आज 'फादर्स डे' अर्थात् भाद्र कृष्ण पक्ष औँसीका दिने मनाइने कुसे औँसी, बुबाको मुख हेर्ने दिन। आज सम्पूर्ण बा-हरुको दिन।
ओभर्सटन स्कुलको प्राङ्गणको पछिल्लो स्टेजमा ठूलो अक्षरले लेखिएको ब्यानर छ-'ह्याप्पी फादर्स डे!' आज त्यस स्कुलमा ठूलो र भव्य कार्यक्रम छ। हुन त बर्सेनि सन्तान र परिवारको बोझलाई काँधमा बोकेर हिँड्ने बाका लागि भनेर एकदिन छुट्याएर मनोरञ्जन/आराम दिनु सामान्य कुरो नै हो। यही सामान्य कुरोलाई आज ओभर्सटन स्कुलले भव्य बनाउने प्रयत्न गरेको छ।
गेटभरि सजावट गरिएको छ। प्रवेशद्बारमा केही म्यामहरु बच्चा लिएर आएका बाहरुलाई स्वागत गर्दैछन्। आजको कार्यक्रम छ, बालाई ग्रीटिङ कार्ड (अभिवादन सहितको चिठी) प्रदान गर्ने र भोजन गराउने।
साना बच्चालाई काँधमा बोकेर, अलिक ठूलालाई हात समाएर, अझ ठूलालाई अंगालो मारेर बाक्लो संख्यामा बाहरु उपस्थित भएका छन्। बच्चाको जिद्धीलाई नकार्न नसकेका अधिकांश बाहरुको चेहरामा त्यहाँबाट निस्किएपछि कतिखेर काममा फर्किहाल्नुभन्दा बढी केही देखिएको थिएन।
स्टेजमा ग्रीटिङ कार्ड पढ्ने क्रम सुरु भयो।
'ह्याप्पी फादर्स डे ड्याडी! आई लभ यू सो मच' लेखिएको साहिलको कार्ड पढियो। अर्को कार्डमा थियो, 'बुबा, तपाई मेरो प्रेरणाको स्रोत हुनुहुन्छ। हजुरको प्रेमले सधैं सफलताको बाटोमा लाग्न डाढस दिइराखोस्। शुभकामना बुबा।'
परर... ताली बजेको स्कुलभन्दा बाहिरको सडकसम्म सुनिन्छ।
यो क्रम जारी थियो। अब पालो थियो, आमोलको। आमोल थिङ साउनमा नौ वर्षमा प्रवेश गरेको छ। छतेर्जे (न्वारन) सकेको दुई दिनपछि नै उसका बुबा परदेश पलायन भएका थिए। उसलाई त्यत्रो महंगो बोर्डिङ स्कुल पढाउन स्वदेशमा गरेको श्रमले सायदै पुग्थ्यो।
आमोल चार वर्ष पुग्दा उसलाई खेलाउने प्लेन र विदेशी मिठाई लिएर फर्केका बुबासँग पहिलो भेट भएको थियो उसको। केही महिना बुबासँग घुगुती खेल्न नपाउँदै फेरि, बुबा विदेश फर्किहाले। त्यसपछि उसको बुबासँग देखादेख भिडिओ कलमा मात्र हुन्थ्यो। यसपालि बुबाले आमोललाई साइकल किन्दिने भनेका थिए।
दुई महिनापछि देश फर्किएर छोरोलाई बा-स्नेह दिने उसका बुबाले वाचा नै गरेका थिए। तर दुई महिनासम्म बुबासँग बोलचाल नभएको र बुबाको मुख हेर्ने दिन आएकाले, 'ममी, बाबाले किन फोन नगर्नु भएको?' भनेर प्रश्न गर्दा हिजो उनकी आमाले, 'बाबा काममा व्यस्त होइसिन्छ, अझै केही महिना फोन गरिसिन्न' भन्दा चकित भएर चुपाचाप सुतेको थियो आमोल।
आमोलका मनमा कति धेरै अनुत्तरित प्रश्नहरु थिए। मुख्य प्रश्न- 'कस्तो विवशमा पर्नुभयो मेरो बाबा र फोन समेत गर्नुहुन्न?'
आज ऊ स्कुलको स्टेजमा छ, आफ्नो पत्र सहित। ऊ थरथर कापेको शरीर, निराशा फैलिएको चेहरा लिएर स्टेजमा पुग्यो, म्यामलाई आफ्नो कार्ड थमाउन।
कार्डमा केही लेखिएको थियो, 'बा- विवश!'
गर्दा गर्दै माटोमा आफ्नो पसिनाले सिँचाइ,
फोर्दा फोर्दै माटोका चपरी डल्लाहरु,
त्यही माटो एक टुक्रा जमिन बेची
किन बाटो लागे त, मेरा बा पर-देश?
- खुसी किन्न?
- सुख दिन?
- आश्रय खोज्न?
- श्रमदान गर्न?
अरबको चर्को घाममा डढेको छाला,
काम गर्दा गर्दै मेसिनमा काटिएको एक औंला,
विदेशी प्रहरीले बेलाबेला दिने चुटाइ,
व्यथा यी सबको किन पोख्दैनथे
बा कहिलेकाहीँ गर्ने फोन कलमा?
बा किन, म जस्तै गरी रुदैनथे?
एजेन्टलाई मोटो रकम दिएकै थिए,
परिवार पनि धानेकै थिए,
श्रमसँग खुसी किनेकै थिए,
देशप्रेमसँग रेमिटेन्स साटेकै थिए,
प्लेन टिकट पनि काटेकै थिए।
आखिर के गरेका थिएनन् बाले?
हुँदा हुँदै यत्तिसम्म,
परदेशबाट स्वदेश आउन
ए! सरकार
किन रोजे त मेरा बाले
फ्रोजन शरीर बोकेर फर्कने बाकस?
म-हरुले कहिलेसम्म हो
ए सरकार!
मनाउनु पर्ने हो कुसेऔँ सी, हेर्दै फोटोमा बुबाको मुहार।
हेर्दै फोटोमा बुबाको मुहार।