भोलि साउने संक्रान्ति साउने झरीले पात बजाएको हो कि आकास र धर्तीको भेटमा रोदन हो वा हर्ष, तपतप आँसु चुहिरहेको थियो।
'पर्सि त यति बेला फलानो ठाउँ पुगिन्छ निकापर्सि महाकाली नदी हुँदै त्यसको भोलिपल्ट त भारतको गाजियावाद पुगिन्छ' भनि साथीहरूले मस्त कुरा गरिरहेका थिए।
मलाई पनि त्यही भावनाले उडाउन थाल्यो। त्यही कल्पनाको भावनामा सयर गर्न मन लाग्यो। साँच्चै चरी बनि भुरुरु उडूँ कि!
हावा बनि सुसाउँदै बहँदै जाऊँ सोच्दै काउकुती लाग्न थाल्यो। साथीहरू भन्न थाले- लामो रेलमा सयर गर्दाको आभास छुट्टै हुन्छ त्यसैमा बस्ने, सुत्ने। खाजा नास्ता खाने ठाउँ पनि त्यसैमा।
साँच्चै हाम्रो गाउँ भरिका मान्छे गए पनि सबै अटाउने अरे, सस्तो तर छिटो पुग्न सकिने। अनि कपडा पनि कति सस्ता ४०\५० रूपैयाँमा कमिज पाइन्ट पाइने। अझ सस्ता पनि पाइने अरे अनि त्यहाँ गए काम पनि प्रसस्तै पाइने अरे। त्यहाँको पैसा नेपालमा धेरैमा चल्ने अरे। सबैले लाहुरे लाहुरेको उपमाले सम्बोधन गर्छन् रे।
साँच्चिकै मेरो मन उडिसकेको थियो। उनीहरूको कुरा सुनेर। मैले कसैगरी पनि मन थाम्न सकिनँ।
जे सोच्यो फाइदै-फाइदा मात्र सोचें। त्यहाँ नगएमा सबै घाटा मात्र सम्झें। अन्तत: निर्णय गरें पक्कै म पनि यी साथीहरूसँगै गाजियावाद जानैपर्छ अनि दसैंमा फर्कनु पर्ला।
तर जाने कसरी? न घर सल्लाह गरी जान दिन्छन् न त मसँग गाडी भाडा नै छ। के गर्ने!
समस्याको बीचबाटै समाधानको ताला खोलें।
बाबाको हिजोमात्रै भैंसी बेचेको पैसा बाकसमा राखेको। मात्र विकल्प त्यही पैसा चोरेर मेरो मुग्लानको सफलता।
साउने संक्रान्ति रमाइलो गरी मनाइयो।
मेरो अठोटलाई दृढ विश्वासमा बदली साथीभाइसँग सल्लाह गरी भोलि बिहान भाले बासेसँगै देउराली कटिसक्ने सल्लाह भयो।
बुबा गाउँ गएको मौका पारी त्यो बाकसको पैसा चोरें। भोलि जानको लागि झोलामा कपडा तयार पारी सुतें।
मनमा उन्माद तरंङ फैलायो। साँच्चै अब नजाने पनि कसरी? पैसा चोरिसकें। अब राख्न पनि त सकिन्न। मलाई जति चोर्न सजिलो भयो फेरि त्यही पैसा राख्न ठूलो संकट भयो।
अब के गर्ने? यो पैसा चोरेको थाहा पाएर म यही बसें, बाले मेरो खप्परै उठाइदिने। डरले र जाने रहरैरहरमा भोलि बिहान फेरि भसक्कै निदाइने डरले हल्का हल्का झकाएजस्तो गरी सबेरै विस्तारै उठें।
कुकुरले समेत सुइँको नपाउने गरी उठें र लुरुलुरु हिँडें भनेको बलेनीको पानी थाप्न राखेको गाग्रीमाथि परेछु कुकुर झ्वाम्मै आयो। काले भनेर सुम्सुमाएको पुच्छर हल्लाउँदै जिब्रो निकाल्दै गयो।
म सरासर लागें। पर देउरालीमा साथीभाइ पर्खिबसेका रहेछन्। हाम्रो चार जनाको टोली पैसा कमाउने आशाका साथ अगाडि बढ्यो।
एकातिर परदेशमा धन कमाउने झिनो आशामा अगाडि लम्कें भने अर्कातिर घरमा ती बुढाबुढी बुवाआमालाई एक्लै छाडेर एक हल गोरु, लैना बकेर्ना भैंसी, तिनका पाडापाडी, बाख्रा-कुखुरा चल्ला गरी घरमा राम्रैसँग कामको बोझ थियो।
बिचरा आमा सुइँया गर्दै उठ्दै ऐंया बस्दै ऐंया गर्नुहुन्थ्यो। वर्षामास खेतीपातीको काम गर्नुपर्यो। माना रोपेर मुरी उब्जाउने बेलामा हात खुम्चाएर बस्न नहुने, आफूले बिहान-बेलुकी खाना खानैपर्ने, वस्तु भाउको हेरविचार पनि गर्नुपर्ने। अहो! म कति स्वार्थी रहेछु। ती बुढाबुढी बुवाआमालाई घरमा एक्लै छाडेर अझ भएको पैसा पनि चोरेर हिँड्ने असल छोरा रहेनछु। बल्ल पो भक्कानो छाडेर रून मन लाग्यो।
आमा बिहानै चारै बजे उठेर अँगेनामा दाउरा चिरेर वस्तुभाउलाई पानी तताको अनि त्यो तातो पानी गोठमा पुर्याउँदा एकचोटि काठको लौरी भाँचिएर मेरो र आमाको खुट्टा पोलेको अनि पँधेरीबाट भालेको डाकैमा गाग्रीमा पानी ल्याएको जति सम्झन खोज्छु झनझन् आफूलाई थाम्न सकिनँ।
के गर्ने कहिलेकाहीँ बेलामा बोल्न र कुबेलाको साइत गरिँदो रहेछ। समयको खेलसँगै चल्न नसक्दा जीवनमा ठक्कर र हण्डर खानुपर्दो रहेछ। मनमा अनेक तर्कना गर्दै आजको रातको हाम्रो बसाइ भालुबाङमा भयो।
साथीहरू 'आज सबै जना रमाइलो गर्नुपर्छ रक्सी र मासुमा रमाउनुपर्छ' भनि रमाउन थाले। केहीछिन त मसँग केही बोलेनन्, जब उनीहरूलाई जाडको नशाले समाउन थाल्यो तब मलाई पनि कर गर्न थाले। मैले नखाने र अहिलेसम्म जीवनमा नखाएको कुरा बताए। तर उनीहरू पटक्कै मानेनन्। उनीहरूलाई झन रक्सी लाग्न थालेछ मलाई झन् दबाब दिन थाले। अझ रामेले त 'खाने भए खा नत्र भने यहीँबाट फर्काउने' पो कुरा गर्न थाल्यो।
अब के गर्ने! मनले सोच्यो संगत अनुसारको फल भनेको यही हो! अन्तत: मुख नमिठो पारी खानै बाध्य भएँ। रमरम झमझमको तालैमा अमिलो पिरो टर्रो सबै तिरिमिरीको स्वादसँगै निद्रादेवीको काखमा भुसुक्कै निदाएछु।
बिहानैको बस समाती हामी महाकालीको महेन्द्रनगरको लागि प्रस्थान गर्यौं। साउनमासको गर्मी त्यसैमाथि देशमा सशस्त्र द्वन्द्वको चपेटामा फसिरहेको अवस्था थियो।धेरै ठाउँ चेकिङ हुन्थ्यो तर चेकिङ पनि ठम्याउनै गाह्रो। कुनै कसको, कुनै कसको! हामीलाई ठम्याउनै गाह्रो।
बस पनि तराईको गर्मीसँगै आफ्नै रफ्तारमा चलिराखेको थियो। छिटो भयौं या ढिलो। दिनको करिब ३ बजेतिर कञ्चनपुरमा पुगियो। झन् कता कता नियास्रो, झन् घरपरिवारको छटपटी। कता हो कता माया, कता हो कता रमाइलो। महाकाली नदीको दृश्य अनौठो लाग्यो। भारतका पुलिस पुलभन्दा वारि आएर चेक गरिरहेका थिए। अनि पुलमा पानी बाँड्नको लागि पानीको डिभाइडर राखिएका थिए। वर्षातको समयमा उर्लेको भेल नेपालतिर फर्काइदिएर चाँदनी र दोधारा गाउँ जति डुबानमा परेर सखाप पार्ने अनि हिउँदमा पानी भारतमा लगेर नेपालको खेतीपाती सखाप पार्ने कस्तो राम्रो मित्रता! कति राम्रो सहयोग!
दुई देशको साँच्चै कस्तो अचम्मको सहयोग मनमनै गुनें। निरीह पशुजस्तै हलीले गोरुलाई पिटेर जता फर्काउँछ उतै फर्किएजस्तै। सुनेको थिए तर आफ्नै आँखाले देखें।
अनि देखें मजस्ता लाख नेपालीले। तर अरूजस्तै म पनि केही गर्ने अवस्थामा। देशका होनाहार व्यक्तिले देखेर त केही भएन। म फिस्टेले देखेर के नै हुन्थ्यो र!
रातभरिको बसको यात्राले बिहान करिब ९ बजेतिर दिल्लीको गाजियावादस्थित के.आर.बि.एल.राइस मिलमा गइयो। हामी चारै जनाले त्यही मिलमा काममा लाग्ने र पैसा कमाउने भनेका थियौं। ती तीन जना भोलिपल्ट नै काममा लागे म भने केही दिनमा गर्ने भने।
गर्मी उत्कर्षमा थियो। उनीहरूको न खाने समयको टुंगो, न नुहाउने समयको, न सुत्ने समयको न त सुत्ने ठाउँको नै टुंगो। म त अचम्मै परें। बोराको ओछ्यान लगाएर सुते उनीहरू। उनीहरूलाई बानी परेको रहेछ। मलाई त रातैभरि निद्रा परेन। शरीरभरि सुलसुले कीरा हिँडेर हैरान। अर्कोतर्फ गर्मीले शरीरभरि घमौराले खाली ठाउँ थिएन।
करिब हामी त्यहाँ २\३सय जना नेपाली थियौं। कसैले पढ्ने बेलामा नआएको भए हुन्थ्यो भन्थे भने कोही गमक्क परेर बस्थे। बोले पनि पैसा लाग्ला भने जस्तै गर्थे। मैले असली नेपालीको रूप त्यही गएर मात्र थाहा पाएँ।
अब गएको पनि ५/७दिन हुन आँट्यो काम नगरी बसेरै खान पनि साथीहरू पनि रिसाउने आफूलाई पनि नमज्जा। साथीहरूलाई एउटा काम खोजिदिन भनेको बल्ल बल्ल झाडू लाउने काम खोजिदिए। त्यो पनि बिहान ६ बजेदेखि बेलुकी १० बजेसम्म झाडू लाउने काम। झाडू लाउँदा-लाउँदा ढाड पनि ठाडो पार्न नपाइने। अब त यति सकेर बस्छु भन्ने हो भने फेरि पछाडि त्यस्तै चाल।
नेपालीको छोरो त्यो ठाउँमा म्यानेजर भएको। राम्रोसँग ट्वाइलेट बस्न पनि नदिने राम्रोसँग खाना खाऊँ भन्ने हो भने त्यही लछारपछार गर्न आउने। ज्यानले हरेस खान थाल्यो। घरपरिवारको यादले सताउन थाल्यो।
एकछिन एकान्तमा बस्यो आँखाबाट बरर आँसु खस्ने भयो। बिचरा ती बुढाबुढी बाबुआमा त्यो रापिलो घाममा घाँस काट्ने, वर्षामासको कामको लोद थियो। भएको त्यो छोरो पनि रातदिन अर्काको देशमा गएर झाडू मार्ने।
आमाले 'छोरा यति पानी भित्र लैदेन' भन्दा झर्केर भाँडभैलो मच्चाउनेले खानैका लागि रातदिन कम्मर कस्नु पर्न त्यति काम घरमा गरिन्थ्यो भने घरमा पनि सुन फलाइन्थ्यो।
स्वर्ग घरैमा पाउन सकिन्थ्यो। ती साथीहरूको मेरो भन्दा कम बिजोग थिएन। कसैको ढाडमा पिलो, कसैको तिघ्रामा पिलो। एक न एक नभएको मान्छे बिरलै देख्न पाइन्थ्यो।
एकातिर घरमा तुरुन्तै फर्किंहालौं भने गाउँ समाजको लाज लाग्यो। बस्नलाई एकैछिन पनि मन थिएन। कतिबेला कतिबेला ती साथीहरूसँग भनाभन हुन्थ्यो तर के गर्नु उनीहरूको बिजोक देखेर आफूले पनि चित्त बुझाउनुपर्ने।
घरमा दुई/तीन वटा चिठी लेखें, तर तिनको एउटाको पनि जवाफ आएन।
'आइजा छोरा फर्क' भने त चार पाउले टेकेर फर्कन्थे तर त्यो पनि जवाफ आउँदैनथ्यो। जताततै लाइनको लाइन राति खाना खाँदा, नुहाइधुवाइ गर्दा र गर्मीले छटपटाउँदा छटपटाउँदै निदाउँदा करिब रातको दुई बज्ने सुतेर फेरि भोलि बिहानै छ बजे झाडू लिएर जानुपर्ने। दु:खको समयमा बुवाआमाको यादले साह्रै सताउँदो रहेछ।
तीज पनि आउनै थालेको थियो। घरमा बाख्रा लिएर जंगलमा जाँदा बाँसुरी फुकेको, साथीहरूसँग तीजमा रमाइलो गरेको सबै याद झल्झली याद आयो।
बुवाआमाको मुखभरि मुजा परेको मुहार। मुटु भरिन्छ अनि भक्कानो छुट्छ। आँखा सुनिने गरी रुन्छु न त नरो भन्ने भेटिन्छन् न त किन रोएको भनि सोध्ने नै। सायद म सुखसयलमा रमाउथें भने ती बुढाबुढी बुवाआमालाई भुल्थें होला तर दु:खमा भएर होला रात दिन यादले सतायो।
बरु घरमा गएर पानीमात्र खाएर बाँचौंला परेको समयमा बुवाआमाको पनि स्याहार गर्ने इच्छा पलायो।
मलाई लाग्न थाल्यो मेरो मन घरैतिर उडिसक्यो। लाग्यो साथीहरूका मित्था हाँसोमा लागेर उनीहरूको त्यो हाँसो घर बसुन्जेलसम्मको मात्र रहेछ त्यो पनि बुझें। मनैभरि, आँखैभरि। सारा हृदयभरि। तर बुझेर के गर्नू!
घर फर्कन पनि त्यसरी पैसा चोरेर भागेको मान्छे एक वचन आइजा बाबु घर फर्के भने पनि हुन्थ्यो भन्ने मनमनै सोचेर कहन्थे। मलाई अब एकदिन पनि महिना दिनजस्तै हुन थाल्यो। गर्मीले जिउभरि घमौरा भएर अरू सबै भ्याइसकेको थियो। जिब्रो र आँखा मात्र बाँकी थिए। हातले कन्याउन हात सानो हुने हुनाले जुत्ताको पालिस लगाउने बुरुसले कन्याउन थालें। ज्यान चर्केर दिउँसो औधि हुने, त्यसमाथि घरको पीडाले सताउन थाल्यो।
ती साथीहरूबाटै सुनेको थिए- इन्डिया गएपछि कपडा त निकै सस्ता पाइन्छन् अरे भनेर। आइतबार झाडू कम्पनी बिदा हुने त्यो दिन ठेकेदारसँग पाँच रूपैयाँ मागेर कपडा किन्न गएँ। कपडा त सस्ता तर लाउनै नमिल्ने। अचम्मै परें। त्यही समयमा रेल आयो। रेल पनि पहिलो चोटि देखेको। त्यो पनि अचम्मैले हेरे। कति लामो हो कति साह्रो कुदेको। एकचोटि चढ्न मन लागेको थियो।
मन लागेर के गर्नु साथीहरू मदिरा पसलको लाइनमा बसेका थिए, जहाँ पायो त्यही जसले पायो त्यसले मदिरा बेच्न नपाइदो रहेछ यो कुरा झाडुबालालाई पनि मनपर्यो। अनि रक्सी पिएर जथाभावी हिँड्न पनि नपाइने। हिँडेको थाहा पाएमा पुलिसले दारु निकाल्दो रहेछ। त्यहाँ पुलिसदेखि साह्रै डराउँदा रहेछन् यो पनि झाडुबालालाई मन परिपरि आफ्नो दैनिकी झाडूमा रमाउन आएँ।
मेरो मनले मानिरहेको थिएन त्यो पापी ठाउँमा बस्न। अब जसरी भए पनि घर जाने, बुवाआमाले जे भने पनि सहेर बस्ने, बुवाआमालाई आत्मैदेखि काममा सघाउने मनभित्रै बाचा गरेको थिएँ तर नेपाल फर्कने चरोमुसो समेत पाएको थिइनँ। के गर्नू जसले पनि दसैंको मुख ताकेर बसेका थिए। मलाई गएको धेरै दिन नभए पनि वर्षदिनजस्तै लागेको थियो।
यत्तिकैमा साथीले 'तँ घर जान्छस्' भनि सोध्यो। मलाई त्यो शब्द यति प्यारो लाग्यो कि उसको मुखबाट खस्न नपाउँदै को जान्छ भनि सोधें।
'दाङका दुई जना जाने अरे। तिनीहरूसँग जा न त जाने भए' भन्यो। तिनीहरूसँग सल्लाह गरेर भोलि जाने निधो गरियो। उता काममा पनि सबै हिसाब किताब गरे। हिसाब जोड्दा झन्डै बराबर भएको। भाडामात्र दिए मलाई। त्यो पनि खुसी लाग्यो।
भोलिपल्ट गाजियावादबाट हामी तीन जना दिल्लीतर्फ लाग्यौं। दिल्लीको अन्तर्राष्ट्रिय बसपार्कमा गयौं। त्यहा अचम्मै हुँदो रहेछ जुन सामान छोयो त्यो सामान लानैपर्ने! नेपालीलाई हेपेर हो कि जस्तो लाग्न थाल्यो तर त्यो त्यहाँको नियम रहेछ।
हामी नेपालगन्ज रुपडियाको बस चढ्यौं। खुसीको सीमा नै थिएन। बसभित्र अनेक मनमनै तर्कना गरी बसें। बस्दाबस्दै निदाएछु। रुपडिया आइपुगेपछि गाडीवालाको दादागिरी। कसैको झोला तानेर पर पुर्याए। मान्छे एकातिर, झोला अर्कातिर। तर हामी समझदारीमा भालुबाङको बस चढ्यौ र बेलुकीको बास भालुबाङमा भयो।
अनि बिहानै साथीहरू उहाँहरूको घरतर्फ लाग्नुभयो। हात मिलाएर बिदावारि भयौं र म पनि मेरो गन्तव्यतर्फ लागें।
बिहानै सबेरैको बस समातेर चढें। बसले सररर कच्ची बाटोमा बाङ्गे फेदीमा पुर्यायो। कतिबेला घर पुगौं जस्तो लागेको थियो बसस्टपपछि मेरो घर जान करिब ४/५घण्टा पैदल यात्रा गर्नुपर्ने थियो। कहिले उकाली, कहिले ओराली। लामो दिन घरतिर त घाम छँदै आइएछ।
कताकता मनमा लाज लाग्न थाल्यो। समाजको लाज लाग्न थाल्यो। पैसा चोरेर हिँडेको मान्छे ३४ दिनमै घरमा फर्कने बुवाको पनि डर लागिरहेको थियो भने कताकता ठिकै छ कसैलाइ केही गरेर, कसैलाई मारेर गएको होइन। आफ्नै घर जान केको लाजजस्तो लाग्यो। अब घर पुग्न एक घण्टा बाँकी छ भन्ने पारेर वारिपट्टि डाँडाको एउटा कुनामा वर्षघासको छेल पारि बसें। मनमा अनेकौं तर्कना गरेर अब रात पर्न आँट्यो भन्ने बेलामा झ्याउकीरी कराउन थाले। घामले घुम्टो ओड्न थाल्यो। म पनि अगाडि लम्कें।
करिब रातको आठ बजे घरमा पुगें। मकै भाँचेर खोल्साउन थाल्नुभएको रहेछ। खाना खाएर, बुवाले रेडियो बजाएर मकै खोल्साउँदै हुनुन्थ्यो। एकैछिन चियो गरें मलाई के भन्छन् भनेर सबै जना मौन हुनुहुन्थ्यो अनि म गएँ। सबै जनालाई ढोगें।
बुवा बोल्नुभएन, आमा अंगालो मारेर झम्टेर रुनुभयो। म पनि त्यो दु:ख र आमाको माया देखेर रोएँ। आमाले धेरैबेर मुसार्नुभयो अनि भित्र गएँ। आमाले खाना तयार पार्नुभयो आमाको हात त्यसैमाथि घिउ राखेर खान दिनुभयो अनि गाउँका साथीभाइले पनि थाहा पाएछन् सबै आए। सबै बसेर भलाकुसारी भयो। गफ गर्दागर्दै रातको १ बजिसकेछ अनि रमाउँदै सबै जना सुत्यौं।