हामी जन्मियौँ र बामे सर्दै हुर्कियौँ
ती सुन्दर पहाडहरुका काखमा।
हाम्रा बाल्यपनहरु बितायौँ
दगुर्दै, उफ्रिँदै र नाच्दै
ती पहाडहरुका छातीमा।
हामी अस्थिर हुँदा नि स्थिर
ती महान् पहाडहरुमा,
तिता र मिठा क्षणहरुसँगै
मिठा सपनाहरु बुन्यौँ।
हामी शिक्षित बन्यौँ,
सुखी भयौँ र समृद्ध बन्यौँ।
गणितका शुत्र बनायौँ
विज्ञानका सिद्धान्त बनायौँ
रकेट बनायौँ,
अनि रोबोट बनायौँ।
तर,
न त पहाडहरु बलिया बने
न समृद्ध बने।
हाम्रा स्वार्थका खातिर
सुन्दर पहाडहरु नाङ्गिएका छन्।
पहाडको काखमा लडिबुडी गरी हुर्किएका
ती अबोध जनावर मारिएका छन्।
हाम्रा गगनचुम्बी महलहरु बन्न
ती निर्दोष पहाडहरु नाङ्गिएका छन्
धुपी, सल्ला र सालहरु रित्तिएका छन्
लालिगुराँसहरु बिलाएका छन्
हाम्रा गाडी र मोटरहरु गुड्न
पहाडका छातीमाथि
गोली र बारुदहरु बर्सिएका छन्।
क्रुर मान्छेहरुसँग डराउँदै
र आत्मसमर्पण गर्दै ढलेका छन्
र पनि मौन छन् ती महान् पहाडहरु।
पहाडका काखमा
चिरबिर चिरबिर गर्ने सुन्दर पक्षीहरु
घट्दै छन् र रित्तिँदै छन्।
अनि कुहुकुहु गर्ने ती कोइलीहरु
हराउँदै छन् र बिलाउँदै छन्।
किनकि,
ती अबोध छन् र मौन छन्।