मेरो सानो बाबुले फुकेर उडाउने गर्छ
गुब्बाराका फोकाहरु,
हो, तिनै हुन् मेरा समृद्धिका सपनाहरु
तिमी फिस्स नहाँस है!
तिनै हुन् मेरा आत्मनिर्भरताका आधारहरू
म त स्पष्ट छु,
(सायद तिमी पनि छौ होला)
म भासिँदै छु दिन-दिन
तिमीद्वारा सिर्जित
परनिर्भरताको दलदलमा,
म हेर्छु एकोहोरो
ती गुब्बाराका फोकाहरु,
एउटा सुइरोबाट फूर्र निस्कन्छन्,
हावामा उड्दै एकछिन रमाउँछन्
अनि फुटेर हराउँछन् एक निमेषमै,
मानौं यस्तै हो तिनको नियति,
बस मात्र एक क्षणभङ्गुर अस्तित्व हेतु।
तिनै गुब्बाराका फोकाहरु सरह
बेहिसाब बर्गेल्ती निस्कने,
वाईघातका मेरा यी सपनाहरु
त्यसै विलीन छन् कता-कता शून्यतामा,
म दौडन्छु अनायास ती फोकाहरु पछि,
अनि गुमाउँछु मेरो आत्मनिर्भरताको धरातल,
मेरो शान्ति, मेरो शान।
त्यहाँ तिमी रंगमञ्चका पात्रहरू
खेलिरहेछौ घात प्रतिघातका खेलहरु,
तिमीहरू मस्त रमिरहु
अनि जमिरहु त्यही बेरसको
आत्मरतिको खेलमा,
तर म यता ध्वस्त
जलिरहेछु पश्चातापको रापले,
मैले अन्जानमा गरेका
ती आत्मघाती गोलहरुको यादमा।
म त्यसै चकित हेरिरहेछु
तिमी लिलिपुटियनहरुको खुनी खेल,
सत्ता र स्वार्थका लागि
तिमीहरूले गरेका जालझेल,
म गल्दै छु त्यसै विक्षिप्त
वितृष्णा र हीनताबोधको आगोमा,
तर पनि म गड्दै गरेको भासबाट
टाउको उठाएर चिच्याएर भन्न मन लागिरहेछ,
'मेरो त्यो सुनौलो युग, तिमी कहाँ गयौ?
फर्केर आऊ न!'
अर्थात् 'प्रतिगमन,
के तिमी मेरो हराएको स्वर्ग ल्याइदिन्छौ?'