बा त हाम्रा देवता हुन्
उनका तिर्न सकिँदैन गुन
किनेर किन्न पाइँदैन
उनलाई केही चाहिँदैन
जे माग्यो ल्याइदिने
बा भन्नेबित्तिकै आइदिने
रुन लागे हँसाइदिने
ताली बजाएर गाइदिने
बा त हाम्रा देवता हुन्
उनका तिर्न सकिँदैन गुन
शिक्षा दिने उनैले हुन्
सधैँ परिवारको मात्रै धुन
काँधमा बोकी डुलाउने
हाँसि-हाँसि खेलाउने
बा त हाम्रा देवता हुन्
उनका तिर्न सकिँदैन गुन
चप्पल फटाएर हुन्छ कि
खाजा कटाएर हुन्छ कि
सन्तानलाई दिए सुख
आफूले गरे दुख
बा त हाम्रा देवता हुन्
उनका तिर्न सकिँदैन गुन
उनी खाली पेटमा
मुस्कुराउँछन् हाम्रो भेटमा
अझै खाली खुट्टामा
रहर छैन जुत्तामा
बा त हाम्रा देवता हुन्
उनका तिर्न सकिँदैन गुन
सन्तानले खाए पुग्छ
छोराछोरीले लाए पुग्छ
मुसुक्क मुस्कान पाए पुग्छ
सामीप्यमा आए पुग्छ
बा त हाम्रा देवता हुन्
उनका तिर्न सकिँदैन गुन
उनकै मिठो काख
चाहिँदैन अरुका लाख
बिगार गर्दा नि हाँसिदिने
सुकोमल माया गाँसिदिने
बा त हाम्रा देवता हुन्
उनका तिर्न सकिँदैन गुन
परिवार हाँसे पुग्छ
मनसँग मन गाँसे पुग्छ
आफ्ना लागि हेर्दैनन्
बोली कहिले फेर्दैनन्
बा त हाम्रा देवता हुन्
उनका तिर्न सकिँदैन गुन
भारी पनि बोके
हम्मर पनि ठोके
कहिले बने डोके
जागिर खाए ढोके
हाम्रै लागि के-के गरे
अप्ठ्यारोमा पनि परे
पहाडबाट बेसी झरे
मुग्लान तिर पनि सरे
बा त हाम्रा देवता हुन्
उनका तिर्न सकिँदैन गुन।