'बुहारी हाम्रो घरमा सबेरै उठेर घरधन्धा गर्नुपर्छ। अब तिमिले बानी पार्नुपर्छ नि' सासूको आवाजले झसंग भएँ।
उठेर घडी हेरें। बिहानको चार बजेको रहेछ।
उफ ! मैले त अर्कैको सिउँदो रङ्ग्याइसकेकी छु। म माइतीमा छैन। अरू कसैसँगै सँगै जिउने मर्ने कसम खाइसकेकी छु। उसकै अर्धाङ्गिनी भएर बाँच्ने बाचा गरिसकेकी छु।
भर्खर तीन चार दिन भयो। बिहेभन्दा पहिला त 'आफ्नै छोरीजस्तै हौ' भन्थिन्। यति छिटो सासूको विशाल अवतार प्रकट गरिसकिन्। अगाडि के के हुने होला!
म सोचमा पर्छु।
'सुरूसुरूमा त गाह्रो हुन्छ, पछि बानी परिहाल्छ सबै कुराको। सासूका वचनमा जवाफ नफर्काउनू। सबैसँग सम्मानसँग प्रस्तुत हुनू।' बिदाइअघि आमाले आँसु खसाल्दै भन्नुभएको थियो, 'नारीको जिन्दगी नै यस्तै हो। अर्कैको परिवारलाई आफ्नो मान्दै सम्हालेर बस्न सक्नुपर्छ। पछि घरको मालिक तिमी नै हो। अहिलेदेखि नै आफ्नो सम्झेर मनदेखि काम गर्नू।'
आफूलाई जस्तो समस्या मलाई नपरोस भनेर नै हो।
आमाले धेरै कुरा सम्झाउनुभएको थियो।
घरको एक्लो छोरो 'लाहुरे हो टन्न कमाउँछ' लमीको यस्तो कुरा सुनेपछि बुवाले पनि आफूले सम्हालेर हुर्काएको फूल अर्कैको हातमा सुम्पिनु भयो। मेरै लागि थियो।
मैले दु:ख पाउनु नपरोस् भनेर नै राम्रो खानदानमा मेरो बिहे गर्दिनुभएको हो। मेरो त पढ्ने मन थियो। छोरीको जात धेरै दिन माइतीमा राख्नुहुँदैन भन्ने पण्डितको सल्लाहले मेरा सपना अस्ताउन बाध्य भएका थिए।
सोचको भूमरीभित्र कता हराएँ, हराएँ। आधा घण्टा भइसकेको रहेछ। मूलढोकाको आउलो निकालेर बाहिर आएँ। सूर्यले आफ्नो दैनिकी सुरू गर्न धेरै समय बाँकी थियो। तर मेरो दैनिकी सुरू भइसक्यो। सूर्यभन्दा छिटो उठेर सूर्यभन्दा धेरैपछि अस्ताउने मौका मिल्छ मलाई। बरू म सूर्य भएको भए नि!
कसैको परिबन्दमा पर्नुपर्ने बाध्यता त हुँदैन थियो होला।
भान्सा र दलान कसेर लगाएर पोतारी खोज्दै मेरा पाइला अगाडि बढे। लिपपोत सकेर तामाको गाग्री बोकेर पँधेरोतिर निस्किएँ।
गाउँका आइमाईहरू पँधेरोमा भेला भएका थिए।
म कसैलाई चिन्दिनँ। उनीहरू आफ्नै गफमा व्यस्त थिए। बिस्तारै सबै आफ्ना बाध्यता रुपी गाग्रीहरू भर्दै भिड रित्याउँदै थिए। विस्तारै पँधेरोबाट सबै आइमाईहरू हराउँदै गए। म एक्लै थिएँ।
गाग्रीमा धाराको पानी झर्दा छलछल बजिरहेको थियो। म त्यही आवाजमा हाराएँ।
खै हराउँदा म कहाँ थिए ठ्याक्कै सम्झिन सकिनँ।
पक्कै पनि माइतको सम्झनामा हुनुपर्छ।
'दुलही नानी गाग्री त भरियो जाने हैन?'तल्लाघरे कान्छी दिदीको आवाजले म झसंग भएँ। हतार हतार गाग्री कम्मरमा राखेर घरतिर लागें।
आजभन्दा पहिला मैले यस्तो काम गरेकी थिइनँ। नारीको जिन्दगी यस्तै रहेछ। म पुरूष भएको भए कति सजिलो हुन्थ्यो होला!
बेल बेलामा सोच्छु।
आफैंले आफैंलाई प्रश्न गर्छु।
पुरूषलाई सजिलो छ र?
आफ्नो परिवारभन्दा धेरै टाढा रहेर काम गर्नुपर्छ। सन्चै छस् भनेर सोध्ने पनि कोही हुँदैन मृत्यु भयो भने आफ्नो शरीर घर जान पाउँछ-पाउँदैन थाहा छैन।
भो म नारी नै ठिक छु। कमसेकम आफ्नो मातृभूमिमा त छु।
बेला बेला माइती जान पाउँछु।
भैंसीको लागि कुडो पकाउन त भुसुक्कै बिर्सिएँ!
हतार हतार गाग्री दलानमा राखेर, गोठतिर लागें।
भैंसीले कुडोको प्रतीक्षा गरिरहेको थियो। अँगेनोमा पानी चढाएर गोबर फ्याक्न लागें। भैंसीले मलाई नचिनेर होला घरिघरी खुट्टाले हान्न खोज्थ्यो। सबै सकेर कुडो खान दिएपछि बल्ल भैंसी शान्त भयो।
लामो सास लिएँ........।
सासू पनि उठिसकिन्।
'बुबा उठ्ने बेला भयो, नुहाउनको लागि पानी तातो चाहिन्छ। तताएर राख है बुहारी' भन्दै चर्पितिर लागिन्।
ला बल्ल ध्यान आयो।
मैले त नुहाउनै बिर्सिएँ।
ननुहाइकन ल्याएको पानी भान्सामा चल्दैन। फेरि पँधेरोमा जानु र! ह्या नुहाए भनिदिन्छु भैहाल्यो नि।
सासूले थाहा पाइन् भने!
मनभित्र नै डरको आँधी बनेर आयो।
मेरा पति परमेश्वर त उठ्नुभएको छैन। चिया ओछ्यानमा नै लगेर जाऊँ कि यही आउनु हुन्छ होला।
यस्तै सोच्दै थिएँ।
'बुहारी जाऊ पहिला एक भारी घाँस लिएर आऊ'सासूको आवाजले म तर्सिएँ।
सबै बिर्सेर हँसिया नाम्लो लिएर निस्किएँ।
बल्ल बल्ल एक भारी घाँस पुग्यो। लिएर आएँ।
'बुहारी चिया त हामीले खाइसक्यौं। अब खाना बनाउने तरखर गर त'सासूको आवाजले म भित्रभित्र रोएकी थिएँ। जहाँ बाले मेरो खुसी भेट्नुभएको थियो मैले भेट्न सकेकी थिइनँ। सायद, पैसामा खुसी नहुने रहेछ!
यस्तै मेरा दैनिकी बित्दै थिए।
म यो जिन्दगीबाट मुक्ति चाहन्थें। जुन अब असम्भवजस्तै थियो।
'ओ कान्छी! घामले डाँडो काटिसक्यो उठ्ने हैन?' आमाको आवाजले बिउँझिएँ।
धत! कस्तो सपना देखेकी। मनमनै खुसी भएँ।
'साँच्चिकै म बिहे गरेर गएपछि यस्तै हुन्छ होला ? मनमा प्रश्न आयो।
'म त बिहे नै गर्दिनँ। अर्काको नोकर हुन किन बिहे गर्नु?' मनमनै प्रश्न उत्पन्न भयो।
आमालाई सोधें- आमा, बिहे गर्नैपर्ने हो र?
'हेर बैंश चढेको। अहिल्यै बिहे गर्ने आत्तुरी छ। हे भगवान!'
आमाको कुराले मलाई लाज लाग्यो अनि भान्साबाट बाहिर निस्किएँ।
बल्ल याद आयो।
म बल्ल सोह्र वर्षकी भएँ।
बिहे गर्न धेरै समय बाँकी छ। अनि मेरो खुसीको सीमा नै रहेन।