जब पहिलो रजस्वला भएको दिन आमा राेइन्। १४ वर्षकै उमेरमा आमाका आमा र परिवारले अब आमा हुनुपर्छ भनेर विवाह गरेर पठाइदिए त्याे दिन आमा राेइन्।
जब विवाहपछि पनि धेरै वर्ष आमा आमा हुन सकिनन्। आमाकी सासू आमाका तिखा वचन र कचकचले आमा राेइन्।
अनि..मेरी आमा आमा नहुँदासम्म पनि आमा बुवाकाे याद, माइतीघर र मामाका सम्झना यता एकछाक खान र एक सराे लगाउन दु:खले राेइन् बुढाकाे पिटाइ सासूआमाकाे कचकच र समाजकाे हेपाइले राेइन्।
एक्कासि आमा गर्भवती भएकाे दिन मेरी आमा झन् बेस्सरी राेइन्।
यस्ता हजाराैं पटक पटक-पटक आमा राेइरहिन् आमाका आँखाहरू भिजिरहे...।
र,
एउटी छाेरी म जन्मे
अनि मेरी आमा, आमा भइन्।
तै पनि उनका आँखा भिज्न छाडेनन् उनी रून छाडिनन्।
म जन्मेकाे दिन त आमा झन् धेरै राेइन्। अलिकति बच्चा जन्मँदाकाे पीडाले राेइन् त्यही माथि छाेरी जन्माएकाे चिन्तनले राेइन्। आफू पहिलाे पटक आमा भएकाे खुसीले झन् मज्जाले राेइन्।
अझै,
कतिबेला मलाई दूध चुसाउन नपाएर त कतिबेला दूध चुसाउन पाएर राेइन्, कहिले म भाेकै हुँदा त कहिले आफू भाेकै भएर राेइन्। म बिरामी हुँदा, अनि उनी नसक्ने हुँदा राेइन्। जीवनमा पहिलाे दिन मलाई स्कुल भर्ना गर्दा राेइन्। मैले पहिलाे पटक आमाकाे नाम लेख्न जानेकाे दिन राेइन् बस् आमा राेइरहिन्।
मैले क्लासमा राम्राे नम्बर ल्याएर पास हुँदा राेइन् कति पटक मलाई खुसी किन्न राेइन् त कति पटक आफ्नाे खुसी त्यागेर राेइन्। यसरी मलाई महान र ठूली बनाउन आमा राेइरहिन् बस् राेइरहिन्।
अचेल आमा, आफ्नाे दमकाे राेगले रून्छिन्। आफ्नाे दुखाइले रून्छिन्। समयमा दवाइ नपाउँदा रून्छिन्। समयमा दवाइ पाउँदा पनि रून्छिन्। आफ्नाे बुढ्याउलीले रून्छिन्। देशकाे हालत देखेर रून्छिन्।
७ वर्षकी नाबालिका बलात्कार भएकाे सुनेर रून्छिन्। म स्कुलबाट घर ढिला पुग्दा रून्छिन्। अझ भनूँ सबभन्दा धेरै त याे कुराले रून्छिन्। आफ्नी आमाले जस्तै मलाई पनि आमा बनाउन विवाह गरेर पराइघर पठाउने कुराले रून्छिन्।
स्वयम् आमालाई थाहा छैन। आमाकी आमालाई पनि थाहा छैन। आमा जीवनमा कति पटक खुसी र कति पटक दु:खले राेइन् हाेला।
मसँग त यसकाे उत्तर छैन। बरु उल्टै अर्को एउटा प्रश्न छ आमा।
आमा एउटी आमा हुन जन्मदेखि मृत्युसम्म रून पर्छ भने म किन आमा हुने ?
आमा म आमा नभए हुन्न ?