आज कृष्ण अष्टमी रे! भर्खरै मात्र साउन महिना सकिएर घरमा अलि शान्ति भएको थियो। फेरि कृष्ण अष्टमी! आमा कति धर्म गर्नुहुन्छ, मलाई अचम्मै लाग्छ।
आज ४ बजे नै उठ्नु भयो। आमा उठेपछि म पनि सुत्न सकिनँ, हल्ला खल्लाले गर्दा। हजुरबुबा खाटबाट उठ्न सक्नुहुन्न। दमको बिरामले थलिनुभएको धेरै भयो, हजुरबुबाले श्वास लिँदा र छोड्दा उहाँलाई ठूलै युद्व जितेझैं लाग्छ।
हजुरबुबाको यो अवस्था देख्दा, मलाई मेरै श्वास निकालेर हजुरबुबाको सट्टामा श्वास फेरूँ कि, जस्तो लाग्छ। कहिले हो कुन्नि टेलिभिजनमा देखेको थिएँ - अक्सिजन लगाउदा श्वास फेर्न सजिलो हुन्छ भनेर लागाएको। खै त्यो कहाँ पाइन्छ कुन्नि थाहा छैन?
मनमा अनेकौ कुरा खेल्छन्। आमा मन्दिर जानलाई सिङ्गारपट्टार गरेर निस्कनुभयो। कलशभरि दूध, थालीभरी फलफूल, मिठाई अनि अरू सामानहरू लिएर। सधैँभरि केही पनि नभएको हाम्रो घरमा पूजा गर्न जान यतिका कुरा कहाँबाट आउँछन्? कि भगवानले ल्याएर राखिदिनु हुन्छ? आमा! यो दूध नलग्नुहोस् न! हजुरबुबालाई रातभरि खोक्दा खोक्दा आँत सुकेको छ, उहाँलाई तताएर दिनुहोस् केही भए पनि उहाँलाई तागत आउँछ।
मैले पनि त कहिले फलफूल र मिठाई खाएको छैन्, त्यो मलाई दिनुहोस् ... यत्ति मात्र के भनेको थिएँ, आमाले मलाई तोरीका फूल देख्ने गरी गालामा हान्नुभयो। चुप लाग! भगवानलाई चढाउन लगेका कुरा तिमीहरूका लागि हो? पाप लाग्छ! थाहा छैन तलाईं, मैले छोरो जन्माउनका लागि यो सबै चढाउन लागेको। तैले मेरो साइत नै बिगारिस् अलच्छिना! जा!! त्यो बुढोलाई धेरै नखोक्नु भन्। कृष्णको भजन गाएर बस्नु भन्, धर्मकर्म छैन् केही छैन, नौट्ङ्किहरू! मर्न पनि नसकेकाहरू! यस्तै हामीलाई सराप्दै गाली गर्दै आमा जानुभयो।
बुबालाई दिनरात पसिना काडेर दुई छाक टार्न कति गार्हो छ, अस्ति साउनभरि आमालाई सोमबार नै पिच्छे फरक फरक साडी र गहना लगाएर साथीहरूजस्तै बनेर मन्दिर जाँदै ठिक्क भयो। आमालाई भगवानको नाममा सबै कुरा किन्न पैसा पुग्छ तर दिनरात भारि बोक्ने बुबाले हातखुट्टा गले, एक छाक मासु खाँऊ भन्दा आमाले साउन महिना के को मासु खाने पाप लाग्छ भन्नुभयो। बुबा पनि पापको डरले होला चुप लाग्नु भयो, केहि बोल्न सक्नुभएन।
मलाई चिच्याई, चिच्याई भन्न मन छ -‘आमा !बुबाको पसिना पिएर भगवानलाई चैं पाप लाग्दैन कि?’ किन सधैं भगवानको डर देखाएर हामीलाई गाली गर्नुहुन्छ। पूजा गरेर, त्यो ढुङ्गामा सबै कुरा चढाउँदा त्यो ढुङ्गाले सबै कुरा खान्छ र? आजसम्म भगवानले खाएको देख्ने कोही छ त? अनि तपाईँको भगवानले छोरा दिने भए मलाई किन जन्माउनु भयो, त्यो बेला पनि त छोरा नै माग्नु भएको थियो होला नि किन दिएनन् तपाईंको भगवानले? हे भगवान्! तिमी कस्तो रहेछौं? मेरी आमालाई सत् बुद्धि देऊ न।
हाम्रो दु:खलाई बुझिदेऊ बिन्ती छ प्रभू। घरमा बुबा नभएको २/३ दिन भै सक्यो, हजुरबुबा यस्तो हुनुहुन्छ। यहि बेला हजुरबुबालाई केही भयो भने मैले के गर्ने? हजुरबुबालाई पानी तताएर दिनुपर्यो भनी आगो बाल्न जान्छु, सलाई पनि सकिएको रहेछ। उफ! एउटा सलाई पनि हुँदैन हाम्रो घरमा। घरमा आगो बाल्ने सलाई पनि आमाले नराखि धुप बाल्न लिएर जानु भएछ उफ! कस्तो छ हो मेरी आमाको मन।
अब जानूपर्यो काकीको घरमा आगो लिन भनेर निस्कदै थिए, तर काकी नै दौडदै हाम्रो घरमै आउनुभयो । नानी आमा खोई? आत्तिएर काकीले भन्नूभयो। आमा मन्दिर जानू भयो काकी । किन काकी के भयो ? काकी रून थाल्नु भयो, नानी जे नहुनु थियो, त्यही भयो तेरो बाबा भारी बोक्दा बोक्दै बाटैमा लडें रे नानी, अब कहिँले उठ्दैनन् दाजु ...’ मैले कति भन्दा पनि दिदीले आफ्नो परिवारको ख्याल गरिनन्, खान मन लागेको कुरा पनि दिइनन्, कठै! हातखुट्टा गले भन्थे दाइले तागतिलो खानेकुरा त के पेटभरि पनि खान दिइनन् नानी। दिदी खाली धर्म गर्ने भनेर मात्र हिडीरहिन् नानी। आज तिनको भगवानले खै त बचायो उनको खुसीलाई?
काकी झन् रून थाल्नुभयो। काकी, आमाले हामीलाई जिउँदै मार्नु भएको छ, हाम्रो आत्मालाई मार्नुभएको छ -‘भगवानको नाममा पाप लाग्छ’ भनेर खानै नदिई आज बुबालाई मार्नुभयो काकी।
ला! हजुरबुबा के गर्दै हुनुहुन्छ -‘हजुरबुबा’! भन्दै हामी हजुरबुबा तिर दौडियौ । बुबाको खबर सुनेर हजुरबुबालाई हट्अट्याक भएछ। हजुरबुबा! हजुरबुबा! तर हजुरबुबा बोल्नुभएन। कठै! एक घुट्को पानी पिउन पनि पाउनु भएन हजुबुबाले र मेरो बुबाले।
उता आमाले त ठूलो धर्म गर्नुभयो होला ढुङ्गामा दूध पोखेर। आमा ठिकै छ, तपाईँलाई अब ढुक्क भयो अब हाम्रो लागि हैन् तपाईंकै भगवानको लागि बाँच्नुहोस्, तपाईंको भगवानलाई खुसी राख्नुहोस् तपाईं फर्केर, आउँदा म पनि यो घरमा हुनेछैन।