बाबा, हिजो म सानो छँदा हजुरले हात समाएर स्कुल पुर्याए जस्तै
आज मलाई त्यो सानो गल्ली पनि पार गराइदिनुस् न है!
हिजो त ठूला मान्छेका भिडबाट मात्रै बचाउनु भयो,
तर बाबा, आज मलाई नराम्रो दृष्टिले हेर्ने
त्यो हरेक नजरबाट बचाइदिनुस् न है!
मैले धेरै पढेका सपना देख्ने आँखाले,
आफ्ना लागि पनि केही सपना बुनिदिनुस् न है!
मेरा हातखुट्टा मात्रै खस्रा हुँदैनन् नि बाबा,
हजुरका त झन् वर्षौंदेखि निरन्तर चलिरहेछन्,
तिनका पनि थोरै हेरचाह गरिदिनुस न है!
सुन्छु, मेरा लागि निकै सपना देख्ने आँखाले
धमिलो देख्न थालेका छन् अरे,
आफूले जोगाएको पैसाको सानो बिटो,
मेरै कारणले झन्-झन् सानो बन्दैछन् अरे!
मेरा चाहना पूरा गर्दा-गर्दै,
आफ्ना चाहनाहरु दिनदिनै मर्दै छन् अरे!
हाम्रा लागि दरिलो पिल्लर बनेका ती ज्यान
दिनदिनै भस्किदै छन् अरे!
हामीलाई बाँच्न सिकाउने त्यो साहसले पनि
हिम्मत हार्दै छन् अरे!
तर बाबा, मेरा लागि सपना अझै पनि क्लियर कसरी देख्नुहुन्छ?
सकिएका ती पैसाका बिटा फेरि कसरी मोटो बनाउनुहुन्छ?
भस्किँदै गएको पिल्लर भए पनि हामीलाई तितरबितर अझै बनाएन!
गुम्दै गएका साहसका त के कुरा र बाबा,
एक श्वासले पनि करोडौँ हिम्मत थपिदिन्छन्
मैले सधैं स्पोर्ट सुज लगाको देख्दा रमाउने हजुरले
अझै कति वर्ष एउटै छालाको जुत्ताले पैताला पोलाउने हो र?
मैले सधैं मिठो-मिठो खाएको देख्दा अघाउने हजुरले
अझै कति प्याकेट उही सुर्तिले मात्रै तलतल मेटाउने हो र?
बाबा! बिन्ती अब,
मेरा लागि नयाँ सपना बुन्दा,
आफ्ना लागि पनि केही बुनिदिनुस् न है!
मेरा लागि नयाँ कपडा किन्दा, आफ्ना खुम्चिएका सर्टलाई नि
अर्को साथी खोजिदिनुस् न है!
मलाई जस्तै, हजुरलाई पनि मिठा खानेकुराको भोक हुँदो हो,
अब एकदिन सुर्तिले होइन, खानेकुराले नै भोक मेटाइदिनुस् न है!
बाबा! अत्ति भयो अब त,
म रोए जस्तै, म हाँसे जस्तै, म खेले जस्तै,
म हजुरसँग रमाए जस्तै, मैले पीडा पोखे जस्तै...
मसँग त्यो न्यानो अङ्गालो बेहिसाब फिँजाएर,
चाहेका, खोजेका, र रोजेका हरेक कुरा जोड-जोडले भनिदिनुस न है!