न्यु स्टार क्याफे। बुटवल बजारबाट पैदल हिँडेरै पनि आधा घण्टामा पुगिने बाक्लो जंगलको फेदीमा रहेको क्याफे।
वरपरको प्राकृतिक सुन्दरताले भरिपूर्ण र एकान्तमा रमाउनेहरूको लागि राम्रो गन्तव्य पनि।
आजको मेरो गन्तव्य यही क्याफे र यहाँ पुग्नुको उद्धेश्य दिव्यासँगको भेट। झन्डै एक दशकपछि तय भएको थियो दिव्या र मेरो भेट।
मेरो मानसपटलमा आज पनि त्यही दिव्या बसिरहेकी छे जो दस वर्षअघि भेटिएकी थिई।
दिव्या र मेरो पहिलो भेट बुटवल बहुमुखी क्याम्पसमा भएको थियो। सुन्दरताले भरिएकी, पढाइमा पनि अब्बल दिव्यालाई कलेजमै धेरैले मन पराउँदा रहेछन्।
बाक्लो लामो कालो कपाल, चौडा निधार, ठूला काला आँखा, मिलेका आँखीभौं, रसिलो ओठ, मुसुक्क हाँसेरमात्र बोल्ने स्वभाव र मुस्काउँदा टल्किने मिलेका दाँत र दुवै गालामा पर्ने डिम्पल। केटाहरूलाई मदहोश पार्न पर्याप्त थिए यी गुण।
सोह्र सत्र वर्षे बैंशालु यौवनले भरिएर धपक्कै बलेकी दिव्या अन्य युवतीको लागि पनि ‘टक अफ दि टाउन’ थिई।
भर्भराउँदो बैंसको उन्मत्त रुद्रताले ऊ धपक्कै बलेकी थिई। त्यसैले त थिई सबै युवाहरूको मुटुको ढुकढुकी।
उनै दिव्यासँग मेरो कलेजका दिनहरूमा राम्रो सम्बन्ध थियो।
हामी छोटो समयमा नै अत्यन्तै निकट साथी भएका थियौं। आफ्ना सबै कुराहरू एक आपसमा सहज तरिकाले सेयर गर्थौं। तर जब म त्यहाँबाट क्याम्पस स्थानान्तरण गरेर काठमाडौं आएँ त्यसपछि भने दिव्यासँग मेरो खासै सम्पर्क भएन। दुई वर्षपछि एकै पटक दिव्याको बिहे भएको खबर साथीबाट सुनेको थिएँ।
समय आफ्नै रफ्तारमा बढ्दै गयो। म पनि आफ्नै जिन्दगीमा व्यस्त हुँदै गएँ सायद दिव्या पनि। तर अचानक जस्तै एक दिन दिव्या सामाजिक सञ्जालमा झुल्किई।
फेसबुकमा राखिएको प्रोफाइल तस्वीर हेर्दा दिव्याको उही पुरानो आभा झल्कन्थ्यो। करिब एक दशकपछि फेरि उस्तै लागी मलाई तस्वीरकी दिव्या।
दिव्याले मलाई फ्रेण्ड रिक्वेस्ट पठाएकी थिई। हामी एक आपसमा जोडियौं फेसबुकमा।
सामान्य हालखबर सोधपुछ गर्यौं।
मैले आफ्नो खबर बताएँ। उसले पनि आफ्नोबारे सामान्य खबर बताई। केही दिनपछि एक साँझ दिव्याले मेसेज गरी। आफूलाई साह्रै भेट्न मन लागेको बताई र उ काठमाडौं आउन असमर्थ भएकाले मिले भेट्न बुटवल आउन आग्रह गरी।
दशकौं अघि जीवन यात्राका क्रममा भेटिएर छुटेको साथीको भेटौं न भन्ने आग्रह मलाई अनुचित लागेन। सायद मेरो भित्री मनमा पनि दिव्यालाई भेट्ने चाह थियो।
मैले केही दिनमा समय मिलाएर भेट्ने कुरा गरें। काम र व्यक्तिगत जीवनलाई केही विश्राम र दिव्यासँग भेट दुबै हुने भएकाले दिव्यालाई भोलि बुटवल आउने जानकारी गराएँ र भेट्ने ठाउँको यकिन गर्ने जिम्मा दिव्यालाई नै दिएँ। दिव्याकै रोजाइमा आजको गन्तव्य न्यू स्टार क्याफे भएको हो।
झण्डै आठ घण्टाको माइक्रो बसको यात्रापछि म बुटवल पुगें।
दिव्याले भेट्न रोजेको न्यू स्टार क्याफे नजिकैको एउटा होटलमा एक रातको लागि कोठा बुक गरें। दिव्यालाई आफू बुटवल आइपुगेको जानकारी फोनबाट दिएँ।
दिव्याले एक घण्टाभित्र आफू क्याफेमा आइपुग्ने बताई। लामो यात्रा र माइक्रोको तीव्र गति र बाटोको कारण ज्यान निकै थाकेको थियो।
दिव्या आइपुगुन्जेल फ्रेस हुन्छु र केहीबेर आराम गर्छु भनेर होटलको कोठामा गएँ। नुहाएर दश मिनेट जति बेडमा पल्टिएको थिएँ दिव्याको फोन आयो।
उ दिएको समयभन्दा अघि नै क्याफेमा आइसकेकी थिई। पाँच मिनेटमा आफू क्याफेमा आइपुग्ने दिव्यालाई बताएँ।
बुटवलमा तापक्रम चढ्दै थियो। हतार हतार कटनको कालो पाइन्ट र सेतोमा कालो मसिनो धर्का भएको सर्ट लगाएँ र निस्केँ होटलको रूमबाट।
दिव्या क्याफेको एउटा कुनाको टेबलमा मेरो पर्खाइमा थिई। म सरासर दिव्या बसेको टेबलमा गएँ।
दिव्याले मुसुक्क मुस्काएर स्वागत गरी मलाई।
मुस्कानले स्वागत त गरी तर दिव्याको मुस्कानमा कुनै उत्साह देखिएन। मुस्कान केबल औपचारिकताको लागि थियो भन्ने मैले सजिलै अन्दाज गरें।
दश वर्ष अघिकी दिव्यामा जुन आभा थियो त्यो अहिले कहीँकतै बाँकी थिएन।
कलेज पढ्दा दिव्यामा जुन चन्चलता थियो त्यो अहिले पूरै गायब थियो र दिव्याको अनुहारमा जुन आभा झल्किन्थ्यो त्यो कतै पनि एक झल्को पनि थिएन।
दिव्या एकदम निरास देखिएकी थिई।
दिव्याको अनुहारबाट कान्ती गायब थियो।
उत्सुकताको एक अंश पनि दिव्याको अनुहारमा नदेख्दा मेरो मन अमिलो भयो।
मैले पनि औपचारिकता नै सही मुस्काएर दिव्याको मुस्कानको जवाफ दिएँ र उसको सामुन्यको कुर्सीमा बसेँ।
'केही मगायौ ?' मैले सोधेँ।
'छैन' छोटोमा जवाफ दिई उसले।
'के पिउने ?' सोधें मैले।
'तिमीलाई जे ठिक लाग्छ त्यही मगाऊ न' भनी।
पहिले हरेक कुरामा आफ्नो रोजाई राख्ने दिव्याको यो जवाफ फरक थियो। तर उसको अनुहारको भाव पढ्दा लाग्थ्यो यो अपेक्षित हो।
पहिले दिव्याको रोजाई क्याफे ल्याट्ते थियो जुन मैले बिर्सेको थिइनँ।
वेटर टेवलमा आइसकेको थियो। दिव्याका लागि त्यही क्याफे ल्याट्ते र मेरो लागि अमेरिकानो जुन मेरो फेवर थियो मगाएँ र दुई प्लेट चिकन मःम (जुन दिव्या र म दुबैको रोजाइ हुन्थ्यो पहिले) पनि मगाएँ।
वेटर गयो।
'किन यस्तो निरास देखिएकी ? दश वर्ष अघिको दिव्या तिमी नै हौ त ?' मैले कुराकानीको सुरूआत गरें। 'दश वर्ष निकै लामो समय हो क्षितिज। यी दश वर्षमा मेरो जीवनले दश चोला फेरिसकेको छ। मेरो जीवनले यति तीव्र गतिमा यात्रा गर्ला भनेर मैले सपनामा पनि चिताएको थिइनँ। मेरो कथा लामो छ। आज तिमीलाई मेरो कथा सुनाउनभन्दा पनि तिमीलाई भेट्न मन लागेर मात्र बोलाएको। तिमी आयौ, लामो समयपछि तिमीसँग भेट्न पाएँ मलाई खुसी यसैमा लागेको छ।' दिव्याले लामो जवाफ फकाई।
कफी टेबलमा आइपुग्यो। हामी दुबैले कफी उठायौं र एक एक सिप पियौं।
कफी टेबलमा राख्दै मैले भनें, 'दिव्या जीवन भनेको भोगाइहरूको संगालो हो। तिमीसँग भेट्न मलाई पनि रहर थियो। अब भेटेपछि तिम्रोबारे जान्न पनि मन लाग्यो। यदि तिमीलाई समस्या हुँदैन भने तिम्रो जीवनको उतारचढावको बारेमा म जान्न उत्सुक छु।'
हामीले कफीको दोस्रो चुस्की लियौं र मेरो आग्रहमा दिव्याले आफ्नो दश वर्षको कहानी सुनाउन थाली।
तिमी बुटवल क्याम्पस छोडेर काठमाडौं पढ्न गएको डेढ वर्षपछि मैले १२ कक्षा पास गरें र सोही क्याम्पसमा स्नातक भर्ना भएँ। त्यति नै बेला घरमा मेरो बिहेका कुरा चल्यो। म भर्खर १९ वर्ष लाग्दै थिएँ। जीवनमा पढाइ पूरा नगरी अरू कुराबारे नसोच्ने मेरो योजना थियो। तर बुवाको मामाघरबाट नजिकको केटाको कुरा ल्याउनुभएछ।
सुरूमा त 'छोरी पढ्दै छे' भनेर बुवाले नै इन्कार गरिदिनुभयो। तर बुवाको मामाले नै केटा असल छ। कतारमा रोजगारी भएको र कमाई पनि राम्रो भएकाले नातिनीले सुख पाउँछे भनेर कन्भिन्स गर्नुभएछ। त्यसपछि घरमा बुवाले मलाई प्रस्ताव गर्नुभयो।
तत्काल विवाहबारे नसोचेको मैले के गर्ने के नगर्ने निर्णय गर्न सकिनँ। खास म पढाइ पूरा गर्न चाहन्थें र जीवनका अरू निर्णय गर्न चाहन्थें। विवाहबारे मैले केही नसोचेकाले के ठिक के बेठीक भन्ने सोचेकै थिइनँ। एक्कासिको प्रस्ताव र परिवार सबैको आग्रह/दबाब मैले थेग्न सकिनँ र म साजनसँग बिहे गर्न राजी भएँ।
मेरो श्रीमान मभन्दा झन्डै ८ वर्ष जेठो हुनुहुन्थ्यो। म अलि सानै उमेरको भएकाले होला उहाँले माया र ख्याल गर्नुहुन्थ्यो। विवाह भएको केहीदिनमै उहाँ कतार उड्नुभयो। उहाँ कतार उडेको केही समयपछि मेरो सबै कागजपत्र बनाएर म पनि कतारको लागि उडेँ। बिहे भएपछि हरेक नारीको अपेक्षा हुन्छ आफ्ना पति सँगै रहुन्, आफ्नो ख्याल राखुन्, आफूलाई माया गरून् अनि जीवनभर सुख दुःख सँगैसँगै साट्न पाइयोस्।
उहाँ श्रीमानभन्दा पनि साथीजस्तो हुनुहुन्थ्यो। उहाँ भन्नुहुन्थ्यो ‘जबसम्म दुईको विचार, भावना र चाहनाहरू मिल्दैनन्। शरीरको मिलन फगत एक औपचारिकता मात्र हो, म सम्बन्धमा औपचारिकता मन पराउदिनँ’ ।
मलाई उहाँको यस्तै कुराहरूले प्रभावित पाथ्र्यो। म सोच्थें के सबै पुरूषमा यस्तै सोचाइ हुन्छ ? वा साजन मात्र यस्तो हो ? वा साजन तत्कालका लागि मलाई खुसी राख्न यस्तो बनावटी कुरा त गर्दै छैन ? समय बित्दै जाँदा उहाँको भनाइ र व्यवहारमा एकरूपता रहिरह्यो। उहाँको अथाह माया, साथ, बुझाइ अनि नारीत्वप्रतिको सम्मानले गर्दा म उहाँसँग पुलकित हुँदै गएँ।
एकदिन हामी मरुना बिच घुम्न गएका थियौं। समुद्री तटमा रमाउँदा रमाउँदै एक्कासि पानी पर्न थाल्यो । उहाँले पातलो वाटर प्रुफ समर ज्याकेट लगाउनु भएको थियो, मैले वान पिस। म निथ्रुक्कै भिजें। कतारमा पानी पर्नु अनपेक्षित मानिन्छ।
हामीले पनि पानी पर्ला भन्ने सोचेकै थिएनौं तर प्रकृति हाम्रो बशमा हुँदैन। अपर्झंटको वर्षा र रुझाइले हामीलाई चिसो महसुस भयो र हामीले अपार्टमा फर्कने निर्णय गर्यौं। फेर्ने लुगा साथमा नभएकाले हामी चिसै लुगामा गाडीमा चढ्यौ र अपार्टमा आयौं। जाँदा झण्डै आधा घण्टा लागेका बाटो फर्किंदा बिस मिनेट पनि नहुँदै हामी अपार्टमा आइपुग्यौं। पानी अझै उस्तै परिरहेको थियो।
हामी फटाफट लिफ्ट चढेर सत्रौं तलाको आफ्नो अपार्टमा पुग्यौं। चिसो लागिरहेकाले म हतार हतार बाथरूम गएर फ्रेस हुन र कपडा फेर्न चाहन्थें। जसै म बाथरूमतिर लम्कें मेरो पछिपछि रहनुभएको उहाँले पछाडिबाट मेरो हात समात्नु भयो र आफूतिर तान्नु भयो।
पानीमा निथ्रुक्क भिजेका मेरा कपडा मेरो शरीरमा लपक्क टाँसिएको थियो। सायद त्यसले उहाँलाई आकर्षित गर्यो।
उहाँले मलाई आफ्नो अंगालोमा बेर्नुभयो। त्यसपछि जे भयो त्यो म अहिले शब्दमा व्यक्त गर्न सक्दिनँ। यत्ति भनौं हामी दुबै पूर्ण भयौं। यति प्रेमपूर्ण रूपले न हामी त्यसअघि न त्यसपछि पूर्ण भएका थियौं। आज पनि म त्यो पल सम्झेर रोमान्चित हुन्छु।
भीगी–भीगी रातों में, मीठी–मीठी बातों में
ऐसी बरसातों में, कैसा लगता है
ऐसा लगता है, तुम बनके बादल
मेरे बदन को भीगो के मुझे
छेड़ रहे हो, छेड़ रहे हो
ऐसा लगता है, तुम बनके बादल
मेरे बदन को भीगो के मुझे
छेड़ रहे हो, छेड़ रहे हो
सायद यही गीतले भनेजस्तै।
खुसी, आनन्द भन्नु समुद्र रहेछ। प्रेम भन्नु पानी रहेछ। समर्पण भन्नु नाउ रहेछ। प्रेमको समुद्रमा समर्पणको डुङ्गा जति जति धेरै खियाउन सक्यो उति नै टाढा टाढा चरम आनन्दको महसुस गर्न सकिने रहेछ। अनि माया त शब्दले मात्र प्रकट गर्न सकिने कुरा होइन रहेछ यो त महसुस हुने कुरा रहेछ।
महसुस पनि बोलेर भनिने महसुसमा होइन परमात्मासँगको त्यो सन्निकट्तामा अनुभूत हुने कुरा रहेछ। मलाई उहाँको साथमा हुँदा यस्तो लाग्थ्यो कि म संसारकै भाग्यमानी नारीमध्यकी एक हुँ।
समय बित्दै जान्थे, हामी मायाको आकाशमा खुला पंक्षी झैं उड्दै रमाउँदै गर्न थाल्यौं। उहाँ मेरा हरेक कुरामा निक्कै ख्याल राख्नुहुन्थ्यो। म पनि उहाँलाई माया र ख्याल राख्थें। परदेशमै हाम्रो मायाको निसानी छोरी जन्मिई। छोरी जन्मिनुअघि र जन्मिसकेपछि पनि उहाँले मलाई अथाह प्रेम, साथ र सम्मान दिनुभयो।
समय सधैं एकनासले कहाँ चल्दोरहेछ र ? हाम्रो नि:स्वार्थ माया देखेर भगवानलाई पनि इर्ष्या जागेछ कि ?
त्यसदिन बिहान सधैंझैं उहाँ अफिस जान लाग्दा म वासिङ मेसिनमा लुगा हाल्दैथिएँ।
उहाँ 'म आज चाँडै आउँछु अनि सपिङ गर्न र मूभि हेर्न जानुपर्छ है' भन्दै निस्कनुभयो।
दिउँसो खबर आयो उहाँ त दुर्घटनामा पर्नुभएछ। उहाँको कारलाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिँदा भयानक दुर्घटना भएछ। खबर सुनेपछि मेरो होसहवास नै उड्यो। त्यो परदेशमा मेरो आफ्नो भन्नु उहाँबाहेक अरू विशेष को नै थियो र ? ममाथि आकाश खस्यो। ट्रमा सेन्टरमा राखेको एक हप्तापछि बेहोस हुँदाहुँदै उहाँले संसार छोड्नुभयो।
जसको लागि आफ्ना सारा जीवन समर्पित गरेथें, जो मेरा लागि साँच्चै भगवान बनेर भेटिनुभो उनैलाई दैवले टिपेर लग्यो। म त्यति बेला २४ वर्षको मात्रै थिएँ। माया के हो, साथ के हो राम्ररी महसुस गर्न नपाउँदै भाग्यले मेरो खुसी खोसिदियो।
उहाँ अर्धचेतमै हुँदा हस्पिटलमा एकपटक भेट्ने मौका पाएको थिएँ। संसारबाट बिदा लिँदै गर्नुभाको मेरो भगवान, मेरो श्रीमानलाई अन्तिमपटक बेहोसीमै स्पर्श गर्दै थिएँ। उहाँका औंलासँग अन्तिमपटक छुँदै छुवाउँदै थिएँ।
जब सोचाइ, उद्धेश्य एउटै भयो, जिउने हरचिज एउटै, हर कुरा एउटै भयो। उनको शरीर उनको भएन मेरो भयो, मेरो शरीर मेरो भएन उनको भयो। मेरा रहर उनको भए उनको रहर मेरा भए। त्यसपछि उनका र मेरा आफ्नै आफ्नै, केही रहेन साराका सारा हाम्रो भयो, एकै भयो। दुबै जनाबाट सिंगो ‘हामी’ बन्यौं।
जब एउटै अस्तित्व बनिसक्यो तब आधा शरीर, आधा मन आधा आत्मा, आधा चेतना चुडाइलग्यो दैवले।
कसरी व्यक्त गरौं म यी भावनालाई मसित त्यस्ता शब्द छैनन्। जसले साराका सारा आँसुहरू पोख्न सकियोस्। जब दुई शून्य महाशून्यमा मिलेर जीवनको त्यस्तो सम्पूर्णतामा यात्रा गर्दै थियौं, त्यति नै बेला म माथि आकाश खस्यो।
जब उहाँले संसार त्याग्नुभो आँसु पनि वैरी बनिदियो, सहनै नसक्ने बज्रपात आइलागेपछि त आँसु पनि नआउने रहेछ।
दिव्याका आँखाबाट आँसुका धारा बग्न थालिसकेको थियो। त्यतिनै खेर म आफूलाई नियाल्छु त म पनि दिव्यासँगै बग्न पो थालिसकेछु। यस्तो बेला के गर्ने म असमन्जसमा परें।
दिव्या अझै भन्दै गइन् ।
त्यसपछि म नेपाल फर्किएँ अनि श्रीमानको अन्तिम संस्कारतिर लागें। मेरा श्रीमान बिते, त्यसो त सासूससुराका पनि त छोरा बिते, भाइबहिनीका दाइ बिते, दाइदिदीका भाइ बिते। मजस्तै शोकमा हुनेहरूकै बीचमा बसेर मैले श्रीमानका अन्तिम संस्कारका दिनहरू बिताउन थालें।
शोकमा पर्नेहरूले नै शोकमा पर्नेको पीडा बुझ्ने हो नि है ? म पनि त्यही अपेक्षा गर्दै थिएँ। तर सबै कुरा कहाँ सोचेझैं हुन्थ्यो र ?
अन्तिम संस्कारको १२ औं दिनको काम सकेर म मेरी एक वर्षकी छोरीलाई समाउन गएँ। मेरो त्यति बेलाको शोकको बेलाको अनुहार, त्यति बेलाको मेरो अवस्था देखेर छोरीले नै मलाई चिनिनन्।
मलाई बेस्सरी रुन मन लाग्यो। रोएँ। जब रोइरहेथेँ त्यही बेला मेरो आमाजुले एक्कासि आएर 'यो त बोक्सी हो यसले नै हो मेरो भाइ खाएकी' भन्दै तथानाम गाली गर्न थाल्नुभो।
'यो बोक्सीलाई अब बल्ल बाटो खुल्यो, कहिले सक्केला किरियाको काम पनि भन्नी भारैछ' भन्दै गाली गर्न थाल्नुभयो।
त्यहाँ मेरा आफ्ना भन्ने कोही थिएनन्। न त सासूससुरा, देवर जेठाजु। सब मुखदर्शक बनिरहे। न त त्यहाँ भएका समाजका कसैले प्रतिवाद नै गरे। म त्यस्तो पनि समाज हुँदोरहेछ भनेर अचम्ममा परें।
त्यसपछिका दिनमा पनि मलाई निरन्तर छोरो खाइस् भन्दै, कसैले भाइ खाइस् भन्दै मानसिक टर्चर झन् पछि झन् धेरै दिँदै गए। त्यसरी हदैसम्मको गालीगलौज र ममाथि आइलाग्नुमा मुख्य कारण चाहिँ पैसाको थियो। मेरो श्रीमानको दुर्घटनामा मृत्यु भएपछि उनको बीमासहितको रकम झन्डै १ करोड आउँथ्यो। त्यही पैसा र श्रीमानको नाममा भएको बैंक ब्यालेन्स र अरू सम्पत्ति आफ्नो बनाउछे भनेर मलाई त्यो घरमा टिक्न खान दिएनन्। मलाई त्यतिन्जेलसम्म मानसिक यातना दिन छोडेनन् जतिन्जेलसम्म मैले त्यो घर छोडेर हिँडिनँ।
यस्तो लाग्यो घरको एक महत्वपूर्ण सदस्य छोरो गुमाउनुको पीडा, शोकलाई छोरा बितेर आउने पैसाको लोभले नै भुलाइदिए झैं देखिन्थ्यो।
उहाँहरूले सोच्नुहुन्थ्यो भने त बाबा बितेकी एक वर्षकी छोरी पनि त थिई नि। नातिनिको लागि पनि त आउने पैसा उसको भविष्यको लागि सोच्नुपर्ने हो। तर पैसाकै लोभमा शोक त भुल्नेले नातिनिबारे के सोचून् ? यसरी मलाई त्यो घरमा टिक्नै नसक्ने बनाए।
एउटी विवाहित अनि श्रीमान बितेकी नारीको लागि त्यो कुन हदसम्मको पीडा थियो त्यो त भोग्नेलाई मात्र थाहा हुन्छ।
नारीलाई त हाम्रो संस्कारमा लक्ष्मीको रूपमा मानिन्छ नि है। अनि त्यही लक्ष्मी जब श्रीमानको अनायासै मृत्युले विह्वल हुन्छे तब सोही लक्ष्मी बोक्सी कसरी हुन्छे ? जसको लागि आफ्नो सम्पूर्ण जीवन नै समर्पित गरिएको हुन्छ उसैले आफ्नो श्रीमानलाई खान कसरी सक्छे ? यो कस्तो सोच हो ? कस्तो मानसिकता हो ?
धेरैले भन्नुहुन्छ नि पुरानो जमानाको मान्छे बुझ्दैनन्, यस्तै हुन् भनेर। त्यसो भए के पुरानो पुस्ता बाँचुन्जेल चाहिँ नयाँ पुस्ताले अन्धविश्वासमा अडेको कुरीतिको आडमा शारीरिक, मानसिक यातना सहिरहनुपर्ने हो ? नयाँ पुस्ताले पनि कतिपय अवस्थामा आफ्नो स्वार्थ अनुकूल पाउँदा चाहिँ गलत हो, अन्धविश्वास हो भन्ने जान्दाजान्दै पनि कसरी त्यही कुसंस्कारलाई अंगालिरहन सक्छन् ? किन गलतलाई गलत र सहीलाई सही भन्ने साहस गर्न सक्दैनन् ? उनीहरू कुन आधारमा आधुनिक भए ?
यहाँ आधुनिकता त खान लाउनमा मात्रै फेसनको रूपमा भित्रिएको छ। मान्छेका सोचहरूमा आज पनि उस्तै दुगर्न्ध निस्किरहेको छ। मेरा ससुरा पनि समाजमा गन्ने मान्ने नै हुनुहुन्छ। उहाँको कुरा समाजमा कसैले पनि हत्तपत्त काट्न सक्दैनन्। तर किन ममाथि त्यति ठूलो अन्याय, मानसिक यातना, गलत प्रहार हुँदा पनि मुकदर्शक बनेर बस्नुभयो ? अझै भावी समाजको लागि सबभन्दा खतरा त नयाँ पुस्ताबाटै छ जो आजको दुनियाँमा पनि अग्रजले भने भन्दैमा उही कुरिति, कुसंस्कारकै खोल ओढेर क्षणिक न्यानो खोजिरहन्छन्। सहनै नसक्ने भएपछि अन्ततः मैले त्यो घर छोड्ने निर्णय गरें।
अनि छोरी लिएर म मेरो आफ्नै आमा बुवासँग बस्न थालें। मैले त्यो घर छोड्दा एक पैसा पनि लिइनँ। न त श्रीमानको नामको केही अंश या कुनै सम्पत्ति नै लिएँ। उहाँको मृत्युपश्चात आउने बीमाको रकम पनि लिइनँ सासूससुरालाई नै छोडिदिएँ।
आज त्यही पैसाले उहाँको परिवार वैभवको जीवन बाँचिरहेका छन्। धेरैले मलाई आफूले दाबी गरेर स्वतः पाउने पैसा लिग्नुपर्छ छोरीको लागि पनि लिनुपर्छ भनेर सम्झाउनु भयो। तर जब आफ्नै श्रीमानले त संसार छोडेर गए भने त्यो भौतिक सम्पत्ति लिएर के गर्नु मैले ?
अझ त्यसमा पनि त्यही सम्पत्ति लिन्छे भनेर हातै धोएर मविरूद्ध लागे अनि हदैसम्मको मानसिक यातना दिँदै गएपछि मैले सारा कुरा छोडेर निस्किएँ। आमाबुवासँग बस्न थालें पनि मेरा दिनहरू सहज भएनन्। पीडाले तन मन शिथिल थियो।
म भित्रैबाट पूर्ण रूपमा टुटेको थिएँ। श्रीमानको अप्रत्याशित मृत्यु र परिवारको चरम मानसिक यातना ‘ओ गड’ म कसरी बाँचे होला ? पीडाले जर्जर भएकी म कतिसम्म भएँ भने ब्रस गर्न पनि मलाई आमाले सुतिसुति गराइदिनुपर्ने भयो। म चरम डिप्रेसनमा पुगेको थिएँ। श्रीमानको मृत्यु र परिवारको मानसिक यातनाले मेरो कलिलो मस्तिष्कमा नराम्रो असर गरेछ र म डिप्रेसनमा गएछु।
दिव्याको यस्तो बयान सुनेर म अवाक भएँ।
'त्यस्तो अवस्थामा पुगेकी मान्छे कसरी यस्तो भयौ ?' मैले प्रश्न गरेँ।
एकदिनको कुरा हो छोरी गम्भीर बिरामी भएर भर्खरैमात्र अस्पतालबाट घर आएकी थिइन्। मैले छोरीको राम्ररी केयर गर्न पनि सकेकी थिइनँ। भित्र घरबाट सानो स्वरमा गुनगुन आवाज आएको सुनें। यसो कान टाठो बनाएर सुनेको त बाबा ममी मेरैबारे कुरा गर्दै चिन्ता गरिरहनुभाको रहेछ। छोरी कहिले तङ्ग्रीली भनेर सन्ताप गरिरहनु भएको रहेछ। बुबा आमाको कुरा सुनेपछि सोचें ओहो ! म त कस्तो स्वार्थी पो रहेछु, मेरो कारण उहाँहरूलाई पनि यति धेरै चिन्ता परिरहेको रहेछ।
म आफूमात्र पीडित भएर बसिरहेको लाग्थ्यो तर आफूमात्र पीडित रहेनछु। उहाँहरूलाई पनि पीडा दिँदैरहेछु। उहाँहरूले त केही भन्नुभएको होइन तर पनि यति धेरै चिन्तित बनाएको रहेछु। अब चाहिँ म आफूले आफैंलाई सम्हाल्नुपर्छ। मैले मेरो जीवन यसै खेर फाल्नु हुँदैन। जीवन यतिमात्र होइन। जीवन लामो छ र मैले अहिले भोगेको जीवन त्यो लामो यात्राको एउटा अंशमात्र हो।
अब मैले फेरि 'म' भएर बाँच्नुपर्छ। मेरो छोरीको लागि, बुवाआमाको लागि र मेरै लागि पनि।
त्यसपछि मनैबाट दृढ संकल्प गरें। म कलेज पढ्दाको त्यो दिव्या यो होइन, त्यो दिव्या कहाँ गई ? भनेर आफैंलाई खोज्न थालें।
खासमा बिहेपछि म पूरै श्रीमानमा निर्भर भएको थिएँ। मैले म पनि आफ्नो लागि आफैं केही गर्न सक्छु भन्ने पूरै बिर्सेको थिएँ। मैले म र मेरो क्षमता नै बिर्सेको थिएँ।
जब मैले म आफैं सक्षम व्यक्ति हो भन्ने महसुस गरें त्यसपछि मैले आफूलाई आफैंले मोटिभेट गर्न थालें। इन्टरनेट, युट्युबमा विभिन्न मेटिभेसनल भिडिओ हेर्न थालें।
नकारात्मक विचार र समाचारहरूबाट आफूलाई टाढा राखें। आफ्नो दृढ संकल्प, सकारात्मक सोच र विभिन्न उत्प्रेणा जगाउने भिडिओले ममा छिट्टै सकारात्मक सञ्चार प्रवाह गर्यो।
म विस्तारै पुरानो अवस्थामा फर्किन थालें। बुवाआमा मेरो अवस्था देखेर खुसी र अचम्मित हुनुभयो। आफैंले अपेक्षा गरेभन्दा छिटो म मेरो पुरानो अवस्थामा फर्किएँ। खासमा मैले जस्तै उहाँहरूले पनि ममा यति छिट्टै परिवर्तन हुन्छ भन्ने सोच्नु भएकै थिएन।
केही समयपछि मैले एउटा बैंकमा काम पाएँ। जागिरसँगै मैले मेरो पढाइ पनि सुरू गरें। बिहान म कलेज जान्थें भने दिउँसो जागिरमा। यसरी मैले ब्याचलर सकें र अहिले मास्टर अन्तिम सेमेस्टरको परिक्षाको तयारीमा छु।
जागिरमा पनि प्रमोसन भएको छ। छोरी पनि स्कुल जान सुरू गरेकी छ। खासमा भन्ने हो भने अहिले म स्वतन्त्र जीवन जिइरहेको छु। बिहे नियति थियो या लेखान्त मलाई थाहा छैन। उहाँको मृत्यु दुर्घटना थियो। बिहे र उहाँको दुर्घटनामा निधन हुनु अघिसम्मको समय मेरो जीवनको एउटा सुन्दर पल रह्यो।
जुन पल निकै छोटो रह्यो। त्यसपछिको लगभग एक वर्षको समय मेरो जीवनकै सर्वाधिक कठिन समय रह्यो।
पति वियोगबाट सम्हालिन नपाउँदै सम्पत्तिका लागि परिवारले गरेको व्यवहारले म विक्षिप्त हुन पुगेकी थिएँ। तर आज यो बिन्दुबाट फर्किएर हेर्दा म जुन ठाउँमा छु सन्तुष्ट छु। मेरो बुवाआमाको साथले आज म आफ्नै खुट्टामा उभिन सक्षम भएको छु। भोलि कसैले देखेको छैन। तर अब म विगतलाई सम्झेर दुखी हुन्नँ र भविष्यमा आइपर्ने जस्तोसुकै परिस्थितिका लागि पनि मानसिक रूपमा तयार छु।
दिव्याको कुरा सुनेपछि मलाई यस्तो लाग्यो, कसले भन्छ एकल महिलामा वा भनौं एक्लो जीवन बिताइरहेकी नारी सक्षम हुन्न भनेर ?
अरू सामान्य मान्छेमा भन्दा उनीहरूमा धेरै गुणा क्षमता हुन्छ किनकि जसले धेरै हदसम्मको दु:ख, संघर्ष, पीडासँग मुकाबिला गरेर आएका हुन्छन्। उनीहरूमा नयाँ परिस्थितिसँग जुध्न सक्ने सहास र क्षमता सामान्य मान्छेमा भन्दा धेरै हुन्छ।
तर एकल नारीमै पनि जसको सन्तानहरू भैसकेका छन् अनि उमेर भर्खरको छ भने पनि उसलाई अनि उसका भावनालाई हेर्ने समाजको दृष्टिकोण राम्रो हुन्न। उसलाई त साथ सहयोग दिनुपर्ने हो नि तर उल्टै उसले पछि चाहने नयाँ साथ, सम्बन्धप्रति नै हाम्रो समाज निर्दयी बनिदिन्छ।
तपाईं हामी समाजमा एकल महिला देख्यौं भने ह्या यस्तै हो भनेर उपेक्षा गर्छौं अनि उसलाई विचरा भनेर सहानुभूतिको लागि मात्रै हेर्छौं। तर उनीहरू भित्रको क्षमतालाई चाहिँ अवमूल्यन गर्छौं भने उनीहरूको पीडाको कारण तपाईं, म र हाम्रो समाज हो।
हामीले अलिकति मात्र हाम्रो सोच र सोच्ने तरिका बदल्यौं भने समाज परिवर्तन गर्न धेरै समय लाग्दैन। उदाहरण दिव्या सामुन्ने छे र हजारौं दिव्याहरू छन्।
दिव्याको कथा सुन्दा सुन्दै समय बितेको थाहै भएन। हामी कुराकानीमा कतिसम्म हराएछौं भने दोस्रो सीप खाएर राखेको कफी त्यत्तिकै थियो। हामीले अर्डर गरेको चिकेन मःम कतिबेला ल्याएर वेटरले टेबलमा राखिदियो हामीले थाहै पाएनौं।
एक्कासि वेटरले बिल ल्याएर क्याफे बन्द गर्ने समय भएको जनाऊ दिएपछि पो हामी दुबै झस्कियौं। मःम त फेरि हान्ने राँगो जस्तै पो भैसकेछ। दिउँसो चार बजे क्याफेमा बसेका हामी कुरैकुरामा बेलुकी आठ बजेको पत्तै पाएनछौं।
मैले कफी र मःमको बिल तिर्न खोज्दा दिव्याले मानिन, बिल दिव्याले तिरी र हामी क्याफेबाट बाहिरियौं। क्याफेबाट बाहिरिँदै गर्दा दिव्याले भनि, तिमी यत्रो टाढाबाट मेरो आग्रहमा मलाई भेट्न भनेर आयौ। मेरो कुरा सुनिदियौ। खास मलाई मेरा कुराहरू अरूलाई सुनाउन मन थिएन।
म मेरै नियमित जिन्दगीमा व्यस्त थिएँ र खुसी पनि थिएँ। सामाजिक सञ्जाल पनि त्यति प्रयोग गर्दिनँ थिएँ। सामाजिक सञ्जालको असामाजिक चरित्रले मलाई जीवनमा उत्साहभन्दा निरासा बढी दिने भएकाले म योबाट लगभग टाढा हुन रुचाउँछु।
मेरी छोरीलाई नाच्न खुब मन पर्छ। टिकटकमा उजस्तै साना साना नानीबाबु नाचेको हेर्न मन पराउँछे र सँगै नाच्छे। त्यसो गर्दा छोरी असिम खुसी देखिन्छे र छोरीको खुसीसँगै म पनि खुसी हुन्छु। खासमा आफ्नो सन्तानको खुसी नै एउटी आमाको खुसी रहेछ। टिकटकमा छोरीलाई नाचेको भिडिओ देखाउँदै थिएँ त्यही क्रममा पाकिस्तानी मोडल तथा मेटिभेसनल स्पिकर मुनिबा माजारीको ‘डोन्ट डाई बिफोर योर डेथ’ भन्ने भिडिओ देखेँ।
उनका धेरै मोटिभेसनल स्पिच हेरेको छु मैले। यो पनि हेरिसकेको थिएँ। तर यो कस्ले सेयर गरेको रहेछ भनेर हेरेको त तिम्रो नाम र फोटो देखेँ र फेसबुक खोलेर तिमीलाई फ्रेण्ड रिक्वेस्ट पठाएँ।
केहीबेरमा तिमीले एसेप्ट गर्यौ र साँझ तिमीलाई मेसेज गरेँ।
केही दिनपछि कलेजका तिमीसँगका पुराना दिनहरू याद आए र तिमीसँग भेट्न मन लाग्यो अनि तिमीलाई बोलाएँ। मेरो आग्रह मानेर तिमी भेट्न आइदियौ। तिमीलाई यहाँ भेट्न आउँदै गर्दा पनि कलेज बेलाका सामान्य कुराहरू गरेर फर्किन्छु भन्ने सोचेको थिएँ।
तर तिमीले कलेज पढ्दाकै बेलामा जस्तै सहज र आत्मीय व्यवहार देखाएर कुरा गर्दै गयौ र मैले मेरो कथा तिमीलाई सुनाएँ। थाहा छैन मैले मेरो सम्पूर्ण कुराहरू तिमीलाई भनेर ठिक गरेँ कि गलत। तर अहिले ठिक यतिबेला मेरो मन चाहिँ चङ्गा भएको छ। म आफूलाई निकै हलुका र सहज महसुस गर्दैछु।
मलाई ठूलो भारी बिसाएकोजस्तो महसुस भैरहेको छ र लाग्दैछ कतिपय कुराहरू कसैलाई सेयर गर्नु पनि एक प्रकारको उपचार रहेछ।
तिमीलाई मेरा कुराहरू सेयर गर्दैगर्दा मैले आफूलाई ठूलो रोगबाट मुक्ति मिलेको जस्तो अनुभव गरेको छु। तिमीलाई मेरा कुराहरू सुनेर नराम्रो महसुस भएको भए म माफी चाहन्छु। तिमीसँग आज बिताएको चार घण्टा भन्दा बढीको समय मेरो जीवनको अर्को सुन्दर र अविस्मरणीय पलको रूपमा दर्ज हुनेछ मेरो जिन्दगीको डायरीमा।
यति भनेर छुटिँदै गर्दा दिव्याले थपि, अँ साँची अहिले तिमी जुन बैंकमा लगानी तथा कर्जा शाखा प्रमुख छौ नि म त्यही बैंकको बुटवल शाखा प्रमुख हुँ। छुटिने बेला दिव्याले दिएको सरप्राइज खबरले म अचम्मित र खुसी दुबै एकैपटक भएँ।
मैले दिव्यालाई बधाई दिएँ र थप सफलताको शुभकामना दिएँ र भनें- दिव्या तिमीले आफ्नो कथा मलाई सेयर गरेकोमा धेरै धेरै धन्यवाद। खास तिमीलाई के भन्नुपर्छ भन्ने नै मलाई थाहा नभएर धन्यवाद भनेको हुँ। आज उप्रान्त तिमी मेरो आइडल हौ। मेरो जीवनमा कुनै गाह्रो समय आयो भने म तिमीलाई सम्झने छु र आफूलाई उक्त परिस्थितिमा सम्हालेर अघि बढ्नेछु।
आज तिमीलाई सुन्दै गर्दा मेरो मनमा आएको एक मात्र कुरा यही हो। जीवनमा उतारचढाव आउँछ। जुनसुकै चुनौतीलाई पनि सामना गरेर अघि बढ्नु नै जीवन जिउनु हो।
तिमीले दिएको आजको सुन्दर समय मेरो जीवनको सबभन्दा ठूलो पाठशाला बन्नेछ। समय आफ्नै रफ्तारमा थियो। अध्याँरो बढ्दै थियो, रात गाढा हुँदै थियो। दिव्या नजिकै रहेको ट्याक्सीतर्फ लम्की र आफू पुग्ने ठेगाना बताई।
ट्याक्सी ड्राइभरले ढोका खोल्यो। दिव्या ट्याक्सीमा चढी। ट्याक्सी दिव्याले बताएको ठेगानातर्फ गुड्यो। म दिव्याको साहसलाई सलाम गर्दै नजिकै रहेको मेरो होटलतर्फ लागें।