यो छातीमा चसस्क
दुखेको देश
छुट्नै लाग्दा हवाई अड्डाबाट
मलाई बोक्ने जेट
जसै देखिन्छन् टाढा हुँदै गरेका
हिमालका शिरहरु
बढ्छ मुटुको गति
अग्लिन्छन् मनका पिरहरु
ढल्किँदो आमाको उमेर
बा डाँडा माथिका जून
साना-साना चिचिला
उनको कलिलो यौवन
खै कुन दिन आयो?
आँगनको डिल भत्काएर बाटो
बढायो पिरको भारी
उडायो आमाको सपना
बोक्यो कुदाएर आफूसँगै
बाको लौरी
चिचिलाको सहारा
च्वाट्ट चुटायो भर्खरै बसेको प्रित
आमा दंग थिइन्
आँगनमा फुलेको पैँयूको बोट
लडाएर बाटो आएपछि
बोक्नेछ उनको करेसाको
लसुन, प्याज र खले गराको आलु
ल्याउने छ मोटरले विकास र समृद्धि
पूरा हुनेछ सपना आमाको
यताको मूलको पानी
पुर्याउने छ मरुभूमिमा
र छर्नेछ शीतलता हिमालको
तर पूरा भएन आमा तिम्रो सपना
खै कुन दिन आयो?
यो मोटेरे बाटो
कुदायो मेरो मुटुको टुक्रा
छुटायो आफन्तको साथ
पसिना बगाएर यतै
माटो जोतेर सुन फलाउने हात
हिलोमा कमल फुलाउने आँट
ऊ आज पनि बोक्दै छ
एक हुल बलिया पाखुरी
खाडी तिर
जापान र कोरिया तिर
आमाको दीर्घरोग उपचार गर्न
डाक्टर बनेको छोरो
नर्स बनेकी छोरी
सात समुद्रपारि पुगेर
खबर पठाउँछन्-
आमा आफ्नो ख्याल राख्नू है!
खै कुन साइतमा कुदेछ मोटर?
सहारा बोकेर लग्यो
हामीलाई बेसहारा बनायो
सपना बोकेर लग्यो
र दिन रात अनिँदो बनायो
खै कुन साइतमा कुदेछ मोटर?
यो छातीमा चसक्क
दुखेको देश
छुट्नै लाग्दा
हवाई अड्डाबाट
मलाई बोक्ने जेट
टाढा हुँदै गरेका
मेरा सेता हिमालाका शिरहरु
बढ्छ मुटुको धड्कन
अग्लिन्छन् मनका पिरहरु
खै किन आयो
आँगनको डिलै भत्काएर बाटो?
किन आयो मोटर?
बढायो हाम्रो दूरी
उडायो उनीहरुलाई
सात समुद्रपारि!