म दिनेश, वर्तमान पेशाले पत्रकार। म अरुणको सहपाठी थिएँ। हरिश, ऋषि, अरुण र म हाई स्कुलमा एउटै कक्षामा थियौँ। सहपाठी मात्र होइन, हामीहरू यति घनिष्ठ मित्र थियौँ कि एउटाले चाख्दा सबैले स्वाद पाउँथे। सोझैँ हामी नसा गाँसिएको पनि भन्न सक्छौँ।
तीनै जना यति पढाकु थियौँ कि कति प्रश्नोत्तर त सपनामा नै कण्ठस्थ गर्थे। उनीहरूको निम्ति आराम र परिश्रम समानार्थी शब्द थिए। विद्यालयीय पुरस्कारहरू तीन जनामा नै बाढिन्थ्यो।
उनीहरू तर्कशास्त्र, दर्शन र मनोविज्ञानका विशेषज्ञ थिए। समय सापेक्ष अघि बढ्दै सामाजिक-सञ्जाल सदुपयोग गर्दै आफ्ना तर्क र विचारहरू सार्वजनिक गर्दथे। एक दिन अचानक धारमा बग्दै गरेका पतिंगरहरूबाट एउटा पतिंगर किनारमा अड्किए झैँ बाह्र वर्षको मित्रताबाट अरुण निकालिन्छ, अरुण विहीन जोडी मित्र अघि बढ्छन्।
अरुण एक्लिएको देखेर ममा जिज्ञासा उत्पन्न भयो 'आखिर कस्तो त्यो तलवार थियो होला जसले स्वरभानु टुक्र्याए झैँ टुक्य्राएर राहु र केतु झैँ पार्यो।
हुन त उहाँ आज विशिष्ट साहित्यिकार हुनुहुन्छ, उहाँ आफ्नो आयुका प्रत्येक निमेषलाई सदुपयोग गर्न दक्ष हुनुहुन्छ र गरिरहनु भएको हुन्छ। उहाँको केही पल नष्ट पार्नु हाम्रो समाजको क्षति हो, तर मनलाई योगीहरूको त चञ्चल भइदिन्छ म भोगीले कसरी बुझाउन सक्ने।
म चौबीसै घण्टा यसै विषयलाई सोच्न थालेछु। त्यस बखत अनुभव भयो जब 'हजुर' भन्दा मुखबाट 'अरुण' निस्कियो।
एकदिन दिउँसो आराम गर्न ढल्केर मोबाइल चलाउदै थिएँ, निदाएछु। अचानक 'हेलो' आवाजले झस्किएँ। मैले पनि हतार-हतार फोन कानमा टाँसेर 'हेलो' भनेँ। 'हजुर भन्नुहोस् त?' उताबाट आवाज आयो।
आवाज चिने-चिने जस्तो लागेर मोबाइल कानबाट निकालेर नम्बर हेरेँ। म त झसंग भएँ र छक्क पनि। कसरी गयो कि उताबाट आएको हो? अब सिधैँ सोध्न पनि मिलेन। के गरौँ के नगरौँ भएँ र फेरि कानमा टाँसे अलिकति हँसिलो आवाजमा भनेँ 'हजुर कुशलै हुनुहन्छ?'
उताबाट आवाज आयो 'हजुर, कुशलै छौँ।'
नचिनी बोलेको आभास पाएँ मैले र ढिला नगरी भनेँ, 'म दिनेश बोलेको, चिन्नु भयो?
'किन नचिन्नु नि, अनि के छ त इन्द्रपुरको खबर?' उहाँले भन्नुभयो।
उहाँले अन्य कुनै दिनेश सोच्नु भएको थाहा पाएर 'म हजुरको सहपाठी, दिनेश पौडेल, जिरे चोकबाट चिन्नुभयो?' भनेँ।
उहाँ 'हा हा हा…' हाँस्दै 'ए किन नचिन्नु नि, धेरै अन्तरालमा आवाज सुनेर र हिजो नै गौतम सरले एक जनाको कविताको हिज्जे सुधारिदिन भ्याइदिनू ल भन्नुभएको थियो। उहाँले स्रष्टाको नाम दिनेश र इन्द्रपुरबाट भन्नुभएको थियो र नि। अनि भन्नुहोस्, आज अचानक फोन गर्नुभयो?'
'हजुर, हिजोआज हजुरहरूका कुरा धेरै चर्चामा आएको छ, त्यस रहस्यलाई जान्न धेरै उत्सुक छन् र म पनि' मैले उहाँको समय नष्ट नहोस् भन्ने उद्देश्यले भनेँ।
उहाँ मर्मज्ञ हुनुहुन्छ, उहाँले मेरो उद्देश्य बुझ्नु भएर भन्नुभयो 'अब यसमा के भन्ने? सबैको विचार बेग्लै, दृष्टिकोण बेग्ला-बेग्लै हुन्छ। मुण्डे मुण्डे मतिर्भिन्ना' भन्दै मज्जाले हाँस्नु हुन्छ।
'हो सर! त्यही भिन्नताका कारणले यो संसार चल्दैछ' मैले उहाँको विचारको पक्षमा कुरा राखेँ।
'ओहो! कहिल्यैँ 'बुझेँ' भनेको सुनिएन, प्रश्नहरू सर्वप्रथम सोधिन्थ्यो, आज यस प्रकारको कुरा सुनेर खुसी लाग्यो' हाँस्नुहुन्छ।
खल्लो हाँस्दै भनेँ 'विद्यालयमा सिक्न नसकेका कति कुरा परिस्थितिले सिकाउँदो रहेछ।
'परिस्थितिलाई गुरु नमानेर प्रेरक मात्र ठानौँ है' भनेर अँ... गर्दै समय नष्ट हुँदै गरेको संकेत दिनुभयो।
हो, परिस्थिति केवल प्रेरणा दिन्छ। त्यो सकारात्मक नकारात्मक, जस्तो पनि हुन सक्छ। माकुराले बारम्बार प्रयास गर्न सिकाउँछ भने, टोक्न पनि सिकाउँछ। के सिकिन्छ त्यो त परिस्थितिअनुसार हुन्छ। गुरु भनेको विज्ञ विषय सम्बन्धित सकारात्मक सँगसँगै नकारात्मक पक्षको सम्पूर्ण ज्ञान भएको हुनु पर्दछ। नकारात्मक प्रभाव नपर्ने गरी सकारात्मक ज्ञान दिन समर्थ व्यक्तिलाई गुरु भनिन्छ।
'हजुर, अँ... मैले जिज्ञासा राखेको थिएँ सर' मैले भनेँ।
'भन्नै पर्ने हो?' उहाँले भन्नुभयो।
'सुन्न पाउने आशामा बसिरहेको छु' मैले भनेँ।
'हो, हामी पहिलो कक्षादेखि नै सहपाठी रह्यौँ, कक्षा पाँचदेखि अरु सबै छुट्टिए हामी सँगै रह्यौँ, कक्षामा अरु पनि थिए तर उच्च माध्यमिक विद्यालयमा पुग्दा सबै हराए तर हामी साथ रह्यो। भन्छन् नि 'कति वर्ष साथमा रहँदा अनुहार पनि मिल्छ' भनेर, हाम्रो त्यही बाँकी थियो। हाम्रो एक-अर्काको भावना-विचराहरू उस्तै थिए।
कक्षा बाह्रमा प्रवेशका साथ-साथै हामी सामाजिक-सञ्जालमा पनि कदम राख्यौँ। हाम्रा विचारहरूले धेरै सकारात्मक प्रतिक्रियाहरू पाए सँगसँगै विशिष्ट साहित्यिकहरूसँग सम्पर्क बढ्दै गयो र विस्तारै-विस्तारै आफ्ना विचराहरू साहित्यिक रूपमा भन्नाले कविता, कथा या गजल आदिको रूपमा पेश गर्न थाल्यौँ, हर्नुहोस् है' उहाँले भन्नुभयो।
'हजुर-हजुर' भनेर मैले सुनिरहेको संकेत दिएँ।
उहाँ निरन्तर 'सञ्जालमा अनलाइन प्रतियोगिता पनि हुँदो रहेछ हेर्नुहोस् है' भन्नुभयो।
'हजुर हुन्छ' मैले भनेँ।
'हजुर, हामी आफ्ना विचराहरू प्रतियोगिताअनुसार विधामा लेख्दै प्रतियोगितामा भाग लिन थाल्यौँ। हामी हाम्रा आफ्ना सृजनालाई सर्वश्रेष्ठ ठान्थ्यौँ। हुन त समसामयिक सृजनाहरूमा हाम्रा सृजनाहरू भावनात्मक रूपमा सर्वोपरी हुन्थे, म अहिले पनि भन्दछु। तर कुनै पनि प्रतियोगितामा स्थान प्राप्त हुँदैन थियो। त्यसैले आयोजक प्रति तथा स्थान प्राप्त साहित्यकारहरू प्रति हीन भावना उत्पन्न हुन थाल्यो।
भेदभाव साथै ज्ञानको कमी भएको भान हुन थाल्यो। प्रतियोगिताका निर्णय निष्पक्ष नभएर औपचारिक मात्र गरे जस्तो लागेर हामी आयोजक र स्थान प्राप्त साहित्यकार साथै विशिष्ट साहित्यिकहरूलाई नमज्जाले भन्न कटाक्षले प्रारम्भ गर्यौँ। हामीसँग कुतर्क गर्ने समय नभएर नै होला हामी सीमा नाघिसकेका थियौँ। विस्तारै-विस्तारै हाम्रा शब्दहरू जताततै फैलिन थाले। हेर्नुहोस् है,' उहाँले भन्नुभयो।
'हजुर' मैले ध्यानपूर्वक सुनिरहेको आभास गराएँ।
'अनि एकदिन एउटा नयाँ नम्बरबाट फोन आयो 'ट्रू-कलर'मा 'पण्डित उमाशंकर काश्यप' भनेर देखायो। उहाँ त्यस समयका सर्वश्रेष्ठ कवि, समीक्षाकार र नेपाली विषयका सेवानिवृत्त प्रवक्ता हुनुहुन्थ्यो। उहाँले मलाई फोन गर्ने कुनै कारण नै थिएन र मैले हतार-हतार हरिश र ऋषिलाई देखाउँदै सोधेँ 'के सरले नै फोन गर्नुभएको होला?'
हरिशले भन्यो 'खोई के थाहा?' मैले अरु कुराको प्रतिक्षा नगरी फोन उठाएर उताबाट निशब्द रहेँ। उताबाट आवाज आयो 'हलो'।
मैले 'हजुर' भन्दै अन्योलमा परेको आभास गराएँ।
'दिनेश भाइ हैन?' उहाँले सोध्नुभयो।
'हजुर म दिनेश हुँ' मैले भनेँ।
'म उमाशंकर चिन्यौ?' उहाँले भन्नुभयो।
म अवाक् भइसकेको थिएँ तर 'हजुर सर नमस्ते!' भन्दै अभिवादन गरेँ।
'अनि सञ्चै छौँ भाइ?' भन्दै प्रस्तावना राख्नुभयो।
मैले सिधैँ विषय तिरै जाऊँ भन्ने उद्देश्यले 'सबै ठिकै छ सर' भनेँ।
उहाँ पनि विषयतिर लम्कँदै 'भाइका कति वटा रचनाहरू पढेर साह्रो राम्रो तार्किक विचार र अर्थगौरव शब्दहरू उत्कृष्ट लाग्यो' उहाँले भन्नुभयो।
मैले उद्देश्य नबुझेर निशब्द रहेँ।
'भाइले साहित्यका छन्द, रस, अलङ्कार, शब्दशक्ति आदिको अध्ययन गरेका छौ?' सोध्नुभयो।
'हजुर, अनिवार्य विषयको रूपमा पढ्न त पढेको थिएँ तर संकल्पना स्पष्ट छैन' भन्दा उहाँले भन्नुभयो 'हो रस, अलङ्कार लगाएर लक्षणा र व्यञ्जनाको प्रयोग गर्दै बिम्बात्मक प्रकारले लेख्ने गर, साहित्यलाई भाइ जस्ताको खाँचो छ।'
उहाँले निकै सम्झाउनु भयो। मैले पनि जिज्ञासा राख्ने अवसर सम्झी दिल खोलेर सोधेँ। निरन्तर सम्पर्कमा रहनु भन्दै दुई घण्टा कुरा गरेर आगामी प्रतियोगिताको सूचना दिनुभयो।
हो, त्यस दिनदेखि आगामी प्रतियोगिताका निम्ति सबै साहित्यिक तत्वहरू मिसाएर कोर्न थालेँ जसले गर्दा हरिश र ऋषिसँग सधैँ झैँ साथमा रहन समर्थ नहुँदा, सरले मलाई मोहनी लाउनु भयो अरे भन्ने चर्चा चल्यो। तर उनीहरूलाई सम्झाउने समय नहुँदा मैले चुप्पी तोड्न र प्रतियोगिताको निम्ति सृजना गरिसकेर पठाएँ।
केही दिनपछिको नतिजामा म तृतीय स्थानमा रहेछु र म धेरै खुसी थिएँ तर त्यो खुसी हाम्रो मित्रताको अन्तिम संस्कार रहेछ' भनेर विश्राम लिनुभयो।
मैले पनि हजुर भन्नका निम्ति 'हँ' भनेको मात्र थिएँ, मोबाइल टुट् गर्यो। कानबाट झिकेर हेरेको फोन काटिसकेको रहेछ।
म निशब्द भएँ। तर धेरै कुराको ज्ञान पाएँ। हो परिस्थितिवश उत्पन्न ज्ञान सकारात्मक मात्र हुँदा रहेछन्। म पनि सतर्क भएँ।