उज्यालो भइसके पनि उठ्ने चाहना छैन सुमीलाई। जिउ त्यसै त्यसै आलस्य लागिरहेछ। कोठाबाटै बाहिरको दृश्य देखिएको छ थोरै भएपनि। पर्दाको कुनाबाट देखिएको यो दृश्यले बाहिरको मौसम बताइरहेको छ। आकाश खुलेको छैन आज। आलस्यता अझै बढ्छ उसको।
यो आकाश काठमाडौंको होइन, युरोपको एउटा सहरको हो। तर आकाश त जुनसुकै महादेशबाट पनि उस्तै देखिँदो रहेछ। किशोरावस्थामा छँदा कति मोह थियो उसलाई युरोपको। त्यहाँ पाइला टेक्ने सपना सजाएरै उसका दिन बित्थे।
तर अचानक कलिलो उमेरमै समीरसँग भएको मागी विवाहले उसका सबै सपना चकनाचुर भएका थिए। आज परिस्थितिले उसलाई आफूले चाहेकै ठाउँमा डोहोर्याएको छ। तर पनि उसमा एक रत्ति खुसी छैन।
आज उसको डे-अफ छ। हप्तामा दुई दिन हुन्छ उसको डे-अफ। मन लागेको समयसम्म आराम गर्न पाउँछे ऊ यी दुई दिन। अरु दिन त ऊ यतिखेर हतारहतार पानी पिएर कामको लागि हिँडिसकेकी हुन्थी। सेकेन्ड सेकेन्डको महत्वलाई उसले राम्ररी बुझिसकेकी छे। एक सेकेन्डले गर्दा बस छुटेका कैयन् घटनाहरु छन्।
उठेर कफी बनाउँछे ऊ। अनि हातमा दुई टुक्रा ब्रेड लिएर घाममा निस्कन्छे। कफीमा चिनी धेरै भएछ। उसको आफ्नै मुख बिग्रियो। कफीको चुस्किले फेरि उसको मनमस्तिष्कलाई काठमाडौं नै पुर्यायो।
काठमाडौं छउन्जेल युरोपको सपना देख्ने ऊ, आजभोलि खाली आफ्नो मन काठमाडौं वरिपरि नै पाउँछे। कफीको गुलियोपनले फेरि उसलाई आफ्नै घरको सम्झना दिलायो।
'यतिखेरसम्म चिया पाकेको छैन? आठ बज्न लागिसक्यो। किन ढिलो गरेको?'
उसको सासुको सधैंका वाक्यहरु हुन्थे यी रुखा स्वरमा। घरभरि मान्छे हुँदा पनि सबै काम उसैले गर्नुपर्थ्यो। जम्मा एक्काइस वर्षकी थिई ऊ समीरसँग बिहे हुँदा। उसका दुवै नन्द ऊभन्दा उमेरमा जेठा थिए।
तर बुहारी हुनाकै कारणले उप्रतिको अपेक्षा धेरै हुन्थ्यो। घरका हरेक जमघट, पूजाआजा, चाडबाडहरुमा उसलै नै नोकर सरह काममा घोटिनु पर्थ्यो।
समीरले चाहेर पनि उसलाई सहयोग गर्न सक्दैनथे। उसँगै केही काम गर्न लाग्यो कि नन्दहरुले उल्लाइहाल्थे। यो सुन्नासाथ सासु आमाले समीरलाई रोकिहाल्थिन्। ससुरा बुबा त झन् केही बोल्नै सक्दैनथे।
अहिले युरोपको बसाइमा उसलाई रोकटोक गर्ने कोही छैन। बिहान सबेरै उठेर कुचो लगाउनु पर्दैन। चियानास्ता बनाएर कोठा कोठामा पुर्याउनु पनि पर्दैन। आफ्नो इच्छाले जे गर्दा पनि हुन्छ। जतिखेर गर्दा पनि हुन्छ।
तर पनि ऊ खुसी छैन। केही कुराको कमी महशुस भइरहन्छ। खुसी हुने मापदण्ड के के होलान्? ऊ छक्क पर्छे।
प्रशस्त आम्दानी छ उसको अहिले। स्वतन्त्रता पनि छ। मात्र खुसीको कमी रह्यो उसको जीवनमा। एकपटक वैवाहिक बन्धनमा बाँधिएपछि कुराहरु सधैंको लागि परिवर्तन हुँदो रहेछ। आफू अनुकूल अवस्थामा पनि विवाह अघि झैं स्वच्छन्द हुन ऊ सकिरहेकी छैन।
डे अफको दिन भएकाले केही नेपाली साथीहरु घुम्न जाने योजनामा छन्। तर उसलाई भने पटक्कै अपार्टमेन्टबाट निस्कन मन छैन। जब जब समीरको यादले सताउँछ, अरु सबै साथीहरुको साथ फिका लाग्छन्।
अरु दिन कामको व्यस्तताले समीरलाई भुलेपनि फुर्सदको समयले भने उनलाई भुल्नै दिंदैन। छुट्टीका दिनहरु उनलाई मिस गरेरै बित्छ सुमीको।
पहिले समुद्र हेर्ने ठूलो धोको थियो उसको। अहिले जताततै समुद्र देखेरै वाक्क हुन्छे सुमी। समुद्रका छालहरुमा रोमाञ्चकता होइन, विरहका स्वर सुन्न थालेकी छे उसले। आफू सँगसँगै ती छालहरु रोइरहेको भान हुन्छ उसलाई।
समुद्रको किनारमा आफ्नो सबैभन्दा नजिकको साथीसँग हात समाएर हिंड्ने उसको रहर नै कहाँ पूरा भयो र? त्यहाँ पुग्ने वातावरण बन्दासम्म त साथीको हात छुटिसकेको थियो। ऊ एक्लिइसकेकी थिई। या भनौं एक्लिने निर्णय गरिसकेकी थिई।
युरोप आएको एक वर्षसम्म त उसले समीरलाई वास्तै गरिन। गर्नै चाहिन। काममा व्यस्त भएकाले समय नपाएको बहाना बनाउन उसलाई सजिलो थियो। यसैगरी उसँग सम्पर्क कम गर्दै लाने उसले निश्चय गरेकी थिई।
सुरुका दुई वर्ष उसले खुबै ओभर टाइम काम गरेकी पनि हो। पैसा कमाउने मात्र उद्देश्य भए जसरी। विस्तारै यी कामहरुबाट पनि उसको मन अघायो। पैसा पनि कागजको खोस्टा मात्रै रहेको बोध भयो।
पैसाले खुसी किन्न सकिने भए उसलाई रोजगार दिने यी धनाढ्य युरोपियनहरु पनि त दुनियाँकै सुखी मान्छे हुने थिए। तर सुमीले बुझेकी छे यिनीहरुको दुःख र पीडाका कहानीहरु।
मान्छेले सबैलाई ढाँटेपनि आफैलाई त कहिल्यै ढाँट्न नसक्दो रहेछ। फेरि उसलाई आफू रित्तिए झैं लाग्न थालेको छ। केले केले डर लाग्न थालेको छ आफैंसित। खोक्रोपनको आभासले उसमा बेचैनी बढाएको छ।
समीरले लाख फकाउँदा पनि नमानेर ऊ साथीहरुको लहैलहैमा युरोप आएकी हो। उसलाई रोक्न समीरले जाने जत्तिको हतकण्डा अपनाएका हुन्। आफ्नो परिवारका सबै सदस्य बीच राम्रो समझदारी नहुँदा सुमीले विदेश जाने कुरामा जिद्धी गरेकी उनले बुझेका पनि हुन्। तर पनि उनले समन्वय गर्नै सकेनन्।
परिवारको माया एकातिर, श्रीमतीको माया अर्कोतिर। सबै नातासम्बन्धका आ-आफ्नै महत्व अनि जिम्मेवारी। बेला बेलाको तनावले समीरलाई पनि सोच्नै नसक्ने बनाइदिन्थ्यो।
समीरको माया त सुमीलाई पनि त्यत्ति नै थियो जति समीरलाई उसको। तर फेरि उसको घर, सासूससुरा अनि नन्दहरुको किचकिच सम्झिँदा उसलाई समीरदेखि नै वितृष्णा हुन थालेको थियो।
यी कुरा बुझेर पनि समीरका आफ्नै बाध्यताहरु थिए। परिवारको जेठो छोरा हुनुको नाताले उनले आफ्ना जिम्मेवारी निभाउनै पर्ने थियो। दुई बहिनीहरुको विवाह हुनै बाँकी थियो। त्यसमाथि आमाबाबुको जिम्मेवारी अनि सुमीको माया।
यी सब मिलाउँदा मिलाउँदै समीरको आफ्नै वैवाहिक जीवन धरापमा परिरहेको थियो। उनले यो कुरा बुझ्दासम्म सुमीले अरु नै निर्णय गरिसकेकी थिई।
सुमीलाई पनि ब्याचलरभन्दा अगाडि पढ्न विवाह नै बाधक बनिरहेको थियो। समीरप्रति अगाध प्रेम त थियो। तर घरपरिवारले उसलाई घरधन्दामै अल्मलाएर राख्ने नै जाल बुनेको थियो।
विवाह भएको चार वर्ष भइसकेको थियो। अब उसलाई आमा बन्नु पर्छ भन्ने दबाब आउन थालेको थियो। तर उसलाई त आफ्नो खुट्टामा उभिनु थियो। स्वतन्त्रता चाहिएको थियो।
छोराछोरी जन्माएपछि त ऊ झन् त्यही जालोमा फस्ने थिई। त्यसैले अगाडि पढ्ने बहानामा ऊ अरु केही साथीहरुसँग युरोप उडेकी हो। अमेरिकाको भिसा नलागेपछि यता कोसिस गर्नु उसको बाध्यता बनेको थियो।
उसलाई त जसरी पनि घरपरिवारको झन्झटबाट मुक्ति चाहिएको थियो। त्यसैले उसलाई फकाउने समीरको प्रयास लत्याइदिएकी थिई। नारी हठको अगाडि उनको पनि केही लागेन।
चार वर्षसम्म आफ्ना इच्छा आकांक्षा मनमै दबाएर राखेकी थिई उसले। कुनै पनि कुरामा उसलाई स्वतन्त्रता थिएन। न मन लागेको खान पाउने, न त लगाउन।
उमेरमा आफूभन्दा जेठा नन्दहरुलाई सधैं आफूभन्दा सानो जस्तो व्यवहार गरिन्थ्यो। उनीहरुलाई आफूखुसी लाउन खान पूरै छुट थियो।
यस्तो असमान व्यवहारले सुमी भित्रभित्रै आन्दोलित भएकी थिई। समीरलाई यो कुराको ज्ञान थियो तर चाहेर पनि सुमीको पक्षमा बोल्न सकिरहेका थिएनन्। जोइटिङग्रे कहलिने डरले।
कहिलेकाहीँ मायाभन्दा पनि दायित्व र व्यक्तिगत छवि हावी हुन पुग्दा रहेछन् जीवनमा। त्यस्तै भयो समीरलाई पनि।
लोग्नेस्वास्नी भएर पनि एकअर्काको पक्षमा बोल्न नमिल्ने। सँगसँगै हिँड्डुल गर्न पनि अनुमती माग्नुपर्थ्यो।
यस्ता कुरामा पनि आवाज उठाउन नसकेको कुरामा रिस उठ्नु स्वाभाविक थियो समीरसँग। उसका साथीहरु डेटिङका कुरा सुनाउँथे। ऊ भने घरेलु आइमाई बनेर बस्नु परेको थियो।
अहिले यी कुराहरु उसका स्मृति मात्र बनेका छन्। हो, उसले परिस्थितिसँग सम्झौता गर्न नसकेकी नै हो। समीरको प्रेमलाई अवमूल्यन गरेकी नै हो।
त्यतिखेर सही लागेको थियो युरोप आउने आफ्नो निर्णय। अहिले एकदम गलत लागिरहेको छ। मन नै खुसी नभएपछि त संसारको कुनै कुनामा पुगे पनि असन्तुष्टि नै हात लाग्ने रहेछ।
पश्चात्ताप हुन थालेको छ उसलाई आजभोलि। बिदाका दिनहरुमा आफ्ना गलत कदम कसरी सच्याउने भन्ने मात्र सोच आइरहन्छन्। समीरमा परिवर्तन आएको छ। सायद ऊ पनि सुमीको व्यवहारबाट दिक्क पो भए कि?
पहिले पहिले बारम्बार भिडिओ कल र मेसेज गरिरहने समीर आजकल गर्दैन। पहिले पहिले उसलाई मायाले सम्झाउँथे उनी। आजकल त्यो बोलीसम्म सुन्न पाउँदिन ऊ।
आफैले पन्छाउन खाजेको मान्छेलाई सम्झेर रुन्छे ऊ एकान्तमा। आफूप्रति उनको प्रेम घटेको आभास भएको छ उसलाई। समीरको याद यति धेरै किन आउन थालेको हो थाहा छैन उसलाई।
सायद यो युरोपियन भौतिकवादले उसलाई दिएको उपहार पो हो कि? सबै मान्छे सुखी छन् यहाँ। तर कोही खुसी देख्दिन ऊ। मेशिनको पछाडि दौडदा दौडदै ऊ आफै थाकेकी छे।
साँचो माया के हो भनेर बल्ल बुझे जस्तो भएकी छे। उसका साथीहरु नयाँ-नयाँ ठाउँ घुम्न जान्छन्। उसलाई पनि हिँड्न कर गर्छन्। उसलाई त यी सब बेकार लाग्छन्। किन होला? ऊ आफैं सोच्छे।
पोहोरको विश्वव्यापी लकडाउनदेखि उसको सोचमा परिवर्तन आउन थालेको हो। कोरोना भाइरसले निम्त्याएको कहरले संसारभरिका देशलाई गाँज्यो। विश्व ठप्प हुँदा उसको सहर पनि ठप्प थियो।
विधान भएको देशमा बसेकाले भाग्यले उसले त्यस्तो गाह्रो केही भोग्नु परेन। काममा नजाँदा पनि खातामा पैसा आइरह्यो। धनसम्पत्तिप्रति मोह त कमै भइसकेको थियो उसको।
यही समयबाट हो उसले समीरलाई बढी मिस गरेकी। उसलाई दिनभरि समीरको, उसको आफ्नो लोग्नेको याद आइरह्यो।
लकडाउनले दिनभरि अर्काको देशमा बाँधिएर बस्दा ऊ निसासिसकेकी थिई। स्वदेश फर्कने गुञ्जायस त थिएन नै। तर यो पटक उसले नै समीरलाई धेरै पटक अनलाइन सम्पर्क गरेकी थिई।
उता जेठी नन्दको विवाह भइसकेको थियो। कान्छीको भने कुरा पक्का भएपनि कोभिड-१९ को जोखिमले गर्दा रोकिएको थियो।
कोरोनाको जोखिम त बढेको थियो नै। कता-कता यो जन्ममा समीरसँग फेरि भेट नहुने पो होकि भन्ने शंकाले उसको मनमा घर बनाइसकेको थियो।
महामारीमा जे पनि हुन सक्थ्यो। जसको पनि ज्यान जान सक्थ्यो। यो नै उसको बेचैनीको प्रमुख कारण बन्न पुगेको थियो। त्यसैले समीरको माया एकदम खड्किन पुग्यो यो समयमा।
प्रथम लहर कम भएर जनजीवन पूरानै लयमा फर्कियो उसको सहरमा। ऊ फेरि व्यस्त हुन थाली। अन्तर्राष्ट्रिय उडानहरु खुलेनन्। स्वदेश फर्किने अवस्था रहेन।
उडानहरु सुचारु हुने बित्तिकै नेपाल फर्कने योजना त छ उसको। तर चाहेजस्तो त कहाँ हुन्छ र? मानव जीवन पो हो त! भगवानले पनि संघर्ष गराएर, पाठ पढाएरै छोड्दा रहेछन्।
केही महिनामै युरोपमा दोस्रो लहर सुरू भयो। लकडाउन भयो फेरि। धन्न! सरकारले जनताको जिउधनको सुरक्षाको लागि भनेर राम्रा-राम्रा नियम कानुन बनाएका छन् युरोपियन देशहरुमा।
सुमीले समयमै दुवै डोज भ्याक्सिन लगाइसकेकी थिई। तर नेपालमा त यस्तो सम्भव थिएन। उसका परिवारका सदस्यहरु कसैले पनि यो अवसर पाएका थिएनन्। आफू मात्र बाँचेर त के गर्नु!
सुमीलाई हरक्षण समीरकै चिन्ता हुन थालेको थियो। आमाबाबु लगायत सबै आफन्तका मायाले सतायो। किनकि कोरोनाको दोस्रो लहरले नेपाललाई गाँज्न बाँकी नै थियो। ढिलोचाँडोको कुरा मात्र त हो।
नभन्दै नेपालमा यो लहरले गाँजेका समाचारहरु आउन थालिहाले। समाचार हेर्न पनि मुटु बलियो पार्नु पर्ने अवस्था आयो। सामाजिक संजालहरु श्रद्धाञ्जलीले भरिन थाले।
प्रत्येक पटक मोबाइल खोल्दा आउने मुटु चिरिने खबरले एक, दुई दिन त उसले मोबाइल नै अफ गरिदिई। विदेशीएका नेपालीलाई त झन् यस्ता खबरले साह्रै नै मर्माहत बनाउँदो रहेछ।
सोमबारको रात थियो। कामबाट फर्किएर आउँदा ऊ थकानले चुर भइसकेकी थिई। छिट्टै निदाइहाली। बिहान उठ्दा रातिको भयानक सपनाले अत्तालिएकी थिई।
कताकता मनमा चिसो पसेको थियो। कहीँ कसैको बारेमा नमिठो समाचार सुन्नु पर्ने हो कि भनेर। ऊ बिउँझिँदा त्यहाँको चार मात्र बजेको थियो। नेपालमा त झन् आधा रात भइरहेको थियो। कसैसँग कुरा गर्नु सम्भव थिएन।
सपनाको स्मृतिले उसलाई नराम्रोसँग झक्झकाइरह्यो। कसैलाई केही नहोस् भन्ने नै उसको कामना थियो। नेपालमा बिहान हुने बित्तिकै उसले समीरलाई कल गर्ने प्रयास गरी। तर मेसेन्जरमा उनलाई अनलाइन देखिएन। ढुकढुकी बढ्यो उसको।
कामबाट मिल्ने हरेक ब्रेकमा उसको प्रयास जारी रह्यो। तर समीर अनलाइन देखिएनन्। अब उसले नन्दहरुलाई पनि फोन गर्ने कोसिस गरी। उनीहरु पनि अनलाइन देखिएनन्।
घरमा केही नराम्रो भएको पक्का भयो उसलाई अब। केहीबेरमै समीरका एक साथीले उनलाई ट्याग गरिएको पोस्ट देखियो सुमीको फेसबुक वालमा। उक्त पोस्टमा समीरको स्वास्थ्य जटिल भएको भन्दै स्वास्थ लाभको कामना गरिएको रहेछ।
पत्याउनै गाह्रो भयो उसलाई। आफ्नो माइतीघरमा सोध्ने बाहेक उसले केही उपाय देखिन। बल्ल उसको बुबाले बताउनु भयो साँचो कुरा। समीरको पूरै परिवारलाई कोभिड संक्रमण भएको रहेछ।
अरुलाई सामान्य लक्षण देखिए पनि समीरलाई सबैभन्दा गाह्रो भएर आइसियूमै राख्नु परेको रहेछ। कुरा सक्किन नपाउँदै उसको धैर्यको बाँध फुटिहाल्यो। उसले आफूलाई सम्हाल्नै सकिन।
छटपटीमै तीन दिन बिते। तीन दिन के भन्नु! तीन जुनी जत्तिकै भए सुमीलाई यी बितेका दिन।
चौथो दिन उसले बडो साहस गरेर समीरलाई फोन लगाई। फोन उठ्यो। फोन उठेपनि समीर सजिलै बोल्न भने सकेनन्।
सुमीले उनको श्वासबाटै थाहा पाइसकेकी थिई उनलाई बोल्न समस्या परिरहेको कुरा। यताबाट बोल्ने कुरा पनि केही थिएनन्। मात्र स्वास्थबारे जानकारी लिनु थियो।
सुमीका पनि बोली फुटेनन्। आँखाबाट आँसु बग्न थालिहाले। दुवैजना मौन भइदिए एकछिन।
एकछिनको मौनतापछि समीरले आफूलाई अहिले सुधार भइरहेको जानकारी दिए। उनको बोलीमा उनलाई कुरा गर्न गाह्रो भएको प्रस्टै सुनिन्थ्यो।
त्यही स्वर सुन्दा पनि सुमीलाई अर्कै जुनी पाए जस्तो भएको थियो। विगत तीन दिनमा ऊ आफै केयौं पटक मरेर बाँचेकी थिई।
'हजुरले मलाई आफ्नो बिमारीको बारेमा किन बताउनुभएन? के म पराई भएँ अब? उसले समीरलाई सोधिहाली।
यी प्रश्नहरुका जवाफ दिएनन् समीरले। बरु उल्टै सुस्तरी सुमीलाई सोधे।
'अब तिमी कहिले फर्कन्छौ? तिमीलाई जसरी भएपनि भेट्ने इच्छा छ। खै! हाम्रो भेट सम्भव होला त?'
'किन नहुनु? हजुरलाई केही पनि हुँदैन। भगवानमाथि विश्वास गर्नुस्। म छिट्टै आउँछु। थाहा छ? हजुरलाई भन्दा धेरै हतार छ मलाई। फ्लाइट खुल्ने बित्तिकै आइहाल्छु। जतिसक्दो छिटो हजुरलाई भेट्ने धोको छ।'
उसले भन्दै गई।
'म आफ्नै घर फर्कन चाहन्छु। मलाई एकछिन यहाँ बस्नु छैन अब। बाँकीको जीन्दगी हजुरलाई एकछिन पनि छोड्ने छैन। परदेश बसेर आफ्नाहरुको महत्व बुझिसकेँ।'
वषौंदेखिको मनको कुण्ठा पोखेपछि सुमीलाई अचम्मको आनन्द आयो। अब ऊ एउटै कुराको प्रतीक्षामा छे। नेपालको अन्तर्राष्ट्रिय उडान खुल्ने।
यो खबर सुन्ने बित्तिकै ऊ स्वदेश फर्किने छे। आफ्नो लोग्नेलाई भेट्न। आफ्नाहरुलाई भेट्न। अब एक्लिएर बस्ने छैन ऊ परदेशमा।
(यो लेख सेतोपाटीमा पहिलोपटक २०७८, असार ६ गते प्रकाशित थियो)