देशको लागि केही गर्छु भन्ने चाहना र उत्कट इच्छा बोकेर म आफ्नो पढाइ सकेलगत्तै नेपाल फर्केको थिएँ। नेपाल फर्केपछि त्यति सजिलो हुने छैन भन्ने मलाई थाहा थियो। तर इच्छा शक्ति बलियो भएपछि जे पनि गर्न सकिन्छ भन्ने भावनालाई आत्मसात गर्दै जति दुःख परे पनि देशकै सेवा गर्छु भन्ने दृढता लिएँ।
मैले विदेशको प्रख्यात विश्वविद्यालयबाट कम्प्युटर विज्ञानमा विद्यावारिधी गरेको थिएँ। आफ्नो विषयका नाम चलेका जर्नलहरूमा मेरा धेरै अनुसन्धानात्मक लेखहरू छापिएका थिए। त्यो बाहेक मसँग केही वर्षको प्राध्यापनको अनुभव पनि थियो।
त्यस अर्थमा म आफूलाई प्राज्ञिक क्षेत्रको मान्छे भन्न रुचाउँथें। मेरो रुचि पनि त्यसैमा नै थियो। मैले आफ्नो भविष्य पनि प्राज्ञिक क्षेत्रमा नै निर्माण गर्ने विचार गरेर नेपाल फर्केको थिएँ।
नेपालमा पैसा कमाउनको लागि सबभन्दा सजिलो र सुरक्षित 'व्यवसाय' भनेको राजनीति हो भन्ने पनि मलाई थाहा थियो। राजनीतिपछि अर्को पैसा कमाउने व्यवसाय व्यापार थियो, जुन नेपालको सन्दर्भमा मात्र हैन विश्वभरि नै लागु हुन्थ्यो। तर राजनीति र व्यापार दुवै मेरो वशका विषय थिएनन्, मैले ती दुवै क्षेत्रमा हात हाल्ने आँटसम्म गर्न सक्दैन थिएँ।
जीवन चलाउन पैसा त चाहिन्थ्यो तर राजनीति या व्यापार गरेर अकुत पैसा कमाउने र मोजमस्ती गर्ने मेरो चाहना थिएन। सायद आफ्नो क्षमता नभएर पनि त्यस्तो विचार आएको हुनसक्छ। आफूलाई मन पर्ने जागिर खाने, बिहान अफिस जाने, साँझ फर्कने, बाँकी समय परिवारसँग बिताउने र सामान्य जीवन जिउनेभन्दा बढी मेरो सोच थिएन।
यदि पैसा नै कमाउने भए मेरो शैक्षिक योग्यता र अनुभवको आधारमा मैले विदेशी विश्वविद्यालयमा या अन्य अनुसन्धानमा संलग्न कम्पनीमा जागिर खाएर नेपाल बाहिर नै राम्रै पैसा कमाउन सक्थेँ। तर मैले विदेश बसेर पैसा कमाएर व्यस्त तर आरामदायी जिन्दगी बिताउन सक्ने सम्भावनालाई तिलाञ्जली दिएँ।
त्यसैले नेपाल फर्कने बित्तिकै आफूलाई मन परेको जागिर खोज्ने मेरो पहिलो काम थियो। त्यसमा पनि प्राज्ञिक क्षेत्रमा नै जागिर खाने मेरो इच्छाअनुसार मैले सबै सरकारी तथा निजी विश्वविद्यलाय र क्याम्पसहरूमा जागिर खोज्दै आवेदनहरू पठाएँ।
अधिकांश क्याम्पसहरूबाट मैले आफ्नो आवेदनको कुनै उत्तर नै पाइनँ, केहीले पद खाली नभएको जानकारी पठाए, केहीले पछि खबर गर्छौं भनेर विनम्रताका साथ पन्छाए भने केहीले कम तलबमा हप्ताको दुई/तीन कक्षा लिने भए पद खाली भएको बताए। तर मैले त पूर्णकालीन जागिर खोजेको थिएँ, त्यसैले मैले पूर्णकालीन जागिरकै लागि कोसिस गरिरहें।
तर काम पाउन सजिलो रहेनछ, मैले सोचेको भन्दा केयौं गुणा गाह्रो। तीन महिनासम्म काठमाडौंमा डेरा लिएर जागिर खोज्दा काठमाडौंमा परिवार मात्र पाल्न सकिने जागिर पनि भेटाउन नसकेपछि म हार मानेर काठमाडौं छोडेर पोखरा फर्कें।
बरू बाख्रा पालन, बुङ्गुर पालन या फलफूल खेती यस्तै केही गर्नु पर्यो भनेर त्यतातिर सोधपुछ गर्न सुरु गरेको थिएँ। काठमाडौं छोडेको दुई हप्तापछि स्कुलमा सँगै पढेको साथी रमेशले एकदिन काठमाडौंबाट फोन गर्यो। म जागिर नपाएर पोखरा फर्केको उसलाई थाहा थियो।
'एउटा रोबोट कारखानामा काम मिल्ला जस्तो छ, गर्छस्?' उसले सोध्यो।
'किन नगर्नू? के काम हो र?' मैले उत्साहित हुँदै सोधेँ।
'पढाउने त होला नि। तैले अरु के नै काम गर्न सक्छस् र? त्यही खोज्या हैन तैंले पनि?' उसले उल्टै सोध्यो।
'हो,' मैले प्रतिप्रश्न नगरी उसलाई उत्तर दिएँ।
'उसो भए तुरुन्त काठमाडौं आइज, मैले कुरा गरेको छु' आशा देखाउँदै उसले भन्यो।
'हुन त हुन्छ नि?' मैले आशंका गर्दै भने।
'हुन्छ, चिन्ता लिनुपर्दैन। तर सरकारी कार्यालय हो, तलब धेरै हुँदैन होला' उसले भन्यो।
मलाई तलबभन्दा पनि सबभन्दा पहिले जागिर चाहिएको थियो।
त्यो दिन अबेर भैसकेको भए पनि रमेशलाई 'म आजै हिँड्छु' भनेर म त्यही दिन नै पोखराबाट काठमाडौं हान्निएँ।
रमेशको फोनले बाख्रा र सुङ्गुरहरूलाई दिमागबाट तुरुन्त लखेट्यो। म फेरि आफ्नै क्षेत्रमा काम गर्न पाएँ भनेर बाटोभरि नयाँ जागिरको सुन्दर कल्पनामा डुब्दै अर्को दिन बिहानै काठमाडौं पुगेँ।
रमेशको घर पुग्दा ऊ अफिस जानै लागेको थियो। किन ढिलो गर्नु र भनेर म पनि ऊसँगै जाने विचार गरें।
पहिले एक/दुई पटक काठमाडौं आएको भए पनि म काठमाडौंमा लामो समय बसेको थिइनँ। पोखराबाट १२ कक्षा सकाएर म सोझै विदेश पढ्न हिँडेको थिएँ। त्यसैले काठमाडौंको बारेमा मलाई केही पनि थाहा थिएन। कुन ठाउँ कहाँ पर्छ, कसरी जाने भन्नेमा म पुरै अनिभिज्ञ थिएँ। त्यसैले रमेशलाई नै छोडिदिन आग्रह गरेँ र उसको मोटरसाइकलको पछाडि बसेँ।
बाटोमा मैले फेरि उसलाई सोधेँ, 'खासमा काम चाहिँ के हो?'
'पढाउने हो' उसले त्यही उत्तर दोहोर्यायो।
नेपालमा पनि रोबोट फ्याक्ट्री छ भन्ने थाहा पाएर म अचम्ममा परेको थिएँ। मैले नेपाल छोडेको एघार वर्ष भैसकेको थियो। त्यो एघार वर्षमा सायद रोबोट पनि फ्याक्ट्री खुल्यो होला भनेर म चुप लागेँ। तर रोबोट कारखानामा पढाउने? मलाई अलि अनौठो लाग्यो। सायद तालिम दिने, नयाँ रिसर्च गर्न आउने विद्यार्थीहरू र नयाँ कर्मचारीहरूलाई सिकाउने यस्तै होला मैले आफै अनुमान लगाएँ।
काठमाडौंको व्यस्त ट्राफिक छिचोल्दै हामी दश बजेभन्दा अगाडि नै त्यहाँ पुग्यौँ। फ्याक्ट्री ठूलो थियो तर निकै पुरानो देखिन्थ्यो। गेटमा अर्ध गोलाकार साइनबोर्डमा फ्याक्ट्रीको नाम लेखेको थियो। मैले नाम हेर्ने कोसिस गरेँ तर साइनबोर्डको सबै रंग उम्किएर नाम राम्ररी बुझिँदैन थियो।
फ्याक्ट्रीको गेट खुला थियो। साथीले मोटरसाइकल भित्र पसाल्यो, कसैले रोकतोक गरेन। फ्याक्ट्रीको आँगनमा मानिसहरू यत्रतत्र सबैतिर थिए। सबैजसो मानिसहरू युवाहरू थिए। त्यही फ्याक्ट्रीमा काम गर्ने मानिसहरू होलान् भन्ने मैले अनुमान लगाएँ।
मोटरसाइकल रोकेर उसले फोन गर्यो, 'सर मैले अस्ति कुरा गरेको मेरो साथी आएको छ। म माथि ल्याऊँ?'
उताबाट पक्कै पनि सहमति आयो होला, म र मेरो साथी उसले भनेको 'सर'को अफिसमा गयौं। उसले मलाई चिनायो।
मैले नमस्ते गरें। त्यसपछि मलाई त्यहीँ छोडेर रमेश आफ्नो अफिसतिर लाग्यो।
ती सरको अफिस लथालिङ्ग थियो। पुराना दुई वटा कुर्सी अनि एउटा टेबल र टेबलमाथि वर्षौंदेखि नखोलेको जस्तो देखिने एउटा पुरानो र धुलोले छोपेको कम्प्युटर। भित्तामा सटेको दराजमा केही किताबहरू थिए। सिमेन्टले छापेको भए पनि ठाउँ-ठाउँमा खाल्डो परेको भुइँ। रोबोट फ्याक्ट्रीमा त्यस्तो अफिस देख्दा मलाई अचम्म लाग्यो। तर नेपालको सरकारी अफिस सबै यस्तै नै हुन् भनेर चुप लागेँ।
उनी एउटा कुर्सीमा बसे र मलाई अर्को कुर्सीमा बस्ने इशारा गरे। म पनि कुर्सीमा बसें।
'कम्प्युटर साइन्समा पिएचडी गरेको भन्नु भयो है?' उनले कुरा सुरु गर्दै सोधे।
'हजुर, हो,' मैले विनम्र हुँदै उत्तर दिएँ।
'कति वर्ष पढाउनु भएको छ पहिले?'
'तीन वर्ष जति हो। फुल टाइम त हैन तर पिएचडी गर्दा 'क्लास' लिएको हो' मैले कुरा नलुकाई उत्तर दिएँ।
'ठिकै छ, यहाँ पनि गर्ने त्यही नै हो। तर अहिले करारमा मात्र हुन्छ। पछि हामी विज्ञापन निकाल्छौं, त्यो बेला स्थायी गराउन कोसिस गरौंला' उनले पनि सबै कुरा खुलस्त भने। तलब सुविधाको बारेमा केही भनेनन्। मेरो साथीले सरकारी कार्यलय भनिसकेको थियो। त्यसैले सरकारी नियमअनुसार नै तलब सुविधा होला भनेर मैले पनि त्यसको बारेमा खोजीनिधी गर्ने आवश्यकता ठानिनँ। मेरो लागि जागिर पाउनु नै ठूलो कुरो भैसकेको थियो।
'तर काम चाहिँ के गर्नु पर्ने हो सर?' मैले कामको बारेमा सोधेँ।
'पढाउने नै हो' उनले प्रष्ट पारे।
'तर यो त रोबोट फ्याक्ट्री हैन र सर?' मैले आफ्नो जिज्ञासा राखेँ।
'रोबोट फ्याक्ट्री? हो, हो, रोबोट फ्याक्ट्री नै हो। कसले रमेशजीले भनेको?' उनले हाँस्दै भने। रमेश, अर्थात् मलाई त्यहाँ छोडेर गएको मेरो साथी।
'हजुर' मैले भनेँ।
'हो, रोबोट फ्याक्ट्री नै हो' उनले त्यही वाक्य फेरि दोहोर्याए।
'अनि रोबोटलाई पढाउने सर?' मैले अझैँ कुरा नबुझेकोले म प्रष्ट हुन चाहन्थेँ।
'हो, रोबोलाई नै पढाउने हो' उनले भने।
'तर कसरी पढाउने सर? मैले त पहिला रोबोटलाई पढाएको छैन' मैले आफ्नो कठिनाइ उनको सामु राखेँ। जागिरको लोभमा म झुटो बोलेर आफूले गर्न नसक्ने कामलाई गर्न सक्छु भन्न चाहन्नथेँ।
'केही फरक पर्दैन। यी रोबोटहरू हामी जस्तै रोबोट हुन्, चिन्ता गर्नु पर्दैन। तपाईंलाई विश्वास लाग्दैन भने हेर्न सक्नुहुन्छ' उनले मेरो चिन्ता दूर गर्न खोज्दै कोठाको झ्यालतिर देखाउँदै भने।
'हुन्छ हेरौं न त' भन्दै म उठेँ।
उनी पनि उठेर उनेल मलाई झ्यालतिर लगे र बाहिर चौरका मान्छेहरू देखाउँदै भने 'ल हेर्नुस् ती सबै रोबोटहरू हुन्। तपाईंले कक्षा लिने भनेको तिनै रोबोटलाई हो।'
मैले नियालेर हेरें। ती रोबोटहरू सबै ठ्याक्कै मान्छे जस्तै थिए। हुबहु उस्तै, अलिकति पनि फरक थिएन। बोलिचाली, हाउभाउ, वनावट, कद सबै दुरुस्त मान्छे। मैले सोचेको पनि थिइनँ नेपालमा यति धेरै प्रगति भैसकेको रहेछ भनेर।
अमेरिका, युरोप र जापानमा समेत मैले त्यति उन्नत रोबोटहरू देखेको थिइनँ। नेपालको प्रगति प्रति मलाई गर्व लाग्यो। तर मलाई अझैँ पनि शंका लागेको थियो त्यसैले फेरि एक पटक सोधें, 'ती त मान्छे हैनन् र सर?'
'हैन, तिनीहरू रोबोट नै हुन्' उनले पूरै विश्वासका साथ भने। उनले भनेपछि मलाई पत्याउन कर लाग्यो।
'तर सर यी रोबोटहरू के कामको लागि उत्पादन हुन्छन् यहाँ?' मैले आफ्नो जिज्ञासा राखेँ।
'यिनले जे पनि गर्छन्। यी बहुप्रतिभाशाली रोबोट हुन्। यहाँ यिनीहरूले बन्द हड्ताल गर्छन्, शिक्षकहरूलाई दुर्व्यवहार गर्छन्, कक्षा तोडफोड गर्छन्, पुस्तकालय जलाउँछन्। यहाँ यिनीहरूले कसरी हड्ताल गर्ने, कसरी सरकारी सम्पत्तिको तोडफोड गर्ने, कसरी नियम कानुन मिच्ने, कसरी धाँधली गर्ने, कसरी बजार बन्द गराउने, कसरी ढुंगामुढा गर्ने, कसरी सडकको बीचमा टायर बाल्ने, कसरी झुट बोल्ने, कसरी मारपिट गर्ने सबै सिक्छन्, कसरी घुस खाने र खुवाउने, कसरी लाज पचाउने, कसरी इमान र नैतिकता बेच्ने' उनले भने।
उनको कुरा सुनेर मलाई लाग्यो कि उनी पागल हुन्। मलाई उनी देखेर रिस उठ्यो र भनेँ, 'माफ गर्नुहोला सर, तर मलाई यस्तो गम्भीर विषयमा मजाक गरेको मन पर्दैन।' म रिसाउँदै कुर्सीबाट उठेँ र बाहिर जाने तयारी गरेँ।
तर म कोठाबाट बाहिर निस्कन नपाउँदै उनले निराश मुद्रामा भने, 'मैले ठट्टा गरेको हैन अरुणजी। अब त तपाईंलाई थाहा भैसक्यो होला यो क्याम्पस हो भनेर। तर नामले मात्र क्याम्पस हुने हैन। त्यसैले यो क्याम्पस हैन, यो रोबोट उत्पादन कारखाना नै हो। यहाँ पढ्न आएका युवाहरू विद्यार्थी हैनन्, राजनीतिक दलका रोबोटहरू हुन्।
यहाँ पढाइ हुँदैन, विद्यार्थीको मतिभ्रष्ट गर्ने 'प्रोग्रामिङ' हुन्छ। यहाँबाट देशका कर्णधार निस्कँदैनन्, नेताका दासहरू निस्कन्छन्। यहाँ नैतिकता र ज्ञान हैन, राजनीति पढिन्छ र पढाइन्छ। अन्य देशहरूले विज्ञान र प्रविधिमा विकास गरेर साँच्चै रोबोटहरू उत्पादनहरू बनाउने भैसक्दा हामी हाम्रा क्याम्पसहरूमा विद्यार्थीहरूलाई रोबोट बनाउँदै छौं, दास उत्पादन गर्दैछौं।
झन् दुःखको कुरा त यो एउटा क्याम्पस मात्र हैन, देशभरिका हरेक क्याम्पस र विश्वविद्यालयहरू सबै रोबोट उत्पादन कारखाना बनाइएका छन्। अब तपाईं आफै भन्नुस्, यस्तो ठाउँलाई रोबोट कारखाना नभनेर म के भनुँ?'
उनको उत्तरले म अवाक भएँ।