श्रीमान बेपत्ता भएको दुई दिन भएको थियो।
तेस्रो दिन एकाबिहानै फोन आयो, 'हजुरको श्रीमानको लास भेटिएको छ, सनाखतका लागि आउनु होला।'
एक्कासि आफूमाथि बज्रपात खसेझैं लाग्यो। म एक्कासि मौन भएर टोलाएको देखेर प्रश्न गर्ने साना छोराछोरीलाई जवाफ पनि फर्काउन सकिनँ। बस् मौन रहेँ एकछिन। आफूलाई सम्हाल्न खोजेँ।
एक मनले त हैन होला भनेर मनमा प्रश्न आउँथ्यो। छोराछोरीलाई खाना दिएर फुपूसँग राखेँ। आफू अस्पताल तिर लागेँ। श्रीमानको सासबिनाको लास देखेर मन थाम्न सकिनँ।
सबैतिर रुवाबासी चल्यो। व्यक्तिपिच्छे अड्कल काट्न थालियो।
'श्रीमतीले गर्दा त होला नि!'
अनि फलानो ढिस्कानो...।
उत्तर दिने न सामर्थ्य थियो न त समय।
आज खै किन हो विगतका पलको सम्झना आँखामा झल्झली आयो। म करिब १५ वर्षकी थिएँ होला बिहे हुने बेलामा। आफूभन्दा दस वर्ष जेठा श्रीमान पाएकी थिएँ।
बिहेसँगै नयाँ ठाउँ र नयाँ सम्बन्ध जोडिए- बुहारी, जेठानी, देउरानी, भाउजू, माइजू र नयाँ जिम्मेवारी पनि।
तर सबैभन्दा प्यारो लाग्ने नाता थियो श्रीमती। सानो छँदा बाबुआमाको सम्बन्ध देखेर म पनि कल्पना गर्थेँ श्रीमानको। श्रीमानसँगको त्यो प्यारो नाताको सधैं रहर थियो मनमा।
त्यतिबेला मेरा श्रीमान भनेर भन्न पाउँदा साह्रै खुसी लाग्थ्यो। एक किसिमको उमंग थियो ममा। समय बित्दै गयो अनि विस्तारै मेरो उमंग र कल्पनाको संसार धमिलिँदै गयो। जुन श्रीमानलाई मैले श्रीमान भन्न पाउँदा उमंग र खुसी थियो, ती श्रीमान त कहिले पनि मेरा रहेनछन्।
मबाहेक अरूसँगै उनको गहिरो नाता रहेछ भन्ने कुरा थाहा पाउँदा मन कटक्क खायो। सोच्थेँ, मैले कसको के बिगारेकी थिएँ र! मेरो हुँदाहुँदै पनि मेरा श्रीमान मेरा हुन सकेनन्!
कहिलेकाहीँ त्यही सम्झिएर भक्कानिएर अविरल आँसु बगाउँथेँ। साह्रै नराम्रो लाग्थ्यो। एकदिन त लाग्यो कि मैले यो जबरजस्तीको सम्बन्ध आखिर कहिलेसम्म कायम गर्ने?
घरमा बुबा-आमालाई कुरा राख्दा, उत्तरमा एउटै कुरा आयो, 'बच्चा भएपछि सबै कुरा ठीक हुन्छ।'
हुन्छ होला जस्तो पनि लाग्यो। आमाको सुझाव गलत होला भनेर कुनै प्रश्न जागेन मनमा। एक वर्षभित्र म एउटी छोरीकी आमा भएँ तर समय बित्दै गए पनि श्रीमान-श्रीमतीको सम्बन्धमा कुनै फरक आएन।
फेरि केही समयपछि दोस्रोपल्ट आमा बनेँ, एउटा छोराकी आमा। मलाई यी दुई बच्चामा संसार छ जस्तो लाग्न थाल्यो। श्रीमतीभन्दा प्यारो आमाको नाता हुने रहेछ भनेर लाग्न थाल्यो। म सन्तानहरूसँग नजिक हुँदै थिएँ अनि उहाँ टाढा।
बच्चाले सानैदेखि आफ्नो बुवा घरगृहस्थी मतलब नगरी अरूसित हिँडेको देख्दा के सोच्थे, मैले आकलन गर्न सकिनँ। ती कलिला मनमा यस्ता प्रश्न नआउन् भनी हरदम प्रयत्न गर्थेँ।
आमा भएर नै होला मनमा लाग्यो कि मेरा सन्तानले यस्तो भोग्नु हुँदैन। तर सबै त्याग गर्न पनि त सक्दिनथेँ। लेखपढ गरेको थिइनँ, कमाउन र गुजारा गर्न कुनै सहारा पनि छैन। कसरी पाल्ने बच्चा?
प्रश्न धेरै थिए र फेरि आँट गरेर बाबुआमालाई भनेँ, 'आखिर यसरी कहिलेसम्म बस्ने? मेरा सन्तानलाई मैले यसरी कहिलेसम्म हुर्काउने?'
यसपालि जवाफ आयो, 'नारी घरको इज्जत हो, नारीले घरको इज्जत जोगाउनु पर्छ। समाजमा श्रीमानको इज्जत बचाउनु पर्छ।'
यो मेरा लागि कुनै नौलो कुरा थिएन, माइतीमा पनि सानैदेखि देख्दै आएको कुरा थियो। पाँच भाइबहिनी मध्येकी म जेठी। सानो उमेरमा जिम्मेवारी धान्न सिकाइएको थियो। जीवन हो केही सहनै पर्छ, सधैं सोचेको जस्तो हुँदैन भनेर आफ्नो मन आफैं बुझाएँ।
कसैलाई केही भन्न पनि मन लाग्न छोड्यो। सकेजति सबै आफै सहेँ र एक्लै हुँदा आफैंलाई प्रश्न गर्न थालेँ- 'आखिर किन?'
र, मनबाट एउटा संकोचपूर्ण जवाफ आउँथ्यो- किनकि म नारी हुँ।
दिन बित्दै गयो, कुरा बिग्रिँदै गयो। १८ वर्षको त्यागपछि लाग्यो अब मेरो सहनशीलताको बाँधले थाम्न सक्दैन। तथापि श्रीमानप्रतिको सम्मान सद्भाव र माया कायमै थियो।
एकदिन बेलुका श्रीमान घर आउँदा केटाकेटी सुतेपछि डरका साथ हिम्मत गरेँ। आफ्नो कुरा राखेँ।
सुस्तरी भनेँ, 'म सक्दिनँ यसरी।'
उनीबाट कुनै जवाफ आएन। मनमनै सोचेँ, सायद सुनेनन् कि।
मैले फेरि सोध्न लाग्दा उत्तर आयो, 'हुन्छ।'
एकछिन अलमल्ल परेँ। आखिर यो हुन्छको अर्थ के? तर त्यो पनि सोध्न सकिनँ।
त्यो रात त्यस्तै बित्यो। कतिखेर निदाएछु पत्तै भएन। एकाबिहानै भोलिपल्ट उठ्दा उनलाई ओछ्यानमा देखिनँ। वर पर खोजेँ तर भेटिनँ।
त्यसपछि अहिलेसम्मका बिहानीसम्म म एक्लै हुन्छु त्यो ओछ्यानमा। लागेको थियो सायद अब केही पीडा कम हुन्छ होला। तर वर्षौंको सम्बन्ध एक्कासि छिन्नभिन्न हुँदा संसार नै विरक्त लाग्दो रहेछ।
उनी मेरा श्रीमान मात्र थिएनन्, हाम्रा सन्तानका बुबा पनि थिए। आखिर ती सन्तानको के दोष? आखिर यो सब उनले किन गरे? ममा केही कमी थियो कि? विगत १८ वर्षमा यो प्रश्नको उत्तर खोज्ने धेरै कोसिस गरेँ तर कहिले पाउन सकिनँ।
गाउँ, टोल, समाजमा 'श्रीमतीले गर्दा मरेको, श्रीमतीको अरू केही लसपस हुनुपर्छ अनि श्रीमानलाई असह्य भएर जीवन अन्त्य गरे होलान्…' यस्तै अनगिन्ती कुरा दुबो झैं फैलियो। ऊ बेलामा घरको इज्जत जोगाउन सल्लाह दिने आफन्त टाढिन पनि समय लागेन।
अब प्रश्न रह्यो- मेरो जीवन के? म अब के गर्ने?
यस्ता कैयौं प्रश्न उब्जिए। मेरो त केही बाटो नै रहेन। श्रीमान आफ्नो हुँदाहुँदै पनि आफ्नो नभएको पीडा त थियो नै, अब त श्रीमान नै नभएको पीडा थपियो।
घर समाजमा इज्जत जोगाउन भनी सबै सहेर बसेको म आज मै दोषी भएछु। आखिर इज्जत त मेरो रहेनछ। समाजको दोषी औंला त मैमाथि ठडियो। पुरुष प्रधान समाज भनेको सायद यही हो कि?
महिला धेरै सहनशील छन्, छैनन्? मैले ठम्याउन सकिनँ तर अब मेरो जीवन कसरी, कहाँबाट फेरि सुरुआत गर्ने, त्यो बाटो खोज्दैछु।
महिला अर्थात् नारी, कति धेरै नामले बोलाउँछ समाजले नारीलाई। कहिले माता, कहिले शक्ति, कहिल्यै लक्ष्मी त कहिले के। समाजमा परिवेश सुहाउँदो सम्बोधन छ।
नारी त्याग र बलिदानको मूर्ति भनिन्छन् तर आखिर किन? किन भन्छौं हामी त्यागको मूर्ति। केही वर्षअघि कृष्ण धारावासीले लेखे- नारीभित्र त्यस्तो के छ र हजुर? आखिर के छ त नारीमा? किन यति शक्तिशाली भनिएको छ नारीहरूलाई, यही प्रश्नको उत्तरको खोजीमा छु।
त्यागको मूर्ति भन्ने तर त्यागको अवमूल्यन गर्ने हाम्रो समाज र समाजका ज्ञाताहरूलाई म सोध्न चाहन्छु- के सिउँदोको सिन्दुर मेटिँदैमा नाता र सम्बन्धहरु मेटिन्छन्?
के रहेछ नारीमा महान् त्यस्तो, महान नै हुन् कि हामीले हुनुपर्छ भनेर सिकाएको? पुरुष प्रधान समाजमा कतै हामीले नारीलाई त्याग र बलिदान कि मूर्तिमै त सीमित गरेनौं?
(यो लेख सेतोपाटीमा पहिलोपटक २०७८, जेठ २७ गते प्रकाशित थियो।)