बिहानीको मिर्मिरेमा
पसिनाले निथ्रुक्क भिजेका पचास काटेका शिक्षक
हातमा छाता र पछाडि कालो झोलामा लम्किए
उहाँलाई पछ्याउँदै कखरा सिकेको म
नमस्कारको आदानप्रदान पश्चात
हतार छ है भन्दै लम्कनु भो
असिनपसिन शरीर बोकेर
वनदेवीको यात्रा किन गरे होला लाग्यो
गुरूको पछि-पछि चियो गर्न लागेँ
माथि डाँडामा पुग्दा एउटा सानो कुटी देखियो
स्याउला घाँस अनि काठले बारेको
भित्रबाट गुनगुन आवाज सुनियो-
नमस्कार कलिना, म राम सर बोलेको
हिजोको पाठ पढ्यौ त तिमीले?
मलाई सार सुनाऊ र नबुझेको सोध
आहा! क्या गज्जबको बुझाइ कलिना
ल आजको पाठ सुरु गरौँ
फोनमा कुरा गर्दै सबै कहाँ पुग्नु भो
हौसलाका स्वरले डाँडापाखा गुन्जियो
गुरुको सो कार्य टाढाबाट निहालेँ
पानी पर्यो गड्याङ्गुडुङ भयो
अहँ, गुरु निरन्तर लागिरहनु भयो
केही घण्टाको देवीथानको बसाइले
मनमा अनेकन प्रश्न उब्जिए
एउटा सरकारी शिक्षकको मेहनत
कोरोनाको बेलाका वैकल्पिक विधि
बढो गज्जबको लाग्यो
हाम्रो देशमा सबै शिक्षक यस्तैमा त होलान्
सिकाइको निरन्तरता जारी रहेछ
मेरो देश बनिरहेछ, चलिरहेछ
कुटीबाट बाहिर आएर मलाई देख्दा अचम्ममा पर्नु भो
तिमी पो! कुन बेला आएछौ? मेरो त यस्तै छ काम
यतै आऊ, पोलेको मकै ल्याको छु बाँडी खाऔँ
उहाँको मुहारमा मुस्कान देख्दा आनन्द लाग्यो
अनि सर यसो गर्न डाँडामा किन नि?
उहाँ भन्नहुन्छ 'तलतिर टावर लाग्दैन,'
डाँडामा चिसो लाग्ला, बिरामी परिएलाभन्दा
नानीबाबुहरू खुसी हुन्छन्, अरु कुरा देखाजाएगा
सरका वैकल्पिक विधिका फेरिस्ता सुन्दै
सिमसिमे झरीमा कुहिरोलाई छिचोल्दै गाउँ झरियो
सरका कुराले छाती चौडा पार्दै दिन बित्यो
अहिले हामी गाउँमा हिँड्दा पठनपाठनका स्वर सुनिन्छन्
गाउँको सिंहदरबारले टावर र वैकल्पिक उर्जा दिएको छ
सिमकार्ड, फोन, रेडियो सेट, पढ्ने सामग्री र फोन पाठशाला
हरेक विद्यालयमा उपलब्ध छन्
घरदैलोमा पढाइ मूल्यांकन
स्थानीय सरकारको शिक्षामा चासै चासो
कलिना यो पालीको परीक्षामा पनि प्रथम भइन्
राम सर घरैबाट पढाउनु हुन्छ
यो नेपाली शिर उचाली संसारमा लम्किन्छ
जुनकिरी झैँ ज्योति बाली अन्धकारमा चम्किन्छ
काकाको घरमा गुन्जिएको रेडियोको आवाजसँगै
म हातमा पासर्पोट बोकेर खाडीको यात्रामा निस्किएँ।