवीले सन्तोषलाई कल गरी।
***
एक्कासि मानवीले कम्पन छाडी। भूकम्प आउँदा जस्तो बेड हल्लियो। सँगैको टेवलमा राखेको गिलासबाट पानीको धारा बग्यो। फलफूल भुँईमा गुर्किए। उसको मुखबाट हरियो फाटेको दही झैं बान्ता फुट्यो। आमा बेस्मारी आत्तिइन्। हतासिँदै नर्सिङ्ग स्टेसन तिर फर्केर उनी चिच्याइन्- सिस्टर…… सिस्टर……।
मानवी एक डफ्फा नर्सले घेरिई। डाक्टरले उसलाई दाँया कोल्टो पारे। उसको मुख रसाएकै छ। अक्सिजन, प्रेसर, ज्वरो एकैसाथ नाप्ने काम भयो। टोँटामा अक्सिजन क्यानुला जोडीयो। एक नर्सले अम्बु ब्याग थिच्न थालिन्। डाक्टरले मुटु छामे। अनेक औषधी नशामा ठोँसेर सघन कक्षमा सार्दै गर्दा उसको श्वासतन्त्रले स्थायि बिश्राम लियो।
वाड्रोबको कुनामा हात परेको सानो थैली पक्रेर सन्तोष भिड्कियो। तर समय घर्किसकेको छ। ‘पहिल्यै भेटिएको भए बहिनीको ज्यान जान्थेन!’- सन्तोषले आफ्नै पुर्पुरोलाई ठ्याँङ्ग हिर्कायो। ‘आखिर के रैछ त्यस्तो नभै नहुने?’- लासमाथि पसारिएको आमाको बिजोजलाई बेवास्ता गर्दै उसले थैलिको चेन उघार्यो। थैलिभित्र दुई थान कागत भेटिए। कागतको शिरानमा ‘बेनिफिसिअरी नेमः मोतीराज पाठक, फादर अफ मनिषराज पाठक’ लेखिएको थियो। कागजको मध्यमा बैंकको बिवरण भर्न खाली ठाँउ राखिएको थियो। र अन्त्यमा सहिछाप भरेर कागत फिर्ता गर्न ठेगाना, फोन र ईमेल दिईएको थियो। ‘एनओके मानवी भट्टले पार्टनर मनिषराज पाठकको बिमा र सन्चयकोष बापतको रकम बयासि हजार तीन सय बाह्र डलर एक्काईस सेन्ट लिन अस्वीकार गरेकोले निजकै अनुरोधमा दिवंगतको पिता मोतीराज पाठकको नाममा भुक्तानी कबुलियत गरिएको’ भन्ने ब्होराको दोस्रो कागतले सन्तोषलाई स्तब्ध बनायो।
‘हेलो’- बहिनीको लाशछेउ उभिएर सन्तोषले मोतिराजलाई फोन हान्यो।
‘के को किचकिच हो फेरि’- अघिल्लो कल मिस गरेका मोतिराज झर्किदै बोले। सन्तोषले बहिनीको दुर्घटना र निघनको बिवरण सुनायो। एकछिन दुबै रोकिए।
‘अँ~ सतगत गर्ने पैसा पठाईदिउँला’- मोतिराज अकमकाए।
‘त्यसको फिक्रि नगर्नू। बहिनीले मनिषको ईन्सुरेन्स रकम अस्वीकार गरेकी रहेछ। करिब असी लाखको थैलि बुझ्न आउनुहोला’- सन्तोषको वाक्य बस्यो। मोवाईलमा सेकेण्ड चढिरह्यो। उताबाट निकैबेर आवाज आएन। एकछिनमा फोन काटियो।