पिता धर्म: पिता स्वर्ग: पिता हि परमं तप:।
पितृ प्रितीमापन्ने प्रियन्ते सर्वदेवता:।।
सम्झना मात्र रहन्छ मानसपटलमा केही मिठा क्षणहरु, न्यानो र प्रेरणादायी स्पर्श, निशब्द आँखाको भाकामा बोलिरहेको लाखौं आशिर्वाद र निर्देशन जसको महत्त्व बुझ्न र वयान गर्ने समय प्राय: हामीसँग कम नै हुन्छ, र कहिले काही ती निर्देशन र सुझाब हामीलाई अनावश्यक पनि लाग्ने गर्छन्।
जिन्दगी जिउन मात्र यति धेरै भागमभाग किन गर्छौ हामी, जसले हाम्रा नाता, सम्बन्ध र आफन्तको साथलाई टाढा गर्दै गई रहेको हुन्छ। तछाड र मछाडको जिन्दगी जिउनु हाम्रो बाध्यता हो वा रहर हामीलाई थाहा पाउन पनि आवश्यक लाग्दैन र समयमा नै सबै कुराको महत्व बुझ्न गाह्रो मात्र होइन तत्परता नै हुँदैन हामीमा।
अनाशय नै कुनै बेला विगतलाई नियाल्दा कति मिठा र कतिपय तिता पल र सम्बन्धको अनुभव नभएको होइन हामीसँग, ती सम्बन्ध र सम्झना नै हाम्रा आगामी दिनका लागि अनुभवको पाठ हुन्छन् भने वर्तमानमा समय परिस्तिथिलाई सहज बनाउने गोरेटो।
कुशेऔंसीको पुनित दिन बुवाको सम्मान दिवस पनि हो। आज बुवाको मुख हेर्ने दिन अर्थात कुशे औंसीका दिन फरक फरक किसिमले आफ्ना मान्यजन पिता जुन सबै नातामा सर्बोपरि, उच्चारण र भावनात्मक रुपमा गहिरोसँग जोडिएको छ।
यसलाई हामीले आफ्नै शैली र परम्पराले मनाईरहेका हुन्छौं। पवित्र वनस्पति कुश कुशेऔसीमा भित्र्याइन्छ र त्यस दिन भित्र्याइएको कुश एक वर्षसम्म पवित्र मानिन्छ। यदि कुशे औशी सोमबारका दिन परेको रहेछ भने त्यस दिन भित्र्याइएको कुश बाह्र वर्षसम्म पवित्र मानिन्छ। कुश एउटा धार्मिक अस्स्था बोकेको धारिलो घाँस हो, जून सांस्कृतिक रूपले पनि उतिक्कै बहुमुल्य छ।
सनातन धर्मका हरेक पूजाआजा, कर्म काण्डमा कुश अत्यावश्यक बनस्पति हो र यसको प्रयोग अनिवार्य रूपले गरिन्छ। कुशलाई भगवान बिष्णुको प्रतिकका रुपमा लिइन्छ। कुशमा सम्पूर्ण देवताहरुको बास रहेको हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ।
ब्रह्मा, बिष्णु, महेश कुशको फेदमा, मध्यमा र अग्रमा रहनु हुन्छ भन्ने धार्मिक भनाई पनि रहेको पाइन्छ। विश्वका सम्पूर्ण धर्मको मर्म भित्र पस्दा सबै पूर्वीय दर्शनबाट अनुप्राणित पाइन्छन्। पूर्वीय दर्शनको मूल स्रोत ‘वेद’हो। वेदको शब्दार्थ ज्ञान हो। वेद अनादि मानिन्छ। अपौरुषेय अर्थात् परमात्माको श्वास बाट प्रादुर्भाव भएको हो भनिन्छ। वेदबाटै निर्देशित छौं हामी।
वेद भन्छ:-
मातृदेवो भव,पितृदेवो भव, गुरुदेवो भव,अतिथिदेवो भव आदि।
पक्ष दुइटा हुन्छन्: १-कृष्णपक्ष, २-शुक्लपक्ष
कृष्णपक्ष पितृकोप़क्ष हो।शुक्ल पक्ष देवपक्ष हो। पितृकार्य कृष्ण पक्षमा र देवीदेवताको पूजन अर्चन कृष्ण पक्षमा गरिन्छन्। तदनुरूप पितृ सम्मानको विशेष दिन ‘बुवाको मुख हेर्ने दिन’ भाद्र कृष्ण औंसी हो। यस पर्वमा बुवाको जीवित अवस्था भए फलफूल,मीठो खाने कुरा अर्पित गरेर सम्मान गरी आशीर्वाद लिइन्छ। दिवङ्गत अवस्थामा तीर्थमा वा घरमै श्राद्ध तर्पण गर्ने गरिन्छ। विश्वका जुनसुकै जातजातिले पनि मातृपितृ सम्मान दिवस मनाउने गरेको पाइन्छ।
मैले धेरै लामो समय यस शब्दको उच्चारण र आशिर्वाद प्राप्त गर्ने सौभाग्य पाएन तर मेरो मानसपटलमा आफ्ना पितासँग जोडिएको धेरै मिठा र ममतामयी सम्झना आज पनि हिजो जस्तै ताजा छन्। प्राय: सबैसँग बालापनदेखि बयस्क हुन्जेलसम्म आफ्नो आमा बुवासँग बिताएका कतिपय अविस्मरणीय सम्झनाहरु पक्कै पनि हुन्छन्। जुन हाम्रा लागि जीवन पर्यन्त अमूल्य हुन्छन र कहिले त ती प्यारा सम्झनाहरु जीवनका कठिनाईलाई रमणीय र सजह बनाउन पनि ठूलो भूमिका खेल्ने गर्छन्।
असहज परिस्तिथिमा प्रेरणादायी बन्छन् बिहानको झिसमिसेमा चियासँगै सुरु हुने बुवा छोरीको बार्तालाप, बुवाबाट पाएका सुझाव, निर्देशन र सल्लाहको अनुभूति आज पनि मनन गर्दै, बेला बेलामा अनुसासित बनाउन खाएका कतिपय झपार मलाई झस्काउन सँगै हिनिरहेका हुन्छन्।
सदैव मनमा भाव र माया नभएको त होइन तर आज विशेष दिन भनेर मनाउनाले, मलाई पनि आज आफ्नो पिताको अन्तिम स्पर्शको धेरै सम्झना आयो, विवाह पछि म पहिलो पटक आफ्नो घर ‘माइती’ गएकी थिएँ।
पन्ध्र दिनको बसाई पछि जब म आफ्नो कर्मघर फर्किने तयारी गर्दै थिएँ, बुवाले मेरा आवश्यकताका सम्पूर्ण सरसामानको चाँजो पाँजो यति उत्सुकता र स्नेहले मिलाउनुभयो जसको आभासले मात्र आज पनि मेरो मनमा असंख्य भावहरु उकाली ओराली लाग्छन्। म ती भावलाई जस्ताको तस्तै स्थिर राखेर लामो समयसम्म त्यसको अनुभुति गर्न खोज्छु तर आज उहाँ हामीबीच नहुँदा शब्द र लेखनमा बयान गर्न नसकिने ती मिठा स्नेही अविस्मरणीय पलहरुलाई संगाल्नुबाहेक अरु बिकल्प छैन।
थाहा थिएन त्यो मेरो उहाँसँगको अन्तिम भेट हो तसर्थ अनुभवले मान्छेलाई परिपक्व बनाउँछ भने झै त्यो अन्तिम भेटले आज पनि पितृस्नेहको आभास गराईरहन्छ र हरेक सम्बन्धको महत्वलाई बेलामा नै बुझेर जिवन जिउन र नातासँग जोडिएको हाम्रो ब्यवहार र कर्तव्यलाई समयमै सँगालेर राखन् सक्नु नै जीवन जिउने एउटा उत्तम कला हो भनेर बुझ्न हामी हरेक सन्तानका लागि आवश्यक रहेछ।
जसको बारेमा सम्पूर्ण ज्ञान हुदाँहुँदै पनि अनेकन कारणवस् हामी आफ्नो कर्तव्य र व्यवहारबाट बिमुख हुन पुग्छौ। त्यो पल र भेट मेरो लागि अन्तिम हो भन्नेबारे अनभिज्ञ म फेरि भेट्ने सपना र वाचा लिएर बिदा भएकी थिएँ।
अन्तिम भेटमा भएको कुराकानी, व्यवहारिकताले मलाई आजसम्म आहत बनाउन पुग्छ। जसरी बाल्यवस्थामा हामी हाम्रा अभिभावकका लागि महत्वपूर्ण दायित्वमा पर्थ्यौ भने उहाँहरुको बृद्धवस्थामा सन्तानका लागि कुनै एक दिन मात्र नभएर हरेक दिन मातापिताको दायित्व सर्बोपरी राख्नु पर्ने मेरो मान्यता छ।
तसर्थ वर्षको कुनै एउटा विशेष दिनमा मात्र आमाबुवा प्रति कर्तव्य आदरको भूमिका निर्वाह नगरी जिवनपर्यान्त यस कर्तव्यको बोध हरेक सन्ततीलाई भएमा बृद्धाश्रमको संख्या र पीडित मन लिएर त्यहाँ जाने आमा बुवाको संख्यामा निश्चय नै कमी आउनेछ।