भारतीय नम्बर प्लेटको शंकास्पद ट्रक देखियो। ट्राफिक प्रहरीले रोक्ने इसारा गरे। गाडी रोकियो। गाडीको निरीक्षण गरे। अवैध रुपमा भारततर्फ पशुचौपाया निकासी हुँदै रहेछ।
उनले चालकलाई ट्रक साइड लगाउन अनुरोध गरे। कार्यालयमा जानकारी गराए। कार्यालयबाट प्रहरी अधिकृतको टोली आयो र ट्रकलाई कार्यालयतर्फ लिएर गयो।
उनी डिउटी सके र कार्यालयतर्फ लागे। उनले नियन्त्रणमा लिएको ट्रक नदेखेपछि सहपाठीलाई सोधे- 'अघिको ट्रक खोई?'
सहपाठीले स्पष्ट जवाफ दिए- 'हाकिम सा’बसँग कुरा मिल्यो। छुटिसक्यो।'
उनी अचम्ममा परे। बोल्नुको कुनै अर्थ थिएन। सिनियरसँग वार्तालाप गर्ने कुरो भएन। अर्डर इज अर्डर। फौजमा सिनियरको अर्डरको फलो हुन्छ। बोस इज अल्वेज राइटको सिद्धान्त लागु हुन्छ। उनी केही बोलेनन्। ब्यारेक गए। र बिस्तारामा पल्टिए।
केही दिनपछि त्यसैगरी नेपालतर्फ अवैध रुपमा स्पेयर्स पार्ट्स पैठारी हुँदै थियो। उनले सवारीलाई नियन्त्रण लिए। यसपालि उनले माथिल्लो सबै प्रहरी कार्यालयहरुमा जानकारी गराए। भन्सार कार्यालयमा फोनबाट सविस्तार बताए। गृह मन्त्रालयमा सूचना अधिकारीलाई जानकारी गराए। र, आफै सवारीलाई कार्यालयतर्फ लिएर गए।
नियन्त्रणमा लिएको दुई दिनपछि प्रहरी कार्यालयबाटै अवैध सामानहरु सहित सवारी गायब भयो। उनी आश्चर्यमा परे। जानकारी लिन चाहे। कार्यालयका सबै सहकर्मीहरुसँग सोधपुछ गरे। कसैबाट जवाफ पाउन सकेनन्। जागिर दाउमा राखेर प्रहरी अधिकृतसमक्ष जिज्ञासा राखे।
प्रहरी अधिकृतले यथार्थ बताए- 'गृहमन्त्री ज्यूबाट छोड्ने आदेश आयो।'
उनलाई आफ्नै इमान्दारिताले खिज्याइरह्यो। शून्य सहनशीलताको सिद्धान्तले गतिलो झापड लगाइरह्यो। समृद्ध नेपालको नाराले उनैलाई लात मारेको दुखानुभूति भइरह्यो। उनले अन्य विचार केही गरेनन्। सबै चिजलाई मौनताले जित्ने संकल्प गरे।
उनी मौनतामै डिउटी गरिरहे। मौनता सबैभन्दा खतरनाक चिज हो। उनलाई राम्रोसँग थाहा थियो। यसैले सम्हालिरहन्थे।
मदिराले लठ्ठ भएका तीन जना युवकहरु बाइकमा हुइँकिँदै थिए। उनले रोक्ने इसारा गरे। बाइकलाई नियन्त्रणमा लिने कोसिस गर्दे थिए। एकजनाले खल्तीबाट एक हजारको नोट झिक्यो र छाडिदिन अनुरोध गर्यो।
उनले त्यस युवकलाई नराम्रोसँग हप्काए।
युवकले जिब्रो लडबडाउँदै कन्भिन्स गर्न खोजे- 'तपाईंका पनि श्रीमती, छोराछोरी होलान्। सिपाहीको तलबले के हुन्छ, सर? सोच्नुस्। तपाईंले घुस खान्न भनेर हुन्छ। तपाईंका हाकिमले खाइहाल्छन्।'
यसपालि उसको मुटुमा काँडाले नराम्रोसँग बिझ्यो। ती तीन जना युवकतर्फ आँखा दौडाए। अघिको हजारको नोट बायाँ हातले समाते र जान निर्देशन दिँदै मनसँग बातचित गरे- 'मरे मर जड्याहरु।'
भोलिपल्ट उनीसँग स्पष्टीकरण माग भयो। उनले सबै यथार्थसहित स्पष्टिकरण पेश गरे।
केही दिनपछि सूचना अधिकारीले प्रेस विज्ञाप्ती निकाले- 'मोटरसाइकल चालकसँग आर्थिक प्रलोभनमा पर्ने प्रहरीलाई नोकरीबाट हटाई प्रचलित नियम बमोजिम कारबाही प्रकृया अगाडि बढाइएको छ।'