सानोमा ताँती गर्दै
लड्दा हात समाउँदै
जीवनमा अगाडि बढ्न सिकायौ
उत्प्रेरणा दिँदै हुर्कायौ
सायद
योभन्दा ठूलो अर्को त्याग छैन
शिथिल हुँदा
आँट दिने मनोबल तिम्रै थियो
र त,
संघर्ष गर्दै थिए
यी पाइलाहरु
देशमा, प्रदेशमा
किनकि त्यहाँ
साथ थियो
हौसला थियो
तिम्रा उत्साह थियो।
जब-जब यादका छालहरु चल्छन्
पलपल अथाह पीडा हुन्छ
त्यति बेला पनि हुन्छ
मनमा तिम्रै संघर्षका कथाहरु
तिम्रै सजीव अनुहार हेर्छु तस्बिरमा
कहाँबाट आउँछ यति धेरै शक्ति?
साँच्चै! सृष्टिको लिला अपार छ
शाश्वत सत्य यही हो
साँच्ची, बा!
संसारमा तिमीभन्दा प्यारो
अर्को दोश्रो छैन, हुँदैन पनि।
मेरा बाल्यकालका तस्बिरहरु हेर्छु
सम्झना मधुरो थियो
आफैलाई मेटाएर
हामीलाई प्राण दिनु थियो
अनि,
गरिबी, अभावसँगै चिरिए होलान्
आफ्ना सपनाहरु
टुक्रिए होलान् आशाहरु
पीडाको कुनै सीमा थिएन कि!
सायद ती सबै बाँड्न मिल्ने भए
अलिकति भए नि सन्तोष मिल्थ्यो
है बा!
अनि बा,
तिम्रो एक मिठो बोलाइले
मुहार हँसिलो हुन्थ्यो
आहा! कति मिठो समय
'आफू' हुनुको अर्थ
शक्तिको थाह बोध हुन्थ्यो
मुर्झाएको हाँगाहरु सल्बलाएझैं
तिम्रो त्यो मायालु बोली
व्यक्त गर्न सकिँदैन कुनै शब्दमा
कुनै शब्द नै छैनन् सायद
त्यो त मात्र महसुस गर्न सकिन्छ
संसारमा प्रेम त यो पो हो!
माया त यस्तो पो!
हो बा,
पहिलो पटक मायाको अर्थ बुझें
जब छोरीलाई बिदाइका हातहरु हल्लाउँदा
आँखाहरु रसाएका थिए
र नि हाँसी-हाँसी उत्साह थप्दै थियौ
अनि मुस्कान छर्दै म ओझेल हुन्जेल
हेरिरहेका थियौ पर-परसम्म
मन त साउने झरीजस्तै थियो
बा! त्यही हेराइ नै हो
मेरो लागि बलियो शक्ति
र त, जब लड्छु कतै
हिम्मतले उठ्छु
जीवनलाई अझै माथि
उचाइमा लाग्नु छ नि!
कति सजिलै बिर्सिने रैछ
सारा घाउ अनि पीडा
खण्डहर भएका रहरहरु
तिम्रा बोलीले मात्र
पुनः जागृत हुन्छन्
सपनाको गलैँचा बुन्न सुरु हुन्छन्
कुहिरोभित्र रुमलिरहेको रश्मीमा
रंगीन इन्द्रेणी झल्किन्छ
आयान बनेर
अन्तर्मनमा सलबलाएका भावहरू
तिम्रै सम्मानमा!
जब-जब जिन्दगीका पानाहरु
खोल्न थाल्छु
श्रृंखलाबद्ध तवरले हेर्न थाल्छु
मौन संवाद गर्छु
हेर्छु एक टकले
आँखाको दृष्टिले
मनको दृष्टिले
साँच्चै! नबिथोलिए हुन्थ्यो जस्तो लाग्थ्यो
यो समय, यो पल
सरर्र पल्टिँदै गैरहेको
जिन्दगीको अर्को नयाँ पाना!
कति मिठो!
बा,
अनि 'बा' का जीवन्त इतिहास
अध्ययन गर्ने जीवन्त किताबजस्तो
आफ्नै बिम्ब तिमीमा खोज्दै
अनि लाग्छ,
जीवनका यात्रा तय गर्ने
यात्रा जारी नै छ
यो साक्षात्कार अलौकिक छ
क्लान्त र शान्त छ
आफैँलाई लेखिरहेकी हुन्छु प्रायः
तर आज कुनै शब्द छैन
मन सुस्ताएको छ
अध्ययन गर्दैछु
जीवनका घुम्तीहरु
नियाल्दैछु अस्तित्वहरु
प्रेरणाका आधार स्तम्भहरु
तिम्रा ती इतिहासबाट
अनि यस्तै-यस्तै दृश्यबाट
लाग्छ,
संसारमा 'बा' हरु दृढ छन्
र त,
अद्वितीय साहसी छोरीहरु हुन्छन्
है बा!