रहर नभएको कहाँ हो र,
भव्य महलको अट्टालिकामा बसेर
ब्ल्याक कफीको चुस्की लगाउने मन छ,
वास्तविकतामा सडकको पेटी पो छ।
रहर नभएको कहाँ हो र,
हरेक साँझ डान्स बार गएर,
सुरा सुन्दरीसँग नाच्न मन छ,
वास्तविकतामा लामखुट्टेको गाना पो छ।
रहर नभएको कहाँ हो र,
ठूलो आमसभामा परिवर्तनको,
लामा-लामा भाषण ठोक्ने मन छ,
वास्तविकतामा सडक कुकुरहरुको साथ पो छ।
रहर नभएको कहाँ हो र,
एकै बोलीमा लोली मिलाउने,
कारिन्दाहरु भएको देख्न मन छ,
वास्तविकतामा छिःछिः दूरदूर पो छ।
रहर नभएको कहाँ हो र,
एकै फोनमा विश्व बजार हाँक्ने,
निकासी पैठारीको व्यापार चलाउने मन छ,
वास्तविकतामा होटलको बासी खाना पो छ।
रहर नभएको कहाँ हो र,
घरमा चाकरी चाप्लुसी चलाउने,
मान्छेका वहरदोहर भएको हेर्ने मन छ,
वास्तविकतामा सडकमा बटुवाको साथ पो छ।