सुन्नुस् न,
किन मेरो चरित्रको कुरा गर्नुहुन्छ?
किन मेरो क्यारेक्टर सर्टिफिकेट बनाउनु हुन्छ?
किन सर्टिफिकेटमा आफैँ फेलको मोहोर लगाउनु हुन्छ?
किन मलाई बारबार गिराउनु हुन्छ?
मेरा हरेक चालचलन,
हरेक हाँसोका बहानाहरु,
साना-ठूला चाहनाहरु,
हिँडाइको गति,
नजानेर बिराएका मति,
सबैको हिसाब तपाईं किन राख्नुहुन्छ?
मैले बिराएको बाटोलाई,
मैले गरेको गल्तीलाई,
मलम लगाएर निको पार्नै लागेको घाउलाई,
तपाईं बारबार कोट्याइदिनु हुन्छ,
बारबार दुखाइरहनु हुन्छ,
किन?
होला मबाट केही गल्ती भयो होला,
के, कुन अवस्थामा, र कसरी
तपाईंलाई थाहा छ?
अहँ! तपाईंलाई सत्य थाहा पाउनु नै छैन,
तपाईं त आफै अनुमान लगाउनु हुन्छ,
अनुमानलाई सत्य पनि आफै बनाउनु हुन्छ,
अनि भन्नुहुन्छ फलानोकी छोरी, फलानी...
बारबार लगातार,
ब्याज-स्याजमा, किस्ता-किस्तामा,
प्रहार गर्नुहुन्छ मलाई,
प्रहार गर्नुहुन्छ मेरो इज्जतलाई,
कोट्याउनु हुन्छ सुक्नै आँटेको घाउलाई,
के एउटा गल्तीले,
दुखिरहनु पर्ने हो म सधैँभरि?
ब्याज-ब्याजमा किस्ता-किस्तामा?
के मारिहनु पर्ने हो मैले मेरा अबोध सपनालाई?
तपाईंको डरले,
तपाईंले के भन्नुहुन्छ भन्ने डरले,
समाजले के भन्छ भन्ने डरले?
ओ सुन्नुस्!
तपाईंको हितका लागि भन्दै छु
आफ्नै दिमागमा विष रोपेर
जिन्दगीमा खुसी फलाउन सक्नुहुन्न
मेरो पाइतालामा
काँडा बिझाउने उद्देश्य राख्दा
तपाईंको जिन्दगी नै काँडाले भरिएला
म त काँडामा टेकेर उभिएकी मान्छे
मलाई घोचाइको डर छैन
मेरो गल्ती म आफै हो
मेरो सुधार म आफै हो
मेरो कमाइ म आफै हो
मेरो खर्च, मेरो वचत म आफै हो
मेरो समय म आफै हो
तपाईं तपाईंको समय
आफ्नै जिन्दगीमा लगानी गर्नुस्।