बाबुले जुल्फी लुछेर लात्तैलात्ताले भकुरेपछि घरबाट सुइत्त हिँडेको छोरो झमक्क साँझ पर्दा पनि घर फर्केन। आमाको मन न हो, छोरो हराएकोमा बेस्सरी छटपटिएकी छिन्।
'तँ आत्तिनै पर्दैन, कहाँ जान्छ त्यो मुलाङ्खरे! भरे पेटमा मुसा दगर्नु थालेपछि भात खोज्दै आइपुग्छ। थालभरि भात राखी दे न र!' बाबुले आतेस मानेकी पत्नीलाई सम्झाए।
'कति कुट्नु? त्यसरी नकुटेको भए पनि हुने। आखिर कुटेर सुध्रिएको भए पो!' आमाका कुरा बाबुले सुने मात्र। कुनै प्रतिक्रिया जनाएनन्।
पत्नीले ठिकै त भनेको हो, मनमनै अड्कल काट्छ। तर, उसलाई रिसको पारो तातेर आएपछि कसैले रोक्न छेक्न सक्दैन, लात्तले भने लात्ताले मुड्कीले भने मुड्कीले बजार्नै पर्छ।
जुल्फीदासदेखि ऊ आजित भैसकेको छ। सुरुमा छोराको नाम जुल्फीदास त थिएन। राकेशराज थियो। तर जब तेह्र/चौधको किशोरवय टेकेपछि अचम्मैसित जुल्फी ढल्काउन थाल्यो। बाबुले अनेक पटक आफैँले कैँची चलाएर टाउको मुडुली-माउ बनाइदियो। कतिचोटि स्कुलमा पनि गुरुहरुले जुल्फी छिमली दिए। र, पनि जुल्फीको झुत्तो लट्काएर हिड्ँन छाडेन।
सुरुमा बाबु आफैँले जुल्फे नाम दिएको हो। त्यसपछि त टोल, छरछिमेक, स्कुल र साथीसंगातीबीच यसै नामले परिचित हुन थाल्यो। उसलाई कसैले सामुन्नेमा राकेशराज भने पनि ओल्टोकोल्टो हुने वित्तिकै जुल्फे शब्दावलीले सम्बोधन गर्छन्। विस्तारै ऊ राकेशराजबाट जुल्फेमा परिणत भयो।
स्कुलमा हेडसरले एक हप्तासम्म उसको जुल्फीलाई गहन अन्तर्दृष्टिले नियाले। जुल्फीप्रति उसको लगाव असाध्यै लोभ लाग्दो थियो। किताबलाई भन्दा बढी जुल्फीलाई प्रेम गर्छ भन्ने कुरा एकदिन कक्षाकोठामै प्रमाणित गर्यो।
अनेक सम्झाइबुझाइ र दण्डजरिवाना गर्दा पनि जुल्फी नछाँटी आउने केटाहरुलाई हेडगुरुले जम्मा गरेर लोभ देखाए। केटाहरुलाई एक झोला कथा/कविताका किताब देखाउँदै भने- 'हेर नानी हो, भोलि ज-जसले कपाल छाँटेर आउँछौ। यस झोलाबाट पाँच वटा पुस्तक छानीछानी लैजान पाउछौ।'
सात जना केटामा छ जनाले कपाल काटेर आए। कथा कविताका किताब छानेर लगे। राकेशराज त्यो दिन स्कुलमै गयल पर्यो। अर्को दिन स्कुल त आयो। तर, जुल्फी सहित आयो। दण्डले पनि उसलाई गलाउन सकिएन। पुरस्कारले पनि उसलाई लोभ्याउन सकिएन। हेडगुरुले उसलाई मौन रुपमा नियाली रहे। उसको जुल्फीप्रतिको अपार स्नेह विचित्र खालको थियो।
जुल्फीको झुत्तो निधार आँखा हुँदै गालाको अर्धभाग ढाक्नेगरी झुण्डिएको छ। त्यसले मिनेट-मिनेटमा उसको आँखाको दृष्टिलाई छेलिदिन्छ। छिनछिनमा टाउको झट्कार्दै जुल्फीको झुत्तो आँखाबाट पर सार्छ। बेलाबेलामा हातले जुल्फी नै सुम्सुम्माइरहन्छ। दिनै खुस्बु तेल या जेलले मुलायम अवस्थामा सिञ्चन गरिरहन्छ। उसको ध्यान खाँदा, बस्दा, हिँड्दा, पढ्दा जुल्फीप्रति अटुट रुपमा गाँसिइरहेको तथ्य उसको हाउभाउ र अभिनयले बताउँछ।
एकदिन हेडगुरुले निष्कर्ष निकाले, यो मान्छे अब जुल्फे होइन। जुल्फीदास भैसकेको छ। किनभने अब उसको टाउकोमा जुल्फी छैन कि जुल्फीभित्र ऊ छ। जुल्फी-मोहले उसलाई अरु चिजबाट अगल-अलग पार्दै लगेको छ। जुल्फीकै गुलामीमा, जुल्फीकै स्याहारसुसार र खातरदारीमा उसको समय हराउँदैछ। यो मानिस पढनदास, लेखनदास हुन्छ भन्ने कुरा नसोच्ता पनि हुन्छ। यो जुल्फीदास बनिसक्यो।
त्यस दिनबाट उसलाई हेडगुरुले पनि ठट्टाठट्टैमा 'ए जुल्फीदास!' भनेर बोलाए। के खोज्छस् काना आँखो भने झैँ अरुलाई पुगिहाल्यो। उसलाई गुरुहरुले खुलेरै 'ओ जुल्फीदास! भन्न थाले। उसका साथी/सहेलीहरुले पनि खुलेआम जुल्फीदास भन्न थाले। यो सम्बोधनले केही दिन त उसलाई नफरत भयो, अप्ठ्यारो मान्यो। तर विस्तारै उसले यस शब्दलाई सहज रुपमा पचायो।
***
बाबुको कुटाइ र भुत्ल्याइले बिच्की भागेको जुल्फीदास राति सबै सुतेपछि घरमा आयो। चकमन्न रातमा घरको पाङ्ग्रे कुकुर एकनास सित भुकिराखेको थियो। पाङ्ग्रेले उसलाई परैबाट चिन्छ। अन्धमुस्ली अँध्यारोमा उसलाई छोप्पेर गयो। ऊ टक्क उभ्भिएर 'पाङ्ग्रे' भन्यो। कुकुरले उसको आवाज पहिचान गरी हाल्यो।
जुल्फीदासको स्वर सुन्नासाथ पुच्छर हल्याउँदै कुईंकुईं गर्दै टाङ्गामुनि लुट्पुटिन आइपुग्यो। भान्साकोठाको ढोका खोलेर भात खायो। र, आफ्नो ओछ्यानमा घुस्य्रो। सुत्दा पनि जुल्फी मुसार्ने बानी लागेको छ उसलाई। जुल्फी सुम्सुम्याउँदा थाहा पायो, जुल्फीका जरा बेस्सरी दुखिराखेका छन् आज। बुढाले सदाभन्दा बढी नै भुत्ल्याएको अनुमान झिक्यो।
रिसले यस्तो आँधो त बन्दैनथे होला। तर उसले बिहान ठूलै बिगार गरेको थियो। बिहान बिहान सधैँ बाले भैँसीको दूध डेरीमा पुर्याउँछन्। निकै दिन भएको थियो, डेरीबाट पैसा नलिएको। एकमुष्ट पारेर बहर गोरु किन्ने सुरमा थिए। यसपालिको हलको गोरु मरेकोले खेतीपातीमा बाधा परेको छ।
जुल्फीदासले डेरीवाललाई ढाँटेर अठार सय रुपैयाँ निकाल्यो, त्यस रुपैयाँबाट शैलुनमा गएर जुल्फीमा मेहेन्दी लगायो। नुहाउन सुगन्धित सेम्पू किन्यो। जेलको सिसी किन्यो। नास्ता खायो। फस्य्राङफुस्रुङ खर्च गरेर चौध सय ५५ रुपैयाँ उडाइसकेको थियो।
डेरीवालले संचित रकमबाट अठार सय छोराले लगेको कुरा जानकारी दिएपछि ऊ क्रोधमा आएको थियो। 'आफू ताक्छु मुढो बन्चरो ताक्छ घुँडो' भन्दै छोरालाई बेस्कन भकुर्न पुगेको थियो।
***
कनीकुथी गर्दै जुल्फीदास कक्षा दशको द्वार त टेक्यो। तर एसइई उत्तीर्ण हुनसकेन। अर्थात् 'डी' ग्रेडमात्र हासिल गर्यो। एघार पढ्नको लागि योग्य बनेन। जुल्फीदासको संगत जुल्फेहरुसित थियो। बाबुले दस कठ्ठा खेत जोतेर एक माउ भैँसी पालेर मुखमा माड जुटाई दिइरहेका थिए।
कुकुरको काम पनि छैन, बसि पनि रहँदैन भनेझैँ ऊ गाँस टिप्न घर झुल्किन्छ। त्यस बाहेकको सारा समय जुल्फे ग्याङसँगै भुलिन्छ। बाबुआमा आजित छन्। दिग्दार छन्। सही संगत गरेन, न त पढाइ लेखाइमा लयो दियो, न त कामधाममा भर छ। के गरेर खान्छ होला? चिन्तित छन्।
जुल्फे ग्याङ्गका केटाहरु लुकिछिपी गाँजा तान्छन्, पाखुरामा मादक पदार्थको सुई लाउँछन् भन्ने कुराको हल्लीखल्ली गुप्तरुपमा टोलभरि फिँजियो। हल्ला चलेको केही हप्तामा जुल्फीदास रंगेहात पक्राउ पर्यो। जुल्फेग्याङलाई पुलिसको सुराकीले पिछा गरिरहेको थियो।
त्यस दिन जुल्फीदास र उसका तीन भाइ साथीहरु बैरेनी खोलको पुलमुनि गाँजा सल्काएर तान्ने सुरसारमा थिए। समय साँझ टरेर गाढा अँध्यारोतिर अभिमुख थियो। एक-एक सर्का पनि राम्रोसित तानिसकेका थिएनन्। पुलिसले ठाउँको ठाउँ झ्याप पार्यो।
दुई जना त पुलिसको पन्जाबाट फुत्किन भ्याइहाले। अँध्यारोमा उनीहरु चुरिया जंगलभित्र छिरे। पुलिसले पनि केही बेर त लखेट्यो। उनीहरुलाई भेट्ने आशा नरहेपछि छाडिदियो।
जुल्फीदास पनि सुरुमा त बेतोडसित भागेकै हो। तर पछाडिबाट उसलाई लघार्ने पुलिस सारै कँडातिलो परेछ क्यारे! लखेट्दै जाँदा कसो-कसो उसको जुल्फीको जुत्तो समाउन भ्याइहाल्यो। जुल्फी खिचेपछि जुल्फीदास थचक्क भुँइमा बसेर आत्मसमर्पण गर्यो।
त्यस घडी जीवनमा पहिलो चोटि उसलाई आफ्नो जुल्फी उपर रिस उठ्यो। उसले मनमनै हिसाब लाग्यो- यति लामो कपाल नपालेको भए सायद पुलिसले मलाई समात्न सक्दैन थियो होला।
उसको अर्का मित्र चाहिँ पुलिसले खेद्दै गर्दा बगरमा अचानक पछारियो। अँध्यारोमा अन्धाधुन्द दौडिँदा दाहिने खुट्टाको बुढीऔँलो ढुंगामा ठोक्कियो। र, जमिनमा ड्याम्म पछारियो। सोही घडी पुलिसले झम्टा मारिहाल्यो। ऊ फेरि सामान्य भैँसी गोठालोको छोरो थिएन। उसकी आमा नगरपालिकाकी उपमेयर थिइन्।
उपमेयरको छोरो भोलिपल्टै छुट्यो। छुट्यो भन्दा पनि उसकी आमाले नै आफ्नो शक्तिको प्रयोग गरेर छुटाइन्। तर त्यो निरीह जुल्फीदास पन्ध्र दिनसम्म हिरासतमा थुनियो। मित्रकी आमाले सारा दोष र कसुर उसको थाप्लोमा थुपारेर छोरो रिहाइ गरेकी थिइन्। पुलिसले पन्ध्र दिन लगाएर मिहीन अनुसन्धान गर्यो, जुल्फीदास गाँजाको नवअम्मली त हो नै तर पेशेवर गाँजा कारोबारी होइन भन्ने कुरा ठहर गर्यो।
जुल्फीदासकी आमा आफूले भोट हालेर जिताएको सभासदको घरदैलोमा धाइन्। रोइन्, कराइन् कसरी हुन्छ छोरो झिकिदिनु पर्यो भनिन्। नभन्दै ऊ पन्ध्र दिनपछि हिरासत मुक्त भयो।
सिठ्ठा सिद्रो सुके सरह दुब्लाएर निस्क्यो। उसको सप्तरंगी जुल्फीमा पुलिसले फेदैबाट कतर्नो लाइदिएको थियो। गरैगरा परेको टाटेपाङ्ग्रे छिमलिएको टाउको लिएर ऊ घर आयो। टाउकामा जुल्फी नभएपछि ऊ श्रीहीन बन्यो। मानौं उसको शोभा हराएको थियो। श्रृंगार लुटिएको थियो। पहिचानविहीन बनेको थियो। उसले शीर उठाएर कसैको अनुहार हेर्ने आँट गरेन। त्यसपछिका तीन महिनामा घर आँगनीमै रह्यो।
शीरमा कपाल बढ्दै गएपछि उसको मनोभाव विस्तारी तङ्ग्रिँदै गयो। जुल्फीको झुत्तो फेरि लहलह भएर टाउकोमा झुण्डिएपछि ऊ पूर्णरुपेण स्वस्थ बन्यो। ज्यानमा मनमा एक स्फूर्तिको उल्लास छायो। मानौं अब उसको ढलेको शीर फेरि उठ्यो। शिशिर याममा उजाड बनेको वन वसन्तको पालुवाले चिउचिउ बनेजस्तै उसको मनमा पनि वसन्त छायो।
अवचेतन मनमा जरा गडिसकेको आदत न हो, फेरि उसले पुरानै संगत खोज्न थाल्यो। बाबु-आमालाई आशा थियो, अब चेत्यो होला। पक्कै आफ्नो आनीबानी सुधार्छ होला। केही न केही गरिखाने बुद्धि पलाउँछ होला।
त्यसो भएन। मातापिताको पवित्र भावनामाथि फेरि तुषारापात भयो। फेरि पनि उसको ध्यान जुल्फीकै सेवासुसारतिर खिचियो। जुल्फे ग्याङ्मै रमाउन थाल्यो। पुलिसको रामधुलाइले विगलित बनेको मन विस्तारै तङिग्रदै गयो र अहममा फर्कियो।
शारदीय नवरात्रको सुरुआत भैसकेको थियो। प्रकृति विछट्टै सुन्दर बनेको थियो। खोलाहरु सङ्लिएका थिए। आकाश खुलेको थियो। दशैँको चहलपहलले गाउँमा एक अभिनव रौनक ल्याइसकेको थियो। गृहस्थी गार्जनलाई कसरी दशैँ टार्ने हो, चिन्ताले मात्र छोपेको थिएन। दशैँ तयारीको काम सक्नुको हतारो पनि त्यतिकै चर्को थियो। गच्छे अनुसारको किनमेल र खर्च व्यवस्थापनको लेठो चलिरहेको थियो।
जुल्फेकी आमाले बडा दुःख गरेर दुईटा खसी पालेकी थिइन्। एउटा दशैँको लागि पालेकी थिइन्। अर्को दशैँकै बेला बेचेर लुगाफाटोको उधारो तिर्ने, फेरि नयाँ लुगा झिक्ने, नुन मसला, चिनी, तेल साबुन जस्ता सामाग्री जुटाउने र टीकारी खर्च टार्ने योजना थियो।
सोह्रश्राद्ध लागेपछि बुधबारे हाटमा खसी लिएर गए बुढाबुढी। राम्रै दाममा खसी बिक्री गरे। तिरोभरो र किनमेल नौरथा लागेपछि गर्नुपर्छ भनेर बजारबाट फर्किए।
नवरात्रको तेस्रो दिन फेरि बुधबारे हाट लाग्नेवाला थियो। सोही हाटलाई पर्खिबसेका थिए दम्पत्ति। तर जुल्फीदासले नवरात्रको दोस्रो दिनै आमाको कन्तुर खोलेर खसी बेचेको पैसा उडायो। र सोही दिन साथीसित महँगो ब्रान्डको मोबाइल फोन किन्यो।
बर्खाभरि दुःख गरेर दशैँ मान्न जुटाएको पैसा छोराले त्यसरी फुर्मास गरिदिएपछि उनीहरुको मुटु छियाछिया भयो। आफैँभित्र आग्नि ज्वाला दन्क्यो। के गर्नु न कसो गर्नु उनीहरु किंकर्तव्यविमूढ बने। तै पुलिसलाई पक्राउ गर्दा पो पैसा फिर्ता होला कि भनेर छोरालाई पक्राए।
पसलमा गएर किनेको भए पो फिर्ता हुनु, जुन साथीसित किनेको थियो ऊ पैसा लिएर भागिसकेको थियो। कहाँ छ बेपत्ता थियो। दशैँले दिनपर दिन छोपीसकेको थियो। दशैँको मुखमा छोरालाई पुलिस हिरासतमा राखी राख्न पनि मनासिव लागेन। आफ्नै पुर्पुरो ठोके। छोरो छुटाएर पसलमा बाँकी उधारो समान झिके। अपुग रकम ऋणपान गरे र दशैँ मनाए। यो पालीको दशैँ जुल्फीदासले नै खल्लो बनाइदियो।
***
जुल्फीदासले कुनैदिन बाबुआमालाई सुखशान्ति दिएन। कुन न कुनै हिसाबले ताडना दिइरह्यो। सामान्य किसान परिवारका बाबुआमाले ऊसित त्यति ठूलो आकांक्षा केही राखेका थिएनन्। छोरो सज्ञानी भएर कुनै कामको मेलोमेसो समातिदिए हुन्थ्यो, यति नै कामना थियो। खराब केटाहरुको संगत नगरे हुन्थ्यो यति नै चाहना थियो।
छोराकै पिरले बाबु भित्रभित्रै विचलित बन्दै गए। कतैबाट सोचेर ल्याउँदा पनि मनलाई विश्राम दिने ठाउँ नभेटेपछि उनी बेलाबेलामा मुर्छा खाने बिमारले पीडित बने। कसैले हृदयरोग लागेको भने। कसैले ब्लडप्रेसर बढेर यस्तो हुन्छ भने। कसैले मुटु रोग हो भने। औषधी उपचारको लागि पनि आर्थिक अभावले नै टाढाको अस्पताल जान सकेनन्।
बेलाबेलामा फेन्ट पर्थे। केही समयमा ब्युँझिन्थे। दुई/चार दिन ओछ्यान पर्थे। फेरि उठेर काममा जोतिन्थे। यही रीतले दिनहरु बितिरहेका थिए। फेरि पछिल्लो समय बेजोड सूर्तीवाज बनेका थिए उनी। राति पनि तीन/चार चोटि उठेर बेरुवा बिँडी उडाउँथे। उनीहरु फेरि अखजोड खरो सुर्ती खानुपर्ने। बिहानदेखि रातिसम्म चालिस/पचास खेप सुर्ती तान्थे।
कतिले उनलाई सुझाए- 'यो त अति भो। यही सुर्तीले पनि तिम्रो मुटु कलेजो उडाइसक्यो। यसरी नखाऊ।'
उनी भन्थे- 'आऽऽ खाइसार कि लाइसार मरेपछि लम्पसार! भन्छन्। अब के छोड्नु? यही धुवाँले त भित्रको आगो शान्त गरेको छ नि!'
भित्रको आगो भनेर मनको पीरलाई संकेत गरेका हुन्थे। छोरोले कुनै दिन बाबुको काम सघाएन। खेत जोत् आफैँ, भैँसी च'रा आफैँ, दुध खेप् आफैँ, घाँस काट् आफैँ, गोबर सो'र आफैँ। अनगिन्ती कामको चापले ऊ शारीरिक रुपमा पनि लेथ्नो हुँदै गएको छ। छोराको कारणले मानसिक रुपमा पनि थिलथिलो बन्दै गएको छ।
चैतको महिना थियो। प्रचण्ड घामका किरणले धर्तीलाई तिरमिर तिरमिर बनाएको थियो। बर्खे मकै छर्नको लागि ऊ खेत जोतिरहेको थियो। भित्रबाट अनयास भाउन्न छुटेर आयो। थर्र जिउ काम्यो। निधारमा चिटचिट पसिना निस्के। ऊ भुक्लुक्क खेतकै गरामा पछारियो। केहीबेरमा हुलुक्क रगत छादेर प्राणपखेरु फुस्स उड्यो।
घाटमा एकातिर बाबुको चिता जलिरहेको छ। अर्कोतिर जुल्फीदासको आफन्तीजन सित गलफत्ती चलिरहेको छ। गलफत्ती जुल्फीकै विषयमा छ। कपाल खौरिनमा ऊ आनाकानी गरिरहेकै छ। बाबु सधैँका लागि निदाइसके, उसलाई भने अझै जुल्फीकै माया छ।
'तँलाई बाउको माया छैन। यही जगल्टाको माया छ हगी! खुरुक्क पानीमा चोबलेर आइज। बाबुको किरिया गर्नु पर्दैन नराधम! कुकुर! कोखमा पनि कस्ता-कस्ता हरामी फल्दारान्,' गाउँका बडाउ पर्ने मान्छे यसरी पड्के, उसको जुल्फी लुछ्न पुगे।
रौद्ररुप धारणा गरेका बडाउको आक्रोश सुनेपछि ऊ जुरुक्क नदीमा गएर जुल्फी भिजायो। यसले थाहा पाएदेखि व्रतबन्ध बाहेक उसको कपालमा छुरा या ब्लेड परेको थिएन। केही क्षणमै उसको टाउको मुडुलो बनाइदिए। ग्रन्ज गरिएको पेन्ट उतार्न लाए। टाउकोमा सेतो धरो, जिउमा सेता कछाड कसेर क्रियापुत्री बस्यो।
आदतवश उसको हात घरी नै घरी जुल्फी मुसार्न टाउकोमा त पुग्छ। तर चिल्लो तालु भेटेपछि सरक्क आफ्नो ठाउँमा झर्छ। जुल्फीको झुत्तो आँखाबाट पन्छाउन बेलाबेलामा मुन्टो झट्कार्ने बानीले पनि छोडेको छैन।
उसले टाउको झट्कार्दा देख्ने मान्छे हाँसिदिन्छन्। ऊ लज्जाबोधले पानी-पानी हुन्छ। उसको आदत शरीरको भित्री पत्रमा कति सूक्ष्म रुपमा गाडिइबसेछ। आफैं अचम्ममा परेको छ। तेह्र दिनै किरियापुत्रीको एकान्तबासमा उसले आफूलाई अनेकौं आयामबाट अवलोकन गर्यो। आत्मसमीक्षा गर्यो। बुबा हुँदाको सहज सुखदेखि अब नहुँदाको कठिन दिनका कल्पित चित्रहरु आँखाभरि नाचे। ऊ सपनाको छाँगोबाट खसेर ब्युँझे जस्तो बन्यो।
तेह्र दिनमा किरियाकाजको कर्मकण्ड सकियो। त्यसको हप्ता दसदिनभरि घरबाट कतै निस्केन। घरमै झोक्रेर दिन काट्यो। आमाको शोकाकुल हृदय आँसु बनेर पोखिन्छ बेरी न बेरी। बाबुको मृत्युपछि आमाको अवस्था देखेर द्रवित बन्यो जुल्फीदास।
एकदिन आमालाई च्याप्प अँगालोमा बेरेर आँसुका लेग्रा पुछिदियो। आमा चिच्याएरै रोइन्। ऊ पनि सँगसँगै रोयो।
बाबु बाचुन्जेल उसको बुद्धिको बिर्को कहिल्यै खुलेन। बाबु बितेपछि जुल्फीदासको दिनचर्या नियाल्दा ऊ पहिलेको जुल्फीदास छैन। बिहान झिसमिसेमै ब्युँझिन्छ। भैँसीलाई खोलेकुँडो बसाउँछ। एक बाल्टिन दूध दुन्छ। गोबर घँसेटो गरेर दूध डेरी जान्छ। फर्केर तुरुन्तै घाँस काट्न खरबन उक्लिन्छ। दिउँसो पनि खेतीमै लहसिन्छ।
एकदिन छिमेकी बडाउले टिप्पणी गरे- 'बाउ गुर्क्यो, छोरा हुर्क्यो भनेको त्यही हो। हाम्रो जुल्फीदास सुध्रेको देखेको छौ। बाउ बाचुन्जेल कहिल्यै सुखशान्ति दिएन। अहिले हेर त कस्तो भा'को छ।'
सबैले होमा हो मिलाए।
अचेल जुल्फीदास दुई/दुई तीन/तीन महिनामा कपाल खौरिन्छ। उसलाई लामो कपालप्रति अग्घोर घृणा छ। जुल्फीदास नामप्रति नै घृणा छ। ऊ जुल्फीदासबाट राकेशराज हुन चाहन्छ। तर मान्छे उसलाई जुल्फीदास भनी बोलाउँछन्। उसलाई कतै नभएको रिस उठ्छ।
जीवनमै जुल्फी नपाल्ने संकल्प गरेको छ। कपाल एक इन्ची बढ्नु हुँदैन छुरा लाइहाल्छ। सधैँ उसको टाउको मुडुलोको मुडुलो रहन्छ। तर पनि उसलाई कसैले राकेशराज भन्दैनन्।
'मान्छे म मुडुलीदास भैसकेको छु। तर समाजका आँखा जुल्फीदासमै थीर छन्। अब मेरो हृदयमा जुल्फीदासप्रति साँच्चै नफरत छ। साँच्चै विरोध छ। यो कुरा किन बुझ्दैनन् हँ मान्छे।' एकालापमा घरिघरि चिच्याउँछ। तर उसको आहत वेदना कसले बुझ्छ र?
***
बाबुको मृत्यु भएको दुई वर्षपछि ऊ त्यो ठाउँको खाइनपाइन बेचबिखन गरेर सधैँको निम्ति बसाइँ हिँड्यो। एक त जति नै घामपानीमा रुझिभिजी सेकिएर काम गर्दा पनि खान/लाउन पर्याप्त उत्पादन दिएन त्यहाँको माटोले। अर्कोतिर जुल्फीदास नामको कालो कलंकले कहिल्यै पिछा गर्न छोडेन। ती दुवैबाट मुक्त हुन् उर्वर जमिनको खोजी गर्दै मधेश झर्यो।
त्यहाँ उसलाई कसैले जुल्फीदास नामले चिन्दैनन्। राकेशराज नामले ऊ परिरिचत छ। जुल्फीदासको कलंकबाट मुक्त भएकोमा ऊ खुसी छ। आनन्दित छ।