चर्को घामको राप छेक्न झ्यालमा आधा पर्दा खसाउँदै लामो सुस्केरा लिएर कुर्सीमा बस्यो नालाताम्बी। ऊ श्रीलंकाको तामिल हो। रुप-वर्णले श्यामल, उचाइ र कद भने अलि सालाखालाभन्दा बढी नै हो।
नालाताम्बीलाई उसको तामिल भाषा बाहेक अङ्ग्रेजी कामचलाउ मात्र आउथ्यो। घामको राप उस्तै, त्यहीमाथि मनमा पिरोलो थपिएसी मानिसको शरीर कालो हुन बेरै लाग्दैन।
उसको अनुहारको भङ्गीलाई हेर्दै मैले उसलाई अङ्ग्रेजीमा सोधेँ, 'के भो भाइ? निकै चिन्तित देखिन्छस् त, सन्चो भएन कि के हो?'
उसले मतिर नहेरिकनै अङ्ग्रेजीमा बोल्यो, 'होइन, केही नि भएको छैन। त्यसै गर्मीले आलस्य भएको मात्र हो।'
ऊ घोसेमुन्टो लाएर नबोली झोक्राइरह्यो। आज सदाको भन्दा भिन्न थियो। अनुहारमा अनेकन सवालजवाफहरु सल्बलाएका थिए। मैले उसको मनोदशालाई नियाल्दै अङ्ग्रेजीमा भनेँ, 'हेर भाइ! मनमा कुराहरु गुम्साएर राख्नु हुँदैन, समस्या, दुःख साथीहरूलाई बाड्यो भने मन हल्का हुन्छ। ल भन् के समस्या भो तँलाई?'
उसले म तिर हेर्दै हल्का अनुहार बदलेर बोल्यो, 'त्यस्तो जटिल त केही नि होइन दाइ, तर सानो कुरोले नि कहिनेकाहीँ सारै चोट पार्दो रहेछ।'
ऊ पुनश्चः चुप भो। मैले फेरि उसलाई गाली गरेझैँ गरी भनेँ, 'हे कस्तो नाथु रछ! भन्न भए भन् नत्र मेरा सामु अँध्यारो नजर लाएर नबस्। मलाई मान्छेको अँध्यारो नजर देख्दा घृणा लाग्छ।'
उसले मेरो नजर तिर हेर्दै भन्यो, 'आ दाइ, तपाईंलाई सुनाएर के पो फाइदा हुन्छ र?'
मैले उसलाई रिसाएझैँ गरी भनेँ, 'ए त्यसो भए जान त बाहिरकी बिरालीलाई गएर सुना, पाङ्दुरे मोरा! हेर भाइ, सबै कुरामा फाइदै मात्र खोज्ने भए त यो संसार चल्दैन नि। कतिपय कुराहरु फाइदाका लागि भन्दा पनि व्यवहारका लागि महत्वपूर्ण हुन्छन्। हामीले आफ्ना अनुभव, दुःख, सुख साटासाट गरियो भने त्यसले नयाँ मार्ग तय गर्न, अर्थात् भविष्यको अनुभवको काम गर्दछ। जुन अनुभव हाम्रो जीवनको लागि काम लाग्दछ।'
उसले म तिर हेर्दै आवेशमा बोल्यो, 'यो मानिस जति खराब केही भएन। पशु प्राणीमा पनि एउटा सदस्यता हुन्छ। एकले अर्काको सहयोग र माया गर्दछ तर मानिसमा यो सबै हराएर गएको छ। मानिस नितान्त स्वार्थी भएको छ। केवल आफ्नो पेटको लागि मरिमेट्छ। कसैको एक औश भलो चिताउदैन र एक पैसाको भलो गर्दैन।'
मैले नि उसलाई उसै ठाडो जवाफ दिएँ, 'आफ्नो पेट मारी मारीकन केका लागि अर्काको भलो गर्न पर्यो त नि? तँ पनि त्यसै गर्न, अरुले जसो गर्छन्। किन बडो महात्मा बन्न पर्यो तँलाई? मुखमा माड छैन पिँधमा घिउ? हेर भाइ! यस्ता बकम्फुसे कुरा नगरेस् चाहिँदो र व्यवहारिक कुरा गर्। सित्तीमा टाउको दुखाउने काम नगर्।
स्वार्थी नभैकन, लोभ नगरिकन सबै कुरा आकाशबाट खसिदिए त कसलाई पो रहर हुन्छ र मनलाई सात ठाउँमा सिउने? यो लोभ स्वार्थ भन्ने कुरो नि नराम्रो होइन। मानिस स्वार्थी नभै सक्षम बन्न सक्दैन। जब प्रत्येक मानिस स्वार्थबाट सक्षम बन्दछन् तब मात्र समाज सन्तुलन हुन्छ। जब समाज सन्तुलित बन्छ तब स्वार्थ हराएर जान्छ। अभाव र गरिबीले मानिसको स्तर सृजना गर्दछ। जुन स्तरबाटै स्वार्थको सिढीँ सुरुआत हुन्छ।'
निन्याउरो अनुहार लाउँदै उसले म तिर हेर्दै कुरा सुनायो। उसको कुरा सुनिसकेपछि आफैँले ओकलेका बोलीले आफ्नै छातीमा गोली हानेझैँ भो। क्यान्डी (श्रीलंका को एक सानो गाउँ) मा उस रात उधुमैले पानी पर्यो। मुरागेसनको सानो घरको पातलो छानोले नथेग्ला झैँ भो। बाछिटा प्रशस्तै घरभित्र पसे। टुकीको मधुरो उज्यालोमा मुरागेसनकी श्रीमतीले केही बाछिटा छेकबार त गरिन् तर बिरामी परेको मुरागेसनको सिरानीमै तप्केको पानी भने छेक्न सकिनन्।
मुरागेसनको दायाँ हात दुखेको पनि लामै वर्ष भैसकेको हो। उपचारको घडी पर्खँदापर्खँदै सिकिस्त भएर थला परेको केही दिन भैसकेको थियो। तर पनि उसलाई बाध्यताले, अभावले थलिन दिएको थिएन। दिनहुँ तीन चक्केको इन्जिन चलाउँदाको असरले उसको हात दुखेको हो।
सारै पुरानो तीन चक्के गाडीको इन्जिनले काम गर्न छाडिसकेको थियो तर जसै मुरागेसनको परिवार पाल्नु छ, सोही बाध्यतामा इन्जिन पनि बिदा बस्न सकेको छैन। अर्थात् थोत्रिएर पनि चल्न बाध्य छ। लाग्छ यो इन्जिन र मुरागेसनले एकैदिन बिदा बस्ने सल्लाह गरेका हुँदा हुन्।
मुरागेसन उमेरले सत्तरी लागिसकेका हुन्। पातलो र अग्लो शरीर थियो। उनका दुई छोरीहरु मात्र थिए। जेठी छोरी रजनी र कान्छी छोरी चन्द्रानी। जेठी छोरी रजनीको बिहेदान दिएर एउटा नाति पनि थियो तर, मुरागेसनको बिरामीको एउटै मूल कारण थियो, थकित शरीरको एउटै मुल कारण थियो। उसलाई त्यो पानीझरिको अँध्यारो रात, तपक्निले भिजेको सिरानी, बिमारीले दुखेको शरीरभन्दा पनि ठूलो घाउ लागेको थियो। कान्छी छोरी चन्द्रानीको बिहे गर्न नसक्नु।
उसले सकि-नसकी भए नि मनको इख श्रीमतीका सामुन्ने पोख्यो, 'त्यस पापीका शाखा सन्तानलाई दुःख होस्। त्यसका छोरी पनि कसैले बिहे नगरून्। असत्ती मुर्दा, थुक्क बजिया! अलिकति धर्म र पापको ख्याल नभएको चुत्थो! एक छिमेकी भएर त्यसले गर्ने व्यवहार यस्तै हो? त्यसका चाहिँ छोरी छैनन्? भोलि त्यसले चाहिँ छोरीको विवाह गर्नु पर्दैन?'
श्रीमती लताले बर्को ओडाउँदै बोलिन्, 'होइन, अनाहकमा किन छिमेकीलाई गाली गर्नुहुन्छ? यस्तो अपशब्दले त आफैलाई पो पिरोल्छ भन्छन्। आखिर उसको के नै पो गल्ती छ र! अब कुटुम्बले नै नचाहेसी छिमेकीलाई दोष लगाएर के गर्ने? हाम्रो परिस्थिति बुजेपछि दाइजो आउँदैन भनेर उनीहरुले हामीसँग सम्बन्ध बनाउन नचाहेका हुन्।
त्यत्तिको केटोलाई चाहिँदो दाइजो दिने जति पनि पाइन्छन् भनेर केटाका परिवारले नै हात झिकेका होलान्। किन यसरी चिन्ता लिनुहुन्छ? हाम्री छोरीमा के नै कमि छ र! पढाइमा त्यत्रो डिग्री गरेको प्रमाण छ, रुपमा रुप छ, बान्की परेको जीउडाल छ। अर्को साल तिर त सरकारी जागिर पनि हात लाग्ला अनि त केको चिन्ता? सरकारी जागिरे केटी भनेसी लाइन लागेर आउँछन्।'
मुरागेसनले दुवै हातले श्रीमतीलाई लोपार्दै रिसाएर बोले, 'इस्! सरकारी जागिर खाई तेरी छोरीले! कुन तेरो ससुरो बस्या छ सरकारी जागिर दिनलाई? छोरी नाथुले जतिसुकै पढे नि के भो र, बाउले भरिपूर्ण दाइजो दिन नसकुन्जेल बिहे गर्दैनन् क्यारे! छोरीको उमेरले डाँडो काटिसक्यो, तीस वर्ष पनि काट्न लागी। यो श्वास छँदै यसको सिउँदोमा सिन्दुर देख्न पाए मेरो मनोकामना पूरा हुन्थ्यो।
तँलाई के थाहा त्यस मुर्दाले हाम्री छोरीको बारेमा कति कुरा पोल्यो भन्ने। हाम्री छोरीलाई त्यसले बैकल्य भन्यो रे, दुनियाँ नागा खेलाएर हिँड्छे भन्यो रे! मेरो शरीरमा तागत भए अहिले गएर त्यसको घाँटी ङ्याकेर आउँथेँ। के गर्नु एउटा घर बनाउन सकेको भए त्यही घर कान्छी छोरीलाई दाइजो दिन्थेँ।
यही घर पनि ठूली छोरीलाई सबै दाइजोमा दिएँ। उतिबेला बुद्धि पुगेन, यो घर आधा दिएको भए नि त हुन्थ्यो। अब अहिले आएर कसलाई के भनौँ? ज्वाइँ मरो त्यही हो, अलिकति कानमा चिसो लाग्नु हुँदैन। कुन दिन यो घरबाट निस्केर जा भन्ने हो। छोरी त आफ्नी होनि तर ज्वाइँ कहिले आफ्नो नहुँदो रहेछ के गर्ने!'
मुरागेसनको मस्तिष्कभरि पिर र चिन्ताको खात थियो। उसकी श्रीमतीले उसलाई थुम्थुमाउँदै अर्को पनि बर्को खाप्दै लेमफिल बत्ती सानो पार्दै सुतिन्। रातको दोस्रो प्रहर तिर पानी अलि बिदो भए झैँ भयो। मुरागेसनकी छोरी चन्द्रानीको लागि यो पाचौँ कन्यार्थ हो। भाटिकोलोबाट आएको थियो तर दाइजो राम्ररी नआउने भएपछि त्यस्ती सुशील चन्द्रानीमाथि नानाभाती लान्छना बोलेर गयो।
छिमेकी जति सबै मुसैमुसा भएपछि आफ्नो आँगनमा खाडल पर्नु अस्वाभाविक होइन पनि। मुरागेसनको धराप शरीरले, डिलैमा बसेको आत्माले, बादल लागिसकेका आँखाले कान्छी छोरी चन्द्रानीको सिउँदोमा सिन्दुर देख्न पाउने हो या होइन...! नालाताम्बी उठेर बाहिर गयो। म पश्चिमा अस्ताउन लागेको रातो घामलाई हेर्दै टोलाई रहेँ।