'कल्पना, ए कल्पना! आँखा खोलन कल्पना! हेर त को आएको छ? आँखा खोलन कल्पू! तिमीलाई उपचार गर्ने डाक्टर आउनु भएको छ।' आँखाभरि आँसु पार्दै शिव दाइ कल्पनाको हातखुट्टा मुसार्दै थिए।
घरीघरी पुलुक्क मलाई हेर्दै उनी भन्थे- 'डक्टर! जे-जे उपचार गर्नु छ गर्नुस् है। मेरी कल्पूका लागि उपचारमा कुनै कमी नहोस्। कल्पनालाई जसरी नि ठिक पार्नु छ।'
झण्डै पचास वर्ष उमेरका ती दाइ हुन पनि हरेक दिन आफ्नी श्रीमतीको स्याहार सुसारमा खटिरहेका देखिन्थे। म हिजो राउण्डमा जाँदा उनले अचेत अवस्थामा रहेकी कल्पनाको कानमा मोबाइल राखिदिएका रहेछन्। उनी बिलौना गर्दै पनि थिए।
'आँखा खोलन कल्पना! सुन त कल्पू, घरबाट मेरी आमाले फोन गर्नु भएको छ। तिमीसँग कुरा गर्न असाध्यै मन छ रे। बुढी आमालाई तिमीसँग छिटो भेट्ने धोको छ रे। ल त कल्पना आमासँग एकैछिन फोनमा कुरा गर। म छिट्टै फर्किन्छु भन्देऊ न कल्पना।'
एकातिर कल्पना लडिरहेको देखिन्थ्यो। अर्कातिर कल्पनाकी सासूआमा बोलेको प्रष्ट सुनिन्थ्यो। आवाज यसरी गुन्जिएको थियो- 'बुहारी कति सुतेकी तिमी? घाम पनि झुल्किसक्यो। सबेरै उठ्ने तिमी, आज के भयो? एक जुवा घाममाथि आइसके। छिटो उठ न मेरी बुहारी। लौ हेर तिमीलाई मन पर्ने बाख्रो ब्याएको छ। पाठापाठी कति ठूला भैसके। म्याँ म्याँ गर्दै तिमीलाई नै खोज्दै उफ्रिन्छन्।
सानी नातिनी पनि तिमीलाई बोलाइरहन्छे। ममी कहिले आउने आमा भन्छे। कल्पना तिज पनि आउन लागिसक्यो। तिम्रा नन्द-भाउजूहरूले राता चुरा, पोते, सारी के-के हो किनेर ल्याइसके। बल्ल बल्ल निषेधाज्ञा खुल्यो। यसपाली त भाउजूसँग छमछम नाच्ने हो, घुम्न जाने हो भन्दै छन्। छिटो निको भएर आऊ है बाबा। कल्पना म तिम्रो आरामीका लागि साँझमा सधैँ दियो बाल्छु र भगवानको प्रार्थना गर्छु। तिम्रो सुस्वास्थ्यको कामना गर्दछु' भन्दै सासूआमा घुक्क घुक्क रोइन्।
सायद सासूआमाको मायालु कुरा सुनेर हुनसक्छ अचेत अवस्थामा रहेकी कल्पनाको आँखाबाट आँसु तपतपाउन थाल्यो। उनीमाथि मेरा नजर गढ्दै थिए। बेलाबेलामा कल्पनाले मुख चलाएको आभास हुन्थ्यो।
अचानक फेरि ती दाइ मुस्कुराउँदै आमासँग बोल्न थाले- 'आमा तपाईंका कुरा सुनेर कल्पनाले आँसु झारिन्। ल हेर्नु न आमा खोई कहिले उठ्ने हो मेरी कल्पू। हिजोदेखि हातखुट्टा तन्काउन थालिन्। उनले हातखुट्टा तन्काउँदा र आँखा खोल्दा त विश्वयुद्ध जिते जस्तो झट्ट आशा पलाउँछ। फेरि ज्वरो आउँदा झन् कमजोर देख्छु। ज्वरोले छोप्दा आँखा नै उघार्दिनन्। अनि त सारा आशा तुहिएर जान्छन्। कहिले त शून्यमा पुग्छु म।
खोइ के, खोइ के आमा कहिले उठ्ने होला है कल्पू? बुझ्नुभो आमा, यो ठिक भएको दिन हाम्रो घरमा कति खुसी छाउला है। अनि त उनको मुक्तिनाथ जाने इच्छा पनि पूरा गरिदिनु पर्छ। मेरो बाँकी जीवन कल्पूकै लागि समर्पण गर्छु जस्तो लागेको छ।'
शिव दाइ फोनमा भक्कानिए। आमा पनि सुक्क-सुक्क गरेको आवाज प्रष्टै सुनिन्थ्यो। खै के भयो मलाई पनि, उनीहरूको वार्तालाप सुनेर आँखा रसाएछन्।
पारिवारिक मायाप्रिती देखेर म अत्यन्त प्रभावित भएँ। ममा उनीहरूबारे झन् कौतूहलता जाग्यो। अस्पतालमा मैले कामका सिलसिलामा थुप्रै घटनाहरू देखेकी छु। प्रायः श्रीमती बिरामी हुँदाका घटनाहरूमा मानवता हराइसकेको भान हुन्थ्यो मलाई। म सोच्थेँ मान्छे किन दानव सरह क्रुर भएको होला? मेरो कौतुहलताले उत्तर खोजिरहेको थियो।
गत महिनाको घटना सम्झिएँ मैले। सेउला काट्ने क्रममा रूखबाट लडेकी श्रीमतीको चार हातखुट्टै गएछन्। श्रीमतीलाई उपचार गर्न नचाहेका श्रीमानले करले अस्पताल ल्याएर उनले पटक-पटक हामीलाई 'बाँच्न त गाह्रै होला नि डक्टर' भन्दै प्रतिप्रश्न गर्ने गर्थे।
'पहिलेको जस्तै ठमठम हिँडडुल गर्ने र काम गर्न सक्ने भए उपचार गरौँ। नत्र भने किन व्यर्थै खर्च गर्नु? ग्यारेन्टी दिनुहोस्' भनी अड्डी कसे। मलाई लाग्यो, उनी उपचारमा खर्चनुभन्दा बरू झट्टै मरिहाले टन्टै साफ हुन्थ्यो भनी कामना गर्दा रहेछन्।
अर्को घटनामा गत हप्ता मात्र विवाह भएकी धनाढ्यकी बुहारी मोटर साइकल दुर्घटनामा परेर गम्भीर घाइते भइछन्। उनका सासू-ससुरा पनि अस्पताल आएका थिए।
'ला, अब यो बुहारी बाँच्दिन होला! बाँची नै भने पनि अपांग, सुस्त हुन्छे होला। छोराको बिजोग हुनेभयो। कस्ती अभागीनीसँग भेट भएछ। हेर, आफू त दुःख पाइ पाइ हाम्रो पनि उठिबास लगाउने भई। हे दशा यस्तो मधौरु बाँच्नुभन्दा त चटक्क मरे हुन्थ्यो नि' भन्दै उनीहरू आँखा चिम्लिएर ईश्वरलाई पुकारेझैँ ओठ चलाउँदै हामीलाई पटक-पटक उपचार रोकिदिनुस् डक्टर भन्थे।
भेन्टिलेटरमा बिरामी नराख्ने, अब यो ठिक हुन्न भनी प्रमाणित गरिदिनुस् भनेर दबाब दिन्थे। उनीहरू बुहारी उपचार गरेर ठिक पार्नुभन्दा पनि छोराको लागि अर्की बुहारी खोज्ने ध्याउन्नमा तल्लीन देखिन्थे।
अस्पतालमा दिनहुँ जसो दर्दनाक घटनाहरू देखेर भावुक भएकी मलाई खुल्दुली चल्नु स्वभाविक थियो। मैले दाम्पत्य प्रेम देखेर दङ्ग पर्दै शिव दाइलाई मुस्कुराउँदै प्रश्न गरेँ, 'दाइ, तपाईंलाई कल्पना दिदीको किन यति माया गढेको हो? तपाईंहरूमा असाध्यै गहिरो माया प्रेम रहेछ नि।'
उनले मुस्कुराउँदै भने, 'मलाई यिनको असाध्यै माया लाग्छ। यिनले त मलाई जीवन दिएकी छन्। डक्टर यी त मेरी श्रीमती अनि मेरा सन्तानकी आमा मात्रै हैन, यी त सबैका लागि महान् छिन्। यी सफल जीवनका लागि मार्गदर्शक हुन्। यी नभएकी भए सायद म आज अहिलेका बकमफुसे नेताहरू जस्तै छुल्याहा, बदमास, अविश्वासी, देशघाती नेताभन्दा कम हुँदैन थिएँ। अनि त निर्दोर्षी जनतालाई सपना बाँड्थेँ होला। विकासका नाममा कति भ्रष्टचार गर्थें होला। पद पाउनका लागि जता मन लाग्यो त्यतै जान्थेँ होला। नीतिनियमले मलाई के छुन्थ्यो होला र? पार्टी न सार्टी हान्ने थिएँ लात्ती।'
अब त झन् मलाई कौतूहलता थपियो। यस्तोविघ्न के भएको रहेछ उनीहरूको जीवनमा? मैले नसोधी रहन सकिनँ।
शिव दाइले विगत सम्झँदै भन्न थाले- 'डक्टर, म विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय थिएँ। म त नेविसंघको जल्दोबल्दो युवा नेता थिएँ। २०६४ सालको आन्दोलनमा पनि म जेल परेको थिएँ। पछि माओवादी द्वन्द्वकालमा समाजवादले मलाई आकर्षण गर्यो। त्यतिखेर समाजवाद स्थापनाका लागि वर्गीय समानता चाहिन्छ। सामन्तको टाउको नकाटी गरिब जाग्न सक्दैनन्। अमेरिकी विस्तारवाद र भारतीय साम्राज्यवादले देश पछाडि पारेको हो भन्ने कुरा दिमागमा छरियो।
त्यो उरून्ठाउलो उमेरै त्यस्तै नै रहेछ। म आवेगमा आएँ। भूमिहीनलाई भूमि दिलाउनुपर्छ भन्ने लाग्यो। हुलमूलमा निर्दोष धनाढ्यहरू पनि लखेटियो। जातभातका कुरा गर्ने बुज्रुकहरूको टाउको पनि काटियो। आवेगमा संस्कृत भाषाका किताब र पुस्तकहरू जलाइयो। संस्कृत भाषा पढ्ने र कर्मकाण्ड गर्नेहरूको टुप्पी काटियो।
त्यतिबेला पनि म आफूलाई खुब परिवर्तनको संवाहक ठान्थेँ। पछि त मेरै भाइले भ्रष्टाचार गर्यो भन्दै म माथि पनि कारबाही चलाए। अनि त मलाई माओवादीको काम मन पर्न छोड्यो। एमालेका केही नेताले मप्रति सहानुभूति प्रदान गरेझैँ गरे। अडान नभएको म फुत्त एमालेमा प्रवेश गरेँ।
एमाले भित्र पनि गुटैगुट रहेछ। अहो झन् ठूलो द्वन्द्व भित्र फसेँ जस्तै लाग्यो। र पनि म बिना पार्टीनै नचल्ला जस्तो लाग्दथ्यो। विवाहपछि त घरपरिवारको दबाबमा मैले राजनीति गर्न छोडेँ। त्यतिखेर त डक्टर मेरी कल्पना मात्र बीस वर्षकी थिइन्।
त्यसबेलासम्म मलाई घरपरिवार, श्रीमती कसैको परवाह थिएन। मलाई देश बनाउन हिँडेकोले घर परिवारको माया ममता कस्तो हुन्छ भन्ने थाहै भएन। राजनीतिले मलाई यही कुरा सिकाएको थियो। सोच्नुस् त डक्टर, म कहाँबाट कहाँ पुगेको रहेछु। मलाई लाग्छ आफ्नै परिवार मिलाउन नसक्नेले कसरी राष्ट्र सम्हाल्न सक्छन्!'
शिव दाइले दिल खोलेर भन्न थाले। 'सुन्नुहोस् त डक्टर, एकदिन घरमा बुबा बिरामी पर्नु भएछ। लौन छोरा तुरून्त घरमा आइज, अन्तिम पटक बुबा हेर्दैनस्? भन्दै आमा रूनु भयो। म व्यस्त भए पनि घर फर्किएँ। त्यतिखेर कल्पना नौ महिनाकी गर्भवती थिइन्। बुबा बित्नुभयो।
बुबाको काजक्रिया संस्कार सकिएपछि म फेरि काठमाडौँ फर्किने सोचमा थिएँ। कल्पनाले मलाई रोक्न खोजिन्। मैले उनको कुरो सुन्दै सुनिनँ। कल्पनालाई व्यथा लाग्यो। दुई दिनको लामो प्रसव व्यथापछि छोरी जन्मिइन्। ती छोरीको अनुहार देखेपछि मेरो मनमा खै के भयो भयो डक्टर, अकस्मात् म बदलिएँ।
छोरीको अनुहार ठ्याक्कै म जस्तै थियो। म खुसीले विभोर भएँ। कल्पनालाई सुत्केरी भएको दुई दिनपछि हनहनी ज्वरो आयो। छोरीलाई मैले नै स्याहार्नु पर्यो। त्यो अबोधको स्पर्शले गर्दा ममा ठूलो परिवर्तन आयो।
मैले राजनीति सिति थपक्कै बिर्सिएँ। म कल्पना र छोरीलाई छोड्नै नसक्ने भएँ। त्यसपछि भने घर बस्ने निधो गरेको हुँ। त्यसपछि घरखेती सम्हालेँ। आमालाई स्याहारें र गाउँमा नै रमाएँ। मेरो गाउँको व्यापार दिनप्रतिदिन फस्टाउन थाल्यो। पैसा पनि चाहिँदो कमाइयो।
सम्झन्छु, धन्य मेरी कल्पनाले गर्दा म गाउँ फर्किएँ। लच्छिनकी छिन् मेरी कल्पना। उनकै कारण समयमै मेरा आँखा खुले। गाउँको विकासकै लागि भए पनि डक्टर यसलाई जसरी पनि बचाएर लानु पर्नेछ। हेर्नु त हामी जस्ताकै सहयोगमा राजनीति गर्नेहरू मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिसम्म बने। तर जनताका समस्या उस्ताका उस्तै देख्नुपर्दा साह्रै दिक्क लाग्छ।
सांस्कृतिक, आर्थिक, भौतिक, नैतिक र शैक्षिक रूपमा खासै राहत छैन। बेलाबेलामा त मलाई यो कल्पनालाई पिठ्यूमा बोकेर सभागृह, संसद भवन अगाडि चिच्याउँदै जाउँ जस्तो लाग्छ। फेरि सोच्छु के नै गर्छन् र यिनीहरूले? मजस्ता नागरिकका दुःख, पीडा र छटपटी त यिनीहरूको माग्ने भाँडा हुन्। लुछाचुँडीमा रम्ने हाम्रा नेताहरू आडभरोसाका केन्द्र बन्नै सकेनन्।
डक्टर यो महान् कल्पनाको उपचारमा अलिकति पनि कमी नहोस्। कल्पना पूर्णरूपमा ठिक हुन नसके पनि कम्तीमा ह्विलचियरमा बसेर खान, हिँड्न सक्ने भए पनि धेरै हुन्छ। म खुसी साथ यिनलाई स्याहार्ने व्यवस्था मिलाइहाल्छु नि।'
शिव दाइका कुरा सुनेर म अक्क न बक्क भएँ। छिट्टै कल्पना दिदीले आँखा खोलून्। उनीहरूको पारिवारिक मिलन छिट्टै होओस् भन्ने कामना गरेँ मैले। आशा बोकेर कल्पना दिदीको उपचारमा खटिएँ। म सम्झिरहन्छु शिव दाइको सद्भाव र पारिवारिक मिलनले अन्यलाई पनि प्रेरणा देओस्।