प्यारी आमा,
बिरानो ठाउँको एक कुनाबाट न्यानो सम्झना छ। सन्चै हुनुहुन्छ भनेर कसरी सोधुँ, आफ्नो आँखाको नानी आफ्नो रगतलाई यति टाढा पठाएर एक्लै त्यो घरमा बिहान-बेलुका घाँस-दाउरा, स्कुल, चुलो समालेर, थकाई लागेर एकछिन टुसुक्क बस्दा 'पानी देन नानी' भनेर भन्न पनि पाउँदिनौ।
यी कुरा थाहा पाएर पनि सन्चो-विसन्चोको कुरा कसरी गरुँ? थाहा छ आमा तिम्रो जीउ दुख्छ तर सुत्ने बेलामा 'जीउ मालिस गर्दे न नानी' भन्न पनि सक्दैनौ।
जन्मेदेखि आफ्नो घर छोडेर यति टाढा कहीँ गएकी थिइनँ। तर सपना, कल्पना अनि चाहना बोकेर तिमी अनि तिम्रो न्यानो काख छोडेर आएँ। थाहा छ आमा, म मेरै लागि आएँ तर पनि घरी-घरी यो मन सारै अमिलिन्छ।
होस्टेल आएको पहिलो दिन सारा सामान खाटमा छरपस्ट थिए। कहाँबाट के मिलाउँ अलमलमा थिएँ। नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ साथीहरुसँग घुलमिल हुन पनि बाँकी नै थियो। आमा, त्यो दिन बेलुका खाना खान क्यान्टिन गएँ। पहिलो छाक, विद्यार्थीहरुको लस्कर लामो थियो। थाल बोकेर लाइनमा बसेर आफैं झिकेर खानु पर्ने। घरमा 'आइज न नानी आइज' भन्दा पनि नजाने म त्यो भिड अनि त्यहाँको खाना देखेर झसंग भएँ।
तिमीसँग जिस्किँदै, रिसाउँदै लुटुपुटु हुँदै सुत्ने बानी त्यो रात एक्लै सारै खटपट भयो। सुनाउनलाई को नै थियो र? साथीलाई सुनाउँ त मात्र दुई घन्टा अगाडि त भेटेको, पीडा अचानक कसरी पोखुँ। तिमीलाई सुनाउने त हिम्मत नै थिएन। एक हप्तापछि म आउटिङ गएँ। त्यो बेला थाहा पाएँ आमा कि आफ्न्त र आफ्नामा धेरै फरक हुँदो रहेछ।
लेक्चर सुनाउने सरहरु, च्याँठिँदै ती म्यामहरु अनि म जस्तै सपना बोकेर आएका साथीहरुको साथले कलेजमा त मन भुलिन्थ्यो। कलेजको अन्तिम बेल बजिसकेपछि सबै घर जान हतारिन्थे। म पनि झोला बोकेर गेटमा आइपुग्थेँ तर मेरो घर त धेरै टाढा छ। म जान पाउदिनँ, म त होस्टेलर हो भन्ने कुराले फेरि न्यासरुक्क हुन्थेँ।
कलेजबाट आउने बित्तिकै त्यो बिरानो कोठामा मलाई पस्नै मन लाग्दैन थियो। अनि आउनसाथ छतमा जान्थेँ। हजारौं सपनाका साथ करोडौं डर अनि टेन्सनले झस्कँदै होस्टेलको गेटमा मलाई छोड्दाको आमाको खिस्रिक्क अनुहार, पैसाका बिट्टा गन्दा नपुगेर कुन्जिएका बाबाको हात सम्झँदै त्यहाँको दृष्यलाई म एकटकले नियाल्थेँ।
एकदिन तिमीसँग बोल्न धेरै मन लाग्यो आमा। अनि म्यामलाई 'म्याम, एक पटक घरमा फोन गर्छु' भनेर भनेँ। तर उहाँले 'घरको याद आए घरै जाने' भन्नु भयो। तिमी भन्थेऊ नि आमा 'सबै मजस्ता हुँदैनन्।' त्यो दिन मलाई साँच्चै हुँदैनन् जस्तो लाग्यो।
बीचमा बिदा भयो। घर पनि गएँ। होस्टेलमा बस्ने बानीले होला आफ्नै घर जाँदा पनि कसैको घरमा सीमित समयसम्म बस्न गएँ जस्तो लाग्थ्यो। तर आमा, तिमीसँग हुँदा छुट्टै आनन्द हुन्थ्यो। एउटा कुरा भनौँ आमा? तिमीले जति गाली गरेपनि हाँसेर टार्न सक्थेँ तर, अरुको त एक वचनले पनि मन घोच्दो रहेछ।
बिदा सकियो। फेरि त्यही ठाउँ, त्यही ओच्छ्यान, दिक्क लाग्थ्यो।
घरबाट आउँदा तिमीले पठाएको कोसेली, हामी राति खान्थ्यौँ। रातिसम्म पिठो कुटेर बिहानै धुमाएका सेलरोटी, चखिलो अचार अनि अरु कुरा देख्दा तिमी मेरै वरिपरि छौ जस्तो महसुस हुन्थ्यो।
तर लुगा धुने दिदीले हप्ताभरि लगाएको लुगा धुन दिँदा 'फोहोर छैन नाटक नपार' भन्दा, म्यामले 'तेरो घर होइन नानी यो मनपरी नगर्' भन्दा, मन नपर्ने खानेकुरा देखेर आज यो पो भन्दा खाना बाड्ने दिदीले 'यो नानी जहिल्यै गनगन गर्छिन्' भन्दा अनि बाटोमा कोही आमासँग हात समातेर हिँडेको देख्दा तिम्रो खुब याद आउँछ आमा।
एउटा आमाले भन्दा बेसि आफ्नो सन्तानलाई कस्ले बुझ्न सक्छ र? हप्तामा एकपटक त्यही नि एक घण्टा फोन पाउँदा तिमीलाई फोन गरेर भक्कानिन मन लाग्थ्यो तर जसोतसो समालिन्थेँ।
कलेज ड्रेस पहिलो पटक लगाउँदा कस्तो देखियो आमा भनेर सोध्न पाइनँ। मातातीर्थ औंसीमा तिम्रो मुहार हेरेर मिठो मसिनो खुवाउन पाइनँ। बिरामी हुँदा यहाँ दुख्यो भन्न पनि पाइनँ। तिमी बिरामी हुँदा पानी तताएर दिन पाइनँ। असार १५ को दही चिउरा, साउन १५ को खिर खान पाइनँ।
माघे सङ्क्रान्तीमा तिम्रो हातले बनाएको सेलरोटी, तिलको लड्डु, फुलौरा खान पाइनँ। स्कुलमा हुँदा जसरी दिनभरको कुरा तिमीलाई सुनाउन पाइनँ, तिम्रो काखको स्पर्श पाइनँ तर आमा मैले तिमीबाट राम्रो संस्कार पाएँ। आशीर्वाद, साथ, सल्लाह, माया, हिम्मत र सुन्दर जीवन पाएँ।
आमा म आफ्नो लक्ष्य पूरा गरेर तिमीसँग खुसी साट्न आउँछु। मेलै भगवानको रुपमा मेरी आमा पाएकी छु। मेरी आमा मात्र होइन, संसारको सबै आमा भगवान हुन्। हामी आज जे छौँ, जहाँ छौँ आमाकै कारण छौँ।
तिम्रो न्यानो माया सधैं पाइरहुँ आमा। धेरै-धेरै सम्झना छ।