मालिक!
के भो?
यसले भनेको मानेन हजुर!
त्यसो भए यसको हड्डी फुटाइदे।
ख्वामित्!
भन्।
यसलाई पनि एक थान पद चाहियो रे!
पार्टी फुटाइदे।
मेरो देउता हजुर!
अब के चाहियो फेरि?
भाग पुर्याउन सकिनँ हजुर!
मन्त्रालय फुटाइदे।
यसले त पुग्ला जस्तो छैन हजुर!
त्यसो भा' प्रदेश फुटाइदे।
अझै पनि भाग पुऱ्याउन त गाह्रो हुन्छ हजुर!
नगर फुटाइदे, गाउँ फुटाइदे।
हस् हजुर।
मालिक!
भनेस्।
टिक्न गाह्रो पर्ला जस्तो छ हजुर!
नीति, फुटाइदे।
कानुन फुटाइदे।
टिक्नु पर्छ क्यै गरी।
त्यसैले,
आयोग फुटाइदे।
समिति फुटाइदे।
सर्खार!
के भो फेरि?
जनता फुटाएँ।
जात फुटाएँ।
पार्टी फुटाएँ।
साथ फुटाएँ।
ब्यालेट फुटाएँ।
कुर्सी फुटाएँ।
टेबुल फुटाएँ।
'वाद' फुटाएँ।
प्रतिवाद पनि फुटाएँ।
विचार फुटाएँ।
आदर्श फुटाएँ।
सिद्धान्त फुटाएँ।
पद्दति अनि विधि फुटाएँ।
प्राध्यापक फुटाएँ।
शिक्षक फुटाएँ।
कर्मचारी फुटाएँ।
पत्रकार फुटाएँ।
व्यापारी फुटाएँ।
मजदुर फुटाएँ।
अरु?
बुद्धिजीवी फुटाएँ।
अलि अलि पुलिस फुटाएँ।
थोरै भए पनि सेना फुटाएँ।
राष्ट्रिय गरिमा फुटाएँ।
अन्तर्राष्ट्रिय सम्बन्ध फुटाएँ।
हिमाल फुटाएँ।
तराई फुटाएँ।
चुरे फुटाएँ।
महाकाली अनि कोशी फुटाएँ।
सुस्ता फुटाएँ।
लिपुलेक फुटाएँ।
बन्धुत्व फुटाएँ।
आत्मीयता फुटाएँ।
जनताको विश्वास फुटाएँ।
ठिक छ।
गजब भो'।
परन्तु मालिक! केही चिज फुटाउन सकिनँ।
के सकिनस्?
तपाई भित्रको अहंकार फुटाउन सकिनँ।
नितान्त वैयक्तिक स्वार्थ फुटाउन सकिनँ।
तपाईको सत्ता-आशक्तिको प्याला फुटाउन सकिनँ।
कुर्सी मात्र देख्ने हजुरका व्यभिचारी आँखा फुटाउन सकिनँ।
अनाधिकृत र गैर-नैतिक गठबन्धन फुटाउन सकिनँ।
जनताको भक्ति-रसको सुराही फुटाउन सकिनँ।
अरिंगालका झुण्ड फुटाउन सकिनँ।
मुकुण्डेहरुको मुकुण्डो फुटाउन सकिनँ।
दुम्सी, सुंगुर र काउलीको शालिक फुटाउन सकिनँ।
अराजकताको लहर फुटाउन सकिनँ।
गैरजिम्मेवारिपनको नहर फुटाउन सकिनँ।
केही लागेन मेरो मालिक!
क्षमा पाऊँ।
यी सबै फुट्नु हुने, नहुने फुट्दै गर्दा, फुटाउँदै गर्दा,
कसैगरी, प्रभुको पापको घैला फुटाउन सकिनँ।