कोर्न खोज्छु सधै सधै
बुवा तिम्रा यादहरु
तस्विर भित्र नियाल्द छु
अमिट ती भावहरु ।। १।।
आमा बनी हुर्कायौ तिमीले
हात समाती लेख्न सिकायौ
अढाइ वर्षे अवोधलाई
मातत्वको लेप लगायौ ।। २ ।।
मन,वचन र कर्म सधै
एउटै हुनुपर्छ भन्थ्यौं
जस्तै विषम परिस्थितिमा पनि
हिमाल झै अटल भयौ ।। ३।।
एक चम्कीलो ऐना तिमी
तर कहिल्यै चर्किएनौ
आधीबेरी तुफानलाई
सुरक्षा कवज तिमी भयौ ।। ४ ।।
तिमी मेरो जीवनको
अनुशासनको मोहर थियो
परिश्रमि र समयको
अदश्य तिमी लगाम थियौ ।।५।।
रिस, राग र अहंकारको
अविनाशी तिमी ढाल थियौ
वात्सल्यको मिठो पहलहरुमा
नौनी झै तिमी नरम हुन्थ्यौं।। ६।।
मानिसहरुको भिडमा
एक्लो मेरो साथी थियौ
भीरमा अटकेको जीवनलाई
सुरक्षा कवज तिमी भयौ ।। ७ ।।
जीवनको परिभाषामा
तिमी मेरो व्याकरण थियौ
वेद, गिता र कुरानहरुमा
तिमी मेरो पुराण थियौ ।। ८ ।।