धेरैवटा पर्वतका शिखरहरू चढेर नाउँ कमाएका एक जना पर्वतारोहीका घरमा एकदिन बिहानै केही व्यक्तिहरू एउटा निजी गाडीमा चढेर गए।
त्यो समूहमा एउटी महिला र ६ जना पुरुष थिए। कम्पाउण्ड नभएको घर हुनाले तिनीहरू सीधै ढोका ढक्ढक्याउन पुगे। अधबैंसे महिलाले ढोका खोलिन्। सबैले तिनलाई नमस्कार गरे।
ती महिलाले पनि नमस्कार फर्काउँदै सोधिन्, ‘कसलाई खोज्नुभएको?’
एक जना अग्रसर भएर बोले, ‘हामी यही घरका घरपति दाइलाई भेट्न आएका हौं।’
तिनले भनिन्, ‘उहाँ त अलिअलि टाउको दुखेर ओछ्यानमै आराम गरिरहनुभएको छ।’
पाहुनाका तर्फबाट एक जना बोले, ‘हामी जरूरी कामले आएका छौं। उहाँलाई भेट्न चाहन्छौं। बोलाइदिनोस् न।’
बैठक कोठातिर देखाउँदै तिनले भनिन्, ‘एकछिन यतै बस्तै गर्नोस्। उहाँ आधा घण्टापछि आउनुहुन्छ।’
सातै जना कोठामा पसे। दुई सेट सोफामा सबै जनाले खुकुलो गरी विश्राम गर्न पाए। सबैले मास्क लगाएका थिए।
१५ मिनेटपछि घिउ र नुन हालेको चिया लिएर आइन्, घरपति महिला। चियादानीबाट चियाको बाफ आइरहेको थियो। तिनले टेबुलमा केट्ली-मेट राखिन् र त्यसमा चियादानी राखिन्। अनि दराजबाट बियर खानेजस्ता बुट्टेदार ठूलै आकारका सात वटा ग्लास झिकेर टी-मेटमाथि राखिदिइन्। त्यही दराजबाट राम्रै जातको नुनिलो बिस्कुटको एउटा प्याकेट झिकेर खोलिन् र एउटा स्ट्रेमा फिंजाइदिइन्। अनि तिनले पाहुनातर्फ फर्केर भनिन्, ‘उहाँ एकैछिनमा आउनुहुन्छ। लाज नमानी चिया थपीथपी खानोस्। बाहिर त जाडै छ। चियाले भलो गर्छ।’
यति भनेर तिनले सबैलाई नमस्कार गरिन्। लुसुक्क अर्को कोठातिर पसिन्।
केहीबेरमा घरपति पनि आए। उनले सबैलाई नमस्कार गरे र एउटा गिलास झिकेर चिया खन्याए। अनि त्यो चियाको ग्लास लिएर सोफामा बस्तै भने, ‘माफ गर्नुहोला। हिजो अलि बढी भएछ क्यार। बिहान उठ्न खोज्दा टाउको गह्रौं भएको रहेछ। त्यसैले ओछ्यानमै थिएँ। बाहिर घुम्न जाने गरेको थिएँ। आज त ढिलो भएछ।’
एकजनाले साखुल्ले पल्टेर भन्यो, ‘दाइलाई पर्वतारोहणको तालिमको उद्घाटनमा देखेको थिएँ।’
‘बेलाबेलामा बोलाइ रहन्छन्। बोलाएपछि जानै पर्यो।’
एकछिन वातावरण शान्त भयो।
घरपतिले पाहुनातिर फर्केर सोधे, ‘तपाईंहरू किन आउनुभयो त यति सबेरै?’
आउनेमध्येको एउटाले भन्यो, ‘हामी एउटा मध्यम उचाइको कुनै पर्वतशिखर चढ्न चाहन्छौं। यसबारेमा तपाईंको रायसल्लाह लिन आएका छौं। हामीलाई सुझाव दिनुपर्यो।’
घरपतिले भने, ‘पर्वतारोहण ख्यालठट्टाको विषय होइन। यसका लागि जति खाँचो मार्गदर्शकको पर्छ, त्यति नै जरूरी हुन्छ आरोहीको मनोबलको पनि।’
जानेमध्येका एक जना प्रौढले भने, ‘हामीले आजभन्दा पहिले सानातिना पहाड घुमघाम गर्दा चढेकै हौं। अक्सिजन प्रयोग गरेर चढेको अनुभव छैन। तर पहाड चढ्ने आँत र आँट भने दरिलै छ। हामीलाई मझौला उचाइको शिखरको चुचुरामा पुगेर मुलुक र विश्वका लागि शान्तिको सन्देश प्रवाह गर्ने चाहना छ। तपाईंले हामी सबैको मार्गदर्शक बनिदिनुपर्यो।’
ती पूर्वआरोहीले अन्कनाउँदै भने, ‘म जमानाको नाउँ चलेकै आरोही हुँ। त्यही बुझेर नै तपाईंहरू सोध्दै-खोज्दै आउनुभएको होला। अहिले म घरमा कामविहीन भएर बसेको छु। नयाँ काम पनि केही जानेको छैन। नातिनातिना खेलाएर दिन कटाउँछु। अब जोखिम मोलेर पहाड चढ्ने रहर पनि छैन, उत्साह पनि छैन।’
टोलीमा रहेकी महिलाले भनिन्, ‘बाघ बूढो र स्याल तन्देरी एकै हुँदैन। तपाईंको क्षमताको कदर गर्न नै हामी आएका हौं। एकपटक हामीलाई चुचुरोमा पुर्याउनका लागि मार्गदर्शन गर्ने हिम्मत गर्नुहोस्। तपाईंको पनि इज्जत नै बढ्छ।’
पूर्वआरोही बोले, ‘तपाईँहरूको ढिपी पन्छाउन नसकिने खालको बुझेँ। ल त, एकपटकलाई कम्मर कस्छु। कोही आएर अनुरोध गर्छ भने नाइँकार गर्ने मेरो स्वभाव होइन। अब तपाईंहरू तयारी गर्न थाल्नुहोस्। अलिक अग्ला हिमाल चढेर अभ्यास गर्नुहोस्। त्यसका लागि पर्वतारोहण संघसँग सहयोग लिनुहोस्। त्यसले सबै व्यवस्था मिलाउँछ। खर्चचाहिँ निकै लाग्छ नि ! म पनि खुम्चेका खुट्टा तन्काउने अभ्यास थाल्छु।’
अर्को कोठाबाट छेलिएर कुराकानी सुनिरहेकी घरपति महिला बूढाको निर्णय सुनेर कोठामा आइन् र लोग्नेतर्फ हेर्दै भनिन्, ‘बुढ्यौलीमा किन तात्नुपरेको होला? लाउनखानको कमी छैन। नातिनातिना खेलाएर दिन बितेकै छ। बिनसित्तिमा झेउला बेहोर्नु पर्दैन।’
बूढाले उत्तर दिए, ‘भन्छयौ नै। पत्यार गरेपछि पछि हट्नु भनेको नामर्दीपन देखाउनु हो। मलाई पनि पुरानो जोश उम्लेर आएको छ। घरकुरूवा भएर बस्न रहर नै कहाँ थियो र! उपाय नदेखेपछि झोक्राएर बसेको मात्र हुँ। अहिले भाइबहिनीहरू मेरो क्षमताको कदर गर्न आए। अब आफ्नो इज्जत जोगाउन पनि कम्मर कस्छु। थला परेको बूढो त हुँइनँ नि!’
बूढी खिन्न भावमा बोलिन्, ‘उमेर उकालो लागेको पत्तो छैन। यी भाइबहिनीहरूलाई पहाड चढ्न सिकाउन खोज्दा आफैं चिप्लेर लड्यौ भने तिमीलाई कसले सिहार्छ। म त सक्तिनँ नि। बेलैमा भन्दिएकी छु।’
बूढाले भने, ‘यी भाइबहिनीहरूको अनुरोध टार्न नसकेर मात्र जान लागेको हुँ। केही विपत्ति परेछ भने यिनीहरूले नै हेर्छन्।’
घरपति बूढाले पाहुनातिर हेरेर भने, ‘कसो, भाइबहिनी हो?’
टोलीप्रमुखले आस्वासन दियो, ‘हामी तपाईंको सुरक्षा एवं उपचारको सबै बन्दोबस्त गर्छौं। लाग्ने खर्च पनि जुटाउछौं। यसमा फरक पर्ने छैन।’
पाहुना टोली भरपर्दो नायकको सद्भाव पाउन सफल भएकोमा फुरुङ्ग पर्यो।
त्यसपछि पाहुनाहरु घरपतिको अन्तिम आस्वासन सुन्न लालायित बनेर उनीतिर हेर्दै उभिए।
घरपति बोले, ‘मैले बोलेपछि ढुङ्गाको अक्षर भयो। मेरो सल्लाह अनुसार काम गर्न थाल्नू। बेलाबेलामा मसँग सम्पर्क गर्दै गर्नू।’
उनले आफ्नो फोन नम्बर टिप्न लगाए।
त्यो टोली उनलाई नमस्कार गर्दै हँसमुख मुद्रामा कोठाबाट बाहिरियो।
गाडीमा चढ्ने बेलामा समूहकी महिलाले प्वाक्क भनिन्, ‘झन्डैले बूढीचाहिँले बिगारेकी। बूढा वचनका पक्का रहेछन्। कुरा फेरेनन्।’
गाडीमा चढिसकेपछि अर्का ठट्टयौला युवाले भने, ‘मेरी बूढीले मात्र मेरा निर्णयमा हस्तक्षेप गर्छे भन्ने लागेको थियो। सबैका त्यस्तै हुँदा रहेछन्। अब चित्त बुझाएँ।’
अर्काले टिप्पणी गरे, ‘बूढीहरूको जातै त्यस्तो हो !’
आफूले उठाएको कुरा आफैंमा ठोकिँदा ती महिला जिल्ल परिन्।
चार महिना पछि।
ती प्रौढ पूर्वआरोहीको नेतृत्वमा पर्वतारोहीको टोली पाँच हजार मिटरभन्दा अलिक बढी उचाइको हिमशिखर चढ्न बेस क्याम्पमा जम्मा भए। त्यहाँ अरू आरोहीहरू पनि थिए। त्यो शिखर चढ्नका लागि निकै सजिलो छ भन्ने चर्चा गर्थे सिकारु आरोहीहरू। सबैले आपसमा चिनाजान गरे। सबैको उत्साह र उमङ्ग हेर्नलायक थियो।
ती पूर्वआरोहीले आफ्नो मार्गदर्शनमा पर्वत चढ्ने टोलीका बन्दोबस्तीका सामानहरूको निरीक्षण गरे। उनी सन्तुष्ट भए।
मौसम अनुकूल भएको दिन पर्वत चढ्ने कामको थालनी भयो। बेसक्याम्पबाट सबै यात्रीहरू लस्करै उकालो लागे। ती पूर्वआरोहीले पनि केही युवादललाई आरोहणका क्रममा बाटो सफा गर्न भर्ना गरेका थिए। पहिलो दिन सकुशल माथिल्लो क्याम्पमा बास बसे। टेन्ट गाडिए। खाना ग्यासमा पकाएर नै खाने काम भयो। स्थिति सामान्य थियो। सबै हाई-हेल्लो गर्दै रमाए। अनि सबैजना न्यानो हुनेगरी सुते, आआफ्ना टेन्टभित्रका सुत्ने झोलामा।
राति अकस्मात् हुरीबतास चल्यो। टेन्ट नै उडाउलाकि जस्तो भयो। टेन्टमाथि हिउँ थुप्रिएको जस्तो अनुभव गरे सिकारू पर्वतारोहीहरूले। यात्रुदल निकै डरायो।
उज्यालो भएपछि खानपिन सकेर सबेरै यात्रामा संलग्न रहन उर्दी जारी गरे ती नायक आरहीले, ‘हिमाल चढ्दा हुरीबतास चल्नु सामान्य कुरा हो। यस्तो हावा नसोचेको बेला एकाएक पनि आउँछ। हिमालको मौसमको भर हुँदैन। त्यससित लड्दैभिड्दै होशियारीसाथ अगाडि बढ्नु नै पर्वतारोहणको मजा हो। यो एड्भेन्चरस् हुन्छ। ए, केटा हो ! टेन्ट उठाओ। अर्को क्याम्पका लागि हिंडिहालौं। चार जना जति युवा अगाडि लाग। बाटो बिग्रेको होला, बनाउँदै अघि बढ्नुपर्छ। म टोलीलाई बाटो देखाउँदै ल्याउँछु।’
नायक आरोही उकालो लागे। अरू यात्राका लागि तम्तयारी गर्नथाले।
ती सात जना आरोहीको अनुहार निदाउँरो देखिन्थ्यो। तिनीहरू एक ठाउँमा भेला भएर सानो स्वरमा गुनगुन गर्न थाले। एकैछिनमा सबैको मतो मिलेजस्तो देखियो। एकछिन अघि उदास देखिएका अनुहार एकाएक उज्याला भए।
चार जनाको दल बाटो मिलाउँदै अघिअघि लाग्यो।
ती नायक आरोहीले अलि माथि घुम्तीमा पुगेर फर्केर तलतिर हेरे। उनले नै भर्ना गरेका सहयोगी दलचाहिँ आउँदै गरेका देखे। तर आरोहण गर्न तम्सिने पुरुष र महिलाहरूको टोली भने कतै देखिएन। अनि अलिकति घुमेर तलतिर देखिने ठाउँमा गएर फेरि नियालेर हेरे। उनले नेतृत्व गरेको प्रतिबद्ध पर्वतारोही टोलीका सदस्यहरू त तँछाडमछाड गर्दै ओरालोमा बेसक्याम्पतिर लम्किँदै थिए।
आफूलाई मार्गदर्शक बन्न हौस्याउने समूह सानोतिनो हुरीबतासबाट कहालिएर फर्केको देख्ता ती नायक आरोही जिल्ल परे। उनले मनमनै सोचे, ‘अभरिलाको भर पर्दा यस्तै हुन्छ !’
उनी आफ्ना सहयोगीहरूका साथ हिमालको शिखर टेक्ने अठोट लिएर उकालो लागे, मन अमिलो पार्दै।