कतै सुनेँ यो देश सगरमाथाको हो
कतै सुनेँ यो देश बुद्धको हो
कतै सुन्छु यो देश गोर्खालीको हो
कतै सुन्छु यो देश भिमसेन र बलभद्रको हो
तर यी सबै उत्तरबाट चित्त नबुझेपछि
आज फेरि म सोध्दै छु
यो देश कसको हो?
जीवनभर यही माटोको लागि
आफ्नो जीवन सुम्पिएका अब्दुल काका
मृत्युपछि लास छोप्ने
एक अँजुली माटो पाउँदैनन् भने
मैले प्रश्न गर्नै पर्छ
यो देश कसको हो?
देशबाट केही पाउनुको नाममा
नागरिकतासम्म नपाएकी
बाजुराकी सुन्तली काकीले
जीवन बचाउन आज
एक टुक्रा सिटामोल माग्दा
त्यति पनि पाउदिनन् भने
ए सरकार!
तिमीसँग सोध्नै पर्छ
यो देश कसका लागि हो?
गाउँ-गाउँमा समृद्धिको
सुरुङ खन्ने सपना देखेर
खाडीमै जवानी सकाएका
हर्के दाइ
आफ्नै गाउँ फर्कन खोज्दा
एक वित्ता बाटो पाउँदैन भने
प्रिय देश
मुटुमा ढुंगा राखेर मैले सोध्नै पर्छ
तिमी हुनु र नहुनुमा
फरक के छ?
निरङकुशता विरुद्ध बोल्दाबोल्दै
सिन्दुर पुछिएपछि
बेसहारा बनेका
कयौँ ती निर्दोश आमाहरूले
घरमा चुल्हो बाल्न
शरीर बेच्न बाध्य हुनुपर्छ भने
प्रिय देश मलाई चाहिएको
छैन यस्तो राष्ट्रियता
के यो देश जेलमा बस्नेहरुको मात्र हो
के यो देश जंगल पस्नेहरुको मात्र हो
यदि हो भने
म आजैबाट अस्वीकार गर्छु
तिम्रो अस्तित्व
र बनाउने छु छुट्टै समृद्ध देश
जहाँ पसिना चुहाउँदै फलाम
पिटिरहेका कामी दाइले भन्नेछन्
कपडा सिउँदै दर्जी काकाले भन्नेछन्
सिमानामा रगत बगाइरहेकाले भन्नेछन्
हिमालमा झण्डा फर्फराइरहेकाले भन्नेछन्
यो देश मेरो हो
यो देश मेरो हो।