उनको र मेरो भेट पनि केवल संयोग मात्र त थियो। उनको अर्थात् सन्ध्याको। उनलाई मैले यात्राको क्रममा भेटेको थिएँ। भेटेको थिएँ भन्दा पनि देखेको थिएँ। देखादेख भएर नै चिनजान भयो। चिनजानले भेट निम्त्यायो।
म धरान घुम्न गएको थिएँ। धरानबाट फर्किने क्रममा हाम्रो भेट 'जून तारा डिलक्स'ले जुराएको थियो। उनी एक्लै बसेकी सिटको छेउमा गएर म पनि टुसुक्क बसेको थिएँ। उनले हाँस्दै, 'अलिक सहज हुनेगरी बस्नु न' भनेकी थिइन्।
मैले पनि उनको मिठो बोलीको जवाफ स्वरूप मुस्कान दिएर सहज हुनेगरी बसेको थिएँ। त्यसपछि विराटनगरसम्मको यात्रामा हामी खुब गफिएका थियौँ।
मलाई अझै याद छ खलासी दाइले हामीलाई,'के विधि हौ?' भनेर जिस्काउनु भएको। सायद उहाँलाई पनि ईर्ष्या लागेको थियो। सायद उहाँलाई पनि गफिन मन थियो उनीसँग।
यसरी संयोगवश भेट भएका हामी फेसबुकमा फ्रेन्ड हुँदै एकअर्काको मिल्ने साथी हुन पुग्यौँ।
म उनको ध्यान आफूतर्फ खिच्नका लागि, 'मलाई एकान्त मनपर्छ। तर म एकान्त प्रेमी भने हैन। मलाई एकान्तको कोलाहल मनपर्छ। एकान्तमा केवल मेरो मनको कोलाहल हुन्छ। मेरो मन चन्चले छ। मेरो मनको चन्चलेपनबाट उत्पन्न भएको कोलाहलमा म आत्मसन्तुष्टि पाउँछु' लगायतका गफहरु दिन्थेँ।
हामी जस्तो अल्लारे केटाहरुको औजार नै हो यो किसिमको गफ। म उनको ध्यान आफूतर्फ अझै खिच्नका लागि हुँदै नभएकी पूर्व प्रेमिकाको समेत कहानी सुनाएँ। केटीहरु दयालु हुन्छन् नि। यस्तो कुराहरू उनीहरूसँग सेयर गर्दा धेरै सहानुभूति पाइन्छ।
दिनदिनै म उनको ध्यान आफूतर्फ खिच्न सफल हुँदै थिएँ। हेर्दै लोभलाग्दी देखिने उनीसँग मलाई प्रेम गर्न मन थियो। मलाई उनीसँग प्रेम क्रिडा गर्न मन थियो।
म दिनहुँजसो उनलाई अप्रत्यक्ष रूपमा प्रेम प्रस्ताव दिन थालिसकेको थिएँ। उनी भने यस विषयमा खासै भाउ नै नदिने। उनी हामीबीचको सम्बन्ध साथीभन्दा माथि नजाओस् भन्ने चाहन्थिन्। मैले यो कुरा उनको रेस्पोन्सबाट बुझेको थिएँ।
मलाई जसरी भएपनि उनीसँगै प्रेम गर्नु थियो। मैले उनलाई आफ्नो नभएको अतीत सुनाएँ। उनलाई झन् भावनात्मक दबाब दिएँ। उनको अगाडि आफू 'विचरा' सम्म भएँ। उनलाई धेरै दबाब दिएँ झुटो कहानी सुनाएर।
एकदिन उनको फेसबुकबाट एउटा नरमाइलो लाग्ने मेसेज आयो। मेसेज भन्दा पनि एउटा तस्बिर आयो। तस्बिरमा उनी थिइन्। उनको नजिकै एउटा केटा थियो। केटाले सेतो भेष्ट लगाएको थियो। उसको खैरो कपाल थियो। उसको खैरो कपाल भने थोरै मात्र देखिएको थियो। आदि भाग ह्याटले छोपेको थियो। झट्ट हेर्दा बलिवुडको हिरो जस्तै देखिन्थ्यो।
उनको कोमल गालामा आफ्नो ओठ जोडेको थियो उसले। उसको हातहरुले उनको शरीर स्पर्श गरेको थियो।
निकै बेरपछि नरमाइलो मान्दै,'हु इज हि?' भनेर मेसेज गरेँ मैले।
'हि इज माई एक्स बोइफ्रेण्ड' उनले रिप्लाई गरिन्।
एक्स शब्दले थोरै राहत मिल्यो मलाई।
'अनि मलाई किन त यी तस्बिरहरू?' मैले उनलाई प्रश्न गरेँ।
उनले 'म पनि तिमीलाई आफ्नो अतीत सेयर गर्छु। इफ यू फेल्ट हामी सँगै हुन सक्छौं, अनि मात्र हामी सम्बन्धमा बसौँ' भनिन्।
अब हामीबीचको गफले सिरियस रूप लिइसकेको थियो। मैले आफ्नो नभएको अतीत सुनाएर उनको साँचो अतीत सुन्दै थिएँ। मैले केही गलत त गरिनँ नि भन्ने खालको प्रश्नहरुले मलाई सताउन थालेको थियो। मैले दह्रो हिम्मत गरेर उनको कुरा सुनिदिने निर्णय गरेँ।
'दुई वर्ष अगाडि म राकेश नामको एउटा केटासँग सम्बन्धमा थिएँ। उसलाई म औधी माया गर्थें अनि विश्वास पनि। राकेशको र मेरो भेट घोपा क्याम्पमा भएको थियो। औषधि किन्न जाँदा म अलमल्ल परेर बसेको बेला उसले मलाई सहयोग गरेको थियो। त्यहीबेलादेखि ऊसँग मेरो मित्रता गाँसिएको थियो।
उसले मलाई घोपा क्याम्प बसुन्जेल धेरै सहयोग गर्यो। उसको सहयोगी भावनाले मलाई ऊतर्फ मित्रताको डोरी गाँस्ने हौसला दियो। म ऊसँग मित्रताको सम्बन्धमा गाँसिएँ।
हामी धेरै नजिक भएका थियौं। यो नजिकीले गर्दा उसको अभिप्राय भने मसँग माया गाँस्नु बनिसकेको रहेछ। एकदिन उसैले मलाई प्रेम प्रस्ताव राख्यो। मैले उसको प्रस्ताव अस्वीकार गरेकी थिएँ। मैले उसको प्रेम प्रस्ताव अस्वीकार गरेसँगै मलाई मेरो निद्राले पनि अस्वीकार गर्यो। रातको निन्द्रा र दिनको चैन, दुवै मबाट टाढा भए। यसको कारण थियो, राकेश पनि मबाट दूरी बढाउन थाल्नु।
हुन त ऊ अब मसँग नजिक हुनु कुनै कारण थिएन। उसले मलाई प्रेम प्रस्ताव गरेको थियो, मैले अस्वीकार गरेकी थिएँ। अस्वीकार हुँदा कसलाई नजिक भएर बस्न मन लाग्छ होला र?
राकेश मबाट टाढा हुँदै गर्दा मैले हाम्रो मित्रताको सम्बन्ध प्रेममा परिणत भएको कुराको आभास गर्दै थिएँ। एकदिन मैले नै उसलाई, 'हामी सम्बन्धमा बसौँ?' भनी मेसेज गरेँ।
उसले केहीबेरमै 'हुन्छ' भन्ने रिप्लाई गर्यो।
उसको घर पनि धरान अनि मेरो मामाघर पनि धरान भएकोले हामी बीच भेट हुन खासै गाह्रो हुने थिएन। म महिनामा तीन पटकसम्म मामाघर जाने बहानामा रकेशलाई भेट्न जान्थेँ।
सम्बन्धमा बसेको आधा वर्ष पनि नबित्दै उसले हामी 'फिजिकल रिलेशन' मा बसौँ भन्ने नयाँ प्रस्ताव गर्यो। मैले उसको यो प्रस्ताव भने स्वीकार गर्न सकिनँ। मलाई मेरो नैतिकताले यसो गर्न दिँदैन भनेर उसलाई धेरै सम्झाएँ।
मैले 'यो सबको लागि अझै समय छ। पहिले अझै एकअर्कालाई बुझौँ, जानौं न। त्यही पनि विवाह अगाडि यो सब, छि' भनेँ।
विडम्बना, उसले मलाई 'विश्वास छैन?' भन्ने जाल हाल्यो। उसले मलाई यसो नगरे छाडेर जाने समेत भन्यो। म ऊसँग प्रेम गर्न थालिसकेकी थिएँ। उसको बानी परेको थियो मलाई। त्यसैले, उसको यो जालबाट भने म बच्न सकिनँ। मलाई ऊबाट टाढा हुनु थिएन। उसँगै जीवन बिताउने सपना बुनिसकेकी थिएँ मैले। त्यसैले पनि उसको यो प्रस्ताव मैले डराउँदै भए पनि स्वीकार गरेँ।
उसले मलाई शनिबारको दिन धरानकै एउटा होटलमा लिएर गयो। होटलको रूम भित्र पस्न नपाई उसका हातहरू मेरो शरीरमा सलबलाए।
'ढोका त लगाऊ' मैले नमिठो मान्दै भनेँ। यो सबै गर्न मन त थिएन तर उसलाई गुमाउँछु कि भन्ने डरले मलाई यो गर्न बाध्य बनाएको थियो।
उसले ढोका लगाउँदै, 'आज त मज्जा आउँछ' भन्यो।
मेरो शरीर सिरिङ्ग भयो।
विस्तारै उसले मेरो शरीरमा आफ्नो हात राख्यो। एक प्रकारको तरंग उत्पन्न भयो ममा। उसका ओठहरुले मेरो शरिरको प्रत्येक अंग स्पर्श गरे। मैले स्वयं स्पर्श गर्न डराएका अंगहरू अनि उसका ओठहरुले स्पर्श गरे। बेचैन थियो मन।
मैले डराउँदै उसलाई थोरै प्रतिवाद गर्न खोजेँ। ममा लिप्त भएको उसले भने मेरो प्रतिवादलाई खासै वास्ता गरेन। थोरै चिच्याउँदै 'नाई! यो सब गर्नु ठिक हैन' भन्ने भाव दिएँ।
प्यासीको अगाडि कुँवाको पानी नखाऊ भनेजस्तै भयो मेरो त्यो भाव। एकैछिनमा कोठाको ढोका ढकढक गर्दै एकजना दाइले पुलिस आयो भन्ने सूचना दिनुभयो। होटलमा हल्ला चल्यो- 'प्रहरी आयो, प्रहरी आयो!'
साँच्चै प्रहरी आएको रहेछ। हामी दुवै अत्तालियौँ। मैले लुगा लगाएँ। उसले पनि आफूलाई सम्हाल्दै लुगा लगायो।
'कस्तो दिन परेछ, आजै पुलिसले रेड हान्नु पर्ने फेरि यही होटलमा!' ऊ बर्बराउँदै थियो।
उसले एक हातले मेरो हात समात्यो। तानेर बाहिर लाग्यो। ऊ त्यस होटलमा पहिले पनि आएजस्तै लाग्यो मलाई। उसलाई होटेलको एक-एक गुप्त कोठाहरू थाहा रहेछ। उसले मलाई त्यही मध्येको एक गुप्त कोठामा लग्यो।
सुस्तरी मेरो कानमा उसको आवाज पर्यो- 'काल्म! काल्म! आई एम हियर बेबी। वि क्लाम।'
आधा घण्टा जस्तो समय हामीले त्यही व्यतीत गर्यौं। पुलिसले रेड हानेर गयो। उनीहरुले हामीलाई भेटेनन्। हाम्रो आधा घण्टा गुप्तबास सफल भयो।
राकेशले रिसेप्सनमा गएर बिल तिर्यो। हामी दुवै होटलबाट बाहिर निस्कियौँ।
बाहिरको माहोल हामीले सोचेभन्दा फरक थियो। धुम्म आकाश। सिमसिम पानी। सडक छेउमा हामी जस्तै प्रेमील जोडीहरु।
'उनीहरूको आकांक्षा पनि सायद पूरा भएन। गर्नु गर्यो यो पुलिसले आज' राकेश बोल्दै थियो।
'अब के गर्ने त? कता जाने डेट? त्यो प्लान त फ्लप भयो!' उसले थप्यो।
उसको लागि प्लान फ्लप भएको थियो। तर मेरो मर्जिको खिलाफ थियो हाम्रो नग्नता। त्यसैले, म खुसी नै थिएँ। मनमनै नाच्दै थिएँ। उसले बेस्सरी मेरो हात समात्यो। उसले मलाई भानु चोकबाट छाता चोक हुँदै धनकुटा रोड तर्फ लग्यो।
थोरै उकालो लागेसीमलाई जंगलको थोरै भित्र लग्यो। उसको ओठले मेरो ओठ छोयो। उसका हातहरू फेरि मेरो शरीरमा सलबलाउन थाले। यो पटक भने मैले प्रतिवाद गर्ने हिम्मत जुटाएँ। प्रतिवाद गरेँ पनि।
'किप योर लिमिट राकेश!' मैले भनेँ।
'ह्वाट इज रंग हियर?' उसले भन्यो।
'भित्र त ठिकै थियो तर यस्तो खुला ठाउँमा यस्तो गर्दा कसैले देख्यो भने?' मैले राकेशलाई गाली गरेँ।
उसले मलाई झन् जबर्जस्ती गर्न खोज्यो।
म असह्य भए। एक थप्पड दिएँ। अनि आफ्नो बाटो लागेँ। त्यो दिनदेखि म न ऊसँगै बोले, न त म मामाघर नै गएँ।
त्यसपछि म अहिलेसम्म सिंगल छु। टाढा भएसी थाह हुँदो रहेछ नजिक हुँदाको पीडा भन्ने कुरा पनि बुझ्ने मौका पाएकी छु। अब फेरि तिमी हामी सम्बन्धमा बसौँ भन्छौ, खै के गरौं खै के गरौं। अस्वीकार गरौं, तिमी टाढा हुने डर। स्वीकार गरौं, फेरि त्यही पहिलेको घटना दोहोरिने डर। मलाई तिम्रो मित्रता गुमाउनु छैन अनि त्यो प्रेमील सम्बन्धमा बस्नु नि छैन। अप्ठ्यारोमा पार्यौ तिमीले' उनले भनिन्।
‘अनि? अनि? अनि?’ भन्ने प्रश्न पठाउँदै गरेका मेरा यी हातका बुढी औंला अब स्तब्ध भएका थिए। म पनि स्तब्ध थिएँ। अनि? प्रश्न गर्ने थप हिम्मत जुटाउन सकिनँ।
'ए' भनी रिप्लाई गरेँ। बाहिर हेरेँ। अन्धकार छाएको रहेछ। अलिक माथि नियालेँ। चन्द्रमा टल्केको थियो। १३ मेगापिक्सेलको क्यामेरा भएको फोन निकालें। क्यामेरा खोलेर खिचिक्क पारें।
कस्तो नराम्रो आको फोटो! अप्सराजस्ती राम्री उनीलाई त्यो फोटो पठाउन सुहाउँदैन भन्ने लाग्यो। गूगलमा गएर सुन्दर चन्द्रमाको फोटो डाउनलोड गरेँ। उनको नाम त्यही डाउनलोड गरेको फोटोमा भएको चन्द्रमा छेउमा लेखेर पठाइदिएँ।
उनको तर्फबाट स्माइलीको इमोजी रिप्लाई आयो।
'अनि अब?' मैले हतासिँदै मेसेज गरेँ।
उनले 'खै ! तिमी जे भन्छौ' सिवाय केही भनिनन्।
मैले पनि उनको मेसेज सिन गरेर खाना खान भान्सा कोठा पसेँ।
मलाई निन्द्रा परेन। मैले उनले अघि मलाई सुनाएको सबै घटनाक्रम स्मरण गरेँ। उनको मप्रतिको मित्रता स्मरण गरेँ। मप्रतिको स्नेह स्मरण गरेँ। मप्रतिको भरोसा स्मरण गरेँ। अनि आफैंलाई प्रश्न गरेँ,'अब के गरौं?'