पछाडिबाट कसैले बोलाउँदा छक्क परेर हेरिरहेँ। धेरै वर्षपछि अकस्मात बिहेको पार्टीमा भेटिँदा दुवैजना केही क्षण एकअर्कालाई हेरिरह्यौं। पहिला सुस्मिताले नै बोल्न सुरु गरी, 'तँ त कस्ती भइछेस् मोटाएर, पहिला त केटाजस्तै थिइस्। अहिले त चिन्नै पनि गाह्रो भयो एकछिन त।'
'तिमी पनि त अर्कै देखिएकी छयौ त, म मात्रै फरक देखिएकी हैन क्यारे। समयअनुसार सबै कुरा बदलिँदै जाने रहेछ।'
'बिसौं वर्षपछि आज सोच्दै नसोचेको कुरा पो हुन गयो! तँसँग भेट होला र यसरी धेरै वर्षपछि मनको कुरा बाडौँला भनेर त सोचेको पनि थिइनँ। आइज एकछिन छुट्टै बसेर गफ गरौं,' भन्दै हात समातेर कुनामा रहेको दुइटा कुर्सीमा बसेर भलाकुसारी सुरु गर्न थाल्यौं।
'के छ तेरो खबर? बिहे भएको कति भयो? बुढो कस्तो छ? माया गर्छ गर्दैन? छोराछोरी कति छन्?'
एकै सासमा सबै कुरो सोध्न भ्याइसकी, कस्ती आइमाई होली! कति चासो लागेको होला अरुको बारेमा! एक मनले भन्यो। अर्को मनले भन्यो कसै-कसैको बानी नै हुन्छ अरुको बारेमा चासो राख्ने झन् यो त मेरो बालसखा। त्यसैले पनि चासो राखेकी होली।
हत्तपत्त नबोली हाल्ने मेरो बानी भए पनि नबोली रहन सकिनँ। विस्तारै उसले सोधेको हरेक प्रश्नको जवाफ दिँदै गएँ। ऊ भने झनै उत्साहित उत्साहित भएर अरु कुरा पो खोतल्न थाली त।
'सासु-ससुरा कस्ता छन्? दाजुभाइ कति जना? संगोलमा कि भिन्दै बसेकी छेस? नन्द-आमाजू कति जना छन्? उनीहरुले तँलाई गर्ने व्यवहार कस्तो छ?'
अब उसको कुरो सुनेर पारा चढ्न थाल्यो। सबै चिनेजानेकालाई भेटेौंला पार्टीमा, रमाइलो गरौंला भन्ने थियो। आज कहाँबाट यस्तीको फेला परियो जस्तो लाग्न थाल्यो। रिस जति सबै दबाएर अनुहारमा कुनै मलिनोपन नदेखाई उसको प्रश्नको उत्तर दिँदै गएँ।
बाबुआमाले खोजेर दिएका मरनच्याँस ख्याउटे अनुहार अनि मभन्दा दुईबित्ता अग्लो हेर्दै बाँसमा खोल हालेको जस्तो देख्दा देख्दै पनि हुन्न भन्न सकिनँ। अझै बिहे गरेर जाँदा भित्रिएको पुरानो टायले घर, आफ्नो भागमा परेको एउटै कोठो, दुई-दुई जना छोराछोरी अनि बुढाबुढी गरी चार-चार जना एउटै कोठामा सीमित भएर बस्नु परेको, मात्र बुढोको जागिरको भर।
नन्द-आमाजूले लगाउने गरेका वचन, बुढाबुढी सासु-ससुराको हेरविचार, त्यसमा पनि बुढाबुढीको चित्त बुझाउन सकेको भए त? आफ्नै बुढो पनि एकोहारो कसैको कुरै नसुन्ने, रुखो बोलीको धनी, माया गर्न पनि नजान्ने सबै कुरो चलचित्र जस्तै भएर अगाडि आए। यी सबै कुरा एक-एक गर्दै अगाडि आए पनि उसलाई राम्रा-राम्रा कुराहरु मात्र भन्दै गएँ।
'मेहनती बुढो, संस्कारयुक्त घर, सम्पत्ति नभए पनि मनको धनी छौं हामी अनि छोराछोरीलाई उनीहरुको इच्छा पुराउन नसके पनि संस्कार सिकाएका छौँ। समाजमा केही योगदान दिन सक्नुपर्छ भनेर सिकाएका छौं। सोहीअनुरुप छोराछारी अगाडि बढेका छन्। अहिलेसम्म वैवाहिक जीवनमा कुनै ठूलो कठिनाइ आइपरेको छैन' भनिदिएँ।
उसले पनि मलाई 'निकै भाग्यमानी रहिछेस्, सबैकुरा भगवानले पुर्याइदिएका रहेछन्' भन्दै थिई।
अरुको कुनै वास्ता नराख्ने भएता पनि त्यसपछि मैले पनि उसको बारेमा नसोधी बस्न सकिनँ। बाहिर जति उज्यालो देखिए पनि उसले आफ्ना जीवनको अँध्यारो पाटो पनि खोल्दै गई। पहिलेदेखि नै धेरै बोल्नु पर्ने र साथीहरु सबैको बारेमा चासो राख्नुपर्ने भएता पनि सबैसँग हाँसीखुसी बोल्ने भएकोले सबै साथीहरुले उसलाई चिन्दथे।
स्कुलमा पनि सबै कुरामा उसलाई अगाडि देखिनु पर्ने थियो। कक्षा दशमा पढ्दापढ्दै उसले बिहे गरेको खबर आएको थियो। पछि विस्तारै उसको सम्झना हराउँदै गयो। आज एक्कासी ती पुराना सम्झनाहरु ताजा हुँदै थिए। अब बोल्ने पालो उसको थियो। माथितिर हेरेर लामो सास तान्दै ऊ भन्दै गई म सुन्दै गएँ।
दश कक्षा पढ्दापढ्दै उसलाई एउटा केटोले मन पराउन थालेछ। उसले पनि स्वीकृति दिएपछि अल्लारे उमेरमै विवाह भयो। ऊभन्दा केही वर्ष बढी उमेर भए नि पढाइ नसकिएको र आम्दानी पनि नभएकोले उसले बिहे गरेको केही समयमै उसको लागि एकमात्र गन्तव्य विदेश भन्दै विदेश तिर लाग्यो।
'भाग्यको खटन जो भनेर आएको उसैले छाडेर गयो। गएको केही समयमै मलाई जसरी पनि बोलाउँछु भनेर फकाइफुल्याइ गयो। जसरीतसरी दुई वर्ष एक्लै रोएर बिताएँ, त्यसपछि मेरो पनि भिषा लाग्यो। कल्कलाउँदो उमेरमा विदेश गएर मोज गर्ने कल्पना सहित म पनि विदेश तिर लागें।
सुरुमा त मलाई खाना पनि बनाउन नलगाई उसैले बनाउने, प्रत्येक हप्ता नयाँ ठाउँ घुमाउँदै लैजाने, धेरैजसो रेष्टुरेन्टमै खाना खाएर रमाइलोसँग दिनहरु बित्दै गए। करिब दुई वर्षपछि जब हाम्रो छोरी भई, त्यसपछि ऊ पनि विस्तारै टाढा हुन थाल्यो।
'अब छोरी पनि भएपछि खाने तीन जना भइसक्यौं, नाइट डयुटी गर्छु, केही बचत पनि गनुपर्छ, छोरीलाई राम्रोसँग पढाउनु पर्दछ, ठूलो मान्छे बनाउनु पर्छ' भन्दै गयो। मैले पनि अन्यथा लिइनँ। सुरु-सुरुमा त पैसा पनि मेरै नाममा जम्मा गरिदिन्थ्यो। 'नाइट ड्युटीबाट यति आएको छ' भनेर भन्थ्यो।
सारा संसार छोडेर उसकै भरमा यहाँसम्म आएकी म उसलाई आँखा चिम्लेर विश्वास गरेकी थिएँ। त्सपछि उसले यता कमाइ थोरै छ, केही टाढाको सहरमा गएर नयाँ काम पाएको र तत्कालै गएर सुरु गर्ने बतायो। उसले त्यहाँ गएर वातावरण मिलेपछि हामीलाई पनि उतै बोलाउनेछु भनेर हिंडयो।
त्यसपछि केही महिना सम्म नियमित पैसा पठाएपनि केही समयपछि काम नभएको बताउँदै पैसा पठाउन बन्द गर्यो। अनि हाम्रो दुःखका दिन सुरु भयो। अब एक्लैले कसरी छोरी हुर्काउनु, के गरी कमाउने, के खाने? सोच्दै दिनहरु बित्दै थिए।
एउटा ढोका बन्द भए भगवानले अर्को ढोका खोलिदिन्छन् भन्ने सुनेको थिएँ। नभन्दै त्यस्तै भयो। बुढाबुढी मात्र भएको घरमा उनीहरुलाई स्याहार सुसार गर्ने काम पाएँ। पछि छोरी र म पनि त्यही घरमा बस्न थाल्यौँ। जसले गर्दा बचत पनि राम्रै हुन थाल्यो। विदेशमा दश वर्ष काम गरेको पैसाले एउटा घडेरी किनेर दुई तल्ले घर बनाएर बसेकी छु।'
छोरीको अनुहार हेरेरै आजसम्म बाँचेकी छु भन्दै आँखाभरि आँसु पारेर भक्कानिन थालिन्। यत्रो पार्टीमा मलाई पो के गरुँ, कसो गरुँ हुन थाल्यो। विस्तारै सम्झाएर सम्हालेँ। कही क्षणमै पुनः उसको मुहारमा हाँसो देखिन थाल्यो।
मलाई अचम्म लाग्यो, कतै उसलाई डिप्रेसन त भएको छैन भनेर सोच्न थालेँ। केही भन्न त सकिनँ, उसको फोन नम्बर लिएर फर्किएँ। अर्को भेटमा वा फोनमा कुरा हुँदा एक पटक राम्रोसँग डाक्टरलाई देखाउनु भन्न मन लागेको थियो।
मेरो आफ्नै भाइ पनि मानसिक डाक्टर भएकोले ऊसँग भेटाइ उचित परामर्श दिने विचार थियो। तर त्यसको केही समयपछि नै ऊ बेपत्ता भएको खबर सुन्नु पर्यो जसले गर्दा मलाई नै केही समय तनाव हुन गयो। मानिसलाई भाग्य र उसको नियतिले कहाँ कहाँ पुर्याउँछ कसलाई के थाहा?
अनायासै झल्यास्स ब्युँझिँदा पूरै पसिनाले भिजेको रहेछु। साथीको भलो होस्। आज जे जस्तो सपनामा देखेँ, सत्य त्यस्तो नहोस्। ऊ जहाँ रहे पनि खुसी र सुखी रहोस्।