'र, अब म तिमीलाई माया गर्न सक्दिनँ'
यो वाक्य मैले उसको इमेल बक्समा गएर कयौं पटक लेख्ने कोसिस गरेँ। अहँ! सकिनँ। एक नजरले भन्नुपर्दा म पुरूष हुँ। तर, अर्को नजरले भन्नुपर्दा म पुरूष होइन वा म पुरूष भएर पनि पुरूष बन्न नपाउनु मेरो नियति थियो।
यो सत्य हो कि म आफ्नै नजरमा एक पुरूष हुँ। नातामा कसैको छोरा, कसैको दाजु त कसैको यार हुँ। तर आफूभित्रको अराजकताको मन भरिएर तिमीलाई सत्यता बुझाउनु पर्दा म एक पुरूष भएर पनि फरादकी प्रथम श्रीमती हुँ।
मानसा, आध्यात्मिक जगतलाई नै अपरिभाषित गरेर मैले तिम्रो लागि यो पत्र लेख्ने साहस गरेँ। तर, यो पत्रमा म तिम्रो लागि कुनै पनि उपमाको प्रयोग गर्न सक्दिनँ। समाजको हेराइले हेर्ने हो भने मैले आफ्नै अस्तित्वलाई खोज्ने कुनै अधिकार नै छैन भने यदि व्यक्तिगत तवरले तिमीलाई सम्बोधन गर्ने हो भने म तिम्री त्यहीँ सौता हुँ जसको हत्या गर्न तिमी मलाई नै खोजिरहेकी छ्यौ।
तिमी आफ्नो लोग्नेलाई पागल भई खोजिरहेकी छ्यौ अझै पनि। मानसा! तिमीलाई हामी दुई बीचको सबैकुरा थाहा भैसक्यो होला, नि:सन्देह नै। तिमीमा मप्रति अझै अग्नि समानकै क्रोध छ। कसैले माफ गर्न खोज्नु भनेको त्यो क्षमा दिनको लागि पर्खनु हो। मलाई थाहा छ। तर, न नै म तिमीसँग क्षमा माग्न तयार छु, न नै तिमी मलाई क्षमा दिन। सत्य त यो हो अस्वीकृत मेरा कठोर शब्दहरूसँग तिमी आफ्नो रूपलाई तौलँदै छ्यौ।
तर मानसा, तिमीले कहिल्यै बुझ्ने चेष्टा उठायौं कि फरादले तिमीलाई कामुक नजरले केवल एक पटकको लागि भए पनि छोएको थियो र? कहिल्यै एक पुरूषको नाङ्गो छातीमा कसैको निम्ति हृदयको कम्पन गुञ्जन्छ भन्ने कुरा सोचेकी छ्यौ र? पक्कै पनि न तिमीले फरादलाई छोएकी थियौ न नै बुझ्ने चेष्टा उठाएकी थियौ।
आज म तिमीलाई एउटा सत्यको जानकारी दिन चाहन्छु मानसा। म वा हामीजस्ता पुरूषहरूको नजरले कहिल्यै पनि कुनै स्त्रीको अपमान हुन सक्दैन। अब कुरा रह्यो लोग्नेको। यदि भौतिक शरीरमा रंगिएको सिन्दुरको अस्तित्व प्रवल हुन्थ्यो भने तिम्रो घमण्ड चुरचुर भैसक्यो मेरो अगाडि मानसा।
यदि हृदयको सम्बन्धको कुरा गर्छौ भने चार पर्खालको कोठामा रंगिएका दुई पुरूषका कामुक चलचित्रहरू अझै प्रवल रहेका छन् तिम्रा नाङ्गा आँखा अगाडि नै। हठात ती ओठको घर्षणले उत्रिएका कामुक आवाज अझै पनि त्यो कोठाभित्रको हावामा मिसिएका छन्।
आफ्नै अंगको घाउ आफैंले निको पार्न सकिएन भने अरूले त्यहाँबाट रगत बगाउने मौका कहिल्यै चुकाउने छैनन्। तिम्रो नजरमा मेरो शरीरमा कुनै रगत नै छैन। हो, शरीरको उपल्लो भागको थाइकट कपाल, ओठमा खुलेको थोरै मुस्कान, दुवै कानमा झुन्डिएको झुम्का, हातमा सजिएको औँठी अनि त्यसरी नै झुन्डिएको उसको नियति। साथमा छ उसको लोग्ने। म त्यही पुरूष हुँ मानसा। तिमीलाई राम्रोसँग भन्ने हो भने एउटी आमाको अगाडि उसको बच्चालाई मारे झैं मारिसकेकी छौ मेरा शरीरका अवयवहरूलाई तिमीले।
मानसा! म फेरि पनि भन्दै छु, म कुनै सापियोसेक्सुअल पुरूष होइन। जो कलाकारिता र प्रभावकारितालाई चिन्न सकोस्। तिम्रा अपमानजनक शैलीले बगाएका थिए मेरा आँखाका कयौं थोपा आँसुहरू। आज देख्दैछु त्यहीँ आँसु तिमीलाई नै जलाइरहेछ। सोध्न मन छ अझै पनि तिमीलाई एक थोपा आँसुमा कति हृदयको वेदना पखालिन्छ भनेर?
जब सम्बन्धको सतहमा मतभेद तरंगित हुन्छ नि तब अर्को पक्षको सत्यता खुल्छ। मानसा! आफ्नै नजरमा गिरेको दोषीले जत्तिकै सत्य सायद यो संसारमा अरू कसैले बोल्दैन होला। मेरो नियतिमा एउटा दाग लागेको छ- 'गे' हुनुमा।
अति स्वादिलो लाग्छ, जब अरूको बारीमा फलेको फलमा आफ्नो हिस्सा जमाउनमा पनि। तिमीले मेरो बारीको उपयोग गर्यौ। मालीले जति नै गोडमेल गरेर उब्जाए पनि पहिलो हक त मालिकको नै हुन्छ होइन र? यो पत्र तिम्रो नाममा मानसा!
***
म कुनै लेखक होइन। सायद, लेखक हुन सकेको भए म आज आफ्नै ती कलंकको अपराधलाई यसरी भावविहीन शब्दमा उतार्ने थिइनँ होला। एउटा केटाको काँधमा मैले जिन्दगीभरको सपनालाई भरेको छु। होइन, भरिसकेको थिएँ पहिलेदेखि नै।
एउटा रहरलाग्दो पुरूषले काठको सिँढीमा आफ्नो पैतालाको चाप दबाउँदै मेरो कोठा अगाडिको कोठाको ढोका खोल्यो। बानीको कुरा त किन नै गर्नुपर्यो र? म अलि नै छुच्चो छु। उसले कोठाको ढोका लगाएन। मैले झलक्क देखें उसको ब्यागको बाहिरपट्टि एउटा उपन्यास थियो 'कल मि बाई योर नेम।'
म उसको कोठाभित्र लुसुक्क छिरेँ। उसको चोर बिरालोका आँखा उत्तिकै प्रिय छन् मेरा लागि। गालिबकै भाषामा उसले मलाई भयो, 'मेरी जान!'
मैले उसलाई यति नै भनेँ, 'बंदर कहिँको?' थोरै मुख कुच्चाएँ। हातमा रहेको भरी बोतलको बिर्को खोलेर थोरै पानी उसको कोठाको कार्पेटमा पोखिदिँए अनि अन्तिम शब्द सुनाएर उसको कोठाबाट बाहिर निस्किएँ।
त्यो आसामको गोगोई केटो मलाई जिस्काउँदै थियो। भन्दै थियो, 'बाँदरहरूको काम खाली चुलबुल मात्र गर्ने हो कि अरू पनि?' म केवल यति मात्र बुझ्न आएको 'अस्ति राति यो कोठामा को थियो?'
केही समयपछि उसले मलाई बोलायो। मेरो कोठाबाट केवल शून्य आवाज मात्र बाहिर निस्कियो। फेरि बोलायो। फेरि उहीँ शून्य आवाज।
उसले ढोकामा आएर मलाई पुकार्यो, 'राजकुमारी कोको!'
कोको त राम्रो उपमा हो। तर, ऊ मलाई मेरै नामले पनि बोलाउन सक्छ वा आफ्नो नामले पनि। तर उसले मलाई फेरि राजकुमारी नै भनेर पुकार्यो। छि:। छि: ले मात्र पुगेन। सारा गल्ती उसको हो।
जुलाईको पहिलो हप्ता उसले मलाई काँधमा बोकेको फोटो सामाजिक सञ्जालभरि अपलोड गरेको थियो। तल लेखेको थियो- 'कोको!' एउटा अफवाह फैलियो। फराद पागल भएछ। एउटा केटाले अर्को केटासँगको तस्बिर अपलोड गरेर कोको लेख्नुमा कत्तिको दम भएको केटो रहेछ यो त? सुनाउनेहरू मेरै कलेजका साथी थिए। अनि त्यसमा अफवाह फैलाउनेमा तिमी थियौ मानसा।
इच्छाको टपरी च्यातियो। अब भाग्यले जे लेख्न सक्छ त्यो मेरो इच्छा भित्रको कुरा रहेन।
***
म आफूभित्रको लज्जालाई उतार्न चाहन्छु। कयौं रात फरादको कोठामा मैले आफ्नो उपस्थिति देखाएको छु। कयौं रात फरादले मेरो नाङ्गो शरीरमाथि खेलेको छ। कयौं पटक उसका असह्य चुम्बनलाई भार दिन मैले चार कुनाको ती दिवारहरूसँग मित्रता गाँस्नु परेको छ।
मोबाइलको ग्यालरीमा कैद भएका ती अश्लील हर्कत अनि सामाजिक सञ्जाल अपलोड भैसकेका युगल तस्बिरहरू।
सेप्टेम्बरको महिना कलेजको बाथरूममा हामी त्यो अवस्थामा फेला पर्यौँ जुन अवस्थामा हामी यसरी फेला परिने छौं भनेर कहिल्यै सोचेका पनि थिएनौं। अब भन मानसा तिमीलाई म कुन दायित्वबाट पन्छिएर फरादलाई तिम्रो हातमा सुम्पौँ?
मैले महसुस गरेँ त्यो समयलाई, लेखक डेभिडको 'केटाले केटालाई भेट्दा' पुस्तकको केही पाना जस्तै थियो त्यो क्षण। यो त एउटा सामान्य कुरा नै रह्यो तर वास्तवमा भन्ने हो भने कलेज प्रशासनको अगाडि एक युगल किशोरहरूलाई उनीहरूको बाबु-आमा सामु उभ्याइन्छ भने तिमीले के सोचेकी थियौं मानसा कि म यति चाँडै फरादसँग पार लाग्नेवालामा छु भनेर? उफ! तिम्रो सोचाइ मानसा!
सेप्टेम्बरको अन्तिम महिना, कलेज प्रशासन अनि प्रशासन कलेजका सारा क्यामेरालाई निरीक्षण गर्दै छन्, जहाँ हामी उपस्थिति छौं। पटक-पटक हामीहरूको मोबाइलको ग्यालरीबाट हेर्दै गरेर हामीहरूका आमाबाबुको आँखा यति कहालीलाग्दो थियो कि हाम्रा नाङ्गा तस्बिरहरूभन्दा पनि अब उनीहरूलाई के गर्दा उचित हुनेछ भन्ने प्रश्नमाथि विचाराधीन देखिन्थे।
एउटा बनावटलाई कष्टपूर्ण वर्षौँ र लौकिक चालचलनहरूद्वारा ननिभ्ने चम्किलो तरबारले उत्सर्जनको युद्ध जिते झैं चार कुनाको त्यो कोठामा फराद र मेरो शरीरमाथि यति पिटाइ वर्षियो कि त्यसको आँकडा निकाल्न असम्भव थियो।
मैले आफ्नो जिन्दगीको प्रथम चरण पूरा गरेँ। म दुःखी थिइनँ। मैले अत्याचार गरे वा ममाथि अत्याचार भयो भनेर। तिमीलाई सोच्न मुस्किल भइरहेको छ होला त्यो वेदना कति दुःखदायी रह्यो भनेर। तर वास्तवमा त्यसो भएन। किनकि त्यो समयमा मेरो साथमा फराद थियो र फरादको साथमा म।
मैले पहिले नै भनिसकेँ, म कुनै लेखक होइन तर यदि म लेखक भएको भए सायद त्यो क्षणको खुसीलाई तिम्रो सामु प्रष्ट रुपमा वर्णन गरिदिन सक्थेँ होला।
आत्महत्या गर्ने मेरो कुनै नियति थिएन तर म यो जीन्दगीदेखि भने खुसी थिइनँ। त्यो दिनदेखि इमेल बक्समा बढ्दै गएको इमेलले मेरो बैँसको मूल्य निर्धारण गरिदियो। जति-जति इमेल आउथ्यो त्यति नै मूल्यको सौदागिरी र रातको तामझामको लागि तयार रहेका पुरूषका कामुक लिंगहरूलाई पनि मैले नदेखेको होइन।
मैले सामाजिक सञ्जालमा एउटा वाक्यलाई गठन गरेँ- कसैको निम्ति आँसु खसालिरहेको छु। महोदय! मन त मलाई पनि कहाँ नभएको हो र? यो शरीरलाई लास बनाएर उसैको सामु पछारिदिँउ भनेर।
आखिर सत्य पनि यही नै थियो। सुनसान कोठाहरूमा जब विरक्तको संगीत सुन्छु त यस्तो लाग्छ पटक-पटक मृत्युको आह्वान हुनुभन्दा बरू मृत्युलाई नै किन स्वीकार नगरौँ। अब मेरो बानीमा बदनामपूर्ण बदलाव आयो। फराद लापता छ। उसको अन्तिम इमेल थियो- तिमी एक गे पुरूष हौ। एउटा नातालाई अस्वीकार गरेरै भएपनि वचनको धागोले हृदयलाई कस्दैछु।
मैले थाहा पाएअनुसार यतिको षड्यन्त्र सबै तिम्रै थियो मानसा। एउटी नारी जननी मात्र होइने बर्बादीको पनि लायक हुन्छे। कलेजको बाथरूमदेखि मेरो कोठाको झ्यालको त्यो सानो प्वालसम्म मैले तिम्रो उपस्थितिलाई देख्न सकेको रहेनछु।
भनिन्छ नि नाता दिलमा हुनुपर्छ, शब्दमा होइन। अनि घृणा शब्दमा हुनुपर्छ दिलमा होइन। तर म पूरै हारेँ तिम्रो अगाडि। म पूरै चुरचुर भएँ तिम्रो अगाडि। अक्टोबरको दोस्रो सप्ताह, तिम्रो नामको इमेल मेरो मोबाइलमा आएको थियो। साथमा फराद र तिम्रो वैवाहिक तस्बिर।
म किन हेरूँ त्यो तस्बिर? जुन पुरूषसँग मैले साट्नलाई केही बाँकी राखिनँ। जुन पुरूषको काखमा मेरा हरेक रात तातियो। जुन पुरूषको ओठले मेरा शरीरको एउटा अङ्गलाई छुन पनि बाँकी राखेन भने अब के हेर्नु छ र?
एकदिन फरादको ब्यागमा मैले 'कल मि बाई योर नेम' देखेको थिएँ। लाग्यो एकपटक तस्बिर हेर्नै पर्छ। अनि मैले इमेलको तस्बिरहरू हेरेँ। एकपटक होइन। पटक-पटक। तस्बिर मात्र होइन। तिम्रो नियति पनि हेरेँ। अब मैले तस्बिरमा फरादलाई देखेँ त यस्तो लाग्यो म अविवाहित फरादकी श्रीमती तिमीलाई आफ्नो सौता बनाउन अझै असमर्थ छु मानसा।
***
बाबाले भन्नुभयो, 'तँलाई धामी-झाँक्री लगाउनु पर्ने छ। नानाथरी भूत चढेको छ तँमाथि। पुरुष भएर एउटा केटोको स्वास्नी बन्न लाज लागेन तँलाई?' आदि इत्यादि।
अन्तमा उहाँको अर्को शब्द पनि जोडिएको थियो, 'मनु नामको एक केटीसँग तेरो नाता पक्का हुन जाँदैछ।'
'अनि मेरो पढाइ?'
'केटासँग नानाथरी गर्दै हिँडदा तँलाई पढाइ चाहिएन। अब केटीसँगको पालोमा तँलाई आफ्नो पढाइको चिन्ता छ?'
ढोकाबाट कान थापेर सुनिरहनु भएको आमा खित्का छाडेर हाँस्नु भयो।
'छोरा बिगार्ने तँ नै होस् अलच्छिना!' बाबाको दोस्रो झटारो आमामाथि।
विवश मेरा विवशताहरू। मैले भनेँ, 'बाबा, मलाई लाग्छ कि मैले आफ्ना दुःखहरूलाई माया गर्नुपर्छ। दु:ख मेरो नियतिमा फराद बनेर बसेको छ। यदि सुखको स्थानमा मैले आफूलाई बेचेर फरादलाई राखेँ भने सुख त कति दिनको लागि हो र?
दिमाग भनेको अँध्यारो कोठा हो। यसले म सहित तपाईं हामी, ऊ, त्यो, सबै-सबैलाई बलात्कार गरिरहेकै छ। फरक यति हो अँध्यारो कोठाले कसैलाई पनि गर्भधारण गराउँदैन। मैले त्यो अन्धकारलाई चिनेको छु बाबा। त्यो अन्धकार कहिल्यै पनि कपटी गर्ने वा प्रशंसा गर्ने खालको थिएन।'
मैले मेरो घरको लागि कहिल्यै पनि प्रवेश नपाउने जस्तै भयो। मैले सुनेको पनि यति नै हो र देखेको पनि- 'तँ हाम्रा लागि मरिसकेको बुझ्नू।'
आज फेरि सामाजिक सञ्जालमा एउटा शब्दको भार बढ्यो, 'एक जवानको आत्महत्या तिम्रो दोष बनेर जाँदैछ। महोदय! उसैले नै मेरो मृत्युको नियति स्थापित गरिदिएको हो।'
***
आज पूरै छ महिनापछि विरक्तिएको हावाले फेरि बाटो मोडेर आएको छ। कसैलाई उदाउँदो सूर्य मन पर्या छ कसैलाई सन्ध्याकाल। भनेनी मानसा, म मेरै नजरको पाल्तु मानव हुँ र मलाई सधैं इन्द्रेणी नै मन पर्यो।
तिम्रो लोग्नेले अहिले बेस्सरी मेरो हात समातेको छ। उसको अर्को हातले मेरो शिरको भारलाई आफ्नो काँधको सहाराले अड्याएको छ। गोगोईले आसामको निम्ति बसको टिकट हाम्रो हातमा थमाइदिएका छन्। आसाम त्यति टाढा छैन जति हामी तिमीदेखि टाढा हुन चाहन्छौँ। मैले एउटा पुरूषको लागि आफूलाई नै आत्महत्या गर्ने लायक बनाएँ।
अन्तिम पटक माफी माग्दै छु मानसा। म ओझेलमा पर्ने थिएँ। तर दुर्भाग्यवश ढिला भयो। तिमी आयौं त्यो समयमा। बधाई छ तिमीलाई। आफ्नो लागि सजाएकी थियौं त्यो शय्या। जहाँ तिम्रो कुमारीत्वले शान्ति पाओस् भनेर।
म अझै पनि बधाई दिन चाहन्छु तिमीलाई मानसा। हामी जस्ता पुरूषहरूले कुनै पनि स्त्रीको बदनाम गर्दैन भनेर। तिमी भाग्यमानी रहिछौं मानसा। कारण, तिमीले एउटा गे पुरूषको पत्रलाई पढ्ने सौभाग्य पायौं।
आज हामी दुवैजना तिमीलाई छाडेर जाँदैछौं। र पनि, हामीलाई थाहा छ कि संसारको सबैभन्दा सुन्दर र उदासी मनकी नारी तिमी नै हुनेछ्यौ भनेर।
फराद चाहन्छ ऊ आफ्नो राय यो पत्रमा थप्न । तर, मलाई माफ गर मानसा! म चाहदिनँ कि एउटै पत्रमा आफ्नै नियतिले बुनेको अस्वीकार्य सम्बन्धको सौताको भावविहीन शब्द पुञ्जमा तिमी फरादको शब्दमाथि आँसु बगाऊ। म अझै पनि चाहन्छु तिमीले दिएको आँसुको उपहारलाई केवल मैले नासोको रूपमा स्वीकारेको रहेछु। अब फर्काउने समय आएको छ।