'यसपालिको तीज त बित्यो। हुन त तीज हो, सबैलाई रमाइलो छ, आफ्नो मनमा खुसी कहिले नहुने भयो। हुन त मलाई अब चाडपर्वको केही मतलब छैन। आउने बुहारीलाई पनि तीजको रमाइलो केही भएन। आफ्नो छोरा छोरीलाई पनि यो चाँड सधैंको पीडा रह्यो। त्यही दु:ख छ मनमा।'
बिपना आफ्नो मनको दु:खको भारी पोको आफ्नो बैनीसँग बिसाउँदै थिई। बैनीले केही भन्न सकिरहेकी थिइन। हुन त अरूको दु:खको कुरा सुन्दा के भन्ने! कसरी भन्ने त भैहाल्छ सबैलाई। झन् आफ्नी दिदीले यसरी दु:ख देखाउँदा कसरी मन बुझाउने, के बोल्ने, उसलाई केही भन्नै आएन। चुप लगेर कुरामात्र सुनिराखिन् अनि अन्तिममा भनिन्, 'अब के गर्ने दिदी। भाग्यमा जे छ त्यो त भोग्नैपर्छ। जे छ यही छ।'
**
पहाडको सानो घरमा ४ बैनीमाथि जन्मिएकी विपना, सानै उमेरमा ठूली भई। बुवा एउटा स्कुलमा पढाउँथे, आमा घर कै काम गर्थिन्। बैनीहरूको जिम्मेवारी सबै उमाथि नै आयो।
बिहान उठेर मेलापात गरेर, खाना बनाएर, सबैलाई खुवाएर बल्ल पढ्न जान्थिन्। त्यो बेला त्यसमाथि गाउँ, पढाइ त के नै हुन्थ्यो र! यसरी नै हुर्किइन् बिपना।
जेठी बाठी भएर होला, सानी हुन कहिले पाइनन्।
आमा र बुवाको मायाभन्दा नि जिम्मेवारीले थिच्यो उसलाई। १६ वर्षको उमेरमा टेक्न साथ बिहेको हल्ला चल्यो घरमा। २-३ जना आएर हेरेपनि तर अझ राम्रो आओस् भनेर कसैलाई दिएनन् उसका बुवाआमाले।
अनि नभन्दै आफ्नो भन्दा अलि तलको गाउँबाट एउटा राम्रो केटाको कुरा आयो उसलाई।
'धनी छ घर। जग्गा धेरै भाको। भोलि केही तलमाथि भएनि, खेती गरेर नि खान्छे यस्ले। फेरि केटा नि इन्डिया बसेको रे। पैसा छ। यो भन्दा राम्रो त न आउला।' यही कुरा चल्न थाल्यो गाउँभरि।
कुरा चलेको केहीदिनमै बिहे भयो उसको। नयाँ नाता, नयाँ परिवार अनि सँगै आयो नया जिम्मेवारी। हुन त जिम्मेवारी केही नयाँ त थिएन बिपनालाई तर पनि बुहारी हुनु को दायित्व सबै पूरा गरी उसले।
केही समयमा बुढासँग गाउँ छोडेर सहर आई। सहरको सानो कोठामै संसार थियो उसको। श्रीमान बिहान जाने बेलुका आउने, कामले थाकेर आउँथे, खासै राम्रोसँग बोलचाल नै हुन पाएन।
नयाँ सम्बन्ध हो, केही समयमा आफैं ठिक हुन्छ सोच्दै बिपना हरेक दिन श्रीमानसँग नजिक हुन खोज्थी, तर त्यो हुन सकेन।
उसका श्रीमान हेर्नमा टक्क मिलेका, सेतो रंग, मिलेको ज्यान अनि चिटिक्क कपडा लगाएर हिँड्ने बानी। फेरि बिपना चाहिँ गाउँकी सामान्य महिला, त्यति राम्री भएर हिँड्न नआउने तर जिम्मेवारी निभाउन सधैं अघि पर्ने खालकी। सँगै हिँड्दा पनि श्रीमान सधैं दुई पाइला भएनि अघि हिँड्थे।
श्रीमानको मायाको सधैं अभाव नै लागिरह्यो उसलाई तर समय अघि बढेसँगै ऊ आमा भई। आमा भएसी आफ्नो श्रीमानभन्दा नि बच्चाकै नजिक हुन थाली । मन भुलाउने र दिन बिताउने नयाँ बाटो खुलेको जस्तो भयो अब बिपनालाई।
श्रीमान बेलुका आउथे, छुट्टै सुत्थे। मन लाग्दा मात्र सँगै नभए छुट्टै नै सुत्थे। श्रीमानको आफ्नोपन र मायाको कमी त सधैं नै लागिरह्यो उसलाई। तर पनि यति कुराको आनन्द थियो कि आफ्नो बच्चाले दु:ख पाउनु परेन। आफूलाई वास्ता नगरे पनि बच्चा सुखसाथ हुर्किंदै छन्, यही कुराले मन शान्त थियो उसको।
समय बित्दै गयो तर उसलाई श्रीमान अरूसँग घुमेर घर बेलुका आउने, वास्ता नगर्ने पीडाले कहिल्यै छोडेन। कति रात त एक्लै रोएर पनि बिताई तर बिहान उठेसी सबै ठिक जस्तो गर्थी।
आफ्नो बोली कहिले नराम्रो गरिन, अरू को अगाडि कहिले दु:ख देखाइन। सानै उमेरमा जिम्मेवारी लिन सिकेकी बिपनाले श्रीमती भएसी श्रीमानको नराम्रो बानीको ओत ढाक्नुपर्छ भनेर पनि सिकेकी थिई। सबै पीडा मनमै राखी। कहिलेकाहीँ सहन गाह्रो हुँदा श्रीमानको अगाडि रुन्थी तर पनि श्रीमानको मनमा कहिल्यै केही असर गरेन।
दिन बित्दै गए, तर पनि बिपनाको मनबाट श्रीमानको मायाको रहर कहिले हराउन सकेन।
हरेक दिन उनी श्रीमानसँग नजिकिन खोज्थी। तर श्रीमानलाई केही असर गरेन। भन्छ नि कोसिस गर्दागर्दा थाकेसी, कोसिस गर्ने जागर नि मरेर जान्छ। त्यस्तै भयो बिपनालाई पनि।
एउटै छानो तल बस्ने दुई अपरिचित भएर बसे बिपना र उसका श्रीमान। घरभित्रको कुरा ती पर्खालबाहिर कहिले गएनन्। जे थियो, त्यही चार पर्खाल र बिपनाको मनभित्र थियो।
बिस्तारी बिपनाले वास्ता गर्न छोडिन्, गरुन् पनि त कति। गरेको प्रयासको जब केही प्रतिफल आउँदैन, गर्ने जाँगर सबै हराएर जान्छ। त्यस्तै नै भयो उसलाई।
श्रीमानप्रतिको माया त थियो बस, मेरा हुन् भनेर भन्न कहिले सकिन उसले, किनकि उसका श्रीमान सबैका थिए, उसका मात्र थिएनन्।
बिस्तारै बिपनाको हरेक कुराबाट मन हराएको देख्दा उसको श्रीमानले उसलाई प्रश्न गर्न थाले। बिपना आफ्नै संसारमा खुसी भएर आफ्नो त्यति चासो नलिएको देखेसी चाहिँ बल्ल आफ्नो जस्तो गर्न थाले बुढाले।
बुढामा आएको यो परिवर्तन देख्दा बिपनालाई अनौठो लाग्यो, तर खुसी पनि धेरै थियो मन। बिस्तारै नजिकिन थाले दुई जना। बिहे भएको १४-१५ वर्षपछि बल्ल नयाँ नयाँ दम्पतीजस्तो हुन थाल्यो दुई जनाको सम्बन्ध। बिपनालाई लाग्यो अब सबै ठिक हुँदैछ। यही कुराले खुसी थियो उसको मन।
तीजमा व्रत त हरेक साल बस्थिन्। ऊ तर यसपालिको छुट्टै थियो। यसपालि उसको श्रीमान उसको नजिक थिए, माया पाएकी थिई श्रीमानको। अरु सालभन्दा बेग्लै खुसी थियो मनमा।
टोल छिमेकका सबैले भन्ने गर्थे, 'ओहो के हो, आजकल त मुहारमा चमक नै अर्कै छ बिपनाको।' यसको उत्तर केही नदिई बिपना मुसुक्क मुस्काएर जान्थी। आफ्नो बाटो।
दर खाने दिन श्रीमान बिहान उठेर 'म आज कामले बाहिर बस्छु। भोलि साँझसम्म आइपुग्छु है, राम्ररी बस।' भनेर बाटो लागे।
'छिट्टै आउनुस् है। तीजको दिनहो, हजुर नआई केही खाँदिन नि फेरि।' यसरी हक लगाउँदै भनी आफ्नो श्रीमानलाई बिपनाले।
दर खाने दिन बित्यो, साँझमा यसो फोन गरिन् श्रीमानलाई तर फोन उठेन। काममा व्यस्त होलान् सोचेर सुति आरामले। तीजको दिन, रातो सारी, रातो चुरा, राम्री भएर दिनभरि केहि नखाई, पानी पनि नपिएर आफ्नो श्रीमानको लामो आयुको लागि ब्रत बसी ऊ। दिनभरि फोन आएन।
केही छैन बेलुका त आउनु हुन्छ नि सोचेर मन सम्हालिन्।
बेलुकातिर फोन गरिन्, यसपालि फोन अफ भनेर आयो उताबाट। त्योबेला मन हल्का डराएको जस्तो लाग्न थाल्यो उसलाई। तर पनि बच्चालाई सुताएर, राति बेरसम्म बाटोमा हेरिराखी।
'कामले गर्दा होला। यस्तो त कहिले गर्नुहुन्थेन। खाटमा आएर सोच्दै कति बेला निदाई थाहै भएन।
तेस्रो दिन एकाबिहान श्रीमानको नम्बरबाट फोन आयो।
'बल्ल गर्नुभयो' सोचेर हतार-हतारमा फोन उठाइ बिपनाले।
'हजुरको श्रीमानको शव छ यहाँ होटलमा। उहाँको एक दिनअघि नै मृत्यु भइसकेको रहेछ। अब के हो पुलिस स्टेसन आउन पर्यो।' उताबाट आएको यो कुराले त उमाथि बज्रपात नै खसेजस्तो भयो। आफूलाई सम्हाली सम्हाली पुलिस स्टेसन पुगी। त्यहाँ गएसी थाहा भयो श्रीमानले त तीजकै दिन २ बोतल विष खाएका रहेछन्।
उता बिपना खुसीका साथ श्रीमानको लामो आयुको लागि केही नखाई ब्रत बसी। यता श्रीमानले प्रण नै त्यागिसकेछन्। त्यो पानी बिनाको श्रीमानको लामो आयुको लागि बसेको ब्रत केका लागि रह्यो त आखिरमा। तीजकै दिन ब्रत बस्नाले श्रीमानको आयु लामो हुन्छ रे, साँच्चिकै बढ्ने रैछ त आयु ? बढ्ने रैछ भने त्यही दिन किन मेटियो त उसको सिउँदोको सिन्दुर ?
श्रीमान नजिक भएको केही समयमात्र भएको थियो। त्यो माया पाउन थालेको धेरै नि भएको हैन, रैछ चाहिँ केका लागि ? तीजकै दिन त्यो सिउँदोको सिन्दुर मेटिनु नै रैछ, आखिर अन्तिममा जाने बेला साँच्चिकै माया थियो कि बनावटी माया देखाएर मात्र गए त श्रीमानले ?
यत्रो १५ वर्षको माया बिनाको ब्रतले केही नराम्रो गरेन तर जब माया पाएर खुसी मनले ब्रत बसी बिपना। त्यही तीजको दिन अब सधैंको दाग बस्यो उसको लागि। अन्तिममा यो सब किन रैछ ?
हरेक रात आउँछ बिपनाको मनमा यस्तो प्रश्नहरू। जति नराम्रो थियो आफ्नै घरभित्र थियो, अब त दुनियाँले देखे, थाहा पाए। आफ्नो श्रीमानले यसरी मृत्यु रोजे। दोष सबै बिपनामाथि नै आयो नि। त्यही साथी जसले उसलाई मुस्कुराउँदा ओहो भनी, आज त बिपना हाँसेको बुढा मार्न पो रैछ भन्छिन्।
उत्तर दिन सक्ने ठाउँ पनि त छैन। बाँचुञ्जेलसम्म केही नराम्रो थिएन, अब मरे अनि नराम्रो सुनाई भन्छ समाजले फेरि। यही डरले कसैलाई केही भनिन बिपनाले।
रैछ चै के यो सबै। जिन्दगीभरिको पीडा, केही दिनको खुसी अनि कहिले ठिक नहुने त्यो घाउ र चोट। न बाँचुञ्जेलको सुख न मरेसीको आनन्द। सधैं सबैले सुनाउने कहानी भयो अब बिपनाको जिन्दगी र उसको तीजको कथा।