प्यारी नयना दयिता,
अपार माया। आराम छु, आरामको कामना गर्दछु। तिम्रो बारेमा व्याख्या गर्न मसँग शब्द छैनन्। यत्ति भनौँ कि तिमी मेरो लागि संसारकै सबैभन्दा सुन्दर मानव हौ। परी हौँ। राजकुमारी हौ। मेरो लागि त तिमी एक उपहार हौ। प्रेरणाको श्रोत हौ।
म आफ्नो कति माया गर्छु स्वयम मलाई नै थाहा छैन। तथापि तिम्रो बारेमा चौबिसै घण्टा सोचमग्न छु। त्यसैले कामना गर्छु कि तिमी हिँड्ने बाटोमा काँडा नभेटिउन्। तिम्रो कोमल मनमा कहिल्यै आघात नपुगोस्। म सधैँ तिम्रो सपनामा आउन सकुँ। प्रत्येक श्वास-प्रश्वासमा म उपस्थित हुन सकुँ।
म कामना गर्छु तिमी सधैँ मेरो लागि मात्र नभएर सबैको आँखामा एक प्रशंसा गर्न लाएक पात्र बन्नू। समाजमा हुने सही कामको प्रतिकका रुपमा रहनू। तिमी त मेरो एक स्निग्ध प्राणी हौँ। यसलाई दीर्घकालसम्म कायम राख्नू। आम मानिसहरुले जीवनलाई कसरी हेरेका हुन्छन्, त्यसको मतलव नराख्नू। जीवनलाई सकारात्मक रुपमा हेर्नू। एक सुन्दर उपहारका रुपमा लिनू।
शिला, यस्तो महत्वपूर्ण जीवन मध्येको एक भाग हो वैवाहिक जीवन। वैवाहिक जीवन क्षणिक कालको लागि हैन। यो रङ्गमञ्चमा प्रदर्शित गरिने ठेटर जस्तो हैन। उपन्यास हैन। कल्पना हैन। झुट हैन। यो त एक वास्तविकता हो। यो त वर्षौंसम्मका लागि रहने एक भावानात्मक सम्बन्ध हो। जीवनभर मात्र नभएर चिरकालसम्मका लागि गरिने स्वेच्छिक वाचाकसम हो।
वैवाहिक जीवनमा कैयौँ उतार, चढाव आउँछन्। सुख, दुःख आइलाग्छन्। तितामिठा कुरा आइलाग्छन्। शंका, उपशंका उब्जना सक्छन्। ती सबैलाई सन्तुलनमा राख्न सक्नु पर्छ। मात्तिने र आत्तिने गर्नु हुँदैन। किमार्थ हतोत्साहित नहुनू। असहज परिस्थितिलाई सहज बनाउन तर्फ लाग्नु पर्छ। अल्पकालीन फाइदामा किमार्थ ध्यान नदिनू। यस्तो सोचले हामीलाई कहिल्यै फाइदा गर्दैन। सही गन्तव्य दिँदैन। त्यसैले वास्तविक धरातलमा उभिएर वैवाहिक जीवनलाई मूल्यांकन गर्नुपर्छ।
समाजमा सबै सन्त छैनन्। सबै खराब छैनन्। यहाँ सबै प्रकृतिका मानिसहरुको मिश्रण भेटिन्छ। कैयौँ लफडाबाजहरु छरछिमेकमा चिलले कुखुराको चल्ला समात्न ढुके झैँ तिमीहरु जस्तालाई जालमा पार्न कुरिरहेका हुन्छन्। त्यस्ता चोर चिलहरुसँग सावधान हुनु। यताउता घुम्छन्। पासो, जाल थाप्छन्। बस् ढुक्छन्। जान्छन्। आफू सही ठाँउमा भएपछि कसैको केही दाल गल्दैन। दुस्साहस सफल हुँदैन। भ्रमदृष्टिका कारण कसैमा उब्जेको नकारात्मक नजर पनि कुनै दिन सकारात्मक तर्कतर्फ ढल्कन्छ। ढल्कनु पर्छ। बस् कुनै पनि परिस्थितिमा स्थीर रहने खुबी आफूसँग हुनु पर्यो।
प्यारी नयना दयिता, महिलाका केही यस्ता गुणहरु हुन्छन् जो गुमेपछि कहिल्यै प्राप्त हुँदैनन्। त्यस्ता अमूल्य अवयवको बारेमा सधैँ सचेत रहनू। तिमीलाई थाहा नै छ जीवन एक सेतो कपडा जस्तै हो। यसमा मैला पार्नेहरु धेरै छन्। मैलाइदिन खोज्नेहरु पनि छन्। तर हामी स्वयमले मैला हुन दिन भएन। सफा राख्न सक्नु पर्छ।
जीवनरुपी सेतो कपडामा लागेको मैला अति गाढा हुन्छ। यसमा धब्बा लागेमा सफा गर्न सक्ने साबुन, सर्फ हालसम्म कसैले बनाउन सकेका छैनन्। सफा गर्न नसकिने भएपछि त्यो धब्बा आफू जहाँ गयो त्यहीँ जान्छ। थाहा नपाउनेहरुले पनि थाहा पाइहाल्छन्। अनि संसारकै नियम यो छ कि अरुको नराम्रो सकेसम्म छिटो एकअर्कामा मानिसमा प्रवाह हुन्छ। सबैको मानसपटलमा दिगो रुपमा रहिरहन्छ।
प्यारी, जीवनलाई आज मोजमस्ती गरेर भोलि भिखारी बनाउनु हुन्न। यो त सकेसम्म सधैँ खुसीमा बिताउन संकल्प गर्नु पर्छ। क्षणिक मोजले जीवनभरको रमाइलोलाई हरेर लग्नु हुँदैन। बरु दीर्घकालीन सुखका लागि क्षणिक कष्ट सहन सक्नु पर्छ। कुनै पनि कुरा खप्ल्याक्क निल्छु भन्दा सर्केर मर्न पनि बेर लाग्दैन। त्यसैले सबै कुरामा विचार पुर्याउनु पर्छ।
आज इन्टरनेटको आधुनिक युगमा हामी प्रेममा छौँ। सामाजिक संजालमार्फत हाम्रो भेट भइरहेको छ। कुराकानी भइरहेको छ। दुःखसुख भर्चुअल माध्यामले साटिएकै छ। तापनि हामी चाहे जसरी भेट्न सकेका छैनौँ। विवाहपूर्वका तघाराहरुका कारण। वास्तवमा भन्नुपर्दा हामी भौतिक रुपमा खोलापारि निर्मयाँ वारि म रुनी भने कै अवस्थामा छौ। भर्खर, भर्खर मात्र हाम्रो परिचय र माया पिरती विकासको क्रममा छ।
यसैको परिस्कृत रुप हो विवाह। त्यसैले म आफू बिहेको लागि राजी भएर प्रस्ताव तिमीलाई थमाएँ। आशा गरौँ तिम्रो समेत सहमति पश्चात हाम्रो सम्बन्धले सामाजिक मान्यता पाउने छ। विवाह हुनेछ। हामी छिट्टै एक हुनेछौँ। र हाम्रा बाँकी जीवनका बाटाहरुसँगै कोर्दै जानेछौँ। जीवनका बाँकी वर्ष सँगै रम्ने छौँ।
म आशावादी छु। तिमीले यो आशालाई निराशामा परिणत गर्ने छैनौँ। अब हाम्रो प्रेम छिट्टै विवाहमा परिणत हुनेछ। हालसम्म मुख खोलेर नभने पनि यस पत्रमा मैले मेरो स्पष्ट धारणा राखेँ। यसमा तिमीले पक्का नाइँनास्ति भन्ने छैनौ। तिम्रो चाहनाको सँच्चा सम्मान गरेको ठान्नेछौँ।
कल्पना गर त, त्यो दिन जब हामी एक हुनेछौँ। वास्तवमै हाम्रो वैवाहिक जीवन रोमियो, जुलियटले समेत डाह गर्न लायक हुनेछ। एक पटक पाइने यति महत्वपूर्ण मानव जुनीको एक अनुपम उदाहरण हुनेछ। हाम्रो प्रेम अमर हुनेछ। हामी हाम्रो जीवनको फूलबारीमा खडेरीलाई कदापि निम्तो दिनेछैनौँ। बरु यसमा मलजल गर्ने छौँ। अझ सुन्दर, मनोज्ञ बनाउने छौँ।
मेरो प्रस्तावलाई दवावका रुपमा किमार्थ नलिनू। नारी र पुरुषको शक्ति, सामर्थ्य, तुजुक बराबर भनिए पनि विश्वभर नै व्यवहारमा देखिँदैन। जति नै अग्रगमनका भाषणहरु गरिए पनि व्यवहारमा आजसम्म महिलाहरुलाई समान दृष्टिले हेरिएको पाइँदैन। महिलालाई सकेसम्म तल पार्ने पितृसतात्मक सोच हावी छ।
महिलालाई आफ्नो व्यक्तित्व विकासमा परिवार र समाजबाट व्यक्त वा अव्यक्त रुपमा अवरोध छ। उचित, आवश्यक क्रियाकलाप गर्न अवरोध छ। सामाजिक क्रियाकलापमा सहभागी हुनबाट बन्चित गरिन्छ। शारीरिक, मानसिक, संवेगात्मक पक्षलाई अहित हुने व्यावहार गरिन्छ। अधिकारहरु कुण्ठीत गर्दै केवल कर्तव्य मात्रै थोपर्दै गइन्छ।
अझै असह्य कुरा त अझै महिलाले हिंसा सहनु परेको छ। महिलाका नैसर्गिक अधिकार माथि कैँची चलाइन्छ। त्यसैगरी महिलाको मन सुनिँदैन। मातृत्वको अधिकार दिइँदैन। मानवीय व्यवहार गरिँदैन। आवश्यक सम्मान गरिँदैन। कानुन, संविधान प्रदत्त अधिकारहरुबाट बन्चित गरिन्छ। आर्थिक अधिकार दिइँदैन। पाच्य कुराहरु गर्न समेत छुट हुँदैन। अधिकार माग्नु पर्ने हुन्छ। महिला र पुरुषका लागि छुट्टै व्यवहार गरिन्छ। महिला पुरुषबिच समता छैन।
तर मेरो बुझाइ अलिक फरक छ। महिलाप्रति मेरो बुझाइ फारकिलो छ। लैङ्गीक रुपमा तुलना गर्दा महिलाका दर्द, पीडा पुरुषका भन्दा अवश्य बढी छन्। प्रकृतिले नै विभिन्न परिस्थितिहरु नारीमाथि थोपरिदिएको छ। विवाहकै सन्दर्भमा विभेद छ। बिहेपछि अर्काको घर जानुपर्ने संस्कार कायम छ।
अर्काको घर धान्नुपर्ने भन्ने धारणा अझै परिवर्तन भएको छैन। बच्चा जन्माउने शारीरीक बोझदेखि रेखदेखसम्मको जिम्मेवारी महिलाको भागमा परेको छ। तथापि मैले आजसम्म लेङ्गीक विभेद गरेको छैन। र गर्ने पनि छैन। अझ मेरो जीवनको उद्देश्य यस्तै खालका सबै विभेदहरुलाई समाजबाट हटाउनु हो। अझै थप कुरा महिला माथिको यावत भ्रम चिर्न महिला स्वयम सक्षम, सवल बन्न सधैँ प्रयासरत हुनपर्यो।
अन्त्यमा, अब हामी वैवाहिक बन्धनमा बाँधिने निर्णयमा पुग्नै पर्छ। बिहे गर्नै पर्छ। यो मेरो विचार भयो। मलाई थाहा छ कथित जातीयतावादीहरु हाम्रो विवाह नहोस् भन्ने ठान्छन्। तर यसलाई हामीले समाज परिवर्तनको एक खुड्किलोका रुपमा लिई उदाहरणीय जोडी बन्नुपर्छ। तिम्रो बिमती भए म स्वीकार गरौँला। तर त्यो कल्पनाभन्दा बाहिरको कुरा हो भन्छु म।
अब हाम्रो जीवनको वैवाहिक रथ अगाडि बढ्छ। खोलापारि निरमया वारि म रुनीको अवस्थाबाट अब एकैठाउँमा जोडिनुको विकल्प छैन।
उही तिम्रो
महेश।