कसैका लागि सुन्दरता सुन्दर अनुहार होला
बोली र व्यवहार नै कसैको लागि सुन्दरता होला
कसैका लागि आवाज नै सुन्दरता बन्न सक्छ
सृष्टिभन्दा नि कसैलाई दृष्टि सुन्दर लाग्न सक्छ।
यहाँ त भित्री सुन्दरताभन्दा पनि
बाहिर सुन्दरतालाई चर्चामा पुर्याइन्छ
कथा, व्यथा र व्यथाको बाहिरी सतह नबुझी
यहाँ त मनको सुन्दरताभन्दा पनि
तनको सुन्दरतालाई अङ्गालिन्छ
हेर्ने नजरमा फरक पारी
कसैको नापतौल नै नगरी
हिसाबमा पूर्णाङ्कमा पूर्णाङ्क हान्ने गरिन्छ
अदालत नै नगई न्यायाधीश आफै भइन्छ
फसैला उसको पक्षमा हैन आफ्नोमा सुनाइन्छ
सुन्दर लाग्ने हरेक चिज अरुलाई नलाग्न पनि सक्छ
मन ठूलो बनाएर सोचे सबै कुरा राम्रो देखिन्छ
हेर्ने नजरमा फरक भएर नै
गलतलाई सही र सहीलाई गलत देखिन्छ
सकारात्मक सोचले हेरे ढुङ्गामा पनि भगवान भेटिन्छ
सुन्दर चिज कसलाई मन नपर्ने हुन्छ र?
सुन्दर मान्छे कसलाई आफ्नो नलाग्ने हुन्छ र?
फरक त एउटै कुराले पर्ने गर्छ,
आँखाले कुन चाहिँ चिज राम्रो
र कुन चाहिँ नराम्रो भन्ने गर्छ।