जहिले भदौमा आउने होनि तीज
खानलाई जुटाउने मिठा-मिठा चिज।
पुरानै संस्कृति खाने र खुवाउने
रातो सारी, चुरा, पोतेले सुहाउने।
मनाउँ चाडपर्व जोगाउँ संस्कृति
तडक-भडक गर्दै नआवोस् विकृति।
नजाउँ पार्टी-प्यालेस तिर बुक गर्दै
न नाचौँ नसाले गलि लठ्ठ पर्दै।
कोरोना छ उस्तै यो दोश्रो लहरको
गाउँघर अनि पीडा हो सहरको।
द्वितिया तिथिमा खाने होनि दर
नजाउँ माइती यसपालि बसौँ घर।
घरैको आँगनमा खेलौला संगिनी
गाउँघर साथीभाइ नभेटी भगिनी।
दोहोरी र चुट्के गाएर नाचौँला
बजाउँदै मादल कम्बर नि भाचौँला।
छेड हान्नु कसैलाई नि छैन अहिले
नारीलाई दुखैथ्यो र पो भन्थे पहिले।
सासूलाई आमासरि पर्छ है मान्नु
ती नन्दआमाजू दिदीबहिनी ठान्नू।
देउरानी-जेठानी हुन् आफू सरिका
नगर्नू गाली केही ती थरीथरीका।
जीवनसाथी हुन् ती पतिज्यु भनेका
सधैं साथ बस्ने प्राणझैँ ठानेका।
आधा आकाश ढाक्ने पनि नारी नै छौँ
दुई पाङ्ग्रा एक रथाका भई हाँक्ने हौँ।
देखाएर दुख नगरौं बिलौना
नारी शक्ति हामी होइनौँ है खेलौना।