बन्द कोठामा तिमी एक्लै सुतिरहेको छौ
मृत्यु कसैले देखेको छैन
सोच आज तिमीलाई यमराजले नै खबर गरेर
तिमीलाई लिन आइरहेको छ,
तिमीले आफ्नो आँखा बन्द गर
तिमीले कालो रातो रंगहरु देख्नेछौ
हरेक मरेका मान्छेहरुले देख्ने
अन्तिम रङ भनेको त्यही कालो रंग हो
त्यही कालो रंगलाई तिमी आफ्नो मृत्युको चिन्ह सम्झ
सम्झ तिम्रो आजको दिन अन्तिम दिन हो
तिमी सधैँको लागि यो संसारदेखि विलय हुँदैछौ
तिम्रो आत्माले तिम्रो शरीरको साथ छोडिसक्यो
अब तिमी एक निर्जीव मुढा भएको छौ
तिमीलाई मलामी आएका मान्छेहरुले लास भन्दैछ
तिम्रो बारेमा भएको नभएको कुराहरु गर्दैछ
तिम्रो वरिपरि बसेर
तिम्रो अभिभावकहरुले चिच्याई-चिच्याई रोइरहेका छन्
आँसुको थोपाहरुले तिम्रो अनुहार भिजिरहेको छ
तिमीलाई माया गर्ने मान्छेहरुले
तिमीलाई गुमाएको शोकको पीडाहरु
आँखाबाट प्रदर्शन गरिरहेको छ।
जब तिमीलाई परम्परागत रुपमा
हरियो बाँसको डोली बनाएर
तिम्रो देहलाई खरानी बनाउन घाटमा लागेर
तिम्रो पार्थिव शरीरमाथी आगो दिइनेछ
तब मृत्युको महसुस गरेका जिउँदो मान्छेहरुको
हृदय नै चिसो भएर आउनेछ
त्योबेला तिमी जुरुक्क उठ्नेछौ
महसुस हुनेछ भयानक मृत्युको अनुभव।
त्यो पलमा तिम्रो हृदय डरले कामेको हुनेछ
तिमीले सबथोक याद गरेको हुनेछौ
तिमीले आफ्नो मृत्यु रोक्न
कोही कसैले केही गरिदियोस् भन्ने हुन्छ
तिमीलाई केहीको माया हुँदैन
तिमी केवल रहस्यमय भगवानको नाम जपिरहेको हुनेछौ
तिमीले बाँचुन्जेल प्रदर्शन गरेका
ती घमण्डहरु
ती बदलाका भावनाहरु
ती तिम्रो क्रोधहरु
आफूमा विकास भएका अहंकारहरु
अर्काको कुभलो सोच्ने निज सोचहरु
मृत्युको अनुभव गरेको समयमा विलय भएर जानेछ।
आखिर सबै एकदिन मर्ने नै हो
मान्छे मान्छे बीचमा अमानवीय व्यवहार किन?
मान्छेले मान्छेलाई पशुसरह सोच राख्नु किन?
मान्छेले गरेको सकारात्मक कार्यलाई असफल बनाउने
राजनीति गर्नु किन?
मान्छे-मान्छे बीचमा कुभलो सोच राख्नु किन?
सबैको देह एकदिन माटो या खरानी बन्नेछ,
कृपाया मृत्युको महसुस गरौं
सज्जन मान्छे बन्नुमा उत्प्रेरित बनौँ।