रहरहरु कुण्ठित पारेर
पीडाहरु मुटुभित्र दबाएर
खुसीहरु ओठमा छरेर
आँशुहरु परेलाले ढाकेर
विचारहरु शुद्ध पारेर
शान्तसँग ज्यूने ती
युग पुरुषलाई सलाम छ !
सम्बन्धहरु प्रगाढ बनाएर
सहयोगी भावनाहरु साटेर
मानव सेवाहरु बाँडेर
निराशहरुलाई उर्जा दिएर
अरुको जीवन बदलेर
निस्वार्थसँग ज्यूने ती
महान व्यक्तिलाई सलाम छ !
स्रोतसाधन किफायत गरेर
साधारण जीवन व्यतित गरेर
परिश्रमका कदमहरु चालेर
परिवार छिमेक सुखद राखेर
सबैको अनुकरणीय बनेर
गुणस्तरसँग ज्यूने ती
परोपकारी पात्रलाई सलाम छ !
राज्यको सेवाप्रदायक बनेर
सबैलाई ज्ञान सिपहरु बाँडेर
कमजोरहरुलाई हौसला दिएर
सेवाग्राहीको ढुकढुकीमा बसेर
सबैलाई बाँच्न सिकाएर
आत्मविश्वाससँग ज्यूने मेरा
आदर्श बुवालाई सलाम छ !