दुर्गम गाउँको एउटा घर। घरमा एकल बुढी आमा र उनको १७ वर्षे छोरा। एकदिन एक्कासी छोराले बुढी आमालाई मिठा-मिठा सपना देखाउन थाल्यो।
'प्रदेश जान्छु र धेरै पैसा कमाएर बेसीमा घडेरी किन्छु, नयाँ चिटिक्क परेको घर बनाउछु, बिहे गर्छु र हजुरलाई जीवनभर सुख र खुसी राख्छु।'
छोराको यस्तो कुराले आमा पनि सहमत भइन्। र, त्यो दिन आयो। विचरा चाउरिएका हात थरथरी कमाउँदै आँखाबाट गाला हुँदै आँसुका नुनिला धार हातमा समातेको टीकाको थालीमा मिसियो।
छोरालाई दुई सीता चामालको अक्षता निधारमा लगाउँदै 'राम्रोसँग जानू र पुगेर फोन गर्दै गर्नू, छिट्टै आउनू है' भन्दै बिदा गरिन्।
प्रदेश गएर धेरै पैसा कमाएर ल्याउने अनि बेसीमा घडेरी किनेर घर बनाएर आमालाई सुख र खुसी राख्ने सपनाको झोला बोकेर छोरो प्रदेश लाग्यो। आमा धेरै दिनसम्म फोन र छोरो गएको बाटो हेरेर बसिन्।
छोरो प्रदेश राम्रै पुगेको र त्यहाँ कुशल-मंगल रहेको, काम, कमाई, रहन-सहन राम्रै भएको खबर आयो। विचरी आमा खुसीले रून थालिन्। अब दैनिकजसो छोराले फोन गर्ने, घण्टौँ आमासँग कुरा गर्ने, आमालाई पैसा पठाउने गर्न थाल्यो।
आमा अब यता बेसीमा घडेरी हेर्ने र साथमा एउटी असल बुहारी पनि खोज्ने तरखरमा पुगिन्।
एकदिन एकाबिहानै छोराको फोन आयो। आमाले हतार-हतार उठाइन्, 'बाबु, आराम छेऊ?'
उताबाट छोराको साथीको आवाज आयो, 'आमा, हजुरको बाबु अब यो संसारमा छैनन्। हिजो गाडी एक्सिडेन्टमा उनको मृत्यु भयो।
आमा पिढीँमै बेहोस भइन्। छिमेकी आएर आमालाई स्याहार सुसार गरे। विस्तारै दिन, हप्ता र महिना बित्यो। आमालाई सबैले सम्झाइ बुझाइ गर्न थाले। आमा पागल जस्तै हुन थालिन्। खाना नखाने, जथाभावी हिँड्ने, सपनामा पनि मेरो बाबु छिट्टै आऊ भन्दै बर्बराउन थालिन्।
आज छोराको लास आउने दिन। आमा कोठा भित्र थुनिएको पनि महिनौ भएछ। आज पूरा गाउँलेहरूका आँखा बिहानैदेखि बुटवलबाट आउने गाडी तिर नै तेर्सिरहेका छन्। उनीहरूमा अत्यन्तै छटपटी स्पष्ट देखिइरहेको छ। सबै भिजेका आँखा र विस्मित मुद्रामा छन्।
जब साँझ भयो, बुटवलदेखि चिच्याउँदै धुलो उडाउँदै एउटा थोत्रो जिप छतमा रातो बाकस बोकेर आइपुग्यो। र घर अगाडि कोदो बारीमा आएर रोकियो। हतार-हतार छतमा भएको बाकास झारेर जिप फर्कियो। भेला भएकाहरू चर्को-चर्को स्वरमा डाँडापाँखा घन्किने गरेर वेदना पोख्न थाले। रुवाइले लामो समय खाइसकेको थियो।
तर आँगनमा लडेको त्यो बन्द बाकसमा छोपिएको छोराको अनुहार हेर्न आमा आउन सकिनन्। केहीबेरमा बाकसको शव हेर्ने र श्रद्धाञ्जली दिनेको भिड लाग्यो। सबैका आँखा रसाएका थिए। कण्ठ अवरुद्ध थिए। वातावरण शोकाकुल थियो।
त्यही शोकाकुल वातावरणलाई चिर्दै एकजना अन्दाजी १८/२० वर्षकी केटी आएर शवलाई अँगालो मारेर 'मेरो राजा' भन्दै रून थालिन्। ती केटी अरू कोही नभएर उसको प्रेमिका भन्ने खुल्यो।
यता छोराको लासमा उनको प्रेमिका रून थालिन्, उता आमाको होस अझै खुलेको छैन। मृत अनुहारसम्म हेर्न नपाउने भइन् आमाले।
अब झमक्क साँझ पर्न आटेको थियो। कारुणिक र हृदयविदारक दृश्य मौलाउँदै थियो त्यहाँ। यत्तिकैमा आवाज आउन थाल्यो, 'ढिला हुन्छ, अब लानु पर्छ ढिला नगरौँ, ल छिटो गरौँ रात छिप्पिन थाल्यो।'
बाकसबाट शव झिकेर फूलमाला र अबिरले ढपक्कै ढाकियो। करुण क्रन्दनले गाउँ पुनः कोलाहलमय भयो। लगातार रूपमा जोर शंख बजे। मलामीले शवलाई घाटतर्फ लगे। ती बुढी आमा आफ्नो छोराको अन्तिम जोर शंखका ध्वनिले पनि होसमा आउन सकिनन्।
एउटा परदेशी रातो बाकसमा फर्कँदा ऊ मात्र मरेन, ऊसँगै उनकी बुढी आमा र उनको बुढेसकालको सहाराको अवसान भयो। अनि यसरी बन्द बाकसमै तुहिए आमा र छोराको कलिला सपना।