सरकारको फेरबदलपछि ‘अखिलेस’ मन्त्रीको जिम्मेवारीमा पुगे। उनको मन्त्रालयले हरेक वर्ष एकजना युवालाई ‘उत्कृष्ट युवा सम्मान’ द्वारा सम्मानित गर्दै आएको थियो। अखिलेसको पदबहालीसँगै सचिवजीले ‘उत्कृष्ट युवा सम्मान’ चयनको टिप्पणी फाइल पेश गरे।
मन्त्रीको बाहुली निसानसँगै डक्टर सुबोधको अध्यक्षतामा पाँच सदस्यीय निर्णायक मण्डल गठन भयो। निर्णायक मण्डललाई ‘उत्कृष्ट युवा सम्मान’ चयन सम्बन्धी कार्यविधि संशोधन गर्ने कार्यभार पनि थियो। बहस-छलफल सुरु भयो।
कतिपय सदस्यले संयुक्त राष्ट्रसंघले १५ देखि २४ वर्ष उमेर समूहकालाई युवा मानेको प्रसंग उठाए। फरक-फरक देशले फरक-फरक उमेर समूहकालाई युवामा राख्ने गरेको प्रतिक्रिया पनि आयो।
संयुक्त राष्ट्रसंघले सामाजिक परिस्थिति अनुरुप युवा उमेर परिभाषित गर्न सक्ने छुट दिएको विचार प्रकट भयो। अफ्रिकी मुलुक नाइजेरियाले १८ देखि ३५ वर्षकालाई युवा मान्ने गरेको प्रसङ्ग उठाउने पनि भए। पोटिला गाला, सुगठित जीउडाल भएकालाई मात्र युवा भन्नुपर्ने अभिमतसमेत प्रस्तुत गरिए।
यस बारेमा मन्त्री अखिलेसका आफ्नै धारणा थिए। उनले प्रतिभा चयन सम्बन्धी कार्यविधि तयार गर्दा निम्न विषय समेट्न निर्देशन दिए-
क) नेपालले १६ देखि ४० वर्ष उमेर समूहकालाई युवा मान्ने गरेको भए पनि राज्यको चौथो अंग प्रेस जगतले ६० वर्ष नाघेका नेताहरुलाई समेत युवा भन्दै आएको तथ्यलाई मध्यनजर गर्दै प्रतिभा छनौटमा उदारता देखाउने।
ख) युवा हुनुको तात्पर्य वैचारिक नवीनता एवम् गतिशीलता भएकोले जादू-टुना, अन्धविश्वास, भाग्यवाद तथा अलौकिक चिन्तनले ग्रस्त व्यक्तिहरुलाई सम्मानबाट बाहिर राख्ने।
ग) परिवर्तनगामी चिन्तनधाराबाट बिमुख व्यक्तिहरु छनौट प्रकृयाभन्दा बाहिरै रहुन् भन्ने विषयमा सजग रहने।
घ) ‘कस्तै कठिन परिस्थितिमा पनि हार नमान्ने, जनताको मुक्तिका खातिर विद्रोहको झण्डा उठाउने व्यक्ति नै सही मानेमा युवा भएकोले उमेरलाई भन्दा अग्रगामी सोच र कर्मलाई प्राथमिकता दिने।’
ङ) ‘उत्कृष्ट युवा सम्मान’ प्राप्त गर्ने व्यक्ति दार्शनिक बहसमा प्रवीण, जुझारु एवम् सामाजिक रुपान्तरणमा योगदान पुर्याएको हुनुपर्ने।
च) उपाधि विजेतालाई पाँच लाख नगद पुरस्कारसहित युरोप-अमेरिकाको भ्रमण गराउने।’
मन्त्री अखिलेसको मार्गदर्शनअनुसार कार्यविधि संशोधन भयो। संशोधित कर्यविधि बमोजिम बायोडाटा सहितको आवेदन आह्वान गरियो। टोल-टोल, वस्ती-वस्ती, गाउँ-सहर सबैतिर ‘उत्कृष्ट युवा सम्मान’को व्यापक चर्चा–परिचर्चा हुनथाल्यो।
लामा-लामा जुल्फी पालेका युवाहरुले छरितो ढाँचामा कपाल काटे। अजीवन दौरा-सुरुवाल लगाएकाहरुले टाई-सुट सिलाउन थाले। रामनामी बर्को ओढी हरेराम-हरेकृष्ण भज्दै आएका पण्डितहरुले कर्मकाण्डका पुस्तक थन्क्याई विश्व मानचित्रका विद्वान-दार्शनिकहरुको कृति खोजिखोजि पढ्न थाले।
प्रतियोगिताको सबैभन्दा बढी असर सौन्दर्य व्यवसायमा पर्यो। सौन्दर्य प्रसाधन उत्पादन गर्ने उद्योगहरुको भाउ बुलिस ट्रेण्डको सेयर मार्केटझैँ उकालो लाग्यो। ब्युटी-पार्लरहरुमा युवा-युवतीको थामिनसक्नु भीड हुन थाल्यो। जीमखाना र स्टिम वाथ सेन्टर खचाखच भरिए। युरोप-अमेरिकाको स्वच्छन्दतावादी हावामा कावा खाइरहेका युवा-युवती पनि प्रतिस्पर्धामा सामेल हुन नेपाल भित्रिए।
कार्यक्रमले आम युवा समुदायमा बेजोड उत्साह-उमंग थपिरहेको थियो। उल्लासमय वातावरणको बीच प्रतिभा चयन अभियान तीव्रता साथ अघि बढ्यो।
काठमाडौँमा ‘उत्कृष्ट युवा सम्मान’ चयन कार्यक्रम चलिरहेको थियो। त्यति नै बेला एकजना व्यक्ति त्यस्तो पनि थिए जसलाई उक्त रौनकले रत्तिभर छोएको थिएन। ऊ पहाडको शिखरमा बसी पेन्टिङमा रंग भरिरहेको थियो।
मानिसहरु उसलाई ‘अजेय’ नामले चिन्दथे। अजेय एकाग्र चित्तका साथ चित्रमा कूचि चलाइरहेको थियो। कलाको मर्म नबुझ्नेहरुलाई अजेयको पेन्टिङ दृष्टिविहीनले हात्तिको बयान गरेजस्तै थियो। उनीहरु अजेयको पेन्टिङमाथि आफ्ना-आफ्नै ढंगको व्याख्या-विश्लेषण गर्दथे।
टेलिभिजन पत्रकार अनुरागले चित्रकार अजेय र उसको अमूर्त पेन्टिङको बारेमा सुनेको थियो। ऊ गुमनाम चित्रकार अजेयको खोजिमा पहाडि यात्रामा निस्कियो।
तलदेखि माथिसम्म फुलैफूलका वृक्षले हराभरा पहाड। शिखरमा समथर मैदान। पक्षीको चिरविर गाना। चारैतिर अपार शान्ति। असीम गहिराइ दृष्टिगोचर हुने निलो आकाश। चौरको एक छेउमा खर र बाँसले बनेको सानो झुपडी। त्यही स्वर्गीय वातावरणमाझ पत्रकार अनुरागले पेन्टिङमा कूचि चलाउँदै गरेको अजेयलाई देख्यो। यात्रा अबधिमा उसले चित्रकार अजेयसँग सम्बन्धित मर्मस्पर्शी कहानी सुनेको थियो।
मानिसहरु भन्थे- ‘वर्षौं पहिलेको कुरो हो, पेन्टिङले अन्तिम रुप पाउँदै थियो, भयंकर ठूलो बाढी आयो। बाढीको बलबिच्याइँमा परी बसेको घर मात्र नभई अजेयको दशकौँको साधना क्षणभरमा माटोमा मिल्यो। तथापि उसले हार मानेन। ऊ तत्कालै त्यही स्वरुपको दोश्रो चित्र कोर्न थाल्यो। दशकौँ बिते। अहिले पनि ऊ दोश्रो पेन्टिङलाई कलाको उत्कृष्ट रंगहरुले श्रृंगारिरहेको छ। एउटा पेन्टिङका लागि यति धेरै मेहनत सायदै कसैले गर्दो हो।
ऊ भन्छ, सफलताको लागि जिद्दीपन जरुरी छ। एकदिन मेरो चित्र संसारकै सर्वश्रेष्ठ पेन्टिङ सावित हुनेछ।’
अनुराग खोज पत्रकारिता क्षेत्रको अब्बल टेलिभिजन पत्रकारमा गनिन्थ्यो। ऊ राज्यको आँखाबाट ओझेल परेका प्रतिभाहरुलाई खोजि-खोजि सार्वजनिक गर्ने गर्दथ्यो। अनुराग चित्रकार अजेय भएको झुपडीमा पुग्दा ऊ मेसिन जडित हातको मद्धतले पेन्टिङमा रंग भरिरहेको थियो।
अनुरागलाई देखेर अजेय मुसुक्क हाँस्यो अनि नजिकै आएर बस्न इसारा गर्यो। सामान्य शिष्टाचारपछि दुईबीच औपचारिक संवादको थालनी भयो। अजेयको संवाद गर्ने शैली अनौठो थियो। ऊ आफ्ना भनाइ लिखित रुपमा प्रस्तुत गर्दयो।
‘मानिस भन्छन्, तपाईं जिद्दी हुनुहुन्छ। सितिमित्ति अडान छोड्नु हुन्न। तपाईंमा कर्मप्रति अपार लगाव पनि छ। मानिसहरु तपाईंलाई आशावादको ज्युँदो मिसालका रुपमा लिने गर्छन्। तपाईंले पेन्टिङका लागि गर्नुभएको अथक परिश्रम प्रेरक किस्सा बनेको छ। तपाईंमा न कुनै अभिमान देखिन्छ, न विगतप्रति पछुताउ भेटिन्छ! आत्म विवेचनामा तपाईं आफूलाई कस्तो व्यक्ति हुँ भन्ने ठान्नुहुन्छ?’ पत्रकार अनुरागले प्रश्न तेर्स्यायो।
‘मेरो व्यक्तिगत शब्दकोशमा थकाइ भन्ने शब्दावली छँदै छैन भन्दा हुन्छ। लक्ष्यप्राप्तीका लागि एक हदसम्मको जिद्दीपना आवश्यक छ। जिद्दीकै कारण जीवनमा मैले अनेकौँ हण्डर-ठक्कर खाएँ। यातनाहरु भोगेँ। मेरा मेसिन जडित हात-खुट्टा त्यसैका प्रमाण हुन्,’ अजेयले लेखेर देखायो।
‘म सोध्नेवाला थिएँ, कृपया भनिदिनुस्, तपाईंको हात-खुट्टा मेसिनका कसरी भए?’
अजेयले एकपटक लामो सास फेर्यो। अनि लेख्न थाल्यो- ‘म युवा उमेरदेखि परिवर्तनका गीतहरु कुथ्थेँ। सङ्गीत भर्थें, गाउँथेँ। आजभोलि गर्दागर्दै मेरा गीत भुइँवर्गका जनताहरुको प्रिय गीत बने। मेरा गीत नगाइएसम्म पार्टी, सभा-सम्मेलन अधुरा मानिने गर्थे। मानिसहरु मेरा गीतमा उत्साहका साथ नाच्थे।
तर त्यही गीत मेरो जीवनको भयंकर ठूलो दुःस्वप्न बनेर आयो। अथवा यसो भनौँ, मेरो गीत-संगीतले सत्ताशीन वर्गको भोक-निद्रा हरण गरिदियो। उनीहरु मेरा गीतभित्र विद्रोहको ज्वारभाटा देख्थे। ज्वारभाटा विष्फोट भई अधिनायकवादी सत्ता गर्ल्यामगुर्लुम ढलेको सपना देख्थेँ।
परिणाम यो भयो कि, म गिरफ्तार भई सैनिक हिरासतमा राखिएँ। ममाथि हरेक रात भैँसी चुटाई हुने गर्दथ्यो। उनीहरु मलाई यातनारुपी अग्नि भट्टामा हालेर वरफझैँ पगाल्न चाहन्थे। शरीरमा बिजुलीको करेन्ट दौडाउनु नियमित रुटिनजस्तै थियो। ममाथि काँढावाल बुटहरु बज्रन्थे। औँलामा पिन रोपिन्थ्यो। ढुंगा फोरेजस्तै घुँडा र गोलीगाँठामा घन हिर्काइन्थ्यो। घन प्रहारबाट मेरा हात गोडाका कोमल हड्डीहरु धुजाधुजा भए।
सैनिकहरु संगीन ताक्दै विष्णु-विष्णु बोल् भन्थे। विष्णुका साक्षात अवतारलाई जदौ गर् भन्दै धम्क्याउँथे। प्रणाली विरुद्ध बगावत गर्ने छैन भनी सहीछाप गर्न फर्मान जारी गर्थे। म मर्न तयार थिएँ। तर आततायी सत्ताका सामु आदर्शको सौदाबाजी गर्न तयार थिइनँ।
यातना मेरो जीवनको अभिन्न हिस्सा जस्तै बन्यो। यस्तैमा एकदिन बेहोसीमै अस्पताल पुर्याइएँ। जब होस खुल्यो, मैले आफूलाई दुई खुट्टा र हात विहीन अवस्थामा पाएँ। केही समयको अन्तरालमा मेरो शरीरमा कृत्रिम हातगोडा जडान भए। त्यसपछि म मेसिनको मद्धतबाट चल्ने यन्त्र-मानव हुन पुगेँ।
लामो उपचारपछि दिमागी रुपमा त तन्दुरुस्त भएँ तर बोल्ने क्षमता प्राप्त गर्न सकिनँ। अर्थात म फेरि कहिल्यै बोल्न नसक्ने हुनपुगेँ। जनताको प्रिय गीत मेरा ओठको द्वारबाट अलविदा भैसकेको थियो। जति प्रयास गर्दा पनि म त्यो गीत गुन्गुनाउन सक्दिनथेँ। सक्थेँ त केवल सपनामा! म विपनाको धोको सपनामा पूरा गर्थेँ। गीत लेख्थेँ, गाउँथेँ। जनताहरु मेरो स्वप्निल दुनियाँमा छमछमी नाच्थे, पहिलेजस्तै!
‘जहाँ इच्छा त्यहाँ उपाय!’ सोचेँ, संसारमा कतिपय मानिस त्यस्ता पनि छन् जो मुखको बदला हातले बोल्छन्। कुर्लन्छन्, डुक्रन्छन्, गर्जन्छन्। अब म पनि ओठको बदला हात चलाउँछु। रंगको मसी चोब्दै देश र जनताको अजम्मरी चित्र-कविता कोर्छु। ‘तँ आँट म पुर्याउँछु’ भनेजस्तै महिनौँको कठोर साधनापछि म आफ्ना कृत्रिम हातको मद्धतबाट चित्र-कविता कोर्न सक्ने भएँ। अर्थात मैले एकै जन्ममा दुई फरक शारीरिक अनुभूति संगाल्न सफलता प्राप्त गरेँ।’
अजेयका कुरा सुनेर टेलिभिजन रिपोर्टरको आङ जिरिङ्ग भयो। परेली आँसुले भरिए। अनुरागले रुमाल झिकेर आँसु पुछ्यो।
‘कलामार्फत यतिको त्याग तपस्या गर्नुभयो। देशमा लोकतन्त्र आएको छ। कला मन्दिरको पूजारी बन्ने अफर आएन?’ भावुक आवाजमा अनुरागले सोध्यो।
‘पद-प्रतिष्ठा मेरो जीवनको आदर्श कहिल्यै रहेन। म यो देश समृद्धि र सफलताका रंगहरुमा रंगिएको हेर्न चाहन्छु। योभन्दा बाहेक मेरो कुनै महत्वाकांक्षा छैन,’ अजेयले भन्यो।
‘यतिखेर राष्ट्रिय रंगमञ्चमा के-कस्ता नाटक मञ्चन भैरहेका छन्, त्यसको जानकारी पनि छ कि?’
‘म त केवल आफ्नो पेन्टिङका बारेमा मात्र जानकारी राख्छु!’
‘अन्तिममा केही भन्न चाहनुहुन्छ?’
‘मेरो भन्नु यत्ति हो, जीवन क्षणभङ्गुर छ। कला जिन्दावाद! लङ लिभ द आर्ट! कलालाई सिरानीमा राखी महाप्रस्थानमा जान सकुँ’ अजेयले भन्यो।
वार्तालाप सकियो। पत्रकार अनुराग फेरि भेट्ने वाचासहित त्यहाँबाट निस्कियो।
त्यही साँझ अनलाइन मिडियाहरुले ‘उत्कृष्ट युवा सम्मान’ घोषणाको समाचार संप्रेषित गरे। सम्मान प्राप्त गर्ने ‘भाग्यमानी’ व्यक्तिको नाम थियो ‘अस्मिता।’ अस्मिता ‘उत्कृष्ट युवा सम्मान’ निर्णायक मण्डलका अध्यक्ष डक्टर सुबोधकी प्रेमिका थिइन्।