यसपालिको तीजमा भेट्न आउन सकिएन, नरोऊ आमा मलाई सम्झिएर
संसारको रीत हो छोरीले माइतीघर छाडेर जानुपर्ने, फेरि भोलिपर्सी हाँस्दै आउनु पर्ने।
पहिले-पहिले, पीडा र मर्काको कथा व्यथा पोख्ने पर्व हुन्थ्यो रे तीज
तर अहिले त सासू-बुहारी जेठानी सबैसँग सुमधुर सम्बन्धको हुँदैछ मीठो प्रित।
घरमै बसेर मीठो मसिनो गरेर दर पकाएर खुवाउने
आफन्तहरूसँग सधैं सहनशील बनेर आफू पनि रमाउने।
यसपालिको तीजमा भेट्न आउन सकिएन, नरोऊ आमा मलाई सम्झिएर
संसारको रीत हो छोरीले माइतीघर छाडेर जानुपर्ने, फेरि भोलिपर्सी हाँस्दै आउनु पर्ने।
दिदी बहिनी, आमासँग परदेशमा भए पनि आफ्नो मनको कुरा बाँडौंला
आ-आफ्नै घरमै बसेर खुसीले एकअर्कासँग एक थान अनुभव साटौंला।
झन् अहिले त सबैले आफ्नो मनको भाका पोख्न ठाउँ नै पाएकै छौं
मेसेन्जर ह्वाट्स एपमा भिडिओ कल गरेर मुहार हेर्न-देखाउन आएकै छौं।
यसपालिको तीजमा आउन सकिएन, नरोऊ आमा मलाई सम्झिएर
संसारको रीत हो छोरीले माइतीघर छाडेर जानुपर्ने, फेरि भोलिपर्सी हाँस्दै आउनु पर्ने।
आक्कल-झुक्कल सारी लाउने म, आमा हजुरले भनेझैं रातो सारीमा सिंगारिएको छु
आफ्नो विश्वासको लागि ब्रत लिँदै सदियौंदेखिको संस्कृति र परम्परा जोगाउँदै छु।
कोरोनाको कहर बुझेर कोठामै बसेर पूजाको सर-सामान भगवानलाई ठीक पार्दैछु
मन्दिर नै आफ्नो घरको पूजा कोठामा मौलिकताको गीत गाउँदै तीजको बत्ती बाल्दैछु ।।